टीका लम्साल
संगीतकार मदन दीपबिमको पैंतालीसौं तिथि नजिज पारेर सान फ्रान्सिस्को बे एरियामा जुन २ मा उत्तरी क्यालिफोर्नियामा रहेका नेपालीको साझा संगठन न्यान्स (एनएएनसी) तथा विकल्प फाउन्डेसनको सक्रियतामा श्रद्धान्जली सभा गरियो। कार्यक्रममा गायक नरेन्द्र प्यासीलगायत संगीतकर्मीले दीपबिमद्वारा रचना र संगीत गरिएका गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा दीपबिमका कालजयी कला र संगीतका विषयमा विचार मन्थन गरियो।
विसं २००४ चैत २९ गते इलाममा जन्मिनु भएका दीपबिम सानै उमेरदेखि संगीत साधनामा लाग्नुभएको थियो। कक्षा ४ मा हुँदैखेरि गायन प्रतियोगितामा ‘हे पापी बादल छेल्दछस् किन मेरो मायालु बस्ने पाखालाई’, बोलको गीत गाएर प्रतिभा प्रस्फुटन गर्नुभएको थियो। उहाँले पाँच दशकभन्दा बढी समय नेपाली संगीत, साहित्य, कला र संस्कृतिको विकासमा अर्पण गर्नुभयो। संगीतमा औपचारिक शिक्षाका नाउँमा ०२३ सालतिर पुतलीसडकको संगीत महाविद्यालयमा ९ महिना तालिम लिनुभएको थियो।
विद्यालय शिक्षा इलाममै गर्नुभएका दीपबिम आइएको परीक्षा दिन ०२६ सालमा काठमाडौँ आउनुभयो। त्यसैबेला उहाँले केही समय सहायक प्राथमिक विद्यालय शिक्षा निरीक्षक भएर बिताउनुभयो र पुनः इलाम फर्कनुभयो। ०३२ सालदेखि भने उहाँ स्थायी रूपमै काठमाडौँमा बसोबास गर्न थाल्नुभयो। उहाँ ०३३ देखि ०४३ सम्म विशेष प्रहरीमा निरीक्षक पदमा हुनुहुन्थ्यो। ०४३ पछि अमेरिका प्रवेश गर्नु अघिसम्म म्युजिक नेपालमा रहेर काम गर्नुभयो।
उहाँको प्रतिभाको अर्को पाटो भनेको नृत्यकार हो। पहिलो पटक २०२० सालमा नृत्य प्रतियोगितामा भाग लिन काठमाडौं प्रवेश गर्नुभएको थियो। उहाँले ०३५ सालपछि धेरै वर्षसम्म नृत्य प्रशिक्षक तथा निर्देशकका रूपमा बार्तना निकेतनमा काम गर्नुभयो।
उहाँ छायांकन कलामा पनि दख्खल राख्नुहुन्थ्यो। २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भएयता म्युजिक नेपालद्वारा प्रायोजित ‘सुसेली’ जस्ता सांगीतिक कार्यक्रमका प्रस्तोता समेत रहनुभएका दीपबिमले हजारभन्दा बढी गीत छायांकन गर्नुभएको थियो।
जनजीवनका लोक भाका टपक्क टिपेर नेपाली माटो र जनजीवनसँग लपक्क भिजाएर प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता भएका दीपबिमले पूर्वेली लोक गीतको श्रीवृृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। तीसको दशकमा आफ्नै संगीत तथा संकलनमा लोकगायिका शिवा बस्नेत, उषाकिरण अधिकारी, विनोद गुरुङ, सूर्य थुलुङसहितको आवाजमा निकालिएको ‘झ्याम्मै चौतारी’ बोलको गीत पूर्वेली लोक दोहोरी इतिहासमै अनुपम तथा उत्कृष्ट सृजना मानिन्छ। त्यसैगरी २०२० सालमा रेडियो नेपालमा रेकर्ड गरिएको उहाँको पहिलो गीत ‘ढल्किगयो पापी जोवन’ पनि अधिकतम् रुचाइएको थियो।
सयभन्दा बढी लोक गीत संकलन, संगीत र गायन दीपबिमले गर्नुभएको थियो। त्यसबाहेक सयौं राष्ट्रिय गीत, भजन र आधुनिक गीत रचना, संगीत र गायनमा उहाँको प्रत्यक्ष भूमिका देखिन्छ। दीपबिमद्वारा आफ्नो रचनामा रेकर्ड भएको पहिलो गीत भने २०२२ सालमा रचित ‘हिमालको ओझेलमा सुनौलो घाम उदायो, जीवनको बाटोमा चरीले झस्क्कायो’ हो। त्यसपछि उहाँले करिब २५० जति गीत रचना गर्नुभएको छ, जसमध्ये ४० को हाराहारीमा मात्र उहाँका आफ्नै संगीत र स्वरांकन गरी रेकर्ड गरिएका छन्।
