नेपाली रंगमञ्चको सही इतिहास एक दिन लेखियो भने ‘दीपक छेत्री नेपाली रंगमञ्चका एक अविस्मरणीय कलाकार हुन्’ भनेर लेखिनेछ।
नेपाली रंगमञ्चको इतिहास कहिले सही हुनेछ, त्यो मलाई थाहा छैन। त्यो कुरा थाहा नपाई दीपक छेत्री बितेर गए, गत शनिबार अर्थात् २०७६ मंसिर २८ गते।
फेसबुकका पोस्टलाई पत्याउने हो भने बलिउडका नायक दीलिप कुमार, अमिताभ बच्चन, लता मंगेशकर कैँयौपटक बिते भन्ने खबर आइसकेको छ। तर, मैले दीपकको मृत्युको खबर पत्याइनँ।
होक्स् न्युजको यो भीडमा दीपक छेत्री बितेको खबर पनि त्यसरी नै आएको हो कि भनेर मैले सोच्नुप-यो। तर, साँझ ६ बजेसम्म आउँदा त्यो खबरले सत्यताको दह्रो दम्भ लिइसकेको थियो– कलाकार दीपक छेत्री रहेनन्।
दीपक नेपाली रंगमञ्चमा त्यो समय आए, जति वेला नेपाली रंगमञ्चमा हरिप्रसाद रिमाल, शकुन्तला शर्मा, हरिहर शर्मा, मदनदास श्रेष्ठ, नीर शाह, लक्ष्मी श्रेष्ठको एउटा वैभवशाली बेला थियो।
दार्जिलिङबाट मनबहादुर मुखियाको ‘अनि देवराली रुन्छ’, प्रताप सुब्बाको ‘रातको प्रथम प्रहर’पछि दार्जिलिङ सेलाएका वेला दीपक छेत्री ‘शुभकामना’ नाटकका लागि नायकका रूपमा ०३९ सालमा नेपाल आएका थिए।
सोही नाटक मञ्चनका सिलसिलामा आएका सबै कलाकार फर्केर दार्जिलिङ गए, तर दीपक दार्जिलिङ गएनन्, यहीँ बसे काठमान्डुको ठहिँटीको होटल केदारमा।
उनी अन्ततः यही काठमान्डुका रंगकर्मी भए। दीपकको सक्रियतामा हामीले एउटा रंगकर्मी समूह खोल्यौँ– युनाइटेड आर्टिस्ट (युआ)।
एकपटक उनी नायक हुने रहरले मुम्बई पनि पुगेका थिए, सुनील दत्तको फिल्म रकीमा दत्तले आफ्ना छोरा सञ्जय दत्तलाई नायक बनाएपछि दीपक हिस्स परेर दार्जिलिङ फर्के। दार्जिलिङबाट उनी गोपाल योञ्जनको सिफारिसमा काठमान्डु आए।
युआ स्थापना भएको समय काठमान्डुमा नीर शाहको श्री समूह, बद्री अधिकारी सुनील पोखरेलको आरोहण समूह, अशेष मल्लको सर्वनाम, रवीन्द्र खड्काको जेनाप परिवार, रमेश बुढाथोकीको रंगकर्मी जमात आदि सक्रिय थियो।
युआको सक्रियतामा हामीले २०३९ मा ‘बन्धित आकाश’ नाटक मञ्चन ग-यौँ, यस नाटककमा दीपकबाहेक मीना श्रेष्ठ, पवन खरेल, प्रकाश सायमी, सोमनाथ भट्टराई आदिले अभिनय गरेका थिए। हामी यसरी साथ भयौँ।
दीपकले मेरो निर्देशनमा दिनेश भुजूको नाटक ‘हाम्रो आफ्नै महाभारत’, ‘... र विपीन’, ‘संयोग’, ‘युद्धरत युद्ध’ र ‘ब्रस, इजल र क्यानभास’ आदि खेले।
