८ वैशाख २०८१ शनिबार
अन्य

राजालाई गीत फुराउने बन्दीपुरे गाउँ

तस्बिर:कृष्पा श्रेष्ठ

‘बन्दीपुरे उकाली लामो
मस्र्याङ्दी डुङ्गाले तरेर...’

यो गीत राजा महेन्द्रद्वारा रचिएको थियो । प्रकृति, राष्ट्रप्रेम र प्रेमिल शब्दमा गीत लेख्न रुचाउँथे रे महेन्द्रले । जसै उनी बन्दीपुर पुगे फुरिहाल्यो रे गीत । मोटरबाटो नपुगेको गाउँमा घोडा चढेर, बोकिएर अथवा हिँड्नुको विकल्प थिएन । समुद्री सतहदेखि एक हजार ३० मिटरको उचाइमा रहेको  बन्दीपुर । काठमाडौंबाट १ सय ४७ किमी पर छ  गाडीमा जाँदा ।  राजा महेन्द्र त्यहाँ पुग्दा गाडीको सुविधा थिएन । डुम्रेबाट आठ किमी सडक बनेको त भर्खरै एक दशक त नागेको छ ।

जति हेर्‍यो त्यति हेरिरहुँ लाग्ने हिमाल । सातवटा हिमालले घेरिएको । धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिउँचुली, लाङटाङ, मनास्लु  घरि मुस्कुराइरहन्छन् घरि बादलको घुम्टो ओढ्छन् । हरियो जंगल पाखो बारी वरपर विविधतायुक्त केही बस्ती । अनि पहेँलै धान झुलेको फाँट । फाँटको किनारामा बगेकी मस्र्याङ्दी ।

यही दृश्य कैद हुन्छ तनहुँको बन्दीपुर पुगेपछि । बन्दीपुरलाई पहाडकी रानीको उपनामले पनि चिनिन्छ । सायद महेन्द्रलाई पनि यिनै प्राकृतिक विविधताले तान्यो र फुर्‍यो होला त्यो गीत । प्राकृतिक सुन्दरता त छँदै छ सँगै गहिरोे इतिहास बोकेको कुनै बेलाको चर्चित व्यापारिक केन्द्र पनि हो बन्दीपुर । चाहे २००७ साल अघिको क्रान्ति ताका होस् या देशमा हुने हरेक परिवर्तनकारी आन्दोलन । बन्दीपुरले दरो गरी साथ दिएको छ । व्यापारमार्फत कुनै बेला देशको ढुकुटी भर्ने काम गरेको थियो बन्दीपुरले  ।

कसरी जाने ?
काठमाडौं नयाँबसपार्कबाट पोखरा या लमजुङ जाने माइक्रो या बसमा डुमे्रसम्म जाने । दुरी १ सय ४७ किमी । त्यसपछि १ बजेदेखि घण्टै पिच्छे बस छुट्छ  जिप पनि पाइन्छ । भाडा आउजाउ १२ सयले पुग्छ जिप भए केही महँगो पर्न सक्छ ।
बस्ने स्थान : होम स्टेदेखि होटलहरु रहेका छन् । ३ रात ४ दिनका लागि न्यूनतम ४ हजारदेखि आफूखुसी खर्च गर्न सकिन्छ  ।
घुम्ने स्थान : मन्दिर, गुफा, हाइकिङ, पुराना बस्तीहरु, हिम शृङ्खलाहरु, सिल्क आदि भएको ।
खाना : स्थानीय खानामा पिँडालु, मास, मस्याङ् यहाँका स्थानीय हुन् भने अरु इच्छाएको खाना पाइन्छ ।

भक्तपुरे नेवार भित्रिएसँगै मौलाएको व्यापार
राजा मुकुन्द सेनले शासन गरेदेखिको इतिहास जोडिने बन्दीपुरमा अढाई सय वर्षअघि भक्तपुरका नेवारहरु गएर व्यापार गर्न थालेपछि रौनक बढेको बताइन्छ । तिब्बत र भारतमा व्यापार गर्नका लागि बन्दीपुर क्षेत्रको प्रयोग गरिन्थ्यो ।

