६ वैशाख २०८१ बिहीबार
अन्य

२९ वर्षमा पिएचडी, ३६ वर्ष प्राध्यापन

तस्बिरः कृष्पा श्रेष्ठ

‘छोरीको विवाह गर्ने बेला भएन ?’
‘कति पढाएको होला ?’
 ‘छोरीलाई जति पढाए पनि अर्काको घर जानै पर्छ, जुठा भाँडा माझ्नैपर्छ, छोराछोरी जन्माउनैपर्छ । धेरै पढाएर के नापिन्छ छ र ?’
उनका घरमा आउनेहरुले यसै भन्ने गर्थे रे ।
तर उनका बुबा जब्बर निस्किए । कसैले भनेको सुने पो ।
उनी बुबाआमाले भनेअनुसार पढ्दै गइन् ।

पढ्नु र लेख्नुमा बितेको दैनिकी
बिहान उठेर कोर्षको किताब पढ्थिन् । दिउँसो पढ्नका लागि स्कुल क्याम्पस जान्थिन् । बेलुकी पढाइ सकेपछि सिधै घर जाने गर्थिन् । साँझको समयमा घरमा आएका पत्रपत्रिका समाचार पढ्थिन् । फेरि बेलुका कोर्षको किताब पढ्थिन् । उनले यसरी बिताइन् २४ वर्षसम्को जिन्दगी ।
उनका बुबा यस्ता थिए कि एउटा कक्षाबाट अर्काेमा उक्लेपछि माथिल्लो कक्षामा भर्ना गरिहाल्नुपर्ने । ‘बेटा पिएचडी गर्नुपर्छ भनिरहने ।’ बुबाको यो भनाइ उनको कानमा अहिले पनि गुञ्जिरहन्छ । पढाइमा अब्बल उनी बुबाले भने जसरी नै पढ्दै गइन् । २९ वर्षको उमेरमा पिएचडीसमेत सकाइन् ।
०००००
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन, डेढ वर्ष त्रिभुवन विश्वविद्यालयको हिन्दी विभाग प्रमुख, त्यसपछिका दिनहरु नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभाग प्रमुख भएर जीवनलाई क्रियाशील गराइरहेकी छिन् उषा ठाकुर । बेलायती औपनिवेशबाट भारत स्वतन्त्र भएको ठिक ४ वर्षपछि पटनामा  जन्मिइन् उनी । आमा कैलाशदेवी शर्मा बुबा किशोरीलाल शर्माको दोस्रो सन्तानको रुपमा सन् १९५१ मा सम्पन्न परिवारमा जन्म भयो ।
००००
उनको परिवार सम्पन्न थियो  । बुबाको आफ्नै फ्याक्ट्री थियो । घरभरि काम गर्ने मान्छे थिए । ऊ बेलामा पनि घरमा फोनको व्यवस्था थियो । उनकी आमा अंग्रेजी र गणितमा पोख्त थिइन् । फोनबाटै  फ्याक्ट्रीको कामको अरनपरन चल्थ्यो । कतै जान परे उनीहरु आफ्नै गाडी चढेर जान्थे । घर मेन रोडमै भएको कारण मानिसको चहलपहल पनि निकै हुन्थ्यो ।

पढ्नमा मात्रै हैन उनका आमाबुबाले केही कुराको कमी हुन दिएनन् आफ्ना छोराछोरीलाई । कुन शहरमा कुन फलफूल चर्चित छ ? कुन खाने कुरा कहाँ पाइन्छ ? जन्मजातै साकाहारी शर्मा परिवारमा ट्रक का ट्रक सामान आइपुग्थ्यो । उनका बुबा खानमा यति सौखिन थिए कि महिनाको एक दुई चोटी पूरै परिवारलाई पाँचतारे होटलमा खान लैजान्थे । नयाँ नयाँ परिकार मगाउँथे । अनि उषाकी आमालाई खुसुक्क्क भन्थे रे ‘लौ यस्तै खाने कुरा घरमा पनि पाक्न प¥यो ।’
उनको घरमै दुईवटा गाई थिए । गाईले धेरै दूध दिन्थे, दूधबाट धेरै किसिमका परिकार बनाइन्थ्यो । केटाकेटीले बाहिरतिर खाने बानी नगरून् भनेर बुबाले सकेसम्म घरमै मिस्ठान्न भोजन बनाउन भन्नुभएको होला भनी उषा लख काट्छिन् ।  ‘आमा पनि निकै सजग हुनुहुन्थ्यो, उनले भनिन्, ‘छोराछोरीको पढाइ र खानाको मामिलामा त कुनै सम्झौता नै थिएन । न त पढाइमा कमजोर हुन भयो न त खानामा कमी कमजोरी ।’
पढाइ र लेखाइमा बितेको दैनिकी