दीपकलाई गोदावरी अलुम्नाई एसोसिएनको ह्याम्स् सिल्डको सर्वोत्कृष्ट अभिनेता पुरस्कार जित्ने हुटहुटी खुब थियो, त्यसका लागि मलाई उनले एउटा मोनो एक्ट लेखिदिन भने।
भारतमा विजय तेन्डुलकरको नाटकको शक्तिशाली युग थियो, हामी त्यसबाट प्रभावित थियौँ। त्यसैको प्रभावमा मैले वन एक्ट प्ले (एकल अभिनय) संयोग लेखेँ, यसमा दीपकले अभिनय गरे।
सभागृहमा मञ्चित यस नाटकमा दीपकले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दप्काए। ‘द राइजिङ नेपाल’मा कला समीक्षक सुमित्रा राईले लेखिन्– एन् एक्टर इज बर्न...। गोपाल चित्रकारले उनले पुरस्कार पाएको फोटो खिचे।
यसरी दीपकले नेपाली रंगमञ्चमा २०४० पछि निरन्तर आफ्नो छाप छाड्दै आए, भक्त श्रेष्ठ भर्खर सरुभक्त भएका थिए, उनको लेखनमा ‘ताण्डवनृत्य र अजम्बरी भ्वाइलेन’, ‘कोलाज’, ‘इतिहासभित्रको इतिहास’मा दीपक आए।
रवीन्द्र खड्काको जेनाप समूहमा बसेर दीपकले ‘चुइँया’ नामक नाटक खेले। जेनापमा त्यतिवेला रवीन्द्रका साथ उज्वल घिमिरे, मुनिन्द्र रिमाल, सपना मल्ल प्रधान, ममता रेग्मी, विनीता भट्टराई, पराक्रमराज शर्मा सक्रिय थिए।
त्यो समय भारतको नक्सलवादी आन्दोलनको परिवेशमा मराठी लेखक अनिल बार्वेको उपन्यास ‘थ्यान्क्यु मिस्टर ग्ल्याड’लाई नाट्य रूपान्तरण गरेर मञ्चन गर्ने तयारी गर्ने जोस चलेका बेला रमेश बुढाथोकी र मेरो सक्रियतामा त्यो नाटक नेपालीमा मञ्चन भयो, मेरो लेखन र रमेशको निर्देशनमा अनुदित नाम राखियो– उसको कवितामा को रुँदैन।
यस नाटकमा दीपकले एउटा पागल कैदीको भूमिका निर्वाह गरे, दीपकको कामबाट एक महिला दर्शक यति प्रभावित भइन्, हरेक दिन दीपकका लागि नाटक हेर्न आउन थालिन् र उनीसितै दीपकको असफल प्रेमको सुरुवात भयो। यो प्रेमले केही सुधार्न मद्दत गर्ला कि भन्दाभन्दै उनी झनै मद्यपानमा डुब्न थाले। ‘उसको कवितामा अब को रुँदैन’ नाटकमा दीपकले गर्ने रोल कहिलेकाहीँ बद्रि अधिकारीले गर्थे। त्यतिबेला काठमान्डुमा अपार सफल भएको यो नाटक तत्कालीन अञ्चलाधीश कार्यालयले रोकिदिएपछि पुनः चर्चामा आउन थाल्यो, जब समीक्षा साप्ताहिकमा अशेष मल्लले यसको बुलन्द समीक्षा लेखे– घाउ दुखिरहेछन्।
यो रमेश र हाम्रो पछिल्लो नाटक थियो, ०४२ सालपछि रमेशसित नयाँ लेखक साथीहरू जोडिए– मोहन निरौला, जयन्त भट्टराई, नयनराज पाण्डे अनि अरु।
रमेशसित छुटेपछि दीपकले आफ्नै निर्देशनमा मेरो नाटक ‘जिन्दगी र जीजिविषा’ मञ्चन गरे, भृकुटी मण्डपको ओपन थिएटरमा। यसमा उनले थुप्रै पुरस्कार पाए, सर्वोत्कृष्ट निर्देशक पनि भए उनी।
