९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

नारी हस्ताक्षर बोकेर बोस्टन पुग्दा

कर्मस्थलो प्रदेश–१, रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय धनकुटामा थिएँ। केन्द्रको काँचको पर्दाभित्र अढाई दशक बिताएको धनकुटा पुगेपछि थाहा भो। धनकुटामा एकाबिहानै धुरीमा घाम आउँछ, धारामा पानी आउँदैन। बिजुलीको तार छ तर छिनछिनमा बत्ती जान्छ।

गत साउन एक दिन झमझम पानी परिरहेको थियो, बत्ती थिएन, म्यासेन्जरको घन्टी बजेपछि थाहा भयो, बत्ती आएछ। म्यासेज नाइजेरियाबाट कवि हिक्मत थापाजीको थियो, ‘धनकुटा पुग्या रहरले कि अरू कारणले ?’ ‘रहरले किन हुन्थ्यो ?’ छोटो जवाफ दिएँ।

‘नेपाली मुक्तकमा नारी हस्ताक्षरको सम्पादन काम सकियो ?’ उनको अर्को प्रश्न। ‘सकियो’ भन्ने जवाफ दिएँ। उनले भने, ‘त्यसो भए त्यो किताब पनि बोस्टनमै विमोचन गर्ने हो। भिसा प्रोसेसका लागि गैरआवासीय नेपाली संघको भाषा, साहित्य उपसमितिका साथीसित सम्पर्क गरी पासपोर्ट डकुमेन्ट पठाउनू।’

मञ्चअगाडि तीजमा सजिएर आएका स–साना नानीहरू थिए। नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन् सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।

गैरआवासीय नेपाली संघले भाषा र साहित्यमा केही गर्ने ध्येयले गठन गरेको उपसमितिमा सल्लाहकारका रूपमा मनोनयन गरिएपछि आफूले जानेको र सकेको अनुभव सेयर गरेकै थिएँ। नेपाली मुक्तकमा नारी हस्ताक्षरको सम्पादन आफ्नै किसिमले गरिरहेको थिएँ। आफूले गरेको एउटा प्राज्ञिक कामबारे समितिका साथीलाई पनि जानकारी गराएको थिएँ। समितिले घरदेश र परदेशका दुई सय ४६ नारी मुक्तककारका मुक्तक संकलन गर्न सघायो। प्रेसमा किताब छापिँदै थियो। नयाँ पासपोर्टमा अमेरिका जाने भिसा टाँस्नु थियो।

काठमाडौंस्थित अमेरिकी राजदूतावासको लाइनमा डाक्टर, इन्जिनियर, खेलाडी, सेलिब्रेटी र उतै बसेर फर्केका पनि थिए। आफूभन्दा अगाडि अन्तर्वार्ता दिनेहरू निन्याउरो मुख लगाएर फर्केको पनि देखेकै थिएँ। सोचें, मेरो पहिचान के छ र ? पहिलोपटक नयाँ अनुभव सँगाल्दै छु। केही सीमित प्रश्नको जवाफमै सिसाभित्रको माइकबाटै प्रश्नकर्ता कूटनीतिज्ञले ‘कंग्राचुलेसन पौडेलजी’ भनेपछि ढुक्क भएँ। 

सेप्टेम्बर १ र २ मा बोस्टनमा उपसमितिको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन हुँदै थियो। त्यसका लाािग नेपाली मुक्तकमा नारी हस्ताक्षर बोकेर बोस्टन उड्नु थियो। नेपालबाट आमन्त्रित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रतिष्ठानकै काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल र यही पंक्तिकार। दुबई र आयरल्यान्डको ट्रान्जिट काट्दै २२ घन्टा एयरबस चढ्दाका गन्थन रमाइला भए पनि यहाँ नलेखूँ क्यार।

बोस्टन टेकेको पहिलो साँझ, एनआरएनए साथीहरूसँग भेटघाट भयो, नमस्ते रेस्टुराँमा। नाइजेरिया, रसिया, क्यानडालगायत अमेरिकाका विभिन्न राज्यबाट आएका साथीहरू भाषा–साहित्यको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने चिन्तनमा थिए।

