२६ सय वर्षको अन्तराल
एक स्त्री स्वतन्त्र भई, कति स्वतन्त्र छु म,
सधैँ चारकुनाभित्र रगडिरहनुदेखि मुक्त
भोकको पीडादेखि मुक्त
खाली भाँडाहरूको घन्काइदेखि मुक्त
त्यो पुरुषको क्रूरतादेखि मुक्त
...सारा काम र द्वेषदेखि मुक्त
फैलिरहेका वृक्षहरूको छायामा जान्छु म
र, आफ्नो खुसीमा ध्यान दिन्छु ।
‘तेरीगाथा’ नामक पद्य–संकलनमा यी हरफ उल्लेख छन्, जसलाई सुमंगलमाता नामकी भिक्षुणीले ६०० ईसापूर्वतिर पाली भाषामा रचेकी थिइन् । यसै संकलनमा मट्टा नामकी अर्की भिक्षुणी मुक्तिको आवाज यसरी व्यक्त गर्छिन्–
कति स्वतन्त्र छु म ! कति अनौठो हो स्वतन्त्रता !
ती तुच्छ वस्तुहरूदेखि मुक्त—
ढिँकी, जाँतो र आफ्नो अडबङ्गे मालिकदेखिमुक्त
पुनर्जन्म र मृत्युदेखि मुक्त
ती तमाम चिजहरूले दबाएर राखेका थिए मलाई
ती सबैलाई अहिले टाढा फ्याँकेकी छु ।
हिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गाहरूसँगै पार्वती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । यी सबै पात्रहरू उच्च वर्ग, शासक र सत्तासँग सम्बन्धित छन् ।
‘तेरीगाथा’ भिक्षुणीहरूको गाथा हो । यी हरफ भारतीय लेखिकादीप्ति प्रिया महरोत्राको सन् २००१ मा प्रकाशित पुस्तक ‘भारतीय महिला आंदोलन : कल आज और कल’बाट भावानुवाद गरिएको हो । भाषा र भूगोललाई नियाल्दा यी हरफले बताउँछन्, आजभन्दा झन्डै २६ सय वर्षअघि नै आजको नेपाल र भारतको कतिपय भूमिमा स्त्रीहरूले पितृसत्तात्मक समाजको विरोध गरेका थिए ।
यी हरफभित्र जेजस्तो बेला, व्यवस्था, बोध र विद्रोह पाइन्छ, त्यो हाम्रो समाजमा आज पनि देखिन्छ । आज कुन्ता शर्माको सर्वाधिक चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ले व्यंग्यात्मक शैलीमा भन्छ–
सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बास्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनुपर्छ
आक्रोशका घुड्काहरू चुपचाप निल्नुपर्छ
अण्डा पार्नुपर्छ, ओथारा बस्नुपर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
पौराणिक मिथक र सत्ता
सुमंगलमाता र मट्टा (६०० ईपू) देखि कुन्ता शर्मा (जन्मः सन् १९४६) सम्म आइपुग्दा महिलालाई घरभित्र सीमित राख्ने र ‘मालिक’हरूले दास बनाउने प्रक्रियामा चरित्रगत फरक होला, चिन्तन उही छ, विभेदको मिथक र मुक्तिको मनोवाञ्छा उही छ ।
विशेषतःहिन्दू समाजमा नारी शक्तिको बखान गर्दा अधिकांशले पौराणिक पात्र नवदुर्गासँगै सती, सीता, कुन्ती, द्रौपदी लगायतको उदाहरण पेस गर्छन् । यिनीहरू सबैसँग अनेक मिथकीय शक्ति र जन्म कहानी छन् । जस्तो : सती दक्ष प्रजापतिकी पुत्री हुन्, पार्वती पूर्व जन्ममा सती थिइन्, दुर्गा शिवकै पत्नी अर्थात् शिव–शक्ति रूप हुन् ।
