नीलम कार्की निहारिका कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन्। कविताबाट लेखन यात्रा थाले पनि पछिल्लो समय उनी उपन्यासमा बढी क्रियाशील छिन्। उपन्यास ‘योगमाया’ (२०७४) का लागि मदन पुरस्कारबाट पुरस्कृत नीलमका ‘मौन आवाज’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन्। यसैगरी ‘हवन’, ‘बेली’, र ‘कागजमा दस्तखत’ कथासंग्रह प्रकाशित छन् भने ‘मस्तिष्क ज्वर’ र ‘नीलम कार्की निहारिकाका कविता’ संग्रह पनि प्रकाशित छन्।
उनको ‘चीरहरण’ उपन्यासले पद्मश्री पुरस्कार पायो। समग्रमा निहारिकालाई चर्चित् र पाठकका प्रिय लेखक भन्न सकिन्छ। विशेषगरी विदेशमा रहेका पाठकको सुविधालाई ध्यानमा राखेर उनका प्रकाशित सबै कथासंग्रह र फुटकर कथाहरूलाई एकत्रित गरेर ‘४३ कथा’ संग्रह प्रकाशनमा ल्याइएको छ। ‘हवन’, ‘बेली’ र ‘कागजमा दस्तखत’ मा संगृहीत कथा यसमा समेटिएको हो। यद्यपि यसमा ‘कागजको दस्तखत’मा परेको एउटा कथा ‘तिमी, म र उनी’ समावेश छैन भने नयाँ कथा ‘चिसो हात’, ‘बार्सिलोना एभिन्यु’, ‘पर्खाइ’, ‘वर्किङ भिसा’, ‘अझ बाँकी छ’, ‘गेट नम्बर पाँच’, ‘अपार्टमेन्ट नम्बर नौ सय चौबीस’ र ‘रङ भर्न बाँकी चित्र’ शीर्षकका कथा समावेश छन्।
साउन १८ गते कथासंग्रह लोकर्पणका क्रममा कथाकारले बताएअनुसार उनी ४४ वर्षकी भइन् र यो अवधिमा उनले ४४ वटै मात्र कथा लेखिन्। तर, त्यसमध्येको अप्रकाशित एउटा कथालाई भने यसमा समावेश गरिएको छैन।
नीलमका कथामा समाजका यथार्थ छन्। सुक्ष्मातिसुक्ष्म घटनालाई पनि कथाको रूप दिन उनी सक्षम छिन्। कथावस्तुलाई छोटो र प्रभावकारी बनाउनु उनको कथा वैशिष्ट्य हो। लम्बेतान वर्णन गर्नुभन्दा कवितात्मक र निजात्मक निबन्धको शैलीमा लेख्न सिपालु छिन् उनी।
नीलमका कथामा सहज प्रवाह छ। संक्षिप्त तर कवितात्मक अभिव्यक्तिले कथाहरू सुस्वादु बनेका छन्। कथामा प्रयोगका लागि प्रयोग गरिएका छैनन्। भाषाशैली सरल छ।
डा. दयाराम सम्भवले भनेझैं नीलमका कथामा सामाजिक, आर्थिक र मानवीय विषमता र असमानतालाई प्रहार गरेको पाइन्छ। कथामा सामाजिक अन्यायप्रति असन्तोष र तीखो व्यंग्यसमेत प्रहार गरेको पाइन्छ। उनका कथामा नारी संवेदना प्रबलरूपमा प्रकट भएको हुन्छ। विशेषगरी नारी यौनमनोविज्ञान, बालमनोविज्ञान र सामाजिक विषमता र असमानतालाई कथामा उतारिएको पाइन्छ।
‘हवन’ खण्डमा समाविष्ट कथामा नारी मनोविज्ञानको प्रधानता पाइन्छ भने ‘बेली’ खण्डमा बालमनोविज्ञानदेखि बाल यौनशोषणसम्मका मार्मिक र यथार्थ कथा छन्। ‘कागजमा दस्तखत’ खण्डमा प्रकाशित कथामा पारिवारिक–सामाजिक विषमता र असमानताको चित्रण पाइन्छ।
‘कागजमा दस्तखत’ खण्डमा कथाकार अमेरिका गइसकेपछिका कथा पनि समावेश गरिएकाले यसमा डायस्पोरिक परिवेशको प्राधान्यता छ। परिवेश फरक भएअनुसार नारीमाथि हुने हिंसा र दमनको शैली र तौरतरिका फरक स्वरूपमा आएको चित्रण ‘कागजमा दस्तखत’ खण्डमा पाइन्छ।
