‘तपाईँहरू कहाँ जान आउनुभाको...? दसैं बाँकी नै छ त !’, नीलो क्याप लगाएर लामबद्ध हिँडेको हाम्रो समूहलाई देखेर बोसन गाउँका एक जनाले सोध्नुभयो। त्यसो त दसैंका बेला पदयात्रामा निस्केको देखेर धेरै जना छक्क पर्दै हेरिरहेका थिए।
‘हामी डाँडा चढ्न आएका’ भन्यौं। ‘बाटोमा जुका हुन्छ, नुन किनेर लानु है बैनी’, उहाँले फेरि भन्नुभयो।
‘असोज महिनामा पनि जुका लाग्छ र ?’
‘जंगलमा धेरै जुका हुन्छ, नुन दलेर जानु’, उहाँले सुझाउनुभयो। त्यसैले सानुकाजी डंगोल दाइले नुनको प्याकेट किन्नुभयो र हामीलाई लगाउन दिनुभयो। अघि हाइकङि रुटबारे ब्रिफिङ गर्दा मैले जुकाको विषयमा भन्न बिर्सेछु।
नभन्दै उकालोमा जंगलभरि जुका देखिए। पदयात्रीले दसैंमा जुकालाई रक्तदान गर्दै हिँड्न पाए।
दसैंलाई मिठो खाने, रमाइलो गर्ने, साथीसँगी र परिवारसँग भेटघाट गरेर माया साट्ने पर्वका रूपमा लिइन्छ। दसैंमा सबै मिठो खाएर आराम गर्छन्। यस्तो बेला त स्वस्थ रहन झन् व्यायाम जरुरी हुन्छ। पदयात्राले शरीरको राम्रो व्यायाम हुन्छ। प्रकृतिको सामीप्य बढ्छ अनि नयाँ ठाउँ र नयाँ परिवेश बुझ्न पाइन्छ।
दसैंको पूर्णिमाको अघिल्लो दिन हामी हिँड्दै पुगेका थियौं चाल्नाखेलबाट भन्ज्याङ, चम्पादेवी, हात्तीवन हुँदै सेतीदेवीसम्म। दसैंको आगमनसँगै चारैतिर हिमाल खुल्ने मौसम। त्यसैले दसैं–तिहारमा पदयात्रा रमाइलो हुन्छ।
हामी चाल्नाखेलसम्म गाडीमा गयौं र त्यहाँबाट हिँड्दै उकालो चढ्यौं। चम्पादेवी पाउ पुगेपछि ठाडै उकालो। उकालोमा बाटोभरि जुका। त्यसो त जुका मानिसभन्दा धेरै इमान्दार हुन्छन्। जुकाले आफूलाई जति चाहिन्छ त्यति मात्र रगत चुस्छ र आफैं खस्छ। मलाई भने जुका देख्दा डर लाग्छ।
हतारहतार जंगलको उकालो कटेर माथि देउराली पुग्यौ। माथि पुगेर खुट्टामा हेरें, धन्न जुका रहेनछ। देउरालीबाट चम्पादेवी पुग्न २ किमि उकालो चढ्नुपर्छ।
हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको प्रकृतिप्रेमी समूहले १४९ औं हाइकिङ चम्पादेवी क्षेत्रमा गराएको थियो। दसैंका बेला गरिएको पछिल्लो हाइकिङले हामीमा थप ऊर्जा बढायो।
दायाँबायाँ हरिया बुट्टयान। बीचमा सफा ढुङ्गा ओछयाइएको बाटो। वरपर फुलेका रंगीविरंगी फूल। चारैतिर हरिया डाँडामाथि नीलो आकाश अनि पूर्वमा झलमल्ल काठमाडौं उपत्यकासँगै टौदहको दृश्य। कति सुन्दर प्रकृति !