त्यस्तै, कुन्ती हस्तिनापुर नरेश पाण्डुकी पत्नी थिइन् । यिनले बिहेअघि नै दुर्वासा ऋषिबाट देवताहरूलाई बोलाउने मन्त्र पाएकी थिइन् । रोचक यो छ कि, मन्त्र दिने ऋषिमाथि कुन्तीले सन्देह गर्छिन् र मन्त्रको शक्ति जाँच्न सूर्यदेवलाई बोलाउँछिन् । मन्त्र सत्य हुन्छ, सूर्य उनको सामु आउँछन् र बोलाउनुको कारण सोध्छन् । कुन्तीले मन्त्रको शक्ति जाँच्नका लागि बोलाएको बताउँदै फर्कन आग्रह गर्छिन् । तर, सूर्यले आफ्नो आगमनलाई व्यर्थ नबनाउने भन्दै कुमारी नै रहने सर्तमा कुन्तीलाई गर्भवती बनाएर जान्छन् । हेर्नुस्, स्त्रीलाई भेटेपछि देउताले पनि विभिन्न बहाना र नाममा यौनेच्छा पूर्ति गर्नुपर्ने ! खैर, समय आएपछि कुन्तीले पुत्रलाई जन्म दिन्छिन् । अविवाहित कन्याले पुत्र (कर्ण)लाई जन्म दिएको समाजले राम्रो मान्दैनथ्यो, त्यही डरले उनले पुत्रलाई गंगामा बगाउँछिन् । यहाँनेर स्त्रीलाई आफ्नो खुसीले बच्चा जन्माउन रोक लगाइएको छ र सन्तानलाई नदीमा बगाएर उसलाई अपराधी बनाउन बाध्य पारिएको छ ।
त्यस्तै, वाल्मीकि रामायण अनुसार, राजा जनकले खेत जोत्दा सीता फालीमा आउँछिन् । उनको विवाह रामसँग हुन्छ । वनवासका क्रममा सीता रत्नजडित मृगको प्रलोभनमा पर्छिन् र रावणद्वारा अपहरित हुन पुग्छिन् । रहँदा–बस्दा चरित्र चोख्याउने नाममा सीतालाई अग्निकुण्डमा हालिन्छ, तर उनको मृत्यु हुँदैन । पछि उनी जिउँदै धर्तीमा प्रवेश गर्नुपर्छ । यहाँनेर, सीतालाई धन–सम्पत्तिको लोभमा परेको, चरित्रमा दाग लागेको र जिउँदै जलाइएको वा खाडलमा हालिएको प्रसंग आएको छ । यसले तत्कालीन समाजमा महिलाले खेप्नुपरेको उत्पीडन वा अन्यायलाई संकेत गरेको छ ।
त्यस्तै, द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी पुत्री थिइन् । यिनको जन्म र जीवन चरित्रको कथा पनि रोचक छ । पाँच पाण्डवकी पत्नी यिनलाई आफ्नै पतिले जुवामा थाप्छन् । योपत्नीलाई निजी सम्पत्ति समान सम्झने पुरुषसत्ताको प्रमाण हो । खैर, यी सबै पात्रहरू उच्च वर्ग, शासक (पुरुष) र सत्तासँग सम्बन्धित छन् । यिनीहरूका पछाडि कतिपय अवस्थामा दासदासीहरू पनि थिए । यी सबैको खास विरासतीय हैसियत, रूप अथवा अलौकिक शक्ति पनि थियो ।
आज हामीकहाँ कतिपय महिलाहरू उच्च पदमा पुगेका छन् । जो उच्च पदस्थ थिए र छन्, तीमध्ये अधिकांशले वर्ग, विरासत, जात, धर्म, क्षेत्रका कारण अवसर पाएका छन् । यद्यपि व्यक्तिगत संघर्षको कथा हरेकसँग हुन्छ, त्यसको महत्व बेग्लै छ । यो आत्मबलको कुरा पनि हो, मनोबल बढाउने हेतुले नै पुर्खाले तन्त्र–मन्त्र साधना लगायत धार्मिक अनुष्ठानका विधि बनाए ।
आज जसरी हाम्रो समाजजातीय, वर्गीय, लैंगिक, धार्मिक रूपमा विभाजित छ, त्यो पौराणिक कालमा पनि थियो । विशेषतः वर्ण–व्यवस्थामा आधारित हिन्दू समाजमा जात अनुसार आरक्षणमा आधारित पेसा हुँदा, ब्राह्मण र क्षत्रीले धर्म र सत्ता चलाउने कोटा लिँदै आउँदा, एउटै जातिमा विवाह गर्नुपर्दा, अंश र वंशको हक पुरुषमात्रै सीमित हुँदा महिला वा पिँधमा परेका जातिहरूले ऐतिहासिक रूपमा उत्पीडन भोग्दै आए । शूद्र भएर पनि ध्यान–तपस्या ग¥यो भनेर शम्बूक ऋषिलाई रामले हत्या गरेको प्रसंग रामायणमा उल्लेख छ ।
