६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

काँसजस्तो गाउँ

सुनील पुरी

गहुँ पहेँलिएको छ
खेतबारीमा
आवश्यकताभन्दा बढी
पाकिसकेको छ गहुँबारी
यतिबेला
गाउँ अनि स्वास्नीमान्छे    
स्वास्नीमान्छे अनि गाउँ
उस्तै–उस्तै छन् गाउँमा
सबै लोग्नेमान्छे
परदेसिएका छन् गाउँ छोडेर
रोइरहेका छन्
स्वास्नीमान्छेहरू
लोग्नेको अभावमा
यतिखेर
हेर्दै छन् स्वास्नीहरू गहुँबारी
गहुँबारीको शून्यतामा
मिसिएको छ आदिम तृष्णा।

रित्तो छ गाउँ
परदेशमा गएका लोग्नेमान्छे
फर्केका छैनन् गाउँमा
सम्झिरहेका होलान्
उही परदेशबाट
जीवन–सँगिनी
र याद गर्दै होलान् गाउँको खेतबारी।

पहँेलिँदै पाक्न लागेको गहुँबारी
कोही नभएको गाउँमा
परदेशीको प्रतीक्षामा छ !

यतिखेर
म सम्झिरहेछु
गाउँ फर्किनुबाहेक
मेरो उपाय हुनेछ
कल्पनामा
पखेटा बनेर घरतिर उड्नु
र बादलभित्र पसेर पक्षी हुनु।

म विवश लोग्नेमान्छे
परदेशमा बेचिनुबाहेक
कुनै औचित्य छैन मेरो
कुनै अस्तित्व छैन मेरो
आफ्नै माटोमा,
आफ्नै देशमा
दस नंग्रा खियाएर बाँचेको भए
आज बेहाल हुने थिएन गाउँ।

आज मेरो पर्खाइमा
अर्थात्
शून्य गाउँमा
म शून्य लोग्ने मान्छे
गहुँबारीको शून्यतामा
भएको छ
जिन्दगी पहेँलपुर
अर्थात् काँसजस्तो परदेशी।

प्रकाशित: ३२ श्रावण २०७६ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App