प्राध्यापक पी खरेल पत्रकारिता जगतमा नौलो नाम हैन । २००९ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेलको अक्षर चिन्ने कार्य गाउँमै भयो । बुबा गणेशप्रसाद खरेल २०१६ सालमा संसद्को महासभा सदस्य भएकाले पनि छोराछोरीलाई शिक्षा दिलाउनुपर्नेमा सचेत थिए ।
यतिबेला ८५ वसन्त पार गरिसकेकी प्राध्यापक खरेलकी आमा राजेश्वरीले पनि सन्तान पढाउन कहिल्यै कन्जुस्याइँ गरिनन् । पेशाले शिक्षिका कमला खरेलसँग ०३४ सालमा मागी विवाह गरेका उनका दुई सन्तान छन् ।
परशुराम यसरी बने ‘पी खरेल’
उनको वास्तविक परशुराम खरेल हो । पी खरेल नाम रहनुमा पनि रोचक प्रसंग छ । ‘राइजिङ नेपाल’ पत्रिकामा स्तम्भकार बन्ने अवस्थामा एकै लहर (कोलम)मा अटाउने गरी छोटो लेखको पुच्छरमा नाम राख्ने कुरा भयो । ‘परशुराम खरेल’ नाम लामो हुने भएकाले मन नलागी नलागी लेखमा ‘पी खरेल’ नाम राखे । तर पत्रिकामा लेखहरुको कमी हुने हुँदा सो लेख सम्पादकीय पृष्ठमै छाप्ने निर्णय रचना सम्पादक आदित्यमान श्रेष्ठले गरेछन् । त्यो पृष्ठमा लेख प्रकाशित हुने थाहा पाएको भए उनले पूरै नाम लेख्ने रहेछन् । ‘पी खरेल’को नाममा लेख प्रकाशित भयो । कोलमको नाम ‘पटपुरी’ थियो । पछि साथीभाइले सो स्तम्भका लागि ‘पी खरेल’नै उपयुक्त हुने सुझाव दिए । बिस्तारै उनी ‘पी खरेल’कै नामले चिनिन थाले ।
सातबाट एकैचोटी एसएलसी
२०१७ सालमा जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा एक कक्षमा भर्ना भएका खरेलले त्यो बेला बोर्डर्ससहित स्कुलमा मासिक ९० रुपैयाँ बुझाउनु पथ्र्याे । सात कक्षामा पुग्दा एक सय ४० रुपैयाँ शुल्क पुग्यो । सानैदेखि तीक्ष्ण क्षमताका उनी बढी शुल्क तिर्नुपर्ने भएपछि बुबाले स्कुल परिवर्तन गरिदिने नर्णय गरे ।
सेन्ट जेभियर्सबाट सात कक्षा उत्तीर्ण भएपछि जुद्धोदय पब्लिक हाइस्कुल क्षेत्रपाटीमा भर्ना भए । सिधै दश कक्षामा भर्ना भए । मासिक ९० रुपैयाँ तिरिरहेका खरेललाई जुद्धोदयमा १०/१२ रुपैयाँ मात्रै तिरे पुग्थ्यो । बाँकी रकम वचत हुनथाल्यो । जुद्धोदयमा धेरै विद्यार्थी भएकाले ‘इ’ सेक्सनसम्म थियो । खरेल अर्को स्कुलबाट गएका हुनाले उनको रोल नम्बर अन्तिम पर्यो–३३३ । भर्ना भएकै वर्ष ०२५ सालमा उनले एसएलसीको परीक्षा दिए । उनी सम्झन्छन्, ‘त्यो वर्ष देशैभरिबाट करिब १२ हजार विद्यार्थीले परीक्षा दिए । जसमध्ये ३५० जना प्रथम श्रेणीमा उत्तीर्ण भए ।’
त्यो वर्ष प्रथम श्रेणीमा उत्तीर्ण हुने ३५ जना विद्यार्थी त जुद्धोदयकै थिए । ‘आफ्नै स्कुलबाट १० प्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुँदा जुद्धोदयका टिचर गमक्क पर्थे,’ खरेलले सम्झे ।
