‘छोरीको विवाह गर्ने बेला भएन ?’
‘कति पढाएको होला ?’
‘छोरीलाई जति पढाए पनि अर्काको घर जानै पर्छ, जुठा भाँडा माझ्नैपर्छ, छोराछोरी जन्माउनैपर्छ । धेरै पढाएर के नापिन्छ छ र ?’
उनका घरमा आउनेहरुले यसै भन्ने गर्थे रे ।
तर उनका बुबा जब्बर निस्किए । कसैले भनेको सुने पो ।
उनी बुबाआमाले भनेअनुसार पढ्दै गइन् ।
पढ्नु र लेख्नुमा बितेको दैनिकी
बिहान उठेर कोर्षको किताब पढ्थिन् । दिउँसो पढ्नका लागि स्कुल क्याम्पस जान्थिन् । बेलुकी पढाइ सकेपछि सिधै घर जाने गर्थिन् । साँझको समयमा घरमा आएका पत्रपत्रिका समाचार पढ्थिन् । फेरि बेलुका कोर्षको किताब पढ्थिन् । उनले यसरी बिताइन् २४ वर्षसम्को जिन्दगी ।
उनका बुबा यस्ता थिए कि एउटा कक्षाबाट अर्काेमा उक्लेपछि माथिल्लो कक्षामा भर्ना गरिहाल्नुपर्ने । ‘बेटा पिएचडी गर्नुपर्छ भनिरहने ।’ बुबाको यो भनाइ उनको कानमा अहिले पनि गुञ्जिरहन्छ । पढाइमा अब्बल उनी बुबाले भने जसरी नै पढ्दै गइन् । २९ वर्षको उमेरमा पिएचडीसमेत सकाइन् ।
०००००
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन, डेढ वर्ष त्रिभुवन विश्वविद्यालयको हिन्दी विभाग प्रमुख, त्यसपछिका दिनहरु नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभाग प्रमुख भएर जीवनलाई क्रियाशील गराइरहेकी छिन् उषा ठाकुर । बेलायती औपनिवेशबाट भारत स्वतन्त्र भएको ठिक ४ वर्षपछि पटनामा जन्मिइन् उनी । आमा कैलाशदेवी शर्मा बुबा किशोरीलाल शर्माको दोस्रो सन्तानको रुपमा सन् १९५१ मा सम्पन्न परिवारमा जन्म भयो ।
००००
उनको परिवार सम्पन्न थियो । बुबाको आफ्नै फ्याक्ट्री थियो । घरभरि काम गर्ने मान्छे थिए । ऊ बेलामा पनि घरमा फोनको व्यवस्था थियो । उनकी आमा अंग्रेजी र गणितमा पोख्त थिइन् । फोनबाटै फ्याक्ट्रीको कामको अरनपरन चल्थ्यो । कतै जान परे उनीहरु आफ्नै गाडी चढेर जान्थे । घर मेन रोडमै भएको कारण मानिसको चहलपहल पनि निकै हुन्थ्यो ।
पढ्नमा मात्रै हैन उनका आमाबुबाले केही कुराको कमी हुन दिएनन् आफ्ना छोराछोरीलाई । कुन शहरमा कुन फलफूल चर्चित छ ? कुन खाने कुरा कहाँ पाइन्छ ? जन्मजातै साकाहारी शर्मा परिवारमा ट्रक का ट्रक सामान आइपुग्थ्यो । उनका बुबा खानमा यति सौखिन थिए कि महिनाको एक दुई चोटी पूरै परिवारलाई पाँचतारे होटलमा खान लैजान्थे । नयाँ नयाँ परिकार मगाउँथे । अनि उषाकी आमालाई खुसुक्क्क भन्थे रे ‘लौ यस्तै खाने कुरा घरमा पनि पाक्न प¥यो ।’
उनको घरमै दुईवटा गाई थिए । गाईले धेरै दूध दिन्थे, दूधबाट धेरै किसिमका परिकार बनाइन्थ्यो । केटाकेटीले बाहिरतिर खाने बानी नगरून् भनेर बुबाले सकेसम्म घरमै मिस्ठान्न भोजन बनाउन भन्नुभएको होला भनी उषा लख काट्छिन् । ‘आमा पनि निकै सजग हुनुहुन्थ्यो, उनले भनिन्, ‘छोराछोरीको पढाइ र खानाको मामिलामा त कुनै सम्झौता नै थिएन । न त पढाइमा कमजोर हुन भयो न त खानामा कमी कमजोरी ।’
पढाइ र लेखाइमा बितेको दैनिकी