देउराली (२,००० मिटर)बाट देखिएको सुन्दर प्रकृतिसँग रमाउँदै हरियालीलाई पृष्ठभूमि बनाउँदै सबै हाइकर्स फोटो खिच्न व्यस्त भए। यसपालि हाम्रो समूहमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी पनि हुनुहन्थ्यो। हामीले उहाँसँग फोटा खिच्यौ।
केहीबेर उकालो चढेपछि ढिलो हुने भएकाले टुप्पोसम्म नपुगी फक्र्यौं हामी। माथि डाँडा (२,३०० मिटर)मा खुल्ला आकाशमुनि छ चम्पादेवी मन्दिर। त्यहाँ दुइटा ढुङ्गाका शिला, नजिकै देवीका मूर्ति, महादेवको लिंग र त्रिशूल छन्। चम्पादेवी पवित्र तीर्थ मानिन्छ। चम्पादेवी कीर्तिपुरको दक्षिणपट्टि डाँडाको टुप्पामा छ। डाँडा भएकाले वर्षैभरि हरियालीको बिछयौनामा बस्छिन् चम्पादेवी।
चम्पादेवी शीतल, शान्त र स्वच्छ वातावरणमा छ। चम्पादेवी नामको विषयमा किंवदन्ती सुन्न पाइन्छ। किंवदन्तीअनुसार भगवान् मञ्जुश्री स्वयम्भू आउँदा साथमा दुई श्रीमती ल्याएका थिए। एउटी मर्ददेवी (केशानी) जसलाई लक्ष्मी भनिन्छ र अर्की उपकेशानी (सरस्वती) थिए। त्यतिबेला काठमाडौं जलमग्न थियो। त्यसैले उनले दुई श्रीमतीलाई अग्ला डाँडामा बास गर्न पठाए। फुल्चोकी (२,८००मिटर)मा केशानी र चम्पादेवी (२,३००मिटर)मा उपकेशानीलाई पठाए। अनि उनले चोभारको डाँडालाई आफ्नो खड्गले काटी पानीको निकास दिएर काठमाडौंमा बस्ती बसाए। त्यतिबेलादेखि डाँडामा देवीको बास रहेको मानिन्छ।
त्यसै गरी डाँडामा चम्पाका फूल पाइने भएकाले चम्पादेवी भनिएको भनाइ पनि छ। नेवार भाषामा चम्पादेवीलाई (धिनचो) भनिन्छ। परापूर्वकालमा शिख बुद्धले ध्यान बसेको ठाउँ भएकाले नेपाल भाषामा ध्यान बसेको ठाउँलाई ध्यान ‘छे’ भनिएको र पछि धिनचो भनिएको भनाइ छ।
डाँडामा बुद्ध स्तुप पनि छ। हावाले फर्रफराईरहेका बुद्ध झन्डाले चम्पादेवीलाई थप पवित्र बनाउँछ। नयाँ वर्षमा यहाँ मेला लाग्छ। अघिल्लो दिन टौदहको पानी डाँडामा लगेर नयाँ वर्षको दिन तिर्थालुलाई बाँड्ने चलन छ। त्यसैले यसको सम्बन्ध बेसीको टौदहसँग जोडिएको छ।
हरियाली डाँडामा सेता हिमाल अनि उपत्यकाको दृश्य हेर्दै हाइकिङ गर्न उपयुक्त थलो हो चम्पादेवी। वन क्षेत्र भएकाले चराको चिरविर, जंगली जनावरको आवाज सुन्दै हिँड्न सकिन्छ।
चम्पादेवी पदयात्राका दुइटा रुट छन्। पहिलो कीर्तिपुरको मच्छेगाउँबाट डाँडा चढेर देउराली हुँदै चम्पादेवी पुग्ने। मच्छेगाउँमा माछारूपी भगवान् नारायणको मन्दिर छ। मच्छेनारायण दर्शन गरेर डाँडा चढ्ने। डाँडा चढ्नुअघि पुष्पलाल पार्क घुम्न सकिन्छ। पार्क घुमेर ठाडो उकालो २ घन्टा चढेपछि चम्पादेवी पुगिन्छ। डाँडामा पसल छैन, आपैmले खाजा बोक्नुपर्छ। चम्पादेवी घुमेर देउराली, हात्तीवन हुँदै सेतीदेवीसम्म पदयात्रा गर्ने। सेतीदेवीबाट फर्पिङ हुँदै फर्कने। पदयात्रा दूरी १२ किमि। समय ५ घन्टा।
त्यसै गरी अर्को रुट टौदहसम्म गाडीमा। टौदह अवलोकन गर्ने। मञ्जुश्रीले चोभार डाँडाको गल्छी काटेर पानी पठाउँदा नाग बस्ने स्थान नभएकाले टौदह बनाएको भनिन्छ। जहाँ कर्कोटक नागको बास छ। नागपञ्चमी र जनै पूर्णिमामा यहाँ मेला लाग्छ।