बन्दीपुरमा पुरानो बस्ती मगरको छ । बन्दीपुरको नामकरण पनि मगर भाषाबाटै भएको मानिन्छ । वन को अर्थ जंगल, दी को अर्थ पानी र पुरको अर्थ गाउँ हो । बन्दीपुर बजार भन्दा केही माथि रामकोट रहेको छ । जहाँ मगरहरुको पुरानो बस्ती छ ।

सन् १७६८ मा नेवारहरुले व्यापारिक प्रयोजनका लागि बन्दीपुरको प्रयोग गरेपछि बन्दीपुरको रौनक बढेको बताइन्छ । चिजकुमार श्रेष्ठका अनुसार भत्तपुरका नेवारहरुले यहाँ व्यापार मात्र गरेनन् । नेवारी संस्कृति पनि उत्तिकै भिर्याए । सँगसँगै विभिन्न जात्रा र मेला पनि भित्रिएँ । बन्दीपुरे नेवारहरुले भक्तपुरे शैलीका घर निर्माण गर्नुका साथै त्यहाँका विभिन्न चाडबाड भिर्याए । अहिले बन्दीपुरमा मनाइने विस्केट जात्रा, लाखे नाच, गाईजात्रा आदि भक्तपुरकै सिको मानिन्छ ।

यहाँको अर्काे पाटो भनेको नेवारी संस्कृति हो । जात्राको सिजनमा लाखे, बाघ जात्रा, रोपाईँ जात्रा, पुतलीको बिहे, विस्केट जात्रा लाग्ने गर्छ ।  गुरुङ र मगरको नाच पनि रहेको छ । चुट्का नाच र  घाटु नाच रहनुका साथै नेवारको डोका नाच पनि यहाँ मनाइन्छ ।

खड्गदेवी मन्दिर अर्काे नमुना हो । सबै जातिको आफ्नै पुजारी रहेका छन् । धार्मिक सहिष्णुता कायम रहेको यसले बताउने गर्छ । मगर, दलित, बाहुन सबैको आ–आफ्नै पुजारी रहेकोमा सबै जातले पहिलेदेखि नै पूजामा छोइछिटो भने चल्दैनथ्यो ।

मन्दिरहरुमा विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी थान, थानीमाई, चामुण्डा र  तीनधारा महादेव । गुम्बादेखि चर्चसम्म रहेको छ । थानीमाईबाट देखिने मस्र्याङ्दी नदी उत्तीकै आकर्षक देखिन्छ । अर्काे यहाँको आकर्षक स्थल भनेको दक्षिण एसियाकै सबैभन्दा लामो गुफा सिद्ध गुफा हो । योे ४ सय ३७ मिटर लामो रहेको छ ।  नेवारहरु यहाँ आएर बसे । चितवन हुँदै सामान ल्याएर गोरखा, लमजुङ, कास्की, पर्वत हुँदै पाल्पाको जिल्लातिर लगेर बेच्न थाले । बन्दीपुरको रौनक २५ सालसम्म उस्तै रह्यो । नेपाल घुम्न आउने विदेशी पर्यटक होउन् या आन्तरिक पर्यटक नै किन नहोउन् पयर्टकको घुईंचो लाग्ने गरेको छ अहिले बन्दीपुरमा ।

बन्दीपुरको नाम चलेको सुन्दा र त्यो ठाउँ पुग्नेहरुलाई आज भन्दा २५ वर्ष अगाडिसम्म बन्दीपुर सुनसान थियो । दिउँसै स्याल कराउँथ्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुस् नेपालका बन्दीपुर जस्तै अरु सुन्दर गाउँहरु अहिले सुनसान छन् । शहरमा बसाईसराईका कारणले पहाडका जस्ताका घर, ढुंगाले छाएका घर रित्तिएका छन् । एकाध घरमा ६०, ७० कटेका वृद्धवृद्धा बाहेक मुस्किल भेटिन्छन् युवायुवती । ठ्याक्कै २५ वर्ष अगाडि बन्दीपुरको अवस्था पनि यस्तै थियो भन्दा फरक नपर्ला ।