उनी प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि परिवार नै चकित पर्यो किनभने उनी त्यसरी प्रथम श्रेणीमा पास होला भनेर परिवारका कसैले पनि सोचेका थिएनन् । खरेलले भने, ‘सम्भवतः त्यो समयसम्म मेरा नातागोता कसैले पनि फस्ट डिभिजन ल्याएका थिएनन् ।’
इतिहासमा रस
आफन्त र परिवारले पहिलो श्रेणीमा उत्तीर्ण भएको विद्यार्थीले कम्तीमा कमर्श त भर्ना हुनु पर्छ भन्ने सुझाव दिएका थिए तर खरेललाई भने इतिहासमा रुचि थियो । त्यसैले मानविकी संकायमा भर्ना भए । ‘मलाई पहिला पोलिटिकल साइन्स र हिस्ट्रीमा डबल एमए गर्ने रहर थियो,’ खरलेले भने, ‘दुईवटा विषयमा एमए गरेपछि एलएलबी गर्ने इच्छा थियो ।’ पछि (०३२ सालमा) एलएलबीमा भर्ना भए पनि पढ्न जान नभ्याएर छोडे । उनको राजनीतिशास्त्रमा युनिभर्सिटी टपर भएर पढाउने लक्ष्य थियो ।
कलेजमा भर्ना हुँदा खरेल मात्रै एसएलसीमा पहिलो श्रेणीमा उत्तीर्ण विद्यार्थी रहेछन्, त्यसैले विद्यार्थी तथा शिक्षकको खरेलप्रति केही न केही ध्यान केन्द्रित हुने नै भयो । आइएमा उनी दोस्रो श्रेणीमा उत्तीर्ण भए । त्यो बेलासम्म प्रथम श्रेणीमा उत्तीर्ण हुने कोही थिएनन् । त्यसैले दोस्रो श्रेणीमा उत्तीर्ण हुनु पनि ठूलो कुरा बन्न पुग्यो ।
जहिल्यै संयमित
त्यो समयमा कलेज पढ्ने छात्रा एकदमै कम हुन्थे । आफूलाई गम्भीर विद्यार्थी ठान्ने हुनाले उनी पठनमा नै बढी केन्द्रित हुन्थे । त्यसो त किशोर मनमा केटी साथीहरु पनि रोमान्टिक भावना नआउने भने होइन । ‘मन हो, जिस्क्याउन त मन लाग्थ्यो नि,’ प्राध्यापक खरेलले भने, ‘तर आफूलाई सधैँ संयमित र अनुशासित राखेँ । कहिल्यै केटी जिस्क्याइनँ ।’
०२८ सालमा त्रिचन्द्रमै उनी दुई वर्षे बीएमा भर्ना भए । दुई वर्षे बीएमा इतिहास र राजनीतिशास्त्र प्रमुख विषय लिए । बीए सकियो । बीएमा पनि द्वितीय श्रेणीमै उर्तीण भए ।
दोस्रो श्रेणीमा एमए
०३० सालमा एमएमा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा उनी भर्ना भए । बीए उत्तीर्ण भएपछि ०३० सालमै खरेल ‘दी राइजिङ नेपाल’का जागिरे भैैसकेका थिए ।
अब उनलाई क्याम्पसको पढाइको व्यवस्थापन गर्न मुस्किल थियो । कीर्तिपुर नभ्याएपछि करिब दुई महिना पढेर क्याम्पस जान छोडे । अर्को वर्ष एमएमा सेमेस्टर प्रणाली लागू भएपछि अब एमए पढ्न पाइएन भन्ने लाग्यो । भारतमा गएर प्राइभेट परीक्षा दिन्छु भन्ने सोचेका थिए । तर ०३१ सालमा अन्तिम पटक प्राइभेट परीक्षामा दुवै वर्षको एकैचोटी परीक्षा दिन पाइने अवसर मिल्यो । उनले राजनीतिशास्त्र भन्दा इतिहास पढ्न केही सजिलो हुने सोचे । त्यसैले एमएमा दुवै वर्षको एकै पटक इतिहास विषयको परीक्षा दिएर द्वितीय श्रेणीमा उत्तीर्ण भए । त्यो बेला ५७ प्रतिशत अंक आउँदा उनलाई खुसी नलाग्ने कुरै भएन । नियमित तर्फका विद्यार्थीले त पहिलो श्रेणीमा उत्तीर्ण हुनै मुस्किल हुथ्यो ।
