१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

शरीर मौसमअनुकूल बनाउन स्वर–विज्ञान

उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ ।

साधुसन्तका यस्तो क्षमताका बारेमा धेरैलाई विश्वास गर्न नै गाह्रो हुन्छ । जतिले अध्यात्मका बारेमा बुझेका छन्, उनीहरुमध्ये अधिकांशले उनीहरु आफ्नो चामत्कारिकक शक्तिका कारण यसरी बस्छन् भनेर सोच्छन् । केही हदसम्म यस्तो सोचाइ सही भए पनि धेरै हदसम्म यसमा चामत्कारिक शक्ति आवश्यक पर्दैन । यो कुरा थोरै मान्छेहरुलाई मात्र थाहा हुन्छ, खासमा उनीहरुले शरीर तातो राख्ने प्राणायाम र ध्यान गर्ने गरेका हुन्छन् ।

हुन त हिन्दूहरुको नेपाली संस्कृतिमा विविध समयमा शरीरमा ऊर्जा बढाउने खालका भोजनहरु सेवन गर्ने चलन पनि छ । मौसमअनुकूलका भोजन खाएर मनाउने धेरै चाडहरु प्रचलित छन् । जस्तै – माघे संक्रान्तिमा घिउ, चाकु आदि खाने गरिन्छ । यस्ता खानेकुराले शरीरलाई जाडोमा तातो राख्छन् र तागत दिन्छन् । त्यस्तै जनै पूर्णिमामा क्वाँटी खाने गरिन्छ । तिहारमा सेल खाइन्छ ।

मौसमअनुसारकै खानेकुरा खाने चलन भए पनि श्वासलाई अलिकति तलमाथि गरेर शरीरलाई मौसमअनुकूल राख्ने उपाय भने धेरैलाई थाहा छैन । यो विधि त्यति गाह्रो पनि छैन । अलिकति जानेर मिहिनेत गरे पुगिहाल्छ । हामीले अहिल्यै तुरुन्तै प्रयोग गरेर हेर्न पनि सक्छौँ । अहिले जाडोको समय भएकाले श्वासद्वारा शरीर तताउने उपाहरु अपनाउन सक्छौँ ।

यस्ता विधिहरुका बारेमा हाम्रा शास्त्रहरु विशेषगरी आयुर्वेदमा लेखिएका छन् । साधुसन्तहरुजस्तै हिमालमै गएर बस्न नसके पनि आवश्यक परेको बेलामा बाहिरी सहयोगविनै शरीर तताउन या चिस्याउन सकिन्छ ।  
शास्त्रहरुले भन्छन् – हाम्रो शरीर आकाश, पृथ्वी, जल, अग्नि र वायु (पञ्चतङ्खव) ले बनेको हुन्छ । यी सबै तत्व हाम्रा लागि अत्यन्तै आवश्यक छन् । यीमध्ये वायुको प्रयोग मात्रै जान्ने हो भने पनि हामीले हाम्रो शरीर र मनलाई त स्वस्थ राख्न सक्छौँ नै, पूरै जीवनलाई नै सकारात्मक दिशातिर मोड्न सक्छौँ ।

एक मिनेट श्वास फेर्न सकेनौँ भने हाम्रो हालत कस्तो हुन्छ भन्ने कुराले नै वायुको महत्व कति हुन्छ भनेर दर्शाउँछ ।
जीवन छैन भने हाम्रा लागि संसारको महङ्खव छैन । संसारमा हामी अहिले छौँ त जीवन भएर नै छौँ,  तर जीवन छ त श्वास भएर । श्वास छैन भने जीवन एकछिनका लागि पनि छैन । यही अमूल्य श्वासमा निरन्तर ध्यान दिएर मुक्तिको मार्गतिर जाने बाटाहरु पनि धेरै आध्यात्मिक सम्प्रदायहरुले अपनाउँदै आएका छन् । यस्ता सम्प्रदायहरुका अनुसार हामीमा जति पनि अशान्तिपन उत्पन्न हुन्छ, आफूमा ध्यान नदिएरै हो । हामीलाई सधैँ जीवन दिइरहने श्वासलाई हामीले धेरै नै बेवास्ता गरिरहेका छौँ ।  

