१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

एउटा हत्यारोको डायरी

गाय दि मोपासां
फ्रान्सेली महान् कथाकार मापासां (१८५०–१८९३) लघुकथाका दिग्गजमध्येमा गनिइन्छन् । उनको कथा ‘द डायरी अफ अ म्याडम्यान’को रुपान्तरण विजय शर्माले गरेका हुन् ।

ऊ हाई ट्रिब्युनलको न्यायाधीश थियो । उसको इमान्दारी र बेदाग जीवनबारे सारा फ्रान्सेली अदालतमा उदाहरणका रुपमा चर्चा हुन्थ्यो । उसको ठूलो मुर्झाएको अनुहारका दुई चम्किला र गहिरा आँखाले उसलाई सजीव बनाउँथ्यो । उसका अघिल्तिर पर्ने अधिवक्ता, अभिवक्ता र न्यायाधीशसमेत उसलाई अभिवादन गर्थे र उसप्रति सम्मान दर्शाउँदै झुक्थे ।

उसको सारा जीवन कमजोर मानिसको रक्षा र अपराधको खोजीमै बितेको थियो । बेइमान र हत्याराहरुको ऊभन्दा ठूलो दुस्मन कोही थिएन । यस्तो लाग्थ्यो, ऊ तिनको दिमागमा चलेका हरकुरा पढ्न सक्थ्यो ।

८२ वर्षको उमेरमा उसको मृत्यु भयो । ठूलो संख्यामा सर्वसाधारणले दुःख व्यक्त गरिरहेका थिए र उसप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका थिए । रातो फेरो पहिरिएका सैनिकले उसलाई चिहानघारीसम्म पुर्‍याए । टाई लगाएका मानिसहरुले उसको समाधिमा साँच्चिकै आँशुजस्तो देखिने चिज बगाए । तर यतिबेला एक अधिकारीले उसको दराजमा एउटा अनौठो कागज फेला पारेका छन्, त्यो दराजमा उसले ठूलाठूला अपराधीहरुको रेकर्डहरु राख्ने गथ्र्यो ।
त्यो कागजमा केही लेखिएको थियो र शिरमा एउटा शीर्षक लेखिएको थियोः किन ?

२० जुन, १८५१ः
भर्खरै अदालतबाट निस्किएको थिएँ । मैले ब्लान्डेलाई मृत्युदण्डसम्म पुर्‍याएँ । त्यो ब्लान्डेले आफ्ना पाँच सन्तानको हत्या किन गर्‍यो ? प्रायः यस्ता मानिसहरुसँग मेरो भेट भइरहन्छ र त्यस्ता मान्छेलाई हत्या गर्नुमा बडो आनन्द लाग्छ । आनन्दै त हुनुपर्‍यो, नत्र किन मार्नुपर्‍यो ! आनन्द मात्र होइन, बडो आनन्द, सबैभन्दा ठूलो आनन्द ! के ध्वस्त बनाउनु निर्माण गर्नुको एउटा चरण होइन र ? बनाउनु र मेट्नु ! यी दुई शब्दले ब्रह्माण्ड र संसारको पूरा इतिहास समेटेको छ । साराका सारा इतिहास ! त्यसो हो भने हत्या गर्नु नशा लिनुजस्तो किन नहोस् त?

२५ जुनः
जीव के हो ? जीव त्यो हो, जुन हिँडडुल गर्छ, दौडन्छ, बाँच्छ । जीवनले भरिएको एउटा चिज, जसमा गतिको नियम छ र गतिको नियमबाट सञ्चालित हुन्छ । यो जीवनको एउटा कण हो, जो संसारमा विचरण गर्छ र जीवनको यो कण नजाने कहाँबाट आउँछ । यसलाई जो कसैले जुन बेला चाह्यो, त्यो बेला नष्ट गर्न सक्छ । यसपछि त केही पनि बाँकी रहन्न, केही बच्दैन । यो सकिन्छ, समाप्त हुन्छ ।

