९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

पुस्तकले घेरिएर हुर्किदा

ब्रेकरः अनेरास्ववियुले प्रजातान्त्रिक निकट विद्यार्थी समूहलाई गोबर भन्थे । कारण ? बुद्धि नभएकाले अनि अनेरास्ववियुले प्रजातान्त्रिकलाई खरानी भन्थे । कारण ? बुद्धि नभएकोलाई फू गरेर उडाईदिने । यो भनाइ भारतबाट आएको थियो । नेपालको विद्यार्थीले पनि एकअर्कालाइ त्यही आरोप लगाउँथेँ ।

पूर्व पत्रकार तथा सम्पादक वसन्त थापा अनुवादक समाजको पूर्व अध्यक्ष र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका आयोजकसमेत हुन् । अहिलेसम्म फिल्म फेस्टिभलले १६ वटा फिल्म  महोत्सव गरिसकेको छ । खोज पत्रकारिता केन्द्रको संस्थापक सदस्यसमेत भइसकेका उनी सुरुवातका बेला नेपालमा यसको प्रचलन नै नभएको बताउँछन् । उनले १५ वर्षसम्म हिमाल पत्रिकामा ‘ऋतुविचार’ स्तम्भ लेखे, ऋतुराजको उपनामबाट । किन वसन्त थापा नलेखी ऋतुराजको नामबाट लेखे त ? थापा भन्छन्, ‘ऋतुहरुको राजा नै वसन्त हो नि त !’   

लेखन, सम्पादनमा लागिरहेका थापा फिल्म क्षेत्रको विकासमा पनि लागिपरेका छन् । थापाका अनुसार, जसरी लेखनले समाजमा प्रभाव पार्छ त्यसरी नै फिल्मले पनि प्रभाव पारेको हुन्छ । उनको विचारमा फिल्म पनि समाज परिर्वतनको लागि प्रभावकारी र सशक्त माध्यम हो ।

बुबालाई घुस खाएको बात लागेपछि
वसन्त थापाको जन्म धनकुटाको डाँडागाउँमा २००६ सालमा पिता इन्द्रबहादुर र आमा मानकुमारीको जेठो सन्तानको रुपमा भएको हो । उनका पाँच दाजुभाइ र एक बहिनी छन् ।  
उनका बुबा राणाकालमा सिपाही थिए । राणाकालमा २/४ कक्षा पढेकाले केही न केही काम पाउँथे । उनका बुबाले पनि अक्षर चिनेका थिए । मज्जासँग लेखापढी गर्न सक्थे । त्यसकारण उनका बुबाले सेनाभित्रै लेखक सिपाही भए । त्यतिबेला यो तहलाई लेसी भनिन्थ्यो । उनका पितालाई घुस खाएको बात लागेछ । त्यतिबेला बात लगाउनेले लगाएपछि पुग्थ्यो । राणाहरुले के सत्य के गलत भन्दा पनि पोल लगाएपछि बात लाग्नेको छाला काड्थे । त्यही डरले उनका पिता परिवारसहित धनकुटाबाट भागेर विराटनगर पुगे । त्यतिबेला विराटनगर नेपालकै आकर्षण क्षेत्र थियो । विराटनगरलाई औद्योगिक नगरी भने पनि हुन्थ्यो । जुद्ध शमशेरले खोलेको जुद्ध जुट मिल्समा उनका पिताले काम गर्न थाले । उनका पिता २००७ सालमा मुक्ति सेनामा पनि गए । मिलमा छँदा उनी मजदुरहरुको नेता पनि भए । पछि उनका पिता यातायातमा क्षेत्रमा लागे । हुँदाहुँदा पछि कम्युनिस्ट पार्टीको राजनीति गरे ।
पढ्ने र पढाउने चेत शायद त्यही बेला नै उनका बुबालाई परेको हुँदो हो । त्यसैले यस कुरामा सधैँ परिवारलाई प्रेरित गरिरहे ।

कुटेर पढाउने बिहारी र बंगाली मास्टर
धनकुटामा केही वर्षको बसाइँपछि वसन्तको परिवार धरान सर्‍यो । धरानमा आएपछि आमाले सानो पसल खोलिन् । त्यो बेला दैनिक गुजारा गर्न धौधौ पथ्र्यो । तापनि पढाइको चेतना भएकाले धरान आएपछि पहिलो काम नै उनको स्कुल भर्ती भयो । कक्षा सातसम्म भगवती मिडिल स्कुल पढे ।