यसर्थ पाँच तत्वमध्ये वायुको महत्व अत्यन्तै धेरै हुन्छ । दिनभर हामी जति भोजन र पानी सेवन गर्छौं त्यसको लगभग सात गुणा बढी हामी वायु लिन्छौँ । एकपटक श्वास फेर्दा २५ देखि ३० घन इन्च र दिनभरमा ३२ देखि ३६ पाउण्ड वायु लिन्छौँ । तर वायु लिने प्रक्रिया आफैँ भइरहेको हुन्छ । स्वतः भइरहेको यस प्रक्रियालाई आफ्नो प्रयासले थोरै मात्र घटबढ गर्ने हो भने शरीर र मनमा यसको प्रभाव परिहाल्छ ।

अहिले चिसोको समय छ । यो बेला मुख बन्द गरेर नाकका दुई प्वालमध्ये दायाँबाट श्वास तानेर बायाँबाट फाल्ने प्रक्रिया पाँच मिनेट मात्रै गरियो भने पनि शरीर तातिहाल्छ ।

योगशास्त्रमा श्वासलाई स्वर भनिन्छ । यो तीन प्रकारको हुन्छ । चन्द्र स्वर, सूर्य स्वर र सुषुम्ना स्वर । यी तीन प्रकारलाई हरेक मानिसले आफ्नो शरीरलाई मौसमअनुकूल बनाउनका लागि त छँदै छ, जीवन सफल बनाउनका लागिसमेत जान्नु आवश्यक छ ।

नाकको बायाँ प्वालबाट श्वास चलिरहेको छ भने त्यसलाई चन्द्र स्वर, दायाँ प्वालबाट चलिरहेको छ भने सूर्य स्वर र दुवैबाट बराबर चलिरहेको छ भने सुषुम्ना स्वर भनिन्छ ।

अहिल्यै आफ्नो नाकको कुन प्वालबाट श्वास चलिरहेको छ भनेर हेरिहाल्न सक्नुहुन्छ । यदि चन्द्र स्वर चलिरहेको छ भने तपाईं शान्त हुनुहुन्छ । शरीर शीतल भइरहेको हुन्छ । जाडो महिना छ भने अलि बढी चिसोको अनुभव भइरहेको हुन्छ । परिश्रमको काम गर्न जाँगर चलिरहेको हुँदैन । शरीरको बायाँ भागले मस्तिष्कको दायाँ भाग चलाउने हुँदा भावनात्मक कुराहरु दिमागमा खेलिरहेका हुन्छन् । अरुलाई आदेश दिने काम गर्न मन लागिरहेको हुँदैन । यस्तो बेलामा कुनै नेतृत्व गर्नुपर्ने खालको निर्णय गर्न सकिँदैन ।

यदि सूर्य स्वर चलिरहेको छ भने तपाईंको शरीर र मन अलि तातिएको अवस्थामा हुन्छ । हुन सक्छ, तपाईं आवेशमा हुनुहुन्छ । रिस उठिरहेको हुन सक्छ । कसैलाई बदला लिने भाव आइरहेको हुन सक्छ । शरीरले भोजनको माग गरिरहेको हुन सक्छ । परिश्रम बढी पर्ने काम गर्न मन लागिरहेको हुन सक्छ ।

यदि सुषुम्ना स्वर चलिरहेको छ भने तपाईं ब्यालेन्समा रहन सक्नुहुन्छ । धर्मकर्म, अध्यात्म, सेवाजस्ता क्षेत्रमा तपाईंको ध्यान गइरहेको हुन्छ । कसैले आएर कुनै भावनात्मक कुरा या तार्किक कुरा सुनायो भने पनि तपाईंलाई त्यसले खासै फरक पर्दैन ।