राइजिङ नेपालमा उपसम्पादक
आर्थिक कारणले जागिर खानै पर्ने थियो । त्यसैले खुला प्रतिस्पर्धाबाट उनी ‘द राइजिङ नेपाल’मा उपसम्पादक पदमा स्थायी नियुक्ति लिए । त्यो बेला जागिरका लागि लिखित परीक्षाबाट २० जना छानिए पनि तीन जनाको पदमा दुई जना छानिएका थिए ।
‘अन्तर्वार्ता दिनेमध्ये दुई जना छानिएका थियौँ,’ खरेलले भने, ‘दुई जना छानिएकामा पनि अर्का व्यक्ति आएनन् । म मात्रै जागिर खान गएँ ।’ ‘राइजिङ नेपाल’ अंग्रेजी पत्रिका भएकाले अंग्रेजी भाषामा राम्रो पकड हुनु पथ्र्यो । उनको अंग्रेजी भाषामा दखल नभए पनि औसत थियो । यहाँ आएपछि भने अंग्रेजी भाषा कसरी राम्रो बनाउने उनलाई भाषा बनाउने बाध्यता पर्यो । त्यसो त उनी सानैदेखि अंग्रेजी भाषाप्रतिको तीव्र इच्छाका कारण अंग्रेजी पत्रिकामा जागिर खान आकर्षित भएको उनी बताउँछन् ।
पत्रिकामा प्रवेश गर्दासम्म उनलाई पत्रकारिताको खास ज्ञान थिएन । उनलाई त डबल एमए गरेर युनिभर्सिटीमा पढाउने उद्देश्य थियो । ‘जागिर खाने हिसाबले राइजिङ नेपालमा गएँ । पत्रकारै हुन्छु भनेर हैन,’ खरेलले भने, ‘मलाई समाचारमा ‘लिड’ थाहा थिएन, न त डेडलाइन वा डेटलाइन नै थाहा थियो । तर पहिलेदेखि नै राम्रो गर्नु पर्छ भन्ने हेक्का थियो ।’
धेरै तलब छाडेर पत्रकारिता
‘राइजिङ नेपाल’मा नियुक्तिपूर्व उनले यति ट्राभल्समा जागिरका लागि फारम भरेका थिए । राइजिङ नेपालमा जागिरे भएको दुई महिनापछि अन्तर्वार्ताका लागि बोलाइयो । खरेल अन्तर्वार्ता दिन गए । यति ट्राभल्समा ६ महिना तालिम र एक हजार तलब दिने रहेछ । अन्तर्वार्तामा उनी छानिए । ६ महिनाको परिक्षण कालपछि तलब दुई हजार हुने थियो । राइजिङ नेपालको भने मासिक चार सय मात्रै थियो । ६ महिनापछि राइजिङ नेपालमा ५२५ तलब भयो ।
राइजिङ नेपाल प्रवेश गरेको तीन महिनामै खरेललाई पत्रकारिताको लत यति बस्यो कि बढी तलबका लागि उनी ट्राभल्समा गएनन् । त्यो बेलादेखिको नशा र स्वाद आजसम्म कायम रहेको उनले सुनाए । ‘म पत्रकारिताको नशामा यति डुबेँ कि,’ खरेलले भने, ‘त्यो नसामा अहिले पनि डुबिरहेको छु ।’
‘रेडियो नेपाल’मा कमेन्ट्री
राइजिङ नेपालमा प्रवेश गरेपछि रेडियो नेपालमा बेलुकीको समाचारपछि उनको रेडियो कमेन्ट्री हप्ताको एक पटक प्रशारण हुन्थ्यो । प्रशारणको अन्यमा ‘समसामयिक चर्चा परशुराम खरेलबाट तयार गरिएको हो,’ भन्दै उनको कमेन्ट्री सकिन्थ्यो । ६ सय शब्दको सो कमेन्ट्री निकै प्रभावकारी थियो । त्यो समयमा राइजिङ नेपालमा एक हजार शब्द छापिँदा ४५ रुपैयाँ पारिश्रमिक पाइन्थ्यो । उता रेडियो नेपालमा भने ६ सय शब्दको करिब ६० रुपैयाँ पाइन्थ्यो । तर छापामा आएको लेखको विशेष मोह हुने गरेको खरेलको अनुभव छ । दुई वर्ष रेडियोमा कमेन्ट्री लेख्दा उनको लेखनशैली झन् खारियो ।