स्कुल पढ्दा उषाको पढाइका बारेमा बाबुआमाको धेरै चासो थियो । क्याम्पस पढ्ने भएपछि भने आफ्नै जिज्ञासु बानी । नयाँ कुरा सिक्न मन लागिहाल्ने उषाको त्यो बानी आजसम्म पनि उस्तै छ । उनले दैनिक रुपमा पत्रिका पढ्ने समय पनि छुट्याएकी थिएन् ।
पत्रिका पहिले आमाले पढ्नुहुन्थ्यो र त्यसपछि मात्र हामीले पढ्न पाउँथ्यौं । त्यसो गर्नुको कारण उषाले हाँस्दै भनिन्, ‘अलि भड्किला तस्बिर र लेखहरु छन् भने त्यो पेज नै काटिएर आउँथ्यो । त्यो पढे छोराछोरी बिग्रन्छन् भनेर काटिने रहेछ । हामीलाई पछि मात्र थाहा भयो ।’
शिक्षकशिक्षिकाको प्रिय विद्यार्थी थिइन् उनी । उषाको साथी सर्कल पनि त्यस्तै थियो रे । साथीहरुसँग घरको कुराकानीबाहेक पत्रपत्रिका र म्यागेजिनमा आएका लेखबारे कुराकानी हुन्थ्यो । उनको सबभन्दा मिल्ने साथी रागिनी शर्मा थिइन् । रागिनी जस्तै अरु दुई तीन जना थिए । कालान्तरमा उनका दामलीले पनि शिक्षण पेसा नै अँगालेको उनले बताइन् ।
उषाको पहिलो कविता १९ वर्ष हुँदा छापियो । ‘नारी र नदी’ शीर्षकको । ‘उनी पहिलो पटक पत्रिकामा आफ्नो नाम देख्दा खुसीले गद्गद् भएकी थिइन्,’ उनले भनिन्, ‘बुबा त झनै खुसी हुनुभएको थियो । ठिक गर्यौँ बेटा तिमीले अझ लेख्नुपर्छ भन्नुहुन्थ्यो ।’
उनको दैनिकी अहिले पनि लेख पढमै बित्ने गर्छ । गङ्गा नदीमा धेरै पानी बगिसक्यो । उनका बाबु स्वर्गीय भइसके । आफैँ तीन बीस कटिसकिन् तर जसै पढ्न बस्छिन् उनलाई बुबाले पढ्नुपर्छ बेटा भनेको याद आइरहन्छ भन्छिन् । प्रज्ञा प्रतिष्ठानमा अनुवाद प्रमुख उनी विभिन्न पुस्तक तथा लेखको सम्पादनमा समेत सक्रिय छिन् ।
क्याम्पस जान घरमा बहस
मगध महिला क्याम्पसमा उनको स्नातक तहको पढाइ सकियो । उनका बाबुले उनलाई भने अब मास्टर पढ्नु पर्छ । तर घरमा फसाद आइलाग्यो । महिला क्याम्पसमा स्नातकोत्तर पढाइ थिएन ।
को एजुकेशन भएको क्याम्पसमा जानुपर्ने भो । ‘को एजुकेशन लिने भएपछि त घरमा बहसै चल्यो,’ उषाले भनिन्, ‘बा को उपस्थितिमा आमाले दिदी र मलाई भन्नुभयो लौ तिमीहरुलाई पढाइएको छ घरको इज्जत राख्नु केही नराम्रो सुन्न नपरोस् ।’ यो चेतावनी केटाहरुसँग हिमचिम नबढाउनु भन्ने नै थियो ।
राज दरभंगा हाउसमा रहेको पटना युनिभर्सिटी । कुनै बेलाको राजाको दरबार सुरुमा सन् १५७७ मा बनेको थियो । पछि पुनर्निर्माण सन् १९४७ मा भएको थियो । यो दरबारको क्षेत्रफल मात्रै ६२ सय किमी थियो । नजिकै बगेकी पवित्र गंगा नदी । राजा र रानी महल रहेको । दुई महलको बीचमा प्यासेज प्यासेजमा रहेको कालीको मन्दिर । डटेर पढाउने शिक्षक सहयोगी साथी उषालाई क्याम्पस मन परेछ ।
आमाले भनेजसरी नै कलेज आउजाउ गरे । ‘फिल्म हेर्न गइएन । कक्षा हाफ्ने कुरै भएन,’ उषाले भनिन्, ‘क्याम्पसमा कुन–कुन क्लास कतिबेला हुन्थ्यो आमासँग रुटिन हुन्थ्यो । आउँदाजाँदा ठिक्क समयमा आफ्नै गाडीमा हिँडिन्थ्यो । अहिलेजस्तो बंक भन्ने कुरा भएन ।’
स्कुले शिक्षादेखि स्नातकसम्म महिला कलेजमा पढेकी उषालाई को एजुकेशन पढ्दा कस्तो सोचाइ आयो त ?