टौदह वरपर खाजा पसल र होटल छन्। टौदह परिक्रमा गर्न करिब १ घन्टा लाग्छ। टौदह घुमेर चाल्नाखेल, बोसन भएर देउराली पुग्ने। देउरालीबाट ढुङ्गा ओछयााइएको सिँढीमा १ घन्टा चढे पुगिन्छ चम्पादेवी थाप्लो। त्यहाँबाट मातातीर्थ झर्ने। पदयात्रा १४ किमि। समय : ५ घन्टा।
हामी फर्केर देउरालीमा खाजा खायौं। हाम्रो पदयात्रा स्वस्थ्यका लागि भएकाले हामी स्वस्थवद्र्धक खाजा र फलफूल मात्र खान्छौं। प्रकृतिप्रेमी समूहले हरेक महिनाको चौथो शनिबार ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मूलमन्त्र बोकेर यस्तो पदयात्रा गराउँदै आएको छ। सदा उचित आहार, विहार र विचारमार्फत् निरोगी रहने प्रकृतिको सरल नियम फैलाउँदै आन्तरिक पर्यटन विकास गर्न समूहले हाइकिङ गराउँदै आएको हो।
हामी महिनाको एक पटक हाइकिङ गर्छौं। अनि वर्षका दुई पटक लामो दूरीको पदयात्रा गर्छौं। यसै क्रममा यसपालि दसैं–तिहारको बीचमा हाम्रो समूह म्याग्दीको टोड्के, मालिका धुरी, बागलुङ हुँदै पर्वतको कुश्मासम्म बहु दिने पदयात्रामा निस्केको थियो।
चम्पादेवी हाइकिङचाहिँ हाम्रो १४९ औ नियमित पदयात्रा हो। खाजापछि हामी देउरालीबाट हात्तीवनतिर लाग्यौं। हात्तीवन चौरमा बसेर अन्तरकृया गर्यौं। अन्तरकृया निकै प्रेरणामूलक भयो। पदयात्रामा पहिलो चोटि सहभागी हनुभएका डा. रेग्मीले भन्नुभयो, ‘हिँड्दा स्वास्थ्यलाभ हुन्छ। औषधिले भन्दा पनि स्वच्छ वातावरण भएका डाँडामा हिँड्दा मुटु स्वस्थ हुन्छ। समग्र रोगबाट मुक्त रहन सकिन्छ। त्यसैले सकेसम्म म पनि अबका पदयात्रामा सहभागी हुनेछु।’
अन्तरकृयामा कतिपय मित्रले हाइकिङ र उचित आहार, विहार र विचारको व्यवहारिक अभ्यासबाट मोटोपन घटाएर स्वस्थ र छरितो भएको अनुभव सुनाउनुभयो। अन्तरकृयापछि हामी हात्तीवन रिसोर्टको जंगलबाट ओरालो झरेर सेतीदेवी भन्ज्याङसम्म हिँड्यौं।
हरियाली बीचको रिसोर्ट आकर्षक छ। रिसोर्ट नपुग्दै डाँडाबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्य देखिन्छ। चम्पादेवी वरपर थप रिसोर्ट आवश्यक छ। चम्पादेवीबाट ६ किमि दूरीमा छ हात्तीवन रिसोर्ट जहाँ एक रात बस्नु बेस हुन्छ।
चम्पादेवीमा फागुन–चैतमा पदयात्रा गर्दा लालीगुराँसको जवानी अवलोकन गर्न सकिन्छ। मनसुनका बेला भुइँकुहिरो र जुकाको साम्राज्य चल्छ। हामी त पुग्यौं चम्पादेवीमा, तपाइँ कहिले पुग्नुहुन्छ ?
कसरी पुग्ने : लगनखेलबाट बल्खू हुँदै चाल्नाखेलसम्म गाडीमा। त्यहाँबाट बोसन बस्ती हुँदै चम्पादेवी पाउ, पाउबाट ठाडो जंगलको उकालो हुँदै देउराली, चम्पादेवी टप र त्यहाँबाट गएकै बाटो देउरालीसम्म फर्केर हात्तीवन रिसोर्ट हुँदै सेतीदेवी भन्ज्याङसम्म पदयात्रा। चाल्नाखेल–देउराली ४ किमि, देउराली चम्पादेवी टप २ किमि ठाडो उकालो, देउराली–हात्तीवन रिसोर्ट २ किमि, रिसोर्ट–सेतीदेवी ३ किमि। जम्मा पदयात्रा दूरी १३ किमी। समय ६ घन्टा।
जनबोली
कृष्ण सुदन महर्जन ७४ वर्षका तन्नेरी हुनुहुन्छ। ललितपुरको खुमलहाइटमा बसोबास गर्ने महर्जनले धेरै पटक हाइकिङ गरिसक्नु भएको छ। ‘हिँड्दा शरीरको राम्रो व्यायाम हुन्छ र स्वस्थ भइन्छ। त्यसैले हिँड्छु, कृष्ण भन्नुहुन्छ, ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने मन्त्र हामीले बुझ्नुपर्छ।’
...