सम्मेलनको पहिलो शनिबार साँझ हिमालयन बिस्त्रोमा विभिन्न देशबाट आएका  पाहुनाको परिचय, सन्ध्याकालीन काव्यगोष्ठी र रात्रिभोज आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन एनआरएनए म्यासाचुसेट्स च्याप्टरले गरेको थियो। च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको सन्ध्याकालीन कवि गोष्ठीमा कविता सुनाउनेहरूमा डा. गोविन्दसिंह रावत, हरि अधिकारी, गीता खत्री, दीपा राई पुन, सिर्जना शर्मा, ममता कर्माचार्य, गोवद्र्धन पूजालगायत थिए।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको विशेष आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा तीन दर्जन कविहरूले कविता, गीत, गजल र मुक्तक सुनाए।
सम्मेलनको दोस्रो दिन, बोस्टन र त्यही राज्यको वरिपरि बस्ने नेपालीको पहल र प्रयासमा खोलिएको नेपाली कम्युनिटी हलमा सम्मेलन सुरु भयो। तीजको दिन भएकाले सम्मेलन तोकिएको समयभन्दा केही विलम्बका साथ आरम्भ भयो। कृति विमोचन, कार्यपत्र प्रस्तुति, प्रवचन र सांस्कृतिक कार्यक्रम सम्मेलनको सूचीमा थियो।

सम्मेलनका संयोजक साहित्यकार महेश्वर पन्तले आमन्त्रित अतिथिहरूलाई स्वागत गरेपछि कृति विमोचनको क्रम चल्यो। सुरुमै सम्मेलनका सूत्रधार सर्वज्ञ वाग्लेले ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ विमोचन हुने उद्घोष गरे। मञ्चअगाडि तीजमा सजिएर आएका स–साना नानीहरू थिए। नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन् सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।


सम्मेलनका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति उप्रेतीको कथन थियो, ‘एउटै कृतिमा संसारभर छरिएर रहेका यति धेरै नेपाली नारी मुक्तककारलाई समेटिएको छ, यो सुन्दर काम हो।’

पर्वतकी छोरी भन्छिन्, पार्वती नै होलिन् भन्छु
हिमालकी छोरी भन्छिन्, पग्लिएर रोलिन् भन्छु
भृक¬टी र सीताभन्दा माथि देख्न चाहन्छु म
मेरो टोपीभन्दा माथि, आकाश पनि छोलिन् भन्छु।

हरितालिका तीजको दिन सम्मेलनको रोस्ट्रममा उभिएर सम्पादकीय मन्तव्य उपरोक्त मुक्तकबाट दिएँ। यो कृतिमा हरेकका विभिन्न विषय र भावका चार–चारवटा मुक्तकका अतिरिक्त प्रा.डा. लक्ष्मण गौतमको ‘नेपाली मुक्तक लेखनमा नारी स्रष्टाको उपस्थिति र प्रवृत्तिगत वैविध्य’ र उपपाध्यापक ज्ञानु अधिकारीको ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर मुक्तकसंग्रहमा नारीचेतनाको अभिव्यक्ति’ शीर्षकका गहन आलेख समेत समाविष्ट छन्। नेपाली मुक्तकमा शोधखोज र अध्ययन गर्न चाहने सबैका लागि सन्दर्भ ग्रन्थ हुनेमा शंका नरहेको सम्मेलनमा सहभागीहरूले सुनाए।

विमोचन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, डा. लेखनाथ काफ्ले, गोविन्द गौतम, शशि लुबुम्बु र सुरेन उप्रेतीद्वारा सम्पादित ‘अन्तर्देशीय नेपाली कथाहरू’ र महेश पौड्यालद्वारा अनुदित ‘डिस्ट्यान्ट सनरेज्’ नामक कथासंग्रहको पनि विमोचन गरियो।

सम्मेलनको कार्यपत्र सत्रमा  विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो। कवि हिक्मत थापाले ‘अफ्रिकामा नेपाली भाषाको अवस्था र चुनौती’ डा. गोविन्दसिंह राउतले ‘नर्थ अमेरिकामा नेपाली साहित्यको इतिहास र आगामी चुनौतीहरू’ र गोविन्द गिरी प्रेरणाले अमेरिकामा नेपाली साहित्यबारे कार्यपत्र प्रस्तुत गरे। अन्य विभिन्न देशबाट पनि लिखित कार्यपत्र प्राप्त भएको जानकारी गराइयो।

बोस्टनमा सम्पन्न  प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनले घोषणापत्र पनि जारी ग-यो। भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा मनाइने, प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन गर्दै जाने, अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई छनोट गरी सम्मान गर्ने, नेपालको भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी एकजना नोबेल पुरस्कार विजेता साहित्यकारलाई नेपालमा आमन्त्रण गरी सगरमाथाको आधार शिविरमा पु-याई विश्वसाहित्य सम्मेलन गर्ने आदि पारित गरियो। सम्मेलनको समापन सत्रलाई सांस्कृतिक कार्यक्रमले रौनक थपिदिएको थियो। सारंगीवादनमा विश्व प्रसिद्धि कमाएका श्याम नेपालीको प्रस्तुतिलाई सहभागी सबैले मुक्तकण्ठले तारिफ गरे।

प्रकाशित: ५ पुस २०७६ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App