स्कुल पढ्दा उषाको पढाइका बारेमा बाबुआमाको धेरै चासो थियो । क्याम्पस पढ्ने भएपछि भने आफ्नै जिज्ञासु बानी । नयाँ कुरा सिक्न मन लागिहाल्ने उषाको त्यो बानी आजसम्म पनि उस्तै छ ।  उनले दैनिक रुपमा पत्रिका पढ्ने समय पनि छुट्याएकी थिएन् ।  

पत्रिका पहिले आमाले पढ्नुहुन्थ्यो र त्यसपछि मात्र हामीले पढ्न पाउँथ्यौं । त्यसो गर्नुको कारण उषाले हाँस्दै भनिन्, ‘अलि भड्किला तस्बिर र लेखहरु छन् भने त्यो पेज नै काटिएर आउँथ्यो । त्यो पढे छोराछोरी बिग्रन्छन् भनेर काटिने रहेछ । हामीलाई पछि मात्र  थाहा भयो ।’

शिक्षकशिक्षिकाको प्रिय विद्यार्थी थिइन् उनी । उषाको साथी सर्कल पनि त्यस्तै थियो रे । साथीहरुसँग घरको कुराकानीबाहेक पत्रपत्रिका र म्यागेजिनमा आएका लेखबारे कुराकानी हुन्थ्यो । उनको सबभन्दा मिल्ने साथी रागिनी शर्मा थिइन् ।  रागिनी जस्तै अरु दुई तीन जना थिए । कालान्तरमा उनका दामलीले पनि शिक्षण पेसा नै अँगालेको उनले बताइन् ।

उषाको पहिलो कविता १९ वर्ष हुँदा छापियो । ‘नारी र नदी’  शीर्षकको । ‘उनी पहिलो पटक पत्रिकामा आफ्नो नाम देख्दा खुसीले गद्गद् भएकी थिइन्,’ उनले भनिन्, ‘बुबा त झनै खुसी हुनुभएको थियो । ठिक गर्‍यौँ बेटा तिमीले अझ लेख्नुपर्छ भन्नुहुन्थ्यो ।’

उनको दैनिकी अहिले पनि लेख पढमै बित्ने गर्छ । गङ्गा नदीमा धेरै पानी बगिसक्यो । उनका बाबु स्वर्गीय भइसके । आफैँ तीन बीस कटिसकिन् तर जसै पढ्न बस्छिन् उनलाई बुबाले पढ्नुपर्छ बेटा भनेको याद आइरहन्छ भन्छिन् । प्रज्ञा प्रतिष्ठानमा अनुवाद प्रमुख उनी विभिन्न पुस्तक तथा लेखको सम्पादनमा समेत सक्रिय छिन् ।

क्याम्पस जान घरमा बहस
मगध महिला क्याम्पसमा उनको स्नातक तहको पढाइ सकियो । उनका बाबुले उनलाई भने अब मास्टर पढ्नु पर्छ । तर घरमा फसाद आइलाग्यो । महिला क्याम्पसमा स्नातकोत्तर पढाइ थिएन ।

को एजुकेशन भएको क्याम्पसमा जानुपर्ने भो । ‘को एजुकेशन लिने भएपछि त घरमा बहसै चल्यो,’ उषाले भनिन्, ‘बा को उपस्थितिमा आमाले दिदी र मलाई भन्नुभयो लौ तिमीहरुलाई पढाइएको छ घरको इज्जत राख्नु केही नराम्रो सुन्न नपरोस् ।’ यो चेतावनी केटाहरुसँग हिमचिम नबढाउनु भन्ने  नै थियो ।

राज दरभंगा हाउसमा रहेको पटना युनिभर्सिटी । कुनै बेलाको राजाको दरबार सुरुमा सन् १५७७ मा बनेको थियो । पछि पुनर्निर्माण सन् १९४७ मा भएको थियो । यो दरबारको क्षेत्रफल मात्रै ६२ सय किमी थियो । नजिकै बगेकी पवित्र गंगा नदी । राजा र रानी महल रहेको । दुई महलको बीचमा प्यासेज प्यासेजमा रहेको कालीको मन्दिर । डटेर पढाउने शिक्षक सहयोगी साथी उषालाई क्याम्पस मन परेछ ।

आमाले भनेजसरी नै कलेज आउजाउ गरे । ‘फिल्म हेर्न गइएन । कक्षा हाफ्ने कुरै भएन,’ उषाले भनिन्, ‘क्याम्पसमा कुन–कुन क्लास कतिबेला हुन्थ्यो आमासँग रुटिन हुन्थ्यो । आउँदाजाँदा ठिक्क समयमा आफ्नै गाडीमा हिँडिन्थ्यो । अहिलेजस्तो बंक भन्ने कुरा भएन ।’   