सदरमुकाम सरेसँगै ओइलाएको बन्दीपुर
२००७ सालमा प्रजातन्त्र आउनुभन्दा अघि तिब्बत र भारतबाट आउने व्यापारीहरु बन्दीपुरको बाटो भएर आउँथे । यहाँको चहलपहल र रौनक नै अर्कै थियो । लमजुङ, गोरखा, मनाङका मान्छे तेल, कपडा किन्नलाई यही बाटो हुँदै बटौली झर्थे । केही सामान यहीँ किन्थे फर्कंदा । केही तलबाट ल्याउँथे ।

सात सालपछि यो व्यापारिक केन्द्र सुक्यो । पृथ्वी राजमार्ग बनेपछि त झनै ठ्याप्पै भयो ।  बन्दीपुर रहेको तनहुँको  सदरमुकाम २०२५ सालमा दमौलीमा सर्‍यो । स्थानीय बासिन्दाको विरोधका बाबजुद सरेको थियो सदरमुकाम । त्यतिबेला तनहुँको पहिलो स्कुल थियो भानु हाइ स्कुल । त्यसका प्रधानाध्यापक थिए चिजकुमार श्रेष्ठ ।

२६ वर्षे चिजकुमारको मन अमिलियो । उनीलगायतका केही युवाको सक्रियतामा सिंगो बन्दीपुरले व्यापक विरोध गर्‍यो । उनीहरुलाई केही दिन प्रहरीले नियन्त्रणमा लियो । ‘हामीले त्यतिबेला बन्दीपुरमै सदरमुकाम राख्न धेरै मिहिनेत गर्‍यौँ, त्यसैका लागि मलगायतका केही साथी काठमाडौं पनि आयाैं तर केही जोर चलेन,’ ‘चिजकुमारले भने, ‘सदरमुकाम सरेसँगै धेरैको बाटै बदलियो मेरो पनि बाटो बदलियो ।’

सदरमुकाम दमौली पुगेसँगै बन्दीपुर सुनसान हुन धेरै बेर लागेन । कुनै बेलाको पश्चिम नेपालको व्यापारिक हब, २००७ सालको क्रान्तिताकाको महत्वपूर्ण स्थान । जसै प्रजातन्त्र आयो बन्दीपुरेको व्यापार सुक्दै गयो सँगै गाउँ नै सुनसान भयो । सदरमुकाम दमौलीमा सरेसँगै बन्दीपुरको रौनक ओझेलमा पर्‍यो । २५ वर्षसम्म । बन्दीपुरेहरु पोखरा, चितवन र काठमाडौंमा बसाइ सरे । केही पुराना व्यक्तिहरु जो थातथलो छोड्न सक्दैनन् उनीहरु मात्र बसे ।

बन्दीपुर ब्युँताउने हस्तीहरु
२६ सालमा बन्दीपुर छाडेका चिजकुमार श्रेष्ठलाई बन्दीपुरे मायाले छोडेको थिएन  । हुर्केको पढेको काम गरेको थलोलाई कस्ले पो भुल्न सक्छ र ? उनलाई जसरी बन्दीपुरले माया गर्‍यो उसै गरी माया दिन चाहे । पढाइ जागिरको सिलसिलामा रुमल्लिएका चिजकुमार जसै ५० वर्ष पुगे अनि लागे बन्दीपुरलाई ब्युँताउन  ।

‘आउजाउ निकै पातलिएको थियो,‘ चिजकुमारले भने, ‘एकदिन मलाई लाग्यो त्यो ठाउँ हामीले ब्युँताउनै पर्छ ।’ त्यसपछि होमिए चिजकुमार बन्दीपुर ब्युँताउने महा अभियानमा बन्दीपुर सामाजिक विकास समितिमार्फत ।
जसमा हातमा हात मिलाउनेहरु थिए डाक्टर मदनकुमार पिया, ईश्वरगोपाल प्रधान  सन्तकुमार श्रेष्ठलगायतका समितिमा बसेका ११ जना र अन्य धेरै । त्यसपछि फेरि बौरियो बन्दीपुर ।