हिन्दू धर्म–संस्कृतिमा मात्रै मिथक, विभेद र विकृति छन् भन्ने होइन, विश्वका अन्य धर्मभित्र पनि भिन्न–भिन्न समूह छन्, फरक मूल्य–मान्यता र मिथक छन् । त्यसैले धेरै पहिलेदेखि नै यो धर्तीमा विभिन्न ढंगले महिला र उत्पीडित वर्गको मुक्तिको आवाज गुन्जँदै र धार्मिक–सामाजिक सुधारका आन्दोलन हुँदै आएको पाइन्छ ।
दीप्ति प्रिया महरोत्रा लेख्छिन्, ‘शोषण वा दमनको विरुद्ध महिलाहरूले आफ्नो आवाज आफ्नै किसिमले उठाउँदै आएका छन् । पुरुषवादी दृष्टिकोणबाट लेखिएको इतिहासमा राजा–महाराजाहरूको शासन र युद्ध–विजयका घटनाको चर्चा रहेका छन् । फेरि पनि यस मुख्यधारा इतिहासका पानामा केही झिनो दरार छ, जसबाट पर नजर लगाउने हो भने अर्को दुनियाँ देखिन्छ, जसमा दासदासी र श्रमिक–दलित छन् । घरको चार भित्ताभित्र निसासिएर जिउनु र खेत–खलियानमा खटेर मेहनत गर्ने महिलाहरू नै हुन्।’
सुरक्षित भविष्यको चिन्ता
एकछिनलाई तपाईं पौराणिक स्त्री पात्रलाई बिर्सनुस्, युट्युबमा जानुस् र ‘गोल्ड डिगर प्रान्क भिडियो’ सर्च गरेर हेर्नुस् । नेपाल, भारतदेखि संसारका विभिन्न देशमा खिचिएका त्यस्ता भिडियो हेरेपछि तपाईंलाई यस्तो लाग्न सक्छ कि दुनियाँका अधिकांश स्त्रीहरू धनी वा शक्तिशाली पुरुषको खोजी वा पर्खाइमा छन् । यो एउटा तथ्य पनि हो । लैंगिक विभेदको इतिहासलाई नबुझी भिडियोलाई मात्रै हेर्दा वा आजको समाजलाई मात्रै नियाल्दा यो तथ्य तपाईंलाई एक मात्र सत्य लाग्न सक्छ । यो तथ्यको पिँधसम्म पुग्नुभयो भने तपाईंले महिला विभेदको अन्तिम सत्य पाउनुहुनेछ— सम्पत्ति र सन्तानमाथि हक नहुनु र सुरक्षित भविष्यको चिन्ता लिनुपर्ने कारण नै आज महिलाहरू ‘गोल्ड डिगर भिडियो’को सिकार भइरहेका छन्, पुरुषवादी समाजमा भयानक विभेद खेपिरहेका छन् ।
आजको समाजलाई उल्ट्याएर सोच्नुस्, अंश र वंशमा हक महिलालाई मात्रै हुन्थ्यो, महिलाले पुरुषलाई विवाह गरेर लैजाने प्रचलन हुन्थ्यो भने ‘गोल्ड डिगर भिडियो’मा निश्चय नै पुरुषले सिकार हुनुपथ्र्यो ।
यहाँनेर तपाईं यो तर्क गर्न सक्नुहुन्छ– यो दुनियाँमा धनी र शक्तिशाली महिला पनि छन् । हेर्नुस्, यो पुँजीवादी दुनियाँमा अपवादमा धेरै कुरा छन्,तर यो स्पष्ट छ, संसारका अधिकांश समाजको चरित्र पुरुषप्रधान हो । पुरुषवादी संरचनाले महिलालाई भन्दा पुरुषलाई धन कमाउने वा शक्तिमा जाने वातावरण दिन्छ । सामन्तवाद, पुँजीवाद र ब्राह्मणवादले अधिकांशतः उच्च वर्ग र जातिलाई मात्रै प्रगति गर्ने आधार दिन्छ ।
अर्कोतर्क आउन सक्छ, प्राकृतिक रूपमा पोथी जातिभन्दा भाले जाति बलिया हुन्छन् । हो, प्राकृतिक तथ्यको आफ्नो ठाउँ छ । तर, सबै भाले जाति, पोथी जातिभन्दा बलिया हुन्छन् भन्ने होइन । पशुको कुरा छोडौँ, मानव भएर के शक्तिशालीले निर्धालाई शोषण गर्नैपर्छ ? विवेक वा न्याय नामको कुनै चिज छैन ? त्यसैले त इतिहासदेखि उत्पीडनमा परेका मानिसले सामाजिक न्याय पाउनुपर्छ भनेर आज विश्वभरि आवाज उठेको छ ।