स्कुले शिक्षादेखि स्नातकसम्म महिला कलेजमा पढेकी उषालाई को एजुकेशन पढ्दा कस्तो सोचाइ आयो त ?
‘परिवारमा हरेक विषयमा छलफल हुने भएर हो कि किन हो खासै अप्ठ्यारो भने लागेन । साच्ची,’ केही कुरा सम्झे जसरी उषाले भनिन्, ‘एकजना बिहारी कवि हुनुहुन्थ्यो उहाँले लेखेका केही कविताको भाव अलि ‘अश्लील’ जस्ता शब्द सुन्दा शिर भने निहुँरिन्थ्यो ।’

कक्षाका अधिकांश छात्राको विवाह भइसकेको थियो । तर उषा यस्तो परिवारमा हुर्केकी थिइन् पढाइ ठूलो अरु गौण भएको परिवार । उनका बुबाआमाले औपचारिक डिग्री हासिल गरेनन् । उनको परिवारको अंग्रेजसँग राम्रो संगत थियो । उषालाई लाग्छ त्यही भएर बुबाले शिक्षाको महत्व बुझ्नुभएको । उनका बुबा पत्रपत्रिका पुस्तक भने पढिरहन्थे ।
जसै उनले मास्टर सकिन् अनि पिएचडीमा भर्ना भइहालिन् त्यो पनि बुबाकै आग्रहमा । उनले कवि तथा साहित्यकार सुमित्रानन्दन पन्तका बारेमा थेसिस गरिन् । ‘उहाँले प्रकृतिप्रदत्त र क्रान्तिकारी कविता लेख्नुभएको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो,’ उषाले पन्तबारे भनिन्, ‘उहाँसँग चिठीपत्र आदान–प्रदान हुन्थ्यो । म उहाँबाट निकै प्रभावित थिएँ ।’

करिब ९ वर्षको क्याम्पसे जीवनमा उनले पढाइमा मात्र हैन सिर्जनात्मक लेखाइमा पनि समय बिताइन् । क्याम्पसमा हुने विभिन्न कार्यक्रममा सहभागी भइन् । ‘क्याम्पसमा हुने सिर्जनात्मक कार्यक्रममा मेरो रुचि थियो,’ उनले तस्बिर देखाउँदै भनिन्, ‘वादविवाद प्रतियोगितामा प्रथम पनि भएकी थिएँ ।’
उनले कलेजमा पढ्दा प्रत्यक्ष राजनीति त गरिनन् तर उनको झुकाव भने समाजवादी तिर थियो । किन त ? ‘मलाइ के लाग्छ भने सबै विभेद हट्नुपर्छ,’ उषाले भनिन्, ‘त्यो विचार त समाजवादी विचारमा हुन्छ क्यारे ।’
सम्झनामा आइरहने अन्नपूर्णा गुरुमा

क्याम्पस र स्कुलको पढाइमा उषालाई धेरैले पढाए । तर उनको हृदयमा सजिइन् प्रिन्सिपल डाक्टर अन्नपूर्णा । अन्नपूर्णा निकै कडा थिइन रे । कक्षा कक्षा घुम्ने । कुन कक्षामा के पढाइ भइरहेको छ । यति सम्म निरीक्षण गर्थिन् कि कुन विद्यार्थीले के पढिरहेको छ सम्म ।
उषा कृतज्ञ भावमा भन्छिन्, ‘उहाँ कक्षा कक्षामा पनि आउनुहुन्थ्यो सबैले के पढेको छ ख्याल गर्नुहुन्थ्यो । जहिले पनि कक्षा घुम्ने बेलामा मेरो छेउ भएर घुम्नुहुन्थ्यो । अनि मैले पढेको पुस्तक हेर्नुहुन्थ्यो । उपन्यास हो कि कोर्षको हो भनेर ।’

अन्नपूर्णाले उनलाई निकै हेरविचार गर्थिन् कि बेलाबेलामा डायरीहरु दिने गर्थिन् । डायरीमा आफ्ना विचार लेख्न भन्थिन् । लेखिसकेर गुरुमालाई बुझाउनुपर्ने । ‘मैले त्यसमा समसामयिक विषयमा आफ्ना धारणा पनि लेख्थेँ,’ उषा भन्छिन्, ‘मेरो धारणामा चित्त बुझेन भने सम्झाउनु पनि हुन्थ्यो ।’
एक दिनको कुरा हो । उनको घरमा अन्नपूर्णा गुरुआमा आइन् । उषाकी आमालाई भेटिन् र प्रस्ताव गरिन् । ‘उषालाई म कानुनी रुपमा छोरी ग्रहण गर्छु ।’ उषाकी आमाले यो कुरा मानिनन् । तर भनिन्, ‘हजुरले छोरी जस्तै गर्न सक्नुहुन्छ ।’ उषालाई अझै पनि अन्नापूर्णा गुरुमाको यादले सताइरहन्छ ।