सान फ्रान्सिस्कोका प्रायः साहित्यिक कार्यक्रममा उहाँको उपस्थिति हुन्थ्यो। उहाँको प्रस्तुतिले हामीलाई ऊर्जा दिन्थ्यो। साहित्य, संगीत, कला र नेपाली भाषाको समृद्धिका लागि उहाँको योगदान युगौं युगसम्म स्मरणीय रहनेछ।
संगीतकार मदन दीपबिममा जनजीवनका लोक भाका टपक्क टिपेर नेपाली माटो र जनजीवनसँग लपक्क भिजाएर प्रस्तुत गर्न सक्ने क्षमता थियो।
दीपबिमको हास्यव्यंग्य चेतना पनि अद्भूत थियो। उदाहरणका लागि २०३४ सालको गाईजात्राको हास्यव्यंग्य प्रतियोगितामा उहाँद्वारा सिर्जना गरिएको ‘ठूलै विपद् प-यो हजुर ठूलै विपद् प-यो, हेर्दा हेर्दै महँगीले शैलुङ डाँडा चढ्यो हजुर’ भन्ने गीतका लागि स्वर्ण पदक प्रदान गरिएको थियो। ०३४ तिरकै अर्को एक प्रसंगमा उहाँले गाउनुभएको व्यंग्यात्मक प्रस्तुति पंचायतका समर्थकहरूको झोसपोलका आधारमा यति धेरै विवादास्पद बन्यो कि उहाँ र कालीप्रसाद रिजाललाई पक्राउ गरिएको थियो। त्यस बखतमा दीपबिमले महँगी र भ्रष्टाचारविरुद्ध लक्षित गरी सोझासाझा जनताले त सही कुरा बोल्न पनि नहुने भो भन्दै ‘भन्छौ र यो कुरा भन्नै नहुने, तिमी हामीले सुन्न हुने उसलेचाहिँ सुन्नै नहुने’ भन्ने बोलको गीत गाउनुभएको थियो भने रिजालले ‘झल्ले गाउँको डल्ले च्याउ’ शीर्षकमा व्यंग्य कविता पाठ गर्नुभएको थियो।
दीपबिमको गीतमा रहेको ‘उसले’ भनेर राजालाई लक्षित गरिएको भन्ने आरोप थियो भने रिजालको ‘डल्ले च्याउ’ ले पनि शासक वर्गलाई झापट हानेको छ भन्ने उजुरीका आधारमा उहाँहरूलाई प्रशासनिक झमेलामा पार्न खोजिएको थियो। कला, संस्कृति र संगीत प्रवद्र्धनका खातिर परिवार अनि जागिरलाई पनि दाउमा राखेर समर्पित हुन सक्ने थोरै मध्येका एक स्रष्टा हुनुहुन्थ्यो दीपबिम।
दीपबिमको आफ्नै रचना र संगीतमा रेडियो नेपालमा ०२६ फागुनमा रेकर्ड गरिएको पहिलो गीत नै उहाँकी जीवनसंगिनी लोकगायिका शिवा बस्नेतले गाउनुभएको थियो। ‘वर्ष बितोस, युग बितोस् बितोस् जिन्दगी मेरो तिम्रै माया तिम्रै प्रेममा बितोस् जिन्दगी मेरो’ बोलको उक्त गीत मदन र शिवाको जीवन संगीतमा अवयव भर्ने एउटा कालजयी सृजना बनेको छ।
त्यस्तै जीवनको सांगोपांगो दर्शन व्यक्त गर्न सक्ने दीपबिमका कालजयी गीतको लामो सूचीमा अंकितमध्ये कुन्ती मोक्तानले गाएको ‘भन्छन् कोही जिन्दगी यो कर्कलाको पानीजस्तै हो, कोही भन्छन् जिन्दगी यो डुिबजाने घाम जस्तै होस म त भन्छु सृष्टि कै अमूल्य उपहार’, अनि ममता दिपबिमको स्वरमा रहेको ‘सुरिलो रुख सल्लै हो, खोजेको तिमीले कल्लाई हो’, नरेन्द्र प्यासीको स्वरको ‘के भूल भयो प्रिया मसँग बोल्दिनौ’ र लाक्पा शेर्पाको ‘झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा’ नेपाली मात्रको ढुकढुकीमा सदैव बाँचिरहने छन्।
धेरै ओजपूर्ण र गहकिलो जीवन बाँचेर पनि सामान्यभन्दा सामान्य कलाकारका रूपमा सबैसँग चाँडै घुलमिल गराउने र सबैको पहुँचमा राख्न सक्ने मिलनसार साथी र अभिभावक हुनुहुन्थ्यो दीपबिम।
दीपबिम जस्ता सर्जकका बाँकी सृजना खोजेर थप प्रकाशमा ल्याउन जरुरी छ। दीपबिम जीवित हुँदै उहाँको सांगीतिक यात्राको बारेमा साक्षात्कार गरी अभिलेखीकरण गरेर उहाँको व्यक्तिगत जीवन र सांगीतिक सृजनालाई उजागर गर्न थप मद्दत पु-याउनु हुने विकल्प फाउन्डेसनका अध्यक्ष निर्मल फुयाल र कलाकर्मी टीका पुनका साथै मिडिया फोरमका कृष्ण केसी र समुद्रपारिका मन शृंखलाका संचालक बाबु आचार्य धन्यवादका पात्र बनेका छन्।
प्रकाशित: १८ श्रावण २०७६ ०३:२३ शनिबार