आज हामी अंश र वंशको हक महिला र पुरुषमा समान बनाउने बहसमा छौँ । यहाँनेर हामीले यो बुझ्नुपर्छ— पुरुषबाट हक खोसेर महिलामा ल्याउने, पुरुषसत्ता वा पुरुषवाद भत्काएर महिलासत्ता वा महिलावाद ल्याउने, ब्राह्मणवाद भत्काएर दलितवाद ल्याउने, धनीहरूबाट खोसेर गरिब पोस्ने होइन । राज्यमा सबैलाई आत्मसम्मान हुने, समान अवसर प्रदान हुने, समन्याय हुने विधि–व्यवस्था ल्याउने हो । अनि, मिथकमा आधारित विभेदलाई भत्काएर ज्ञान, विज्ञान र विवेकमा आधारित न्यायलाई स्थापित गर्ने हो ।
दशैं, उपासना र आधार
कुलचन्द्र कोइराला आफ्नो पुस्तक ‘नेपाली सांस्कृतिक जात्रापर्व’मा लेख्छन्, ‘कतिपय पुराणमा दशैँको व्रत एवं दुर्गाको उपासना गरी वरदान प्राप्त गरी रावणलाई रामले मारेको कथा उल्लेख छ । ऐतिहासिक अन्वेषणकर्ताहरू पुराणको उक्त कथासँग त्यति सहमत छैनन् । ’
दशैँको मुख्य महत्व शक्ति उपासना र विजयको अभिलाषासँग जोडिएको छ । विशेषतः रामले विजय प्राप्त गरेको खुसीयालीमा दशैँ मनाइन्छ । हिन्दूहरूले दशैँमा आफूभन्दा ठूलाबडाबाट टीका ग्रहण गरेर विजय वा सफलताका लागि आशीर्वाद लिने, शक्तिपीठहरू, विशेषतः कोटहरूमा हातहतियार पूजा गर्ने, पशु बलि चढाउने, मीठोमसिनो खाने र राम्रो लगाउने गर्छन् ।
राम स्वयंले दुर्गाको उपासना गरी रावणमाथि विजय गरेको मिथकका आधारमा शासकहरूले शक्तिको उपासना गर्ने प्रचलनसँगै दशैँ मनाउन थालिएको बुझिन्छ । हामीकहाँ शासकले शक्तिको उपासना गर्ने प्रचलन लिच्छविकालमा सुरु भएर मल्लकालमा बढी नै महत्व पाएको मूर्ति, अभिलेख र इतिहासले संकेत गरेका छन् ।
हरेक वर्ष दशैँमा विशेषतः दुर्गा पूजाको चर्चा हुने, सफलता वा विजयका लागि देवीको भाकल गर्नेर रामायण–महाभारतजस्ता पौराणिक साहित्यलाई सम्मानका साथ अध्ययन गरिने हुँदा हामीकहाँ स्त्रीशक्तिको चर्चा बेला–बेला हुने गर्छ ।
आम मानिसलाई जिज्ञासा हुन्छ, मर्यादा पुरुष रामले नै उपासना गरेकी दुर्गाको शक्ति कति होला ? कुलचन्द्र कोइराला लेख्छन्, ‘शिव नै शक्ति हुन् र शक्ति नै शिव हुन् । ...शक्ति दर्शन अथवा शैव दर्शनको प्रादुर्भाव भएपछि शक्तिको महिमा झनै बढ्यो र शिव शक्तिको अभिन्नता दर्शाउन शिवकै अनुरूप शिवा (दुर्गा) को पनि रूप कल्पना गरियो ।’
शिव–शक्तिको रहस्यमाथि मनन गर्न शिवसंहिता, शिवपुराण, लिंगपुराणसम्म पुग्नुपर्छ । शिवसंहितामा योग साधना, शिवपुराण र लिंगपुराणमा शिवशक्ति र शिवलिंगको महिमा वर्णन गरिएको छ । जसमाथि चिन्तन–मनन गर्ने हो भने शिव व्यक्ति नभएर प्रकृति वा सृष्टि प्रतीत हुन्छन् । त्यस्तै, सृष्टि सञ्चालनमा अंह भूमिका हुने स्त्रीहरु शक्ति रुप हुन् । यसरी पौराणिक कथामा आउने स्त्री पात्रहरुलाई पनि प्र्रकृति र सृष्टिको संकेत मान्न सकिन्छ ।
