१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

अनित्य दर्शन

बौद्ध धर्म–दर्शनको मुख्य विशेषताका सम्बन्धमा चर्चा हुँदा अनित्य, दुःख र अनात्माको सन्दर्भ छुटाउन मिल्दैन। र, यी कुरामा विमति राख्नु पनि समग्र बौद्ध दर्शनमै विमति राखेको ठहर्छ। यसको ठीक विपरीत कतिपय धर्म–दर्शनले नित्य, सुख र आत्मालाई नै आधारभूमि मानेको पाइन्छ। यसर्थ सबै धर्म–दर्शनको सार एउटै हो, वा एउटै गन्तव्यका फरक–फरक बाटा हुन्  भनेर गरिने व्याख्या वा निष्कर्षलाई बेग्लै कुराले प्रेरित वा अपव्याख्या भन्न सकिन्छ। अथवा, यो लोकरिझ्याइँ मात्र हुन सक्छ। यस पक्षमा होस नराखी बौद्ध धर्म–दर्शनका सम्बन्धमा कुरा गर्दा बहकिने सम्भावना प्रबल हुन्छ।

‘अनित्य’लाई अर्को शब्दमा ‘परिवर्तन’ भन्न सकिन्छ। बौद्धहरूका अनुसार, भौतिक तथा अभौतिक सबै कुरा परिवर्तनशील छन्, स्थिर छैनन्। उत्पत्ति र विनाशको क्रम चलिरहेको हुन्छ। एउटाको विनाश अर्कोको उत्पत्ति हो, यी एक–अर्कासँग सम्बन्धित हुन्छन्। विपश्यना ध्यानको मुख्य उद्देश्य यही उत्पत्ति र विनाशलाई ध्यानपूर्वक हेर्नु र बोध गर्नु हो। यही कारण बौद्ध धर्मदर्शनका अभ्यासीमाझ यो ध्यान लोकप्रिय छ। यद्यपि दैनिक जीवनको दौडधूप, तनावबाट छुट्कारा पाउन र मन–मस्तिष्कलाई एक क्षण आनन्द दिन विपश्यना शिविर जानेहरू नभएका होइनन्, यो बेग्लै कुरा हो।

कसैको मृत्यु देख्यो वा मृत्युको कुरा सुन्यो भने पनि कतिपयले ‘अनित्य’ शब्द उच्चारण अनायास गर्न पुग्छन्। अनित्यता अर्थात् संसारको परिवर्तनशीलतालाई सम्झिरहने र चिन्तन–मनन गर्नाले पनि ध्यान गरेजस्तै अनित्यताबोध हुनसक्छ। अनित्यताको व्याख्याले मात्रै पुग्दैन, बोध नहुन्जेल यो कुनै कामको हुँदैन। अनित्यताको बोधकै लागि विपश्यना ध्यान तथा चिन्तन–मनन गरिन्छ।

वीर्य र डिम्बको संयोगबाट भू्रण बन्छ। भू्रण हुर्केर आमाको कोखबाट शिशुका रूपमा जन्म हुन्छ। यही शिशु बालक, किशोर, युवा र वृद्ध भई मृत्यु हुन्छ। यही प्रक्रिया पशुपक्षी तथा जलचरमा पनि लागू हुन्छ। सामान्यतः कुनै प्राणीको जीवन केही दिनको मात्रै हुन्छ भने कसैको जीवन केही महिना वा केही वर्षको। सय वर्षभन्दा बढी बाँच्ने मान्छे थोरै हुन्छन्, सरदर सयभन्दा बढी बाँच्ने हात्ती र कछुवाबारे हामीलाई जानकारी नै छ। बौद्ध मान्यताअनुसार, देवयोनिमा जन्मेकाहरूको आयु लामो हुने गर्छ। तर, छोटो समयका लागि जन्मेका हुन् वा लामो आयु भएका, सबैको एक दिन च्युत हुन्छ नै र कर्म सिद्धान्तअनुसार अर्को योनिमा जन्म लिने कुरा बौद्ध मान्यता हो।

