७ वैशाख २०८१ शुक्रबार
अन्य

बालखैमा पाँच जिल्लाकाे घुमाई

तस्बिरः कृष्पा श्रेष्ठ

पेसाले डाक्टर हुन् सरोज धिताल। काठमाडौं मोडल हस्पिटलमा कार्यरत उनी सर्जरीका प्राध्यापक पनि हुन्। समसामयिक विषयमा लेख्न, पढ्न र बहस गर्नमा रुचि राख्छन्। उनको रोजाइमा सामाजिक, राजनीतिक दार्शनिक पुस्तकहरु पर्छन्। निरन्तर पढ्न र लेख्नमा दत्तचित्त भएर लागिरहन्छन् उनी।

पाँच जिल्लामा बितेको बाल्यकाल
२०११ सालमा पिता तेजप्रसाद धितालको तेस्रो र माता चूडाकुमारी धितालको पहिलो सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् सरोज धिताल। न्यायाधीश थिए उनका पिता। उनको बाल्यकाल एकै ठाउँमा बितेन। उनले सानैमा विभिन्न क्षेत्रबारे जानकार हुने अवसर प्राप्त गरे। ‘बुबाले आफू जता जानुभयो उतै लैजानुभयो,’ धिताल भन्छन्, ‘सानैमा ५ जिल्ला घुमे नजानिँदो पाराले त्यहाँको रहनसहन पनि सिक्ने अवसर प्राप्त गरेँ।’ बाल्यकाल र किशोरावस्थामै उनी बुबाको सरुवा हुने क्रममा ताप्लेजुङ, रौतहट, धरान र इलाममा काम गरे।

रौतहटको गौरमा हुँदा उनले सामाजिक असमानता बुझेको बताउँछन्। भएछ के भने उनका बुबा जिल्लाका न्यायाधीश एक हिसाबले जिल्लाकोे ठूलो हाकिम। त्यो बेला जिल्ला भनेको अञ्चलबराबर हुन्थ्यो। उनका बुबालाई सबैले मान्थे। बुबालाई मात्र हैन, अन्य कर्मचारीले सरोजलाई पनि। बुबालाई जस्तै तपार्इं हजुर भन्थे। ‘त्यतिबेला बुबाको कार्यालयमा काम गर्ने अन्य कर्मचारी हाम्रो घरमा आउँथे। उनीहरु पनि नजिकै  बसेका हुन्थे। बा’कै कार्यालयमा काम गर्ने अन्य व्यत्तिका छोराछोरी साथी हुन्थे। तँ तँ र म म मात्र हैन कहिलेकाहीँ झगडा पनि गथ्र्याैँ मलाई पनि कहिलेकाहीँ मजैले गोद्थे’ उनले भने, ‘घरमा उनीहरुको बुबा–आमा आएको बेला भने मलाई समेत तपार्इं भन्थे। त्यतिबेला मलाई लाग्थ्यो म सानो मान्छेलाई किन तपाईं भनिरहेका छन् ? मेरो बुबा ठूलो पदमा उनीहरु सानो पदमा भएर पो रहेछ भन्ने कुरा थाहा पाएँ।’

गौरबाट उनको बुबाको भोजपुरमा सरुवा भयो। उनी पनि भोजपुरमै जाने योजना बनिरहेको थियो। उनका बुबा गम्भीर बिरामी भए। काठमाडौंमा उपचारका लागि बसे। सरोजले त्यो एक वर्ष औपचारीक शिक्षा पढ्ेनन् तर उनले ठूलोबुबाको छोराहरुको अन्य पुस्तकहरु पढे। ‘त्यो बेलामा दाइहरुले पढ्ने गर्नुभएको आख्यान तथा गैरआख्यान पुस्तकहरु पढेँ,’ उनले भने, ‘अंग्रेजी पुस्तक मामाको कारणले पढेँ। त्यो एक वर्षमा मलाई बाहिरी पुस्तकमा रस बसिसकेको थियो।’

गौरमा उनलाई जगदीशप्रसाद श्रीवास्तवले अंग्रेजी पढाउँथे। एक दिन उनको कक्षामा वास्तवले एकजना केटालाई सोेधेछन्। ‘तुम प्यार करते हो ?’ उनी सहित सबै साथीहरु रातो भएछन् लजाएछन् धकाएछन्। उनका साथीले लजाएर अह भनेछन् फेरि शिक्षकले थपेछन्। तुम प्यार नही करते अपने माता पिता से ?’ श्रीवास्तवले यति भनेपछि आफूले प्रेमको विराटता बुझेको धिताल बताउँछन्। धरानमा उनले पब्लिक हाइस्कुलमा पढे। ५ ठाउँमा एकदमै उनले सम्झिरहने ठाउँ भनेको धरान हो जहाँ चिनेका कतिपय साथीहरुसँग आज आधा शताब्दी बितिसक्दा पनि सम्बन्ध कायम छ।

राजनीति बुझाउने कांग्रेसका केबी गुरुङ
पढाइमा अब्बल धितालको बुबाको फेरि इलाममा सरुवा भयो। धरानमा १० कक्षाको टेस्ट परीक्षा दिइसकेका धिताल उमेर सानै भएकाले एसएलसी दिन पाउँदैनथे। उनले १० कक्षामा नै दोहोराएर पढे।

त्यो बेला अहिलेका कांग्रेसका नेता केबी गुरुङ पब्लिक हाइस्कुलका उपप्रधानाध्यापक थिए। ‘उहाँले हामीलाई अंग्रेजी र जिओग्राफी पढाउनुहुन्थ्यो। उहाँकै भाइ नेवज मेरो साथी थियो। हामी बेलाबेलामा चिया बगानको बीचमा भएको केबी सरको घरमा गएर पढथ्यौँ समसामयिक राजनीतिमा छलफल गथ्र्याँैँ। उनले त्यो बेलामै समाजशास्त्र, राजनीति इतिहास केही मात्रामा भए पनि सुन्ने अवसर प्राप्त गरे।,’ उनले भने, ‘एक प्रकारले भन्ने हो भने समाज राजनीतिप्रति रुचि राखिदिने केबी सर नै हो।’

केबी गुरुङले राजनीति सिकाउने तपार्इं भने कम्युनिस्ट कसरी ? यो हाम्रो स्वाभाविक जिज्ञासामा उनले भने, ‘महेन्द्र मोरङ पढ्दा दिनेश श्रेष्ठ मेरो साथी थियो उसैको संगतले म कम्युनिस्ट भएँ।’ अखिलको साथीसँग नजिकको भए पनि कांग्रेसका पूर्व नेता दुर्गा सुवेदी र लक्ष्मणलाई कलेज युनियनको चुनावमा भने भोट हालेको बताउँछन् उनी। उनीहरु दुवै कांग्रेस निकट विद्यार्थी संगठनबाट कलेजको युनियनको चुनावमा उठेका थिए।

प्रकाशित: १० श्रावण २०७६ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App