योगगुरुहरुले सिकाउने अनुलोम–विलोम प्राणायामको बढी महत्व हुनुको कारण यही हो । यस प्राणायाममा दायाँ र बायाँ दुवै प्वाल चलाउने प्रक्रिया हुन्छ । दुवै श्वास चलेको अवस्थालाई अत्यन्तै राम्रो मानिन्छ । प्राकृतिक रुपमै पनि हरेक घण्टामा सुषुम्ना नाडी (नाकको दुवै प्वालबाट श्वास) चलिरहेको हुन्छ । साधुसन्तले सुररुसुरुमा सुषुम्ना चलेको अवस्थाबाट ध्यान गर्न पनि सुरु गर्छन् ।  

प्राकृतिक श्वास चलेको अवस्थालाई हेरेर आफ्नो काम सुरु गर्न पनि सकिन्छ । योगशास्त्रअनुसार स्वरलाई जान्न मात्रै सकियो भने जीवन बदल्न सकिन्छ । जस्तै – बायाँ स्वर चलेको बेलामा घर बनाउने, मित्रता गाँस्ने, श्रृङ्गार गर्ने, सेवा गर्ने, प्रार्थना गर्नेजस्ता कार्यहरु गर्दा बढी फाइदा मिल्छ । त्यस्तै दक्षिण या पश्चिमको यात्रा गर्नु छ भने बायाँ स्वर चलेको अवस्थामा प्रस्थान गरियो भने फाइदैफाइदा मिल्छ । कुनै लामो समय टिक्ने काम गर्न सुरु गर्दा र शान्तसँग गरिने काम गर्दा चन्द्र स्वर चलेका बेला गर्नु राम्रो हुन्छ ।

पूर्व र उत्तरको यात्रा गर्दा, पैसाको कारोबार गर्दा, बिरामी जाँच्दा, उकालो चढ्दा, खाँदा, नुहाउँदा तथा कठिन र अस्थायी प्रकृतिको काम गर्दा दायाँ स्वर चलेको अवस्था पर्‍यो भने राम्रो हुन्छ ।

सुषुम्ना स्वर चलेको बेलामा स्व–चिन्तन, आध्यात्मिक अभ्यासजस्ता कार्यहरु गर्दा फाइदा हुन्छ ।
यात्रा गर्दा जुन स्वर चलेको छ त्यतैपट्टिको खुट्टा अगाडि बढाउँदा यात्रा सफल हुन्छ । कहाँसम्म भनिन्छ भने यदि स्वरका बारेमा विज्ञ छ भने आगो लागेको बेलामा जुन दिशामा आगोको गति हुन्छ त्यही दिशामा उभिएर जुन स्वर चलेको छ त्यही स्वरबाट गहिरो श्वास तानेर नाकले पानी पिउँदा आगो निभ्छ या आगोको बढ्ने गति कम हुन्छ ।
स्वर बदल्ने तरिका

योगशास्त्रले भन्छ, जसले स्वरलाई बारम्बार बदल्न सक्छ, उसले लामो जीवन र यौवन प्राप्त गर्छ । यसबाट स्वरको महत्व कति छ भन्ने कुरा स्पष्ट हुन्छ ।

यी सजिला तरिकाहरु प्रयोग गरेर चाहेका बेला स्वर बदल्न सकिन्छ
श्वास चलिरहेको प्वाल बन्द गरिदिँदा बन्द प्वाल खुलेर श्वास चल्न थाल्छ । श्वास चलिरहेकै प्वाललाई तल पारेर सुत्दा बन्द प्वाल खुल्छ । जुन प्वाल चलाउनु छ त्यसको विपरीत प्वालमा कपासले बन्द गरिदियो भने पनि बन्द प्वाल खुल्छ । दौडँदा, परिश्रम गर्दा र प्राणायाम गर्दा पनि श्वास बदलिन्छ । श्वास बदल्न सकियो भने विशेषगरी मानसिक विक्षिप्तता, छट्पटाहट, पीडाको अनुभवजस्ता अवस्थाहरुलाई तुरुन्तै परिवर्तन गर्न सकिन्छ ।  