२६ जुनः
उसो भए हत्या गर्नु अपराध किन हुन्छ ? साँच्ची भन्या, किन ? यसविपरीत यो प्रकृतिको विधान हो, प्रत्येक जीवको उद्देश्य नै हत्या हो । ऊ बाँच्नका लागि मर्छ । ऊ मर्नका लागि मार्छ । यो पशु बिना रोकावट मारिरहन्छ । सारा दिन, आफ्नो अस्तित्वको हर क्षणमा । मानिस निरन्तर मारिरहेको हुन्छ, आफ्नो पोषणका लागि, तर यसका अतिरिक्त उसले आनन्दका लागि पनि हत्या गर्नुपर्ने आवश्यकता पर्छ । त्यसैले उसले शिकार खेलको आविष्कार गर्‍यो ! बालबालिकाले कीराफटेङ्ग्रा, साना चराचुरुङ्गी र साना जीव जे फेला पार्छन्, मारिहाल्छन् ।

तर यसले पनि संहार गर्ने उसको इच्छा पूर्ति हुँदैन र हामीभित्र गहिरिएर बस्छ । जनावरलाई मार्नु मात्र पर्याप्त हुँदैन । हामीले त मानिसलाई मार्नुपर्छ । धेरैअघि नरबलिद्वारा त्यस्तो इच्छापूर्ति गरिन्थ्यो । अब सभ्य समाजमा बस्नुपर्ने आवश्यकताका कारण हत्यालाई अपराधको दर्जा दिइएको छ । यसले पनि हाम्रो संहार गर्ने त्यो इच्छापूर्ति हुँदैन, जुन हामीभित्र बास गरेको हुन्छ । जनावरलाई मार्नु मात्र काफी हुन्न । हामीले मानिसलाई पनि मार्नुपर्ने हुन्छ । धेरैअघि नरबलिद्वारा त्यस्तो इच्छापूर्ति हुन्थ्यो ।

सभ्य समाजका कारण त्यस्तो हत्यालाई हिजोआज भत्र्सना गरिन्छ । तर हामी त्यो सहज प्रवृत्तिका हिसाबले आचरण नगरी रहन सक्तैनौँ । त्यसैले हामी समयसमयमा यसलाई युद्धद्वारा सन्तुष्ट गरिरहेका हुन्छौँ । यस्तो बेलामा एउटा देशले अर्को देशको हत्या गर्छ । रगतको होली खेलिन्छ । यसले सैनिकलाई पागल बनाइदिन्छ र मानिसहरु, महिलाहरु र बालबालिकाहरुलाई मदहोश बनाइदिन्छ । त्यसैले त यस किसिमको आमहत्याको कथा बत्तीको उज्यालोमा बडो उत्साहका साथ पढ्ने गर्छन् ।

हरकोहीले सोच्न सक्छ, यस किसिमको बर्बरता सम्पन्न गर्नेहरुको भत्र्सना हुन्छ होला ? हुँदैन, उनीहरुलाई हामी जयमाला नै परिर्‍याउँछौँ । उनीहरुलाई सुनको जलप लगाइएको चम्किलो तक्माले सजाउँछौँ । माला, इनाम र पदवीले सम्मानित गर्छौं । महिलाहरु तिनलाई गर्वका साथ हेर्छन्, सम्मान गर्छन्, तिनलाई प्रेम गर्छन् । भिडले तिनको जयजयकार मनाउँछ । र, यसको कारण यत्ति मात्र हो कि तिनले उद्देश्य मानिसको रगतसँग होली खेल्नु हो । जसै उनीहरु हतियार लिएर निस्कन्छन्, बटुवाहरु तिनलाई ईष्र्यापूर्ण नजरले हेर्छन् । मार्नु प्रकृतिको महान् नियम हो, जुन हाम्रो अस्तित्वको केन्द्रमै छ । हत्याभन्दा सुन्दर र सम्मानयोग्य अन्य केही छैन ।

३० जुनः
नष्ट गर्नु विधान हो किनभने प्रकृति सतत् यौवन चाहन्छे । आफ्ना सारा अचेतन प्रक्रियाहरुमा मानौँ उसले पुकारेकी होस्, ‘चाँडो, चाँडो, चाँडो !’ जति उसले नष्ट गर्छे, उति नै ऊ नूतन हुँदै जान्छे ।

३ जुलाईः
यो पक्कै आनन्ददायक होला, अनौठो र स्फूर्तिदायक । मार्नुः जीवनले भरिपूर्ण सबथोक महसुस गर्ने एउटा प्राणीलाई अघिल्तिर राखेर उसको शरीरमा एउटा दुलो पारिदिनु । अरु केही गर्नुपर्दैन, एउटा सानो दुलो र एउटा पातलो रातो धारा, जसलाई मानिसहरु रगत भन्छन् र यो जीवन बगेको हेर्नु र फेरि अघिल्तिर पसारिइरहेको मासुको थुप्रो, चिस्यानपूर्ण र विचारशून्य !