नारी यौनमनोविज्ञानको एउटा सशक्त बिम्बका रूपमा प्रयोग गरिएको छ नीलडामलाई। शरीरमा नीलडाम लागोस् भन्ने इच्छा राख्ने नारीको इच्छालाई बुझ्न नसक्ने पुरुषप्रतिको विद्रोहका रूपमा बुझ्न सकिन्छ ‘दोस्रो बिहे’ कथालाई। सन्तान नहुनुको पीडाले रन्थनिएको पुरुष पुरुषत्व रक्षाका लागि जसरी पनि सन्तानको चाहना गर्छ। यही चाहना पूरा गर्न ‘हवन’ कथाका पात्र राजन दोस्रो, तेस्रो र चौथो बिहे गर्न तत्पर हुन्छ। अन्ततः यज्ञमा याज्ञिकको सहायताले पहिलो, दोस्रो र तेस्रो श्रीमती पनि गर्भवती हुन्छन्। महाभारत कथाको झल्को दिने यस कथामा राजनका तीनवटै श्रीमती गर्भवती हुनुको सुषुप्त कारण कथामा उल्लेख नगरिए पनि पाठकले सहजै अनुमान लगाउन सक्छन्।
बाटोमा केटाले पछ्याएर हैरान क्याम्पसकी प्राध्यापकको मनोदशादेखि भट्टीपसलकी वेश्याको व्यथासम्म कथामा भेट्न सकिन्छ। यसैगरी सुब्बासाहेवको विवशतादेखि देशको वर्तमान यथार्थलाई चित्रित गर्ने बिम्बात्मक कथा पनि छन् संग्रहमा। ‘कालो बिरालो’ यस्तै बिम्बात्मक कथा हो। पारिवारिक कथा हो ‘कागजमा दस्तखत’। यद्यपि समाजमा दिनहुँ भइरहने यथार्थ घटना छ यसमा। त्यसैले यो हाम्रै समाजको यथार्थ कथा हो।
अहिले फस्टाएको घोस्ट राइटिङप्रति तीखो व्यंग्य छ ‘कथाकार’ शीर्षक कथामा भने विदेशिएका सन्तानको पर्खाइमा जीवन व्यतित गर्नेपर्ने बाबुआमाको नियति र विदेशको जन्जालमा अल्झिएर सुखद् भविष्यको आशामा बाँच्नुपर्ने नयाँ पिँढीको कथा छ ‘पर्खाइ’ शीर्षकमा। देशमा धेरै कुरामा परिवर्तन भएर पनि परिवर्तन हुन नसकेको असमानता र अन्याय भोग्ने ‘लोके’हरूका कथा पनि छ। जन्मिनै नपाई हत्या गरिने नानीहरूको कथा पनि छ।
अनेक सपना देखेर सहर आएका र अनेक सपना देखाएर सहर ल्याइएका ‘बेली’हरूका मार्मिक कथा पनि छन्। शीर्षकले नै मार्मिक कथाको झल्को दिने कथा हो ‘वर्किङ भिसा’। अनि विदेशी भूमिमा संघर्ष गर्ने र परिबन्दमा पर्नेहरूको कथाव्यथा छ ‘अझै बाँकी छ’ कथामा। स्वतन्त्रता र स्वच्छन्दताको परिणामलाई इंगित गर्छ ‘गेट नम्बर पाँच’ र ‘अपार्टमेन्ट नम्बर नौ सय चौबीस’ शीर्षक कथाले। यस्तै कथा छन् ‘४३ कथा’ भित्र। जुन कथाहरूले पाठकलाई साहित्यिक आनन्दका साथै संवेदित पनि बनाउँछन्।
निहारिकालाई नारी संवेदनालाई प्रधानता दिएर साहित्य सिर्जना गर्ने स्रष्टाका रूपमा चिन्न सकिन्छ। ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ आदि उनका चर्चित् उपन्यासको नामैले पनि नारी संवेदनाको प्रतिनिधित्व गरेको अनुभूति हुन्छ। नारी स्रष्टाको सिर्जनामा नारी संवेदनाको प्राधान्यता हुनु संयोग मात्रै होइन, आवश्यकता पनि हो किनभने नारी संवेदनालाई बुझ्ने सामथ्र्य पुरुषभन्दा नारीमा बढी हुन्छ। र, त्यो संवेदनालाई पुरुषले भन्दा नारीले नै मार्मिक ढंगमा पस्किन सक्छन्।
नीलमका कथामा सहज प्रवाह छ। संक्षिप्त तर कवितात्मक अभिव्यक्तिले कथाहरू सुस्वादु बनेका छन्। कथामा प्रयोगका लागि प्रयोग गरिएका छैनन्। भाषाशैली सरल छ। स्थानीय शब्द र लवजको प्रयोगले कथामा मीठास छ।
पुस्तक : ४३ कथा
लेखक : नीलम कार्की निहारिका
विधा : कथा
प्रकाशक :सांग्रिला बुक्स
मूल्य : रु. ६९५।–
प्रकाशित: ७ भाद्र २०७६ ०२:१५ शनिबार