लिंगपुराणमा सूतजी भन्छन्, ‘अदृश्य जो शिव हुन्, उनी दृश्य प्रपञ्च (लिंग)का मूल हुन् । यसमा शिवलाई अलिंग र अव्यक्त प्रकृतिको लिंग बताइएको छ । त्यसैले यो दृश्य जगत पनि शिवस्वरूप हो । ’
शिव संहितामा भनिएको छ, ‘पञ्चभूत तत्वहरूको संयोजनबाट यस संसारमा असंख्य स्थूलरूप वस्तुहरूको उत्पत्ति हुन्छ । ती वस्तुमा चैतन्यरूपी जीव कर्मद्वारा बाँधिएर रहेको हुन्छ । ’
कुन्तीले मन्त्रको शक्तिले सूर्यलाई बोलाएको, सीता खेत जोत्दा फालीबाट निस्केर फेरि अग्नि परीक्षा हुँदै धर्तीमै प्रवेश गरेको अर्थात् माटोदेखि माटोसम्म पुगेको घटनाले प्रकृति वा सृष्टितिर संकेत गर्छ । प्राचीनकालका चिन्तकहरूले जल र अग्निलाई देवता वा शक्ति मानेर, पञ्चमहाभूत तत्वमा आधारित भई प्रकृतिको व्याख्या गरेर दुनियाँको रहस्यलाई खोजिरहेका थिए । प्राकृतिक विपत् वा घटनाहरूले जनजीवन प्रभावित हुने भएकाले मानिस मूलतः प्रकृतिपूजक वा शक्तिपूजक हुँदै आयो । घुमन्ते मानिसहरू प्रकृतिकै उपजमा आश्रित भएर एकै ठाउँमा बस्न थालेदेखि, विशेषतः राज्यको उत्पत्ति भएदेखि शक्तिको परिभाषा बदलियो, त्यसैले मानिसहरूले सत्ता र शक्तिसँग सम्बन्धित अनेक मिथकीय कहानी रचे । प्रकृति र शक्तिशाली पुरुषलाई देवी–देवताका रूपमा चर्चा गर्दै आए । देवी भागवत पुराणमा एक सयभन्दा बढी शक्तिपीठहरूको उल्लेख पाइन्छ ।
आजसम्म हामी यिनै धार्मिक कहानीबाट प्रभावित छौँ । प्राकृतिक विपत् नहोस्, खेती सप्रियोस् भनेर विशेषतः किसानले प्रकृतिलाई खुसी पार्न गीत गाउने, नाच्ने, बाजा बजाउने गर्न थाले । आफूले कल्पना गरेको चिजलाई चित्र वा मूर्तिमा ढाल्ने उत्कण्ठा, शक्तिशालीले स्मृति राख्नका लागि आफ्नै मूर्ति बनाउने लालसा आदिका कारण मानिसहरूले मूर्तिहरू बनाउन थाले । मानिसका यस्ता क्रियाकलापले क्रमशः संस्कृतिको रूप लियो ।
गोरख प्रसादको पुस्तक ‘भारतीय ज्योतिष का इतिहास’ अनुसार, पानी पर्ने र खेती लगाउने समय जान्न कृषकलाई र लामो समयसम्म यज्ञ वा सूर्यको उपासना गर्ने भएकाले महिना र दिन जान्न पुजारीहरूलाई सर्वप्रथम ज्योतिष ज्ञान आवश्यक भयो । यसरी सूर्य, चन्द्रमाको अवस्थिति हेरेर मानिसले महिना, दिन र तिथिहरू बनायो । प्र्रकृतिसँग जुध्न, मानसिक र शारीरिक रूपमा स्वच्छ र बलशालीहुन योग–साधना, मन्त्र–साधना, पूजाविधि आदिको विकास ग¥यो । यी कुरा निश्चित रूपमा विज्ञान वा मनोविज्ञानसँग निकट छन् । यी कुरा पत्ता लगाउन, विकास गर्न एउटै व्यक्ति वा कुनै एक समाजको मात्रै भूमिका, अभ्यास नभएर धेरै व्यक्ति र समाज लागेको हुनुपर्छ ।
आज हामी तिथि, विधि र वाङ्मय (पौराणिक कथा)मा विश्वास गरेर विभिन्न धर्म–संस्कृति मनाइरहेछौँ, मूल्य–मान्यतालार्ई मानिरहेछौँ । यसो गर्दा समाजमा सबैको विजय नभएर कतिपय विभेद र उत्पीडनमा परेका छन् । जस्तो ः देउता रिसाउँछन् भनेर छाउपडी र छुवाछुत मान्नू,विभिन्न पाप–धर्म र अन्धविश्वासको भ्रममा पर्नू ।
शक्ति केका लागि ?