‘परिवारमा हरेक विषयमा छलफल हुने भएर हो कि किन हो खासै अप्ठ्यारो भने लागेन । साच्ची,’ केही कुरा सम्झे जसरी उषाले भनिन्, ‘एकजना बिहारी कवि हुनुहुन्थ्यो उहाँले लेखेका केही कविताको भाव अलि ‘अश्लील’ जस्ता शब्द सुन्दा शिर भने निहुँरिन्थ्यो ।’
कक्षाका अधिकांश छात्राको विवाह भइसकेको थियो । तर उषा यस्तो परिवारमा हुर्केकी थिइन् पढाइ ठूलो अरु गौण भएको परिवार । उनका बुबाआमाले औपचारिक डिग्री हासिल गरेनन् । उनको परिवारको अंग्रेजसँग राम्रो संगत थियो । उषालाई लाग्छ त्यही भएर बुबाले शिक्षाको महत्व बुझ्नुभएको । उनका बुबा पत्रपत्रिका पुस्तक भने पढिरहन्थे ।
जसै उनले मास्टर सकिन् अनि पिएचडीमा भर्ना भइहालिन् त्यो पनि बुबाकै आग्रहमा । उनले कवि तथा साहित्यकार सुमित्रानन्दन पन्तका बारेमा थेसिस गरिन् । ‘उहाँले प्रकृतिप्रदत्त र क्रान्तिकारी कविता लेख्नुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो,’ उषाले पन्तबारे भनिन्, ‘उहाँसँग चिठीपत्र आदान–प्रदान हुन्थ्यो । म उहाँबाट निकै प्रभावित थिएँ ।’
करिब ९ वर्षको क्याम्पसे जीवनमा उनले पढाइमा मात्र हैन सिर्जनात्मक लेखाइमा पनि समय बिताइन् । क्याम्पसमा हुने विभिन्न कार्यक्रममा सहभागी भइन् । ‘क्याम्पसमा हुने सिर्जनात्मक कार्यक्रममा मेरो रुचि थियो,’ उनले तस्बिर देखाउँदै भनिन्, ‘वादविवाद प्रतियोगितामा प्रथम पनि भएकी थिएँ ।’
उनले कलेजमा पढ्दा प्रत्यक्ष राजनीति त गरिनन् तर उनको झुकाव भने समाजवादी तिर थियो । किन त ? ‘मलाइ के लाग्छ भने सबै विभेद हट्नुपर्छ,’ उषाले भनिन्, ‘त्यो विचार त समाजवादी विचारमा हुन्छ क्यारे ।’
सम्झनामा आइरहने अन्नपूर्णा गुरुमा
क्याम्पस र स्कुलको पढाइमा उषालाई धेरैले पढाए । तर उनको हृदयमा सजिइन् प्रिन्सिपल डाक्टर अन्नपूर्णा । अन्नपूर्णा निकै कडा थिइन रे । कक्षा कक्षा घुम्ने । कुन कक्षामा के पढाइ भइरहेको छ । यति सम्म निरीक्षण गर्थिन् कि कुन विद्यार्थीले के पढिरहेको छ सम्म ।
उषा कृतज्ञ भावमा भन्छिन्, ‘उहाँ कक्षा कक्षामा पनि आउनुहुन्थ्यो सबैले के पढेको छ ख्याल गर्नुहुन्थ्यो । जहिले पनि कक्षा घुम्ने बेलामा मेरो छेउ भएर घुम्नुहुन्थ्यो । अनि मैले पढेको पुस्तक हेर्नुहुन्थ्यो । उपन्यास हो कि कोर्षको हो भनेर ।’
अन्नपूर्णाले उनलाई निकै हेरविचार गर्थिन् कि बेलाबेलामा डायरीहरु दिने गर्थिन् । डायरीमा आफ्ना विचार लेख्न भन्थिन् । लेखिसकेर गुरुमालाई बुझाउनुपर्ने । ‘मैले त्यसमा समसामयिक विषयमा आफ्ना धारणा पनि लेख्थेँ,’ उषा भन्छिन्, ‘मेरो धारणामा चित्त बुझेन भने सम्झाउनु पनि हुन्थ्यो ।’
एक दिनको कुरा हो । उनको घरमा अन्नपूर्णा गुरुआमा आइन् । उषाकी आमालाई भेटिन् र प्रस्ताव गरिन् । ‘उषालाई म कानुनी रुपमा छोरी ग्रहण गर्छु ।’ उषाकी आमाले यो कुरा मानिनन् । तर भनिन्, ‘हजुरले छोरी जस्तै गर्न सक्नुहुन्छ ।’ उषालाई अझै पनि अन्नापूर्णा गुरुमाको यादले सताइरहन्छ ।