दीपकमा अद्भुत क्षमता थियो, उनी अभिनेता मात्र थिएनन्, गीत, कविता, कथा, संस्मरण पनि बेजोड लेख्थे।
नेपाली रंगमञ्चमा गज्जबका आवाज भएका कलाकारमध्ये उनी र लोकमणि सापकोटा थिए। सापकोटाको आवाजमा भन्दा दीपकको आवाजमा ‘मोडुलेसन’ थियो भनिन्छ।
दीपकको गज्जबको ड्रेसिङ सेन्स् थियो, अग्लो खाइलाग्दो अनि बुलन्द आवाजका धनी दीपक अंग्रेजी मात्र बोल्नुपर्ने जागिर गर्थे, होटल अन्नपूर्णमा, सिनियर टेलिफोन अपरेटरका रूपमा, वसन्त गुरुङ, रमेश अधिकारी, अच्युत सापकोटा अनि सुरेश शाहीका साथमा।
नेपालमा कम सिनेमा बन्थे, त्यो वेला। होटल अन्नपूर्णबाट ड्युटी सकेर किंग्स् वेको बाटो हिँड्दै गर्दा दीपक सिनेमाका नायक जस्ता देखिन्थे।
एकपटक उनी नायक हुने रहरले मुम्बई पनि पुगेका थिए, सुनील दत्तको फिल्म रकीमा दत्तले आफ्ना छोरा सञ्जय दत्तलाई नायक बनाएपछि दीपक हिस्स परेर दार्जिलिङ फर्के। दार्जिलिङबाट उनी गोपाल योञ्जनको सिफारिसमा काठमान्डु आए।
त्यसपछि दीपकले नेपाली फिल्ममा हिरो हुने चक्करमा दौड लगाएर ‘विश्वास’ फिल्म खेले। ‘विश्वास’मा शिव श्रेष्ठ हिरो भए, दीपक साइड हिरो। ‘विश्वास’मा उनले नृत्य पनि गरे।
विश्वासमा अभिनय गरेका समय उनले काम गरेको होटलका म्यानेजिङ डाइरेक्टर थिए, बम्बईमा हिरो बन्न पाएर पनि फर्केर आएका सहदेव शमशेर राणा।
भर्खर पत्रकारितामा प्रवेश गर्दै गरेका विजयकुमार पाण्डेले साप्ताहिक ‘विमर्श’को ‘आदि–इत्यादि’ स्तम्भमा पोलिगामिस्ट सहदेव शमशेर राणाको अन्तर्वार्ता छापेका थिए, यो अन्तर्वार्तामा राणाले आफ्नो बम्बईको फिल्मी जीवन र शैलीको चर्चा गर्दा दीपक पनि आफ्ना हाकिमप्रति लोयल देखिए।
राणा होटलमा कडा मिजासका थिए, तर कलामा रुचि भएका दीपकको पर्सनालिटीसित प्रभावित भएर उनले दीपकलाई अलि बढी छुट दिन थाले। यसरी दीपकले जागिरबाट आएको पैसासँगै स्वतन्त्रता पनि पाए।
त्यसपछि उनी होटल केदारबाट भोटेबहालको डेरामा सरे, जहाँ उनीबाहेक गायक तथा संगीतकार दीप श्रेष्ठ, गायक प्रकाश श्रेष्ठ, संगीतकार प्रकाश गुरुङ, अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र खड्का, दीपक हुमागाईं आदि बस्थे।
दीपकले यही समय शीतल नेपालको कथामा बनेको भिडिओ फिल्म ‘प्रेमकथा’मा पनि काम गरे। ‘परालको आगो’ बनाएर ख्याति कमाएका दार्जिलिङका सिनेकर्मी प्रताप सुब्बा नेपाली फिल्म बनाउने उद्देश्यले नेपाल आए, उनले दीपक छेत्रीलाई नायकका रूपमा लिएर फिल्म ‘दिदी’ बनाए। दिदीमा दीपकबाहेक सरोज खनाल, विजया गिरी आदि थिए।