त्यो स्कुल जनताको श्रमदानले बनाइएको वसन्त सम्झन्छन् । भगवती स्कुल बनाउँदा उनी पनि श्रमदान गर्न गएका थिए । सानै भएकाले खासै काम त गरेनन् तर पनि यतिबेला पनि त्यो स्कुल देख्दा आफूले त्यो बेला फुर्तीफार्ती गरेको सम्झन्छन् । र, सबैभन्दा बढी चाहिँ भर्खरै किनेको कमिज सम्झन्छन् ।
उनी भन्छन्, ‘त्यतिबेला खासै लुगा किनिदैनथ्यो । स्कुल जाने भएपछि बलतल्ल एउटा नयाँ लुगा किनिएको थियो । त्यो पनि काम गर्ने क्रममा काँडामा अल्झेर च्यात्तियो ।’ कपडा च्यात्तिँदा उनी रुन थाले । एक त नयाँ कपडा च्यात्तियो, त्यसमाथि घरमा अब त गाली नै खाइने होला भन्ने पनि लागेको हुनसक्छ ।

त्यतिबेला पैसाको उति धेरै प्रचलन थिएन । एक आना दुई आनामा खाना खान पाइन्थ्यो । ४ पैसाको एक आना हुन्थ्यो । त्यो एक आनाले दिनभरि पुग्ने खाना पाइन्थ्यो । स्कुलमा प्रायः शुक्रबार कार्यक्रम हुन्थ्यो । स्कुलमा उनी गीत गाउन हौसिन्थे ।

एक हिसाबले उनको घर संगीतमय थियो । उनका बुबा हार्माेनियम बजाउँथे । उनी गीत गाउँथे । गीत गाउन आउने हुनु त्यो बेला ठूलो कौशल थियो । त्यसैले पनि टोलभरिका बूढापाकाले उनलाई गीत गाउन लगाउँथे । वसन्त पनि मख्ख परेर धक फुकाएर गाउँथे । वसन्त सानैदेखि पढ्न रुचि हुन्थ्यो । ‘तर गणित भने कहिल्यै नजान्न सकिएन,’ उनी फिस्स हाँस्दै भन्छन्, ‘गणित किन जानिएन भने त्यो बेला गुरुहरुले बुझाएर पढाउने चलन थिएन । चुटेरै सिकाउने भएकाले त्यो विषयमा कमजोर भइयो ।’

‘बुझाउने भन्दा पनि रटाउने चलन थियो,’ वसन्त भन्छन्, ‘गणित पढाउने बंगाली र भारतीय शिक्षकले यति रटाउँथे कि सिकाउने भन्दा उनीहरु पिटेर नै सिक्न सकिन्छ भन्ने विश्वास गर्थे । उनीहरुको चुटाइकै डरले पछिसम्म मैले हिसाब जानिनँ ।’ उनी इतिहास र सामाजिक विषयमा टाठा थिए ।

स्कुल र पुस्तकालयबाट घेरिएर हुर्कदा
धरानमा पहिले नै पिण्डेश्वरी संस्कृत विद्यालय खुलिसकेको थियो । महिलाहरुलाई पढ्ने सारदा कन्या विद्यालय पनि थियो । त्यति मात्र हैन पब्लिक हाइस्कुल र भगवती स्कुल पनि थिए । स्कुल मात्र हैन, त्यतिबेला पुस्तकालय पनि उत्तिकै थिए । नेपालीदेखि ब्रिटिस लाइबे्रेरीसम्म धरानका शान बनेर उभिएका थिए ।

२०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भयो । त्यतिबेला वसन्त १० वर्षका थिए । धरानमा लक्ष्मी चौक छ । त्यहीँ नजिक महाकविको सम्झनामा लक्ष्मी वाचानलय खोलियो । पुस्तकालयमा नेपाली, हिन्दी उपन्यासदेखि कमिक्ससम्म पाइन थाल्यो । वसन्त स्कुलको काम सकिएपछि पुस्तकालय बिताउन थाले ।

‘हामी सानै थियौँ, वाचानलयमा त्यतिबेलाका प्रधानमन्त्री बिपी कोइराला आएका थिए,’ उनले भने, ‘पुस्ताकालयको रजिस्टरमा उहाँले नाम लेख्नुभएको थियो । हामी त्यो चाख मानीमानी बिपीको अक्षर भनेर हेथ्र्यौं ।’
पुस्तकको आकर्षण कतिसम्म भने उति बेला नै ४/५ जना बच्चाहरु मिलेर लक्ष्मी भवनको अर्काे कोठामा बाल पुस्तकालय खोले । अब त आफैँ पुस्तकालय खोल्ने भइसकेपछि पढ्ने क्रम पनि उत्तिकै बढ्यो ।