जन्म र मृत्यु मात्रै अनित्य वा परिवर्तनको उदाहरण होइन। प्रत्येक क्षण उत्पत्ति र विनाशको प्रक्रिया चलिरहेको हुन्छ। शिशुबाट बालक हुनु पनि एउटा मृत्युबाट अर्को जन्ममा प्रवेश हुनु हो। त्यस्तै, आजबाट भोलि, अघिबाट अब र अबबाट एकछिनपछि भई समय चलिरहेको हुन्छ। यसलाई पनि जन्म, मृत्यु र पुनर्जन्म भन्न सकिन्छ। निर्जीव वस्तु पनि यस्तै अनित्य वा परिवर्तनशील हुन्छ। झट्ट हेर्दा करोडौंं वर्षअघिको यो पृथ्वी उस्ताको उस्तै छ, तर यो आफ्नै गतिले परिवर्तन हुँदै आएको हुन्छ र एक दिन विनाश हुन्छ नै।

बौद्ध धर्मदर्शनबारे भर्खरभर्खर जानकारी पाएकाहरू बुद्ध भन्नाले ईपू ५६३ को वैशाख पूर्णिमाका दिन मायादेवीको कोखबाट लुम्बिनीमा जन्मेका गौतम बुद्धलाई मात्रै बुझ्ने हुन्छन्। बोध गर्ने बुद्ध हुन्छन् भनेपछि त्यसभन्दा अघि पनि बुद्धहरू हुनु स्वाभाविक हो। गौतम बुद्धभन्दा अघिका बुद्धहरूलाई अतीत बुद्ध भन्ने गरिन्छन्। स्वयं गौतम बुद्धले आफूसहित उल्लेख गरेका बुद्धहरूको संख्या २८ छन् भने त्योभन्दा पनि अघि अन्य बुद्ध हुन्छन्। यी बुद्धका सम्बन्धमा बौद्धग्रन्थ ‘बुद्धवंश’मा सविस्तार वर्णन पाइन्छ। तर ती सबै बुद्ध अहिले हामी बसिरहेको पृथ्वीमै जन्मेका हुन् भन्ने बुझाइ राख्नु हुँदैन। एक बुद्ध र अर्को बुद्धबीच लामो समयको अन्तर हुन्छ। गौतम बुद्धको आयु ८० वर्ष मात्रै भयो। अतीत बुद्धहरूको आयु पनि फरक–फरक रहेको पाइन्छ। एक बुद्धको आयु नै करिब लाख वर्ष रहेको पाइन्छ भने त्यो आयु क्रमशः घट्दै आएको पाइन्छ। सौर्यमण्डलमा सूर्यको एउटा पिण्ड उछिट्टिएर आएपछि क्रमशः चिसिँदै यो पृथ्वीको सृष्टि भएको र यति वर्ष पुरानो भनेर वैज्ञानिक शोधपछि निष्कर्षमा पुगेको पाइन्छ। वैज्ञानिक शोधपछिको यो निष्कर्षलाई स्विकार्दै बौद्ध साहित्यमा उल्लेख भएअनुसार यस्ता सृष्टि र विनाश पटक–पटक भएको र आजको स्थितिमा पुगेको भन्न सकिन्छ।