५ अगस्तः
मैले न्यायमा काम गर्दा र फैसला सुनाउँदै गर्दा पूरा जीवन बिताएँ । जसले चक्कुले हत्या गरेका थिए, तिनलाई मैले शब्दले गिलोटिन (हत्याका लागि प्रयोग हुने एक हतियार, जसले माथिबाट आएको हतियारले चिउँडोमा अड्याइएको टाउको छिनालिन्छ)सम्म पुर्‍याएँ । हत्याराहरुले जे गरेका थिए, आखिर मैले पनि त त्यही गरिरहेको छु ! उसको अवैधानिक र मेरो काम वैधानिक कसरी हुन्छ ?

१० अगस्तः
मैले कसैलाई गिलोटिनसम्म पुर्‍याएको कसलाई थाहा हुन्छ ? कसले ममाथि शंका गर्छ ? खासगरी जब म एउटा यस्तो जीवलाई चयन गर्छु, जसित मेरो कुनै मतलब छैन भने ? मेरो हात त हत्या गर्नका लागि काँपिरहेका हुनेछन् ।

१५ अगस्तः
ममाथि एउटा लालचले घर गर्‍यो । यस्तो लाग्छ, यो मेरो अस्तित्वमा व्याप्त भइसकेको छ । मेरो हात हत्या गर्नका लागि काँपिरहेका छन् ।

२२ अगस्तः
मैले आफूलाई रोक्न सकिनँ । शुरुवातमा प्रयोगका लागि मैले एउटा सानो चरा मारेँ । मेरो नोकर जिनले पालेको एउटा गोल्डफिन्च चरो थियो, जुन मेरो अफिसको झ्यालसँगै झुण्ड्याइएको पिँजडामा राखिएको थियो । मैले जिनलाई केही कामका लागि बाहिर पठाएँ । मैले त्यो सानो चरोलाई हातमा लिएँ । मैले उसको मुटुको ढुकढुकी र त्यसको तातो महसुस गरेँ । मैले त्यस चरोलाई मेरो कोठामा आएँ र शनैशनै हातमा दबाइएको चरोमाथि दबाब बढाउन थालेँ । त्यसको ढुकढुकी तीव्रतम हुँदै जान थाल्यो । यो काम बडो क्रूरतापूर्ण थियो तर मलाई मज्जा आइरहेको थियो । सास रोकिएर त्यस चरोको ज्यान जानै लागेको के थियो, झट्ट एउटा कुरा याद आयो– अरे ! मैले त यसको रगत नै देख्न पाइनँ त ! त्यसपछि मैले छेउमै भएको कैँची उठाएँ । यो कैँचीले म प्रायः आफ्नो नङ काट्थेँ । यस पटक नङ हैन, यसको गला काटेँ, तीन चिरा पारेर । चरो चिच्यायो, मुख बायो, भाग्नका लागि छटपटायो तर मैले त्यसलाई बलियोगरी पक्डिरहेँ । मैले यति दह्रो गरी पक्डिएको थिएँ कि यत्तिको पक्डाइले त एउटा पागल कुकुर पनि हलचल गर्न सक्तैनथ्यो होला ! यसपछि मैले रगतको धार सुलुलु बगेको देखेँ ।

त्यसपछि मैले त्यही काम गरेँ, जुन प्रायः वास्तविक हत्याराले गर्छन् । मैले कैँची धोएँ । आफ्नो हात सफा गरेँ । पानी छर्किएँ चरोलाई र त्यसको लाशलाई ठेगान लगाउन बगैँचामा गएँ । मैले त्यसलाई स्ट्रबेरीको झाडीमुनि गाडेँ । अब यसलाई कसैले पनि खोजेर पत्ता लगाउन सक्ने छैन । म हरेक दिन त्यही स्ट्रबेरी खानेछु, जसका मुन्तिर त्यो गोल्डफिन्च गाडिएको छ । यत्ति भएपछि तपाईंले अब जीवनको आनन्द लिन जान्न थाल्नुहुनेछ । यति भएपछि तपाईं जस्तोसुकै अवस्थामा पनि आनन्द लिन सक्नुहुनेछ ! ठाउँमा चरो नदेखेपछि मेरो नोकर रुनुसम्म रोयो । उसले सोच्यो, शायद मौका पाउनेबित्तिकै चरो उड्यो होला ! उसले मलाई कुनै शंका गरेन, गथ्र्यो पनि कसरी ?