विवाहसँगै जोडिएको नेपाल यात्रा
विवाह गर्ने बेला भए पनि उषालाई विवाह गर्ने खासै मन थिएन तर जसै उनका बाबुलाई हृदयाघात भयो उनलाई लाग्यो अब भने विवाह गर्नुपर्छ । उनको वीरगञ्जमा बस्ने रामभक्त ठाकुरसँग मागी विवाह भयो । उनले पनि पिएचडी गरेका थिए । उषाका आमाबाबुलाई एउटै पिर थियो छोरीले पिएचडी गरी ज्वाइँ त्यस्तो पर्छन् कि पर्दैनन् भन्ने । जसै रामभक्तको परिवार उषालाई विवाह गर्न प्रस्ताव लिएर पुग्यो । उनीहरु खुसी भए । उषा विवाह गरेर सीमापारि नेपाल आइन् ।
उनका श्रीमान् रामभक्त ठाकुर परराष्ट्रमा काम गर्थेे । उनको नेपालमा भन्दा विदेशमा बसाइ धेरै हुन्थ्यो । उषाले २०३६ सालमा सह प्राध्यापकमा नाम निकालिन् । हिन्दी विभागमा काम गरिन् । उनलाई लेखाइभन्दा बोलाइमा ठेट नेपाली गाह्रो लाग्यो । रामभक्तले प्रोत्साहन दिइरहे । आफ्नो नामले चिनिनुपर्छ भन्ने श्रीमान्को आग्रह माया प्रेम र सद्भावले यहाँसम्म आइपुगेको उनको भनाइ थियो । ‘नेपाली भाषा लेख्नमा उहाँको धेरै सहयोग रह्यो,’ उनले भनिन्, ‘विदेशमा बस्दा पनि हामीले नेपाली भाषामै चिठीपत्र आदान–प्रदान गर्यौँ ।’
जिज्ञासु फ्रान्सेली विद्यार्थी
पटना युनिभर्सिटीमा छात्रवृत्तिमा पढेकी हुन् उषाले । छात्रवृत्ति भने सशर्त हुन्थ्यो । पढिसकेपछि त्यही कलेजमा पढाउनुपर्ने । जसै उनले मास्टर सकिन् उनले पटना युनिभर्सिटीमा पढाइन् । नेपाल आएपछि त्रिभुवन विश्वविद्यालय अनि ४ वर्ष फ्रान्सको डोफेन युनिभर्सिटी । त्यहाँ सेमिनार भइरहन्थ्यो, उनले प्रस्तुति दिइरहन्थिन् ।
नेपाल, भारत र फ्रान्समा पढाउँदा विद्यार्थीको मनोभावना कस्तो पाइन् त उनले ?
नेपाल र भारतको विद्यार्थी ढुक्कैले पढ्थेँ । आर्थिक समस्या थिएन । पिएचडीसम्म बाबुले नै पढाएका थिए । उनले यो अनुभव फ्रान्सेली विद्यार्थीलाई सेयरिङ गरिन् ।
त्यसपछि त त्यहाँका विद्यार्थीको प्रश्नको ओइरो नै लाग्न थाल्यो ।
१८ वर्षमै बाबुआमाबाट छुट्टिएर आफैँ कमाएर पढ्नुपर्ने उनीहरुलाई नेपाल भारतमा बाआमाले पढाइदिन्छन् भन्दा अचम्म लागेछ । किन भनेर सोध्थे रे ।
अझ अर्काे कुरा त, नेपालबाट फर्केको फ्रान्सेली विद्यार्थीले भनेछ ‘नेपालमा उकालो ओरालो गर्नुपर्छ । पानी बोकेर घण्टौँ उकालो चढ्छन् तै पनि उनीहरु हाँसिरहन्छन् उनीहरु कसरी खुसी हुन सकेका ।’
अभिषेक र सृष्टी ठाकुर उनीहरुको सन्तान । इन्जिनियर र डाक्टर । नातिनातिना पनि भइसके । हिजो आजका बच्चाबच्चीमा के फरक पाउनुहुन्छ त ?
‘उनीहरु डराउँदैनन् पविधिमा पोख्त’ उनले भनिन् ।
युवाहरु कस्तो लाग्छ नि ?
उषाको श्रीमान् रामभक्त ठाकुरले भने, ‘हिजोआजका युवाले आफूलाई क्षमतावान् बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रुपमा आफू कहाँ छु आफ्नो ज्ञानको क्षमतामा ध्यान दिन जरुरी देख्छु म ।’ यति भनेर अडिएँ ।
अन्त्यमा उषाले भनिन् पलायन हुने सोच नराखे हुने । खै, किन हो नेपाल बस्दैनन् आजका युवा ।’
प्रकाशित: ११ पुस २०७६ १२:५८ शुक्रबार