उल्था गरेको समाचारबाट पुरस्कार
राइजिङ नेपालमा रहँदा लेखनशैली राम्रो बन्दै जाँदा आत्मविश्वास पनि बढ्दै जान थाल्यो । ‘प्रायः समाचार उल्था गर्दा नयाँ शैलीमा लिड चेन्ज गर्थेँ,’ उनी भन्छन्, ‘त्यही शैलीका कारण एक पटक त पुरस्कार नै पाइयो । तर उल्था मात्रै गरेको समाचारको पुरस्कार नलिने भनेर अड्डी नै कसेँ । पछि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष गोविन्द प्रधानले कर गरेपछि स्वीकार गर्नुपर्यो ।’ पुरस्कार लिए पनि पुरस्कारको आधा राशि सम्बन्धित रिपोर्टर मुकुन्द पराजुलीलाई उनले दिए ।
मण्डले भनेर असहयोग
०४६ सालमा भारतको नयाँदिल्लीमा गोरखापत्र संस्थानबाट नेपालकै पहिलो पूर्णकालीन वैदेशिक संवाददाता भएर उनले काम गर्ने अवसर पाए । त्यसै वर्ष फागुनमा दिल्लीबाट फर्किएर वैशाखमा खरेलको सम्पादकत्वमा ‘सन्डे डिस्प्याच’ साप्ताहिक प्रकाशित हुन थाल्यो । पत्रिकाको न्वारान भने खरेलले नै गरे । १६ पेजको साप्ताहिकको त्यो बेला नै पाँच रुपैयाँ मूल्य राखिएको थियो । पहिलो अंकबाटै २५ सय कपी बिक्री भयो तर ‘प्रतिक्रियावादी’ भनेर सहयोगै नगर्ने अवस्था समेत भयो । कहिलेकाहीँ त पत्रिकै ढिलो छापिदिन्थे । काजमा ‘सन्डे डिस्प्याचमा’ गएका खरेललाई त्यहाँ सहयोग नभएपछि राइजिङ नेपालमै फर्किए ।
उनलाई ‘प्रतिक्रियावादी’ र ‘मण्डले’ भन्नुको पनि एउटा कारण रहेछ । त्यो बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए । सन् २००० सम्ममा आम नेपालीको जीवनस्तर औसत एसियाली मापदण्डअनुसार पुर्याउने योजनाअन्तर्गत ‘सरकारी निकयले कस्तो र कसरी सूचना प्रवाह गनुपर्छ’ भन्ने विषयको उनी सल्लाहकार भएका थिए । एक वर्षसम्म उनले त्यहाँ काम गरेकाले उनलाई ‘मण्डले’ भएको आरोप लाग्यो ।
चित्त नबुझ्दा अवकाश
०३० सालमा राइजिङ नेपाल प्रवेश गरेका प्राध्यापक खरेलले २० वर्षे सेवा अवधि पु¥याएर ०५० सालमा अवकाश लिए । ०४९ सालमा राइजिङ नेपालका सम्पादक श्यामबहादुर केसीले राजिनामा दिएका थिए । यसको खास कारण चाहिँ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अंग्रेजी पढाउने तर कहिल्यै पत्रकारिता नगरेका तारानाथ शर्मालाई सम्पादक नियुक्त गर्यो । यसले खरेललाई भविष्यमा सम्पादक हुने बाटो खुल्ने थियो तर त्यो बेलाको राजनीतिले उनलाई सम्पादक पदका लागि योग्य नदेखेपछि २० वर्ष पुग्नेबित्तिकै उपदान लिएर अवकाश रोजे ।
अवकाश लिँदा उनका सहकर्मीले उनलाई एउटा गिफ्ट दिएका रहेछन् । खरेलले सोधे, ‘यसमा के छ ?’
उत्तर आयो, ‘एकजोर कलम ।’
खरेलले धन्यवाद दिँदै भने, ‘कुनै दिन सम्पादक भएँ भने यो कलमले लेख्नेछु ।’
एमालेको सम्पादक !