धेरै कुरा अनित्य वा परिवर्तनशील भए पनि केही–केही कुरा नित्य वा शाश्वत हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ। यो मान्यतालाई बुझ्न त्रिपिटकको ‘दीघनिकाय’ ग्रन्थमा संकलित ‘ब्रह्मजालसुत्त’ सहायक हुन्छ। त्यसअनुसार एक ब्रह्माको आयु निकै लामो हुन्छ। ती ब्रह्माले अरु जीवहरूको जन्म र मृत्यु तथा पुनर्जन्महरू बारम्बार भइरहेको देख्छन्, तर आफू भने जीवित नै रहेका कारण आफू कहिल्यै मर्नुनपर्ने अमर तथा अविनाशी हुँ भन्ने भ्रम राख्ने हुन्छ। पूरा विनाशपछि सृष्टिको सुरुमा आएको ब्रह्मालाई आफूअघिको बारेमा थाहा नुहुनु स्वाभाविक पनि हो। यसरी नै आफ्नो पूर्वजन्मका बारेमा थाहा पाउनेले एक जन्ममा पनि उही ब्रह्मा र त्योभन्दा अघिल्लो जन्ममा मात्रै नभर कैयौं पूर्वजन्ममा पनि उही ब्रह्मा देख्दा आफू मात्रै मरणशील तर ब्रह्मा भने कहिल्यै मर्नुनपर्ने हुन् भन्ने बुझाइ राख्ने गरेको पाइन्छ। ब्रह्मा, इन्द्रलगायत दीर्घायु देवहरू अनेकौं संख्यामा रहेको कुरा बौद्ध साहित्यमा उल्लेख पाइन्छ। यी दीर्घायु देवहरूको पनि मृत्यु हुन्छ नै।
अब प्रश्न उठ्छ, ब्रह्मा, इन्द्रलगायत देवतालाई थाहा नहुने कुरा बुद्धलाई कसरी थाहा हुन्छ त ? यही सन्दर्भमा बुझ्नुपर्ने अहं कुरा हो, बुद्धत्व प्राप्त गरिसकेको र नसकेको अवस्था।

मान्छे भनौं वा पशुपक्षी, देव भनौं वा प्रेत, आखिरमा सबै जीव हुन्। कर्म सिद्धान्त अनुसार फरक–फरक योनिमा जन्म लिने र सञ्चित पुण्यका आधारमा त्यस योनिबाट च्युत भई पुनः कर्म सिद्धान्त अनुसार नै अर्को योनिमा जन्म लिन जाने हो। यसअनुसार केही राम्रो कर्म गरेकै आधारमा ब्रह्मा बन्ने हो र त्यो राम्रो कामको सञ्चित पुण्य क्षीण भएपछि अर्को योनिमा जानुपर्छ। यही भवसागर बौद्ध धर्म–दर्शनअनुसार दुःख हो। दुःखबाट मुक्ति नै बौद्ध धर्मदर्शनको मुख्य ध्येय हो। यसअनुसार ब्रह्मा बन्नु पनि अविद्याकै चक्करमा परेर दुःखको भवसागरमा पिल्सिरहनु हो। अविद्या र तृष्णाका कारण यस्तो हुने हो। बौद्ध दर्शनले मिथ्यादृष्टि (अविद्या) को ठाउँमा सम्यक् दृष्टिको विकास गर्ने र तृष्णाको क्षयमा ध्यान दिन्छ। तृष्णा पूर्णतः क्षय गरेपछि जन्म र मृत्युको चक्र नै क्षय हुन्छ र बारम्बार जन्म लिनुपर्ने हुँदैन। यो कुरालाई राम्रोसँग जान्ने ‘सम्यक् सम्बुद्ध’ हुन् र सम्यक्सम्बुद्धहरू सर्वज्ञ हुन्छन्।

अनित्य एउटा सत्य हो र यसलाई स्विकार्नुको विकल्प छैन। बौद्ध दर्शनअनुसार नित्य वा शाश्वतवाद मिथ्यादृष्टि हो। मिथ्यादृष्टि हुन्जेल अनित्यतालाई आत्मसात् गर्न सकिन्न र त्यसको नियति भवचक्रमा पिल्सिरहनु हुन्छ, जुन आफैँमा दुःख हो। दुःखबाट विमुक्ति नै प्रमुख उद्देश्य रहेको धर्मदर्शनले अनित्यताको कुरामा जोड दिनु र नित्यताको मान्यतालाई खण्डन गर्नु स्वाभाविक हो।

प्रकाशित: ७ मंसिर २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App