धेरै पछि बन्दीपुर पुगेका चिजकुमारलाई के आधारले विश्वास गरे त गाउँलेले ?
‘हामीले काठमाडौंमा समिति बनाए पनि योजना बनाएका थिएनौँ,’ चिजकुमारले भने, ‘ २५ वर्षको अन्तर भएको थियो बाध्यता यस्तो आइलाग्यो कि आफैँ जन्मे हुर्केको गाउँमा भिज्न परेको थियो । गाउँको आवश्यकता औँल्याउनु थियो आखिर उद्देश्यमा पुग्नु नै थियो ।’

बन्दीपुरमा जन्मे हुर्केका कोही डाक्टर, कोही प्रधानाध्यापक भएर काठमाडौंमा छरिएका थिए । तिनै बन्दीपुरे नै एक भए । सीपअनुसारको सेवा दिन थाले । ‘डाक्टरले शिविर चलाउने, शिक्षकले विद्यार्थीलाई तालिम दिने गर्न थाले,’ चिजकुमारले भने, ‘महिनाको एक पटक कोही न कोही एक्लै वा परिवारसहित जानै पर्ने नियम बन्यो ।’ यसरी जानेमा बन्दीपुरमै हुर्केका थिए । उनीहरु गाउँमा शिविर र तालिम लिएर त जान थाले तर गाउँलेले कतै डलर पाएर यता आएका होलान् भनी मुखै फोरेर भने ।

यति सुनेपछि बन्दीपुर सामाजिक विकास समितिले नयाँ तरिकाले काम गर्ने सोच बनायो । चिजकुमार अध्यक्ष थिए । त्यसबेला उनलाई लाग्यो बन्दीपुरको दिगो विकासका लागि तीन सूत्रले काम गर्नुपर्छ । अंग्रेजी अक्षर टि एच इ ‘द’ को फर्मुलाले काम गर्‍यो । टि को अर्थ टुरीजम, एचको अर्थ हेल्थ र इ को अर्थ एजुकेसन । शिक्षा र स्वास्थ्यको कामलाई मूर्त रुप दिँदै आयआर्जनका लागि पर्यटनतर्फ लाग्यो बन्दीपुर ।

सन् १९९८ मा बन्दीपुरमा इको टुरिजमको सुरुवात भयो । ढुंगा ओछ्याउने काम २००२ बाट सुरु भएर  २००४ सम्म  गाउँलाई व्यवस्थित बनाइयो । गाउँ व्यवस्थित भएपछि सन् २००५ देखि बन्दीपुरको  प्रख्यात बढ्दै गयो । त्यसपछि विदेशी पर्यटक ओइरिन थाले । यहाँ फेरि चहल–पहल सुरु हुन थाल्यो ।
अहिले बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटक गइरहन्छन् ।

सपना पूरा भएपछि चिजकुमार के सोच्दैछन् त ?
‘अहिले बन्दीपुर हरभरा छ,’ चिजकुमारले भने, ‘अब यसको दिगो विकासका लागि युवाहरु लाग्नुपर्छ ।’
सामाजिक विकास समितिको अध्यक्ष डाक्टर मदनकुमार पिया छन् । उनी पनि नयाँ–नयाँ योजनाको साथ गाउँपालिकासँगको सहकार्य र युवा जमातको सहयोगमा बन्दीपुरलाई पर्यटन हब बनाउन तल्लीन छन् । केही युवाले गाउँमै पर्यटनलाई प्रवद्र्धन गर्ने काम गरिरहेका छन् ।