पढ्ने क्रम बढ्दै जाँदा उनको पठन नेपाली र हिन्दी पुस्तकमा मात्र सीमित भएन । उनी नजिकैको ब्रिटिस लाइब्रेरीमा समेत गएर पढ्न थाले । त्यहीँबाट उनले अंग्रेजी फिल्मको स्वाद पनि लिन पाए । रंगीन पत्रिका देख्दा उनी त्यतिबेला अचम्ममा परेको बताउँछन् । ‘लण्डनबाट पत्रिकाहरु आउँथे,’ थापा सम्झन्छन्, ‘यता त सादा पत्रिका मात्र देखेको थिएँ, त्यताका पत्रिका रंगीन देख्दा त चकित हुन्थ्यौँ । बुझे पनि नबुझे पनि घण्टौँसम्म पढिरहेका हुन्थ्यौँ ।’

बुबा भनेर झुक्किदा
परिवारमा सबैभन्दा जेठा छोरा भएका कारण उनको जिम्मेवारी पनि ठूलै थियो । घरमा उनीभन्दा साना भाइबहिनी थिए । घरमा उनको बुबा नबस्ने भएको हुँदा आमा सुत्केरी हुँदा समेत उनैले खाना पकाएर खुवाउनु पथ्र्यो ।
उनका बुबा कहिलेकाहीँ मात्र घर आउँथे । घरको जेठो सन्तान भएको कारण धेरै काम गर्न पथ्र्यो तर केटाकेटी मन, साथीहरुसँग खेल्न आमाको आँखा–कान छलेर टाप कसिहाल्थे ।

एक पटक त्यस्तरी नै उनी खेल्न अलि टाढा पुगेका थिए । फुटबल खेलिरहेका बेला उनले टाढाबाट पिताजीकै जस्तै कपडा लगाएको मान्छे देखे । सेतो गञ्जी र नीलो लुंगीमा देखिएका व्यक्ति आफ्नै पिताजी हुन् कि भन्ने लागेपछि उनको सातो गएछ । वसन्त खेल्दाखेल्दै भागे र छिमेकीको बाख्राको खोरमा लुके । साँझको बेला, लुक्दालुक्दै त्यहीँ निदाएछन् । राति त भोकले छट्पटी  बढ्न थाल्यो र उनी ब्युँझे । उता आमा भने छोरालाई खोज्दाखोज्दै हैरान ।
भोक र डरले आत्तिएर रुन थालेपछि उनकी आमाले थाहा पाइछन् र लिएर गइछन् । पछि पो उनले थाहा पाए, उनलाई त पिताजीको भ्रम भएछ । पिताजी घरै आएका रहेनछन् ।

गोबर र खरानीको झगडा
२०२१ सालमा एसएलसी तृतीय श्रेणीमा पास भए वसन्त । त्यसपछि उनको कलेज यात्रा सुरु भयो । धरानकै महेन्द्र कलेजमा मानविकी संकायमा भर्ना भए । बिहान उनी कलेज जान्थे । दिउँसो पुस्तकालय जाने र पढ्ने अनि पढेका कुराहरु साथीहरुसँग छलफल गरेर उनको दैनिकी बित्ने गथ्र्यो । धरानमा कलेज भए पनि उतिबेला त्यहीँ परीक्षा हुँदैनथ्यो । परीक्षा दिन विराटनगरको महेन्द्र मोरङ कलेजमा जानुपथ्र्यो ।
घरमा पिताजी नभएकाले परीक्षा दिन जान र परीक्षा दिउञ्जेल विराटनगर बस्न सकस थियो । कोसँग जाने ? कहाँ बस्ने ?
‘मेरो जिन्दगी त चन्दामा चलेको हो,’ उनले ती दिन सम्झँदै भने, ‘त्यहाँ परीक्षा दिँदा पनि चन्दा उठाएरै दिएको हुँ ।’
उनीहरु ४/५ जना साथी थिए । उनीहरु बाजेको होटलमा खाना खाने गर्थे । परीक्षा चलिरहेको थियो । दिउँसो खाना खाएर उनीहरु सुते । एकैछिनमा निदाइपनि हाले । दिउँसो परीक्षा दिन जानुपर्ने । साथीमध्ये एक जना धन्न मोहनचन्द्र रेग्मीले उठाइदिए र परीक्षा छुटेन !