२५ अगस्तः
अब मलाई एउटा मानिस मार्नु थियो । मार्नु नै छ...

३० अगस्तः
मैले यो काम पनि गरेँ । तर यो कति छोटो कुरा थियो कुरा थियो भने, कुरै नगरौँ ! म जंगलमा घुम्न गएको थिएँ । मेरो मनमा केही पनि थिएन । रत्तिभर केही थिएन । यसो हेरेँ, सडकमा एउटा बालक थियो । त्यो बालक मख्खन र ब्रेड चपाइरहेको थियो ।
मलाई हिँडिरहेको देखेर ऊ रोकियो र भन्यो, ‘नमस्कार, हजुर !’
यो बालक मलाई मन पर्‍यो र तीव्र गतिमा दिमागमा कुद्यो, ‘यसलाई यहीँ मारिदिऊँ त !’ तर मैले त्यस बालकको अभिवादन फर्काउँदै भनेँ, ‘नमस्कार बाबु, एक्लै छौ ?’
‘हजुर, म एक्लै छु ।’
‘यस्तो जंगलमा एक्लै ?’
‘हजुर ।’

यसपछि त उसलाई मार्ने इच्छा मात चढेजस्तै हावि हुन थाल्यो । म बिस्तारै ऊ नजिक पुगेँ र अचानक उसको गर्धन दबाउन थालेँ । डरले उसले मतिर मुन्टो फर्कायो र मलाई हेर्‍यो– क्या आँखा थियो ! घाँटीको कसिलोपन बढ्दै जाँदा उसले आफूलाई फुत्काउन हात अघि बढायो र घाँटीबाट मेरो हात फुत्काउने असफल प्रयास गर्न थाल्यो । क्रमशः उसको शरीर आगोमा फ्याँकिएको प्वाँखजस्तै कक्रक्क पर्न थाल्यो । त्यसपछि उसको शरीरको हलचल बन्द भयो । मैले लाशलाई एउटा खाल्डोमा फ्याँकिदिएँ । त्यस लाशमाथि मैले केही झाडी हालेँ ।

यसपछि मलाई कस्तो आनन्द आयो भने घरमा मज्जाले खाना खाएँ । कति सरल काम थियो यो ! साँझतिर म निकै खुसी थिएँ, निकै हल्का र तरोताजा महसुस गरिरहेको थिएँ । त्यो साँझ मैले साथीहरुसँग बिताए । उनीहरुलाई म निकै ठट्यौलो मूडमा देखिएँ । मलाई त्यो बेला मनमनै लागिरहेको थियो, ओहो ! त्यो बालकको खुन हेर्न पाइएन !

३१ अगस्तः
बच्चोको लाश फेला पारियो । उनीहरु हत्यारोको खोजीमा थिए । आह !

१ सेप्टेम्बरः
दुई जना भिखारी बालक हत्या आशंकामा पक्राउ परे तर सबुत फेला परेन ।

२ सेप्टेम्बरः
बालकका बाबुआमा मछेउ आइपुगे । उनीहरु रोइरहेका थिए । उनीहरुको दुःखमा म पनि दुःखी थिएँ । बालकको हत्या भएको थियो !

