७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

उत्तरार्द्ध जीवनको पीडा

सुरेन्द्रलाल भुजू

शनिबारको दिन, साँझपख, भक्तपुर सिद्धपोखरीको दिलमा साथीलाई कुर्दै थिएँ। सँगै चारजना वृद्ध पाटीमा बसेर कुरा गर्दै थिए। सबै पढे–लेखेकै देखिन्थे। एकजना अलि भर्खरका र नेता जस्ता देखिन्थे। अरु तीनजनाको बोलीमा पेन्सनवाला कर्मचारी भएको भाव आउँथ्यो।

नेता जस्ता देखिनेले भने, ‘मलाई आजकल बुढेसकाल लाग्या हो कि, सानोतिनो कुरामा चित्त दुखिहाल्छ। युवा छँदा, अफिस हुँदा संयुक्त परिवार थियौं। आजकल भाइहरु छुट्टिए। छोराहरु पसल जान्छन्। बुहारीहरू अफिस गर्छन्। आ–आफू खान्छन्। श्रीमती बिरामी छिन्, घरायसी कामको जिम्मेवारी आफ्नो टाउकोमा परेको छ। देश समाज परिवर्तन गर्छु भनेर लाग्या मान्छे, बुढेसकालमा आएर कहिल्यै नग-या सानोतिनो घरायसी काममा अल्झिँदा लघुताभास हुन्छ। काम गर्ने मान्छे राख्नु पनि यस्तै हो। आफू शोषणको विरुद्ध लाग्या मान्छे, त्यसमाथि आजकल मान्छे नै पाइँदैन।’

अर्का चाहिँले भन्छन्, ‘तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ, छोराबुहारी सँगै रहेछन्, सानोतिनो कुरामा के चित्त दुखाउनुहुन्छ ? मेरा त दुई छोरी विवाह गरेर गइहाले बुढाबुढी मात्र छौँ। मेरो पनि बुढी बिरामी छे। कहिलेकाही छोरीहरू आउँछन्। अर्काको घरमा गइसकेका छोरी त्यही त हो, आउन नपाउँदै जान हतार गर्छन्। सब यही हातले गर्नुपर्छ। पहिलाको कुरा गरेर के गर्नु ? जिन्दगीमा छोरा नहुनु पनि ठूलै पीडा  रहेछ।’

दुईजनाको कुरा सुनेपछि अर्का व्यक्ति बोल्न थाले, ‘तपाईंहरुको त बिरामी भए नि श्रीमती हुनुहुँदो रहेछ। अनुहार हेरिराख्न पाउनुभएको छ। कुरो रह्यो सेवा गर्नुपर्ने। त्यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ। मैले त्यो पनि पाइनँ। केही नभएकी मेरी उनले अकस्मात धर्ती छाडिन्,  सायद हर्ट–अट्याक भएर होला। २० वर्षअगाडिको कुरो, उनी ५५ र  म ६० को थिएँ।’

उनका आँखा अलि रसाए। अनुहार अलि मलिन भयो। बिस्तारै फेरि भन्दै गए, ‘आज २० वर्ष भैसक्यो, एक्लो जीवन बिताएको। छोराबुहारी सबै छन् तर ज्यानले सकुन्जेल आफ्नो काम आफैँ गरिरहेको छु। भगवानको कृपाले दुई–चार पैसाका लागि उनीहरुको हात थाप्नुपरेको छैन। छोराछोरीले बेलाबेलामा सोधपुछ गरिरहेकै हुन्छन्।  कहिलेकाहीँ मेरा लुगाफाटा पनि धोइदिन्छन्। छोराछोरीले जे गर्छन्, त्यसलाई बोनसको रूपमा लिएको छु।’

उनको कुरा ध्यान दिएर सुनेपछि अर्का व्यक्ति अगाडि सर्दै भने, ‘मलाई पनि त्यही लाग्छ। छोरा नहुनु, सानोतिनो जिम्मेवारी बढ्नु ठूलो कुरो होइन। छोराबुहारी आफूसँगै भए राम्रै भयो। सँगै रहँदा गाग्राहरु पनि बज्छन् भन्छन्। छोराछोरी सबै भएर पनि आफ्नो अगाडि नहुनुको पीडा मेरो पनि छ। छोराछोरी छन्, तर सबै विदेशमा। के गर्नु ?’
‘डलर पठाउँदा होलान् नि ?’ अर्का बोले।
उनको बोली भुइँमा खस्न नपाउदै जवाफ दिए, ‘पैसाले मात्रै नहुँदो रैछ। बुढेसकालमा सन्तान अगाडि नहुँदा निकै अभाव महसुस हुँदो रहेछ। अहिले युवा विदेश जाने प्रवृत्ति बढेको छ, यसको असर दीर्घकालसम्म पर्ने देखिन्छ।’

सबैका कुरा सुनेपछि पहिलो व्यक्तिले भने, ‘छोराछोरी नै नहुने वृद्धवृद्धा पनि छन्।  तैपनि आजका छोराबुहारीको प्रवृत्ति ठीक लाग्दैन मलाई त। वृद्ध बाआमालाई बोझ सम्झन्छन्। आफूहरु पनि बुढाबुढी हुनुपर्छ भन्ने सम्झँदैनन्।’
यी वृद्धहरुका यति कुरा सुन्दै थिएँ, साथी आइपुग्यो। यी सबै कुरा साथीलाई र घरमा श्रीमतीलाई पनि सुनाएँ।

प्रकाशित: ४ आश्विन २०७६ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App