७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

मुसीसँग सेल्फी

युवराज नयाँघरे

साँझमा टेकिएको छोडियो बिहानै !

हो, यस्तै भयो। मुसीकोट टेक्दा झमक्कै साँझ परेथ्यो। साता दिन बसेर यो पहाड छोड्दा एकाबिहानै थियो। ढुक्कले एउटै पारामा मुसीकोट हेर्न पाइनँ मैले।

कुदाकुद, हतार, फटाफटले नै मुसीकोटसँग चिनाजानी भयो। भेट भएको मीठो र रमरम स्वाद हृदयभरि छचल्किरहेको छ यतिबेला।

सातादिनको मुसीकोट घुमाइ छिपछिपे भयो। तर त्यो छिपछिपे मेरा मनमा पत्रे–चित्र भएर बसेको छ।

भैरहवाबाट बेगिएको हाम्रो ज्यान दाङ, सल्यान भएर रुकुम पुगेथ्यो। खौलाबाट रुकुम पसिँदो रहेछ। बाटामा खाराको पखेरा र फाँट झुल्किएथ्यो। दाङ र सल्यानभन्दा रुकुम निकै भरिलोसँगै हरियोपरियो लाग्यो मलाई त।

दिनभरि जतासुकै बरालिए पनि रातिको टुङ्गो हाम्रा लागि सोलाबाङ हुन्थ्यो। साथीहरु त्यै भएर भन्थे– ‘अड्डासार गरौँ न। कति एउटै ठाउँमा जरोकिलो गाड्नु !’

छङ्छङी खोलोको गाना–बजानामा परेली जोड्न पाएकोमा गद्गद् थिएँ म त। साथीका गनगनहरु भने थामिएनन्।
तर हाम्रो बसाइ अन्त सरेन। सबैलाई पूर्ण वलीले एकै ठाउँमा थान्कोमान्को लाएथे।
 बाह्र वर्ष जति रुकुमको नाम उत्कर्षमा पुग्यो। दुई हजार बाउन्न पछिका बाह्र वर्षमा रुकुमले खप्नु चोट खप्यो। मार्ने, मर्नेको सूची बढेको बढै भयो छिन–छिनमा। ताक्ने र ताकिनेहरुको सङ्ख्या अथाह भयो रुकुममा।

द्वन्द्वका घाउ, पीप, छरछरी आला रगतले लतपतिएका रुकुमको धर्तीमा हामी पुग्दा केही खाटा बसेको देखिन्थ्यो। तर पीडा कहनेहरुको कमी थिएन।

द्वन्द्वमा रुँदारुँदा थाकेका आँखामा नयाँ संसारको सपना बौरिइसकेको थिएन। सपना देखाउनेहरुको कटाक्ष र सुसेली यी पखेरामा थियो उस्ताको उस्तै।

सोलाबाङको फाँटिलो संसार थियो। बजारको चहलपहल र हुलमुल देखिन्थ्यो। वरपरदेखिका मानिसहरु किनमेल र खरिदमा ओइरिएका देखिन्थे।
    ‘हिँड्नु पो पर्छ त !’
    कमलले सन्काए।
    ‘ढिलो किन गर्ने त ?’
    नयनले सही थापे।

त्यही जोसलाई छातीमा हुल्न अरु तन्नेरीहरुसँग मै नि तातेँ। त्यसपछि एकबिहान हामी मुसीकोटतिर लाग्यौँ। बिहानै थियो। वरपरका डाँडामा उज्यालो राम्रोसँग ओर्लिसकेको नि थिएन।

मंसिरको पहिलो साता, २०७५
सोलाबाङमा गीत सुनाइरहने सानी भेरी पनि बिउँझिसकेकी थिइन्। त्यसको गर्जनालाई बिहानैको हावा, कुइरो र उज्यालो पातलो मुस्कानले थामथुम पार्न खोजिरहेथे। अनि हामी उकालियौँ।

दक्षिण–पश्चिममा रमाइलो बस्ती थियो। बाक्लो वन र टाँडे घर फाट्टफुट्ट देखिन्थे। घरका धुरीबाट