६ अक्टोबरः
बालकको हत्याबारे केही पत्ता लागेन । यो काम पक्कै कुनै अपहरणकारीको होला ! यता मलाई लागिरहेको छ, त्यो दिन त्यो बालकको रगत देखेको भए अहिलेसम्म म सन्तुष्ट हुन्थेँ होला । हत्या गर्ने इच्छा ममा यति प्रवल भइरहेको छ कि मानौँ २० वर्षे लक्का जवानलाई केही कुराको लत लागेको होस् ।

१० अक्टोबरः
अर्को एक हत्या । म नुहाउन नदी गएको थिएँ र नुहाइसकेपछि नदी किनारमा टहलिइरहेको थिएँ । एउटा रुखमुनि एउटा माझी निदाइरहेको मैले देखेँ । मध्य दिउँसो भइसकेको थियो । नजिकै एउटा आलुको खेत थियो र त्यस खेतमा आलु खन्न तयार कोदालो लडिरहेको थियो । मानौँ त्यो कोदालो मेरैलागि राखिएको होस् । मैले कोदालो उठाएँ र फर्किएँ । कोदालो लिएर सुतिरहेको माझीछेउ पुगेँ र दनादन टाउकोमा हान्न थालेँ । आह ! रगत निस्कन थाल्यो । गुलाबी रङको रगत ! कति आनन्दले रगत बिना कुनै हतार निस्कियो र खोलाको पानीमा मिसिन थाल्यो । भारी कदमका साथ म घर फर्किएँ । मलाई कसैले पनि देखेन । हत्याको शैली यस्तो खतरनाक थियो कि म एउटा उत्कृष्ट हत्यारा बन्न सक्थेँ ।

२५ अक्टोबरः
माझीहरुको समुदायमा यो हत्याले ठूलै हलचल ल्यायो । उसको भतिजो त्यस दिन ऊसँगै माछा मारिरहेको थियो । न्यायाधीशले उसैलाई दोषी ठह¥यायो । शहरमा सबैले यही कुरालाई सही ठहर्‍याए । आह ! आह !

२७ अक्टोबरः
भतिजोको केही जोर चलेन । उसको भनाइ थियो, जुन बेला हत्या भयो त्यो बेला त ऊ खानेकुरा किन्न गाउँतिर निस्केको थियो । उसले शथप खाएर भन्यो, उसको काका उसको अनुपस्थितिमा मारिएको थियो । तर उसको कुरा कसले पो मान्थ्यो र !

२८ अक्टोबरः
भतिजोले लगभग आफ्नो अपराध कबुल्यो । प्रहरीले यति यातना दियो कि उसले बाध्य भएर कबुल्यो । आह! न्याय!

१५ नोभेम्बरः
त्यो भतिजो नै मृतक काकाको सम्पत्तिको वारेस हो । यही कारण पनि उसले सम्पत्तिका कारण काकालाई मार्‍यो भन्ने सहज सबुत तयार थियो । सुनुवाई मेरो अध्यक्षतामा हुनेछ ।

२५ जनवरीः
मृत्युदण्ड ! मृत्युदण्ड ! मृत्युदण्ड ! मैले उसलाई मृत्युदण्डको सजाय सुनाएँ । एडभोकेट जनरलको कुरा कुनै देवदूतजस्तै थियो । आह ! अर्को एउटा ! जब उसलाई सजाय दिइरहेको अवसर हुनेछ, म उसलाई गिलोटिनमा मारिएको हेर्न जानु पर्नेछ ।

१० मार्चः
काम सम्पन्न भयो । आज बिहान उसलाई गिलोटिनमा चढाइयो । ऊ बडो आनन्दपूर्वक मर्‍यो । बडो राम्रोसँग । यो देखेर मलाई बडो प्रशन्न भएर आयो । कुनै मानिसको टाउको गिँडिदा हेर्नेलाई कस्तो मज्जा आउँछ ! अब म प्रतीक्षा गर्नेछु । म प्रतीक्षा गर्न सक्छु । सानो गल्तीले मलाई प्रहरीले पक्रन सक्छ ।

यसपछि डायरीका अन्य पन्नाहरु पनि थिए तर त्यसमा अपराधबारे कुनै कुरा लेखिएको थिएन । जुन डाक्टरलाई यो कथा पढ्न दिइएको थियो, तिनको भनाइ छ– संसारभर यस्ता कयौँ पागल घुमिरहेका छन् । तिनका बारेमा सर्वसाधारणलाई कुनै कुरा थाहा छैन । उनीहरु त्यत्ति नै चलाख छन्, जति यो राक्षस थियो र तिनीहरुबाट पनि त्यत्ति नै डराउनु आवश्यक छ जति यससँग ।
अनुवादः अच्युत कोइराला

प्रकाशित: २२ पुस २०७६ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App