बन्दीपुरलाई अग्र्यानिक थलो बनाउन तल्लीन एक युवा
आशुतोष प्रधान

 
‘केही परिवर्तन होस् भन्ने चाहना छ भने सुरुवात आफैँबाट गर्नुस् ।’ हिजोआज धेरैको भनाइ यस्तै हुने गर्छ । यही भनाइलाई मूल मन्त्र बनाएर बन्दीपुरका आशुतोष प्रधान ‘होटल बन्दीपुर अग्र्यानिक होम’ मा दिनरात नभनी खटिरहेका छन् । २९ वर्ष पुगेका प्रधानको यो पुख्र्यौली पेशा भने होइन । उनको पुुख्र्यौली पेशा किराना पसल थियो । उनी त्यसैमा सीमित हुन चाहेनन् ।

बन्दीपुरमा जन्मिए पनि आशुतोषले चितवनमा स्कुले शिक्षा लिए । जसै उनको स्कुले शिक्षा सकियो उनका हजुरबुबाले प्लस टू यही बन्दीपुरमा खुलेको छ यहीँ पढ् भने । स्कुले पढाइ रामै्र भएका प्रधानले हजुरबुबाको भनाइ काट्न सकेनन् ।

विज्ञान विषय लिएर पढ्ने चाहना भएका प्रधानले शिक्षा संकायमा भर्ना हुन पर्‍यो कारण बन्दीपुरमा विज्ञान विषय थिएन । उनले प्लस टू गर्दा नै बन्दीपुरमा फाट्टफुट्ट बाह्य पर्यटक आउन थालिसकेका थिए । त्यही बेला उनले बाह्यपर्यटकको टुरिष्ट गाइडको रुपमा काम गर्न थाले । उनले बन्दीपुरमा वरपरको क्षेत्र पर्यटकलाई घुमाउँदै त्यहाँको कला संस्कृति र प्राकृतिक मनोरम दृश्यको बखान गर्दै हिँड्नु उनको सोखको विषय बन्यो । काम सँगै पढाइलाई पनि आशुतोषले मिहिनेतका साथ निरन्तरता दिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी अहिले बन्दीपुरमै बसेर होटल सञ्चालन गरिरहेका छन् । आन्तरिक तथा बाह्य पयर्टकलाई बन्दीपुर घुमाइरहेका छन् ।

भूकम्प अघि काठमाडौं, पोखरामा पनि उनको होटल थियो ।भूकम्पले क्षति गरेपछि भने अहिले उनी बन्दीपुरमा मात्र केन्द्रित भएका छन् । काठमाडौंमा दिव्या आश्रम थियो भने पोखरामा योग एण्ड मेडिटेसन रिसोर्ट सञ्चालन गरेका थिए । ‘त्यतिबेला त मेरो भेष नै अर्कै थियो,’ आशुतोषले भने, ‘घरमा छोरो जोगी बन्ने भयो भनेर सबै तर्सिनुभएको थियो ।’ अहिले उनको जोगीको भेषै त छैन तर अध्यात्ममा भने उनको गहिरो झुकाव छ । दिनहुँ उनी ध्यान गर्छन् । विपश्यनाको साधक हुन् आशुतोष । पर्यटनमा पनि अध्यात्मको समिश्रण हुनुपर्ने धारणा राख्छन् उनी ।

बन्दीपुर बगैंंचा
दसैंको छेको पारेर उनले  ‘बन्दीपुर बगैंचा’ को नयाँ अवधारणा ल्याएका छन् । पर्यटनमा उल्लेख्य योगदान पुर्‍याउने उनको आशा छ । बन्दीपुर बगैँचामा स्वास्थ्य, अध्यात्म, खेल, संस्कृति र कृषिको अवधारणा अघि बढाएका छन् ।  यसको संयोजनबाट पर्यटनमा टेवा पुग्ने उनको विश्वास  छ ।  