यशोदा श्रेष्ठ न्यू भिजन एकेडेमी स्कुलका संस्थापक हुनुहुन्छ। काठमाडौंको सतुंगल निवासी यशोदा भन्नुहुन्छ, ‘हिँड्नलाई पहिला आफ्नो शरीरको तौल ठिक राख्नुपर्दो रहेछ र मोटोपन घटाउन हिँडेर मात्र पुग्दैन, खानपान पनि मिलाउनुपर्छ। अबदेखि हिँड्ने बानी गर्छु।’
...
चेतना नेपाल योग प्रशिक्षक हुनुहुन्छ। पेप्सीकोलामा बसोबास गर्ने चेतना भन्नुहुन्छ, ‘हामीले पदयात्रा गर्दा स्वास्थ्यलाई हित हुने खाना मात्र खानुपर्छ। प्रकृतिप्रेमी समूहका साथीहरूसँगको यात्रामा स्वास्थ्यवद्र्धक खाना र स्वास्थ्य सम्बन्धी ज्ञान पाउँदा खुसी लाग्छ।’
स्वास्थ्यका लागि हाइकिङ
डा. प्रकाशराज रेग्मी
म बेलाबेलामा हिँड्ने गर्छु। स्वस्थ वातावरण भएका डाँडापाखामा दिल खोलेर साथीहरूसँग गफिँदै हिँड्दा धेरै फाइदा हुन्छ। पहिलो कुरा शरीर स्वस्थ बन्छ। अर्को कुरा मानसिक हिसाबले पनि आनन्द र खुसी मिल्छ। बुझ्नु पर्ने के छ भने हामीमा आउने लगभग ८० प्रतिशत रोग हाम्रो जीवनशैली, आहार, विहार र विचार (उआविवि) नमिलेर आउँछ भने २० प्रतिशत वंशाणुगत हुन्छ जसलाई औषधि र अपरेशन आवश्यक पर्न सक्छ।
वंशाणुगत रोगमा पनि दैनिक जीवनमा उआविविसँगै आफ्नो व्यवहार मिलाएर नियमित योग तथा व्यायाम गरेमा धेरै लाभ हुन्छ। त्यसैले स्वस्थ रहन उआविविसँगै आफ्नो व्यवहार ठिक गरेर दैनिक योग तथा व्यायाम गरेमा मुटुरोगका साथै अरू समस्याबाट पनि बच्न सकिन्छ। तर महिनाको एक पटक मात्र हिँडेर पुग्दैन, दैनिक बिहान कम्तीमा ३० मिनेट सफा वातावरणमा हिँड्नुपर्छ। ध्यान दिनु पर्ने कुरा– स्वास्थ्य समस्या भएका जस्तै प्रेसर, सुगर आदि र औषधि खाएकाहरूले भने शरीरको क्षमता हेरेर मात्र हिँड्नु पर्छ।
दसैंमा समय मिलेको भएर परिवारसँगै हाइकिङ गरें। सुन्दर अनि शान्त वातावरणमा हिँड्न पाउँदा खुसी लाग्यो। नाच्न पनि पाइने, हिँड्न पनि पाइने, अनुभव साटासाट पनि गर्न पाइने र प्रकृतिको काखमा हाँसखेल गर्न पाइने। यस्तो पदयात्रा स्वास्थ्यका हिसाबले निकै लाभदायक छ। साथै पदयात्रामा स्वस्थवद्र्धक खानपानको ज्ञान पनि पाइने। प्रकृतिप्रेमी समूहको उआविवि अभियान जनस्वास्थ्यका लागि लाभदायक छ। त्यसैले म निरन्तर यस्तो पदयात्रामा सहभागी हुनेछु।
प्रकाशित: १६ कार्तिक २०७६ ०१:४६ शनिबार