कस्तो बेलामा स्वर बदल्ने ?
सामान्यतया दिउँसो बायाँ र राति दायाँ स्वर चल्नु राम्रो मानिन्छ । कुनै पनि रोग लागेको बेलामा चलिरहेको स्वर बदल्नाले फाइदा हुन्छ । शारीरिक थकान हुँदा दाहिनेतिर पल्टिने हो भने चन्द्र स्वर चल्छ र थकान तुरुन्तै कम हुन्छ । स्नायु विकारमा स्वर बदल्दा फाइदा हुन्छ । भोजनको समयमा र त्यसको करिब १५ मिनेटसम्म दायाँ स्वर चल्दा कब्जियत हुँदैन ।

स्वर विज्ञानले कतिसम्म भनेको छ भने गर्भाधानको समयमा पुरूषको सूर्य स्वर र महिलाको चन्द्र स्वर चलिरहेको छ भने त्यस समयको गर्भाधारणबाट छोरा जन्मिन्छ । अहिलेको समयमा छोरा या छोरी जन्मनु महवपूर्ण कुरा त होइन, तर स्वरको अध्ययन कतिसम्म भएको रहेछ यसबाट थाहा हुन्छ ।

अहिलेको चिसोको समयमा अत्यन्तै जाडो अनुभव भइरहेको छ भने अग्नि स्वरको अभ्यास गर्न सकिन्छ । पाँच मिनेटमै शरीर तातो भइहाल्छ । लामो समय गर्नु भने हुँदैन । बढी शरीर र मस्तिष्क तातेर शरीरमा छट्पटाहट उत्पन्न हुन सक्छ र भ्रमहरु उत्पन्न हुन सक्छन् ।

यही अग्नि स्वर र चन्द्र स्वरलाई मिलाएर अनुलोम–विलोम प्राणायाम गर्ने गरिन्छ । यस प्राणायामले शरीर र मनलाई ब्यालेन्समा राख्ने काम गर्छ । यो प्राणायामको सामान्य अवस्था हो । यसभन्दा माथिल्लो स्तरको प्राणायाम हो, नाडीशोधन । नाडीशोध प्राणायाम शरीरमा भएका ७२ हजार नाडीलाई शुद्ध बनाउन अभ्यास गरिन्छ । यसमा विधिपूर्वक श्वास रोक्ने कार्य पनि गरिन्छ । यसका पनि विविध स्तर हुन्छन् । कति समय रोक्ने भनेर हिसाब पनि हुन्छ । कुन नाकको प्वालबाट सुरू गर्ने भन्ने विधि पनि हुन्छ । सुररुसुरुमा रामदेव बाबाले सार्वजनिक रुपमै यो प्राणायाम सिकाउने गर्थे । पछि विधिपूर्वक नगरेकाले केही मान्छेमा उल्टो समस्या देखिन थालेपछि अहिले

उनले सामान्य अवस्थामा सिकाउने गरेका पाइँदैन । त्यसैले यो प्राणायाम चाहिँ राम्रोसँग सिकेपछि मात्रै गर्नुपर्छ । हिमालमा बस्ने साधुसन्तले यही प्राणायामको माथिल्लो स्तरको अभ्यास गर्छन् र शारीरिक अवस्थालाई आफूले चाहेजस्तो बनाउन सक्छन् । कुण्डलिनी जगाउने साधनामा पनि नाडीशोधन प्राणायामको ठूलो महत्व हुन्छ ।
अनुलोम–विलोम प्राणायाम या शरीरलाई मौसमअनूकल बनाउन चन्द्र स्वर र सूर्य स्वरको अभ्यास भने सबैले गर्न सकिन्छ ।

जाडोमा बाक्ला लुगा लगाउने, अन्य समयमा भन्दा गरिष्ठ भोजन पनि पचाउन सकिने भएकाले त्यस्ता भोजनहरु पनि सेवन गर्ने त छँदै छ, साथमा स्वरमा पनि ध्यान दिने हो भने अझै उत्तम हुन्छ । जाडोकै कारण मान्छेहरुको मृत्यु हुने हाम्रो देशमा स्वर–विज्ञानलाई बुझेर यसको अभ्यास गर्ने हो भने मृत्युदर पनि कम हुन सक्छ ।  
 

प्रकाशित: २४ पुस २०७६ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App