बन्दीपुरकै कुरा गर्ने हो भने दोस्रो पटक किन आउने भन्नेहरुका लागि पनि हो बन्दीपुर बगैंचा ।  पर्यटन उद्योग फस्टाउनका लागि एक पटक मात्रै त्यो ठाउँ पुगेर हुन्न । दोस्रोपटक पनि जानैपर्छ भन्ने कुराले भर पारेको हुन्छ । बन्दीपुर बगैंचामा पुरातन जीवनयापन कसरी हुन्थ्यो भन्नेदेखि प्राकृतिक उपचारसम्म उपलब्ध गराउँछौँ । पञ्चकर्ममा हावा, पानी, आगो,घाम र माटोे मार्फत उपचार गर्ने विधि हुने छन् ।

मज्जाले घुमौँ संस्कृति बुझौँ
आशुतोषको भनाइअनुसार भूकम्प गएपछि बन्दीपुरमा आन्तरिक पयर्टकको संख्या बढ्न थालेको छ । नेपालीहरु घुम्न सुरुवात गरेका छन् । बन्दीपुरमा धेरै जसो होटल रेष्टुरेन्ट र होम स्टे आन्तरिक पयर्टकले खचाखच भरिन थालेका छन् ।

यो सँगै उनले अर्काे पक्ष पनि सुनाए । ‘नेपालीहरु घुम्न त घुम्छन् तर एकदमै हतारिएर,’ आशुतोष भन्छन्, ‘घुमिसकेपछि त्यहाँको सांस्कृतिक पाटो, त्यहाँको हरेक पाटोको जानकारी राख्न खोज्नुपर्ने हो तर त्यस्तो देखिन्न । त्यसैले मैले भन्ने गरेको छु घुम्ने संस्कृतिको विकास भएको छ संस्कारको विकास भएको छैन ।’ मैले उनलाई सोधेँ तपाईंको मा नेपाली एक हुल र विदेशी एक हुल आएर बसेका छन् भने उनको गतिविधि कस्तो पाउनुहुन्छ । आशुतोष मुसुक्क हाँसे। ‘नेपालीहरु आए भने खर्च उल्लेख्य गर्छन् विदेशीले कमै गर्छन् । नेपालीहरु घुम्ने त्यहाँको सांस्कृतिक र अन्य विषयमा चासोभन्दा पनि खानेपिउने रमाइलो हो हल्ला गर्ने गर्छन् भने विदेशी शान्त भएर बस्ने, घुम्ने, बुझ्ने र रमाइलो पनि गरिरहेका हुन्छन् ।’

आफ्नो गाउँ आफैं बनाऊँ
५१ सालको चुनावपछि मनमोहन अधिकारी प्रधानमन्त्री भए । उनको सरकारले आफ्नो गाउँ आफैँ बनाउँ लोकप्रिय नारा भएको कार्यक्रम ल्याएको थियो । मस्र्याङ्दीमा धेरै पानी बगिसकेको छ । त्यसपछि धेरै सरकार बने तर विडम्बना गाउँ रित्तिदैछन् गाउँ बन्दै छैनन् भग्नावेश बन्ने क्रममा छन् ।

युवाहरु विदेशिने क्रम बढ्दो छ । २०६८ को जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको व्यक्तिलाई युवा मानेको छ । जम्मा जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवा नेपालमा छन् । तर स्वदेशमै काम गर्ने युवाको संख्या भने कम छ । ‘मैले फार्म र होटलमा गरेर २० जनालाई पूरा समय र थप १५ जनालाई केही समय काम दिइरहेको छु । तर कामदार पाउन निकै गाह्रो छ ।’

आशुतोषले भने, ‘काम सिक्ने अनि बाहिर जानेको संख्या बढेको छ ।’ स्थानीय सरकार आएपछि काम गर्न सहज भए पनि स्थानीय सरकारले प्राथमिकता खुट्टाउन नसक्दा समस्या आएको आशुतोषले  बताए । ‘यहाँको विकास गर्नुपर्ने आवश्यकता अरु नै छन्,’ प्रधानले भने, ‘सरकारले भने भ्यु टावर बनाउने भनेको छ । यत्रो डाँडैडाँडा भएको ठाउँमा के को भ्यु टावर बनाउने होला ?’


 


 
 

 

प्रकाशित: १९ मंसिर २०७६ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App