राइजिङ नेपालबाट राजिनामा दिएको १३ महिनापछि मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार आयो । यसपछि उनलाई सम्पादक बन्ने प्रस्ताव आयो । तारानाथ शर्माको दुई वर्षे कार्यकाल समाप्त भएको थियो । खरेललाई पनि सम्पादक हुन नपाउँदाको तीतो अनुभव छँदै थियो । बोर्ड मेम्बर र सम्पादक पाउने भएपछि दुई वर्षका लागि ०५१ सालमा उनी राइजिङ नेपालको सम्पादक भए ।
उनी सम्पादक हुनुमा रोचक प्रसंग छ । तत्कालीन सञ्चार मन्त्री प्रदीप नेपाल थिए । नेपालले खरेललाई क्लास मेट भएको भन्दै खरेललाई सम्पादकको प्रस्ताव गरेका रहेछन् । ‘मन्त्री त आइए पढ्दाको क्लासमेट पो हुनुहुँदो रहेछ !’ खरेलले भने, ‘पछि सम्झेँ, उहाँ त त्यो बेला पनि निकै नजिकको विद्यार्थी हुनुहुन्थ्यो ।’
मण्डले भनिएका व्यक्ति कम्युनिस्ट सरकारले सम्पादक बनाइदिँदा त्यो बेला निकै हल्लीखल्ली भएको थियो । मन्त्री नेपालले उनलाई नआत्ती काम गर्न अनुरोध गरे ।
बेलायतमा अध्ययन
राइजिङ नेपालमा पत्रकारिता शुरु गरेपछि उनलाई जसै यसको टिस बस्यो, उनलाई पत्रकारितामा एडभान्स कोर्स गर्न मन लाग्यो । त्यसैले २०३५ सालमा उनी बेलायतमा अध्ययन गर्न गए । त्यहाँ उनले ‘डेली मिरर’ पत्रिकामा इन्टर्नसिप गरे । त्यहाँ गरेको इन्टर्नसिपले आफ्नो पत्रकारिता तिखारिएको उनको अनुभव छ ।
खोजी–खोजी पत्रिका
कलेज पढ्दा पत्रिका पढ्न खुब रुचाउँथे उनी । राइजिङ नेपाल किनेर पढ्न सक्ने हैसियत थिएन, त्यसैले कलेजको लाइब्रेरीमा पढ्थे । जति टाढा भए पनि सित्तैमा पढ्नका लागि उनी कहिले न्युरोड, कहिले बागबजार त कहिले कहाँ हिँडेरै पुग्थे । ब्रिटिश र अमेरिकी लाइब्रेरी नियमित रुपमा जाने ठाउँमध्येका थिए ।
पत्रिकाले घटनाको जानकारी दिन्थ्यो तर त्योभन्दा उनी भने भाषा राम्रो बनाउनेमै केन्द्रित थिए । अंग्रेजी अखबारमा जति घोत्लिए पनि पत्रकारिता गर्ने विषयमा भने उनले कल्पना पनि गरेका थिएनन् । उनको पत्रकारिता परिस्कृत हुनुमा बिबिसीको आउटलुक कार्यक्रमको पनि उत्तिकै हात रहेको उनी बताउँछन् ।
सक्रियता उत्तिकै
जीवनमा आफूले राम्रो अध्ययन गरेको र प्राध्यापनमा लागेर सेवा गर्न पाएकोमा खुसी छन् । अहिले पनि उनी पिएचडीको अध्येताको शोध निर्देशक, सञ्चारविज्ञ तथा स्तम्भकारका रुपमा सक्रिय छन् । ३५ सय भन्दा बढी अखबारी लेख तथा रेडियो टिप्पणी लेख्न पाएकोमा उनी दंग छन् । अझै उनको जाँगर मरेको छैन । बीस वटाभन्दा बढी पत्रकारितासँग सम्बन्धित पुस्तक उनले लेखिसकेका छन् ।
आमसञ्चार तथा पत्रकारिताको विभागको विभागीय प्रमुखका रुपमा बीएमा एक पटक र एमएममा दुई पटक जिम्मेवारी सम्हालेका खरेलको योगदान पत्रकारिता विषयको पाठ्यक्रम बनाउनमा उच्च छ ।
प्रकाशित: १२ मंसिर २०७६ ०६:३७ बिहीबार