हिजो पुर्खाले शारीरिक र मानसिकरूपमा बलियो हुन पूजा, उपासना, अनुष्ठान विधि पत्ता लगाए । पछि मनोकांक्षा पूरा गर्न अर्थात् शक्तिमा पुग्नका लागि शासकहरूले देवीदेवताको उपासना गरेर मनोबल बढाउने अभ्यास गरे । त्यसमा नागरिक पनि सहभागी हुँदै आए । जस्तो : हामीकहाँ मन्दिरहरूमा पूजा गर्ने, बलि चढाउने, मन्त्र भन्ने,मन्दिर वा मूर्ति बनाउने, मन्दिरबाहिर बाजा बजाउने फरक–फरक जाति वा समुदायका मानिस हुन्छन् । पूजाआजा गर्ने, व्रत बस्ने फरक–फरक बहाना, मिथक र मनोकांक्षा छन् ।
शासकहरूले सबै जनतामा सुशान्ति, स्वास्थ्य, सफलता, समृद्धिका लागि धार्मिक अनुष्ठान गरिएको पनि बताउँदै आएका छन् । वास्तवमा मान्छेले आफू शक्तिमा रहन, सफलता हासिल गर्नकै लागि मनोकामना राखेको हुन्छ । आज हामीले यो बुझ्न आवश्यक छ कि कसैले पनि धार्मिक अनुष्ठानबाट शक्तिशाली भएर अर्कोमाथि शासन वा दमन गर्ने होइन । हो,धार्मिक अनुष्ठानले मनोबल बढ्न सक्छ,तर सबैलाई सुखी, समन्यायमा राख्नका लागि राज्यले नीति–नियम बनाएर कार्यान्वयन गर्नुपर्छ ।
आज हामीकहाँ वैवाहिक बलात्कारको कानुन, छुवाछुतको कानुन आइसकेको छ । योसँगै कानुनका दृष्टिले महिलाहिंसा, बालहिंसालाई केलाउने हो भने हामी प्रत्येक घरमा ‘अपराधी’ छैनौँ होला र ? छुवाछुत, जातीय विभेद, महिलाहिंसा, बालबालिका माथिको हिंसासँगै अन्य विभेद हामीबाट नभएको होला ?त्यसैले हामीले आफूलाई सच्याउँदै, आत्मालोचना गर्दै, अपराधीलाई सजाय दिलाउन सघाउँदै, धार्मिक–सामाजिक व्यवस्था र मान्यतालाई समयानुकूल सुधार्दै, राज्य संयन्त्रलाई समावेशी बनाउँदै, राज्यका सेवा–सुविधामा सबैलाई हक दिलाउँदै, इतिहासदेखि पछाडि परेका लिंग, वर्ग, जातजाति, समुदायलाई विशेष सुविधा दिँदै अगाडि बढ्नुपर्नेछ । हामीलाई यसैका लागि, अझ भनौँ सामाजिक न्याय स्थापनाका लागि शक्ति चाहिएको छ ।
प्रकाशित: १२ आश्विन २०७६ १२:१८ आइतबार