नायकका रूपमा दीपकको यो अन्तिम फिल्म थियो, त्यसपछि दीपकले चलचित्रमा खलनायकको भूमिकातिर आफ्नो बाटो बदले।
दीपकले नेपाली चलचित्र भीष्म प्रतिज्ञा, पृथ्वी, सिमाना, अवतार, जमिन, चट्याङ आदिमा अभिनय गरे, तर सबैमा उनको यादगार प्रस्तुति रह्यो। दीपकले कृष्ण धरावासीको ‘झोला’मा गरेको यादगार अभिनय धेरैले मन पराए।
दीपक राम्रा कलाकार मात्र होइनन्, राम्रो मनको मान्छे पनि हुन्, तर असफल प्रेमले उनलाई रक्सी र चुरोटसँग निकट बनायो, उनी खानपिनमा लापरवाही हुँदै गए। साथीभाइले उनको साथ छोड्दै गए, उनी बिस्तारै एक्लिँदै गए।
दीपकसित एक रंगकर्मीका हैसियतले ३५ वर्ष लामो संगत रह्यो, उनीसित मैले जीवनका धेरै सुखदुःखसँगै बाँडेको छु।
दार्जिलिङबाट आएका दीपक छेत्री र अशोक शर्मा यस्ता कलाकार हुन्, जसले मेरो घरको पनि बुइँगल टेके। दीपकले कुनै समय मेरी जीवनसंगिनी अञ्जलीको हातबाट भाइटीकासम्म गरे। मेरो प्रायः फिल्ममा उनले ज्वलन्त अभिनय गरेका छन्, चाहे सिमाना होस् वा अवतार, पृथ्वी होस् वा जमिन।
आवाजमा दम भएका दीपकसित एउटा कमजोरी थियो, उनी हात फैलाउन जान्दैनथे, माग्न जान्दैनथे। दार्जिलिङको पान्डममा जन्मेका दीपकका समकालीन थिए, चन्दन लम्जेल। लम्जेलसित उनी दार्जिलिङमा फुटबल खेलेको सम्झना गर्थे।
अमिताभ बच्चन र नारायणगोपाललाई असाध्य मनपराउने दीपक यी दुई कलाकारका एकेक कुरा याद गर्न सक्थे।
नारायणगोपालको स्वरको ‘मेरा सबै रातहरू’ उनको प्रिय गीत थियो, यस गीतका गीतकार नरदेन रुम्बा उनका घनिष्ठ मित्र पनि थिए।
ठँहिटीको होटल केदारमा कैँयौ समय यिनी नरदेन रुम्बासित रात्रिकालीन जलसामा भेटिन्थे। मनोहर कहानियाँ, धर्मयुग, इलुस्ट्रेटेड विक्ली अफ इन्डिया, अनि टाइम म्यागेनिज खुब पढ्ने दीपकले ५–६ पेजको लामो लामो संवाद एकैछिनमा कण्ठ गर्न सक्थे।
उनमा विनम्रता यस्तो थियो, कसैले केही सहयोग माग्यो भने उनी दिल खोलेर दिन्थे, चाहे त्यो लुगा होस् वा आफ्नो कोठा। भोटे बहालको उनको डेरामा कैयौँ समय मुम्बईबाट आएका मेकअप म्यान शाम्भा डी पाटिल शरण लिएर बसे।
भारतको एनएसडीमा पढ्दै गर्दा सुनील पोखरेल छुट्टीमा नेपाल आएर सोफोक्लिजको ‘इडिपस’ मञ्चन गर्ने भए, एउटा बुलन्द रोलका लागि उनले दीपकलाई आग्रह गरे। दीपकले अर्को खेल्दै गरेको नाटक छोडेर सुनीलको नाटकको निम्ति दुई दिनमा तयार भयो। दीपकमा दिल थियो।