विवाहसँगै जोडिएको नेपाल यात्रा
विवाह गर्ने बेला भए पनि उषालाई विवाह गर्ने खासै मन थिएन तर जसै उनका बाबुलाई हृदयाघात भयो उनलाई लाग्यो अब भने विवाह गर्नुपर्छ । उनको वीरगञ्जमा बस्ने रामभक्त ठाकुरसँग मागी विवाह भयो । उनले पनि पिएचडी गरेका  थिए । उषाका आमाबाबुलाई एउटै पिर थियो छोरीले पिएचडी गरी ज्वाइँ त्यस्तो पर्छन् कि पर्दैनन् भन्ने । जसै रामभक्तको परिवार उषालाई विवाह गर्न प्रस्ताव लिएर पुग्यो । उनीहरु खुसी भए । उषा विवाह गरेर सीमापारि नेपाल आइन् ।
उनका श्रीमान् रामभक्त ठाकुर परराष्ट्रमा काम गर्थेे । उनको नेपालमा भन्दा विदेशमा बसाइ धेरै हुन्थ्यो । उषाले २०३६ सालमा सह प्राध्यापकमा नाम निकालिन् । हिन्दी विभागमा काम गरिन् । उनलाई लेखाइभन्दा बोलाइमा ठेट नेपाली गाह्रो लाग्यो । रामभक्तले प्रोत्साहन दिइरहे । आफ्नो नामले चिनिनुपर्छ भन्ने श्रीमान्को आग्रह माया प्रेम र सद्भावले यहाँसम्म आइपुगेको उनको भनाइ थियो । ‘नेपाली भाषा लेख्नमा उहाँको धेरै सहयोग रह्यो,’ उनले भनिन्, ‘विदेशमा बस्दा पनि हामीले नेपाली भाषामै चिठीपत्र आदान–प्रदान गर्‍यौँ ।’

जिज्ञासु फ्रान्सेली विद्यार्थी
पटना युनिभर्सिटीमा छात्रवृत्तिमा पढेकी हुन् उषाले । छात्रवृत्ति भने सशर्त हुन्थ्यो । पढिसकेपछि त्यही कलेजमा पढाउनुपर्ने । जसै उनले मास्टर सकिन् उनले पटना युनिभर्सिटीमा पढाइन् । नेपाल आएपछि त्रिभुवन विश्वविद्यालय अनि ४ वर्ष फ्रान्सको डोफेन युनिभर्सिटी । त्यहाँ सेमिनार भइरहन्थ्यो, उनले प्रस्तुति दिइरहन्थिन् ।
नेपाल, भारत र फ्रान्समा पढाउँदा विद्यार्थीको  मनोभावना कस्तो पाइन् त उनले ?
नेपाल र भारतको विद्यार्थी ढुक्कैले पढ्थेँ । आर्थिक समस्या थिएन । पिएचडीसम्म बाबुले नै पढाएका थिए । उनले यो अनुभव फ्रान्सेली विद्यार्थीलाई सेयरिङ गरिन् ।
त्यसपछि त त्यहाँका विद्यार्थीको प्रश्नको ओइरो नै लाग्न थाल्यो ।
१८ वर्षमै बाबुआमाबाट छुट्टिएर आफैँ कमाएर पढ्नुपर्ने उनीहरुलाई नेपाल भारतमा बाआमाले पढाइदिन्छन् भन्दा अचम्म लागेछ । किन भनेर सोध्थे रे ।
अझ अर्काे कुरा त, नेपालबाट फर्केको फ्रान्सेली विद्यार्थीले भनेछ ‘नेपालमा उकालो ओरालो गर्नुपर्छ । पानी बोकेर घण्टौँ उकालो चढ्छन् तै पनि उनीहरु हाँसिरहन्छन् उनीहरु कसरी खुसी हुन सकेका ।’
अभिषेक र सृष्टी ठाकुर उनीहरुको सन्तान ।  इन्जिनियर र डाक्टर । नातिनातिना पनि भइसके । हिजो आजका बच्चाबच्चीमा के फरक पाउनुहुन्छ त ?
‘उनीहरु डराउँदैनन् पविधिमा पोख्त’ उनले भनिन् ।

युवाहरु कस्तो लाग्छ नि ?
उषाको श्रीमान् रामभक्त ठाकुरले भने, ‘हिजोआजका युवाले आफूलाई क्षमतावान् बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रुपमा आफू कहाँ छु आफ्नो ज्ञानको क्षमतामा ध्यान दिन जरुरी देख्छु म ।’ यति भनेर अडिएँ ।
अन्त्यमा उषाले भनिन् पलायन हुने सोच नराखे हुने । खै, किन हो नेपाल बस्दैनन् आजका युवा ।’   

प्रकाशित: ११ पुस २०७६ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App