बिए पनि उनले धरानमै पढे । कलेज पढ्दा उनी पढाइमा मात्र सीमित भएनन्, राजनीति पनि गरे । उनका पिताजी कम्युनिस्ट पार्टीका कार्यकर्ता भएकाले स्वाभाविक रुपमा उनी पनि कम्युनिस्ट पार्टीतर्फ आकर्षित भए । उनी अनेरास्ववियुमा आबद्ध भए । त्यतिबेला अनेरास्ववियुले प्रजातान्त्रिक निकट विद्यार्थी समूहलाई बुद्धि नभएको भनेर जिस्क्याउँदै ‘गोबर’ भन्थे । उता प्रजातान्त्रिक समूहले भने अनेरास्ववियु समूहलाई खरानी भन्थे । यो भनाइ भारतबाट आएको थियो । नेपालका विद्यार्थीले पनि एकअर्कालाई त्यस्तै आयातित कुरामा आरोप लगाउँथे ।

युनियनका कारण दुई विद्यार्थी समूहबीच सधैँ झैँझगडा परिरहन्थ्यो । एक दिन त झगडा यति चर्कियो कि धरान बन्द नै गर्नुपर्‍यो । प्रशासनले नेविसंघलाई सहयोग गरेको र आफूहरुलाई हेला गरेको आरोपमा धरान बन्द भएको थियो । झगडाले उग्र रुप लिँदा धरान नै बन्द भयो । यसको अगुवाई गर्ने वसन्त थापाहरु पक्राउ परे ।

जेलमा सत्यनारायणको पूजा
प्रहरी पक्राउ परेका वसन्त लगायतका विद्यार्थीहरुलाई प्रहरीले विराटनगरको मधुमारा जेलमा लग्यो । पुरुष जेलमा उनीहरु नअटाएपछि महिला जेलमा समेत थुपार्‍यो । त्यो बेला महिला जेलमा ६/७ जना कैदी थिए । गर्मी उधुमै थियो । गर्मीका बेला कोचिएर बस्नु पर्दा त वसन्तको सातो नै गयो ।
महिला कैदीहरु भने यताउति निस्कन पनि पाउँथे । ‘कोही कोही महिला कैदीहरु त जोगवनीसम्म गएर फिल्म हेर्ने अनुमति पाउँथेँ,’ उनले भने, ‘थोरै भएकाले होला, उनीहरु धेरै स्वतन्त्र थिए ।’
दुई महिना जेल बसेका वसन्त जेल भन्नेबित्तिकै सत्य नारायणको पूजा सम्झन्छन् । ‘त्यो बेला जेलमा नै एक दिन त महिलाहरुले सत्यनारायणको पूजा लगाए,’ उनले त्यो दिनको रमाइलो सम्झँदै भने, ‘प्रसाद खान पाउँदा कम्ता खुसी लागेन !’

प्रेमिका सम्झेर गीत लेख्दा
कहाँबाट ल्याऊँ म सपनाको देश
जब लाग्छ तिमीलाई मेरो आँगन परदेश
अनि अर्काे
मुटु चिरी रगत पोखे अञ्जुली थापेनौँ
पाउमा पोखिदेऊ शिर झुकाई संघार टेकेर ढोका थुनिदियौँ ।
कविता, गीत लेख्ने मात्र होइन नाटकमा समेत अभिनय गर्ने भएकाले उनी एक हिसाबले लोकप्रिय नै थिए । यस्तोमा प्रेम प्रस्ताव त टन्नै आउँथ्यो होला नि ! ‘परिवार’को प्रश्नमा उमेरले ७० वर्ष पुगेका वसन्तले ठट्यौलीमा भने, ‘त्यस्ता प्रस्ताव त कति हो कति !’

‘कसैलाई दोहोरो गरियो होला, कसैलाई एकोहोरो गरियो होला,’ हाँस्दै उनले थपे, ‘कसैलाई चिठी मात्र लेखियो होला ! आखिर प्रेम त प्रेम नै हो ।’ प्रेममा आफू उदार भएको बताउने वसन्तले कुनै प्रेमिकाबारे भने खुलाएनन् । उनले विवाह पनि प्रेम सम्बन्धै भएकोसँग गरे । प्रमिला उनकी जीवन संगिनी हुन्, एक छोरा र एक छोरीका पिता भएका उनी जीवनलाई संयोग भन्न रुचाउँछन् ।
७० वर्षको अनुभवले जीवन के हो रहेछ त ? मुसुक्क हाँस्दै वसन्त भन्छन्, ‘हुन त म कम्युनिस्ट विचारधारामा हुर्किएको हुँ । जसले भाग्य मान्दैन तर म भन्छु, भाग्यकै कारण म यहाँ छु ।’

अन्तयमा हामीले सोध्यौँ, स्कुल र कलेजको पढाईले तपाईको समग्र जीवनमा के प्रभाव पार्‍यो त ?
केही बेर घोरिए वसन्त अनि सुस्तरी भने,‘स्कुल र कलेजमा पुस्तकले नघेरिएको भए आज म यो ठाउँमा हुने थिइन् । कलेज लाईफ नै जिन्दगीको टर्नीङ पोइन्ट हो मेरो लागि । त्यतिबेला त्यति धेरै पुस्तक नपढेको भए आज भाषा प्रति यति प्रेम हुँदैनथ्यो की ।’

प्रकाशित: २६ भाद्र २०७६ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App