आफ्ना साथी अशोक शर्मा दार्जिलिङबाट नेपाल आउँदै गर्दा उनी कति खुसीले ट्याक्सीमा बसपार्क लिन गएका थिए, तर फर्किंदा उनी एक्लै भए।
अशोकबाहेक उनका घनिष्ट मित्र थिए, रंगकर्मी सन्तोष पोखरेल। सन्तोष काठमान्डु छोडेर झापा गएपछि दीपक झन् एक्लै भए। सन्तोषबाहेक उनी चलचित्रकर्मी शीतल नेपालसित पनि निकै निकट थिए।
‘चाहना’ र ‘जनमजनम’ फिल्मका निर्देशक शीतल पनि अमेरिका पलायन भएपछि दीपकले आफ्नो वरिपरिको साथ गुमाउँदै गए।
दीपकको पूरा नाउँ दीपककुमार रावत हो, उनले आफ्नो जात क्षेत्री भए पनि आफ्नो लेख्ने शैलीमा दार्जिलिङको छाप थियो, छेत्री।
दीपकसँग दार्जिलिङबाट एक प्रेमिका काठमान्डु आएकी थिइन्, काठमान्डु आएपछि ती प्रेमिकाले दीपककै साथीसित वैवाहिक जीवन सुरु गरिन्, दीपक अचम्भित भए।
यसपछि पनि दीपकका जीवनमा अनेकन् महिला आए। तर कोहीसँग उनको प्रेम र साथ हुन सकेन। कुनै सम्बन्धले उनलाई प्रेम दिन सकेन, आफ्नो पहिलो प्रेम शारदासितको असफल यात्रामै उनी रमे। वास्तवमा उनले जिन्दगी जिउन जानेनन्, हामी कसले पो जानेका छौँ र ? दीपकसँग एउटा सपना थियो।
त्यो सपना उनीसितै रह्यो, नेपाली सिनेमालाई ओस्कार अवार्डमा पु-याउने। उनी आफ्नो सपनासितै एक्लो यात्रामा रोए, हाँसे, उनलाई बुझ्ने कम भए।
दीपकको अन्तिम बिदाइ गत सोमबार आर्यघाटमा सम्पन्न भयो। अन्तिम यात्राबाट फर्केपछि चलचित्र निर्माता एवं कलाकार जगत राजथलाले मलाई फोनमा भने, ‘दाइ, मैले त आफूलाईइ सम्हाल्नै सकिनँ। दीपक दाइ त्यो मान्छे हुनुहुन्छ, जसले हजुरसित मलाई भेट गराइदिनुभएको थियो। हजुरले त उहाँका लागि कति गर्नुभयो तर दाइ ख्वै ?’
दीपकले नै मलाई कलाकार जगत राजथलासित परिचय गराइदिएका थिए। जगत, दीपक, राजेन्द्र महर्जन र हामी मिलेर सिमाना फिल्म बनायौँ। पछि जगतले पारिजातको उपन्यास शिरीषको फूललाई फिल्म पनि बनाए। जगत गएपछि मैले धेरैबेर दीपकलाई सम्झेँ।
दीपकसितको लगभग तीन दशक लामो यात्रामा मैले उसलाई कहिले तपाईं वा तिमी भनिन्, ऊ चिनेदेखि मेरो सोम थियो। मेरो साथी, मेरो भाइ थियो। ऊ बारम्बार मलाई भन्थ्यो, ‘हेर सोम्। नेपाली रंगमञ्चको सही इतिहास एक दिन लेखियो भने दीपक...।’ उसको यो वाणी मेरो कानमा गुञ्जिरहन्छ।
दीपक जो छैन अब, जसको एउटा सपना थियो, जसका कति धेरै साथी थिए, जसको कति लामो संघर्षको बाटो थियो।
०००
प्रकाशित: ५ पुस २०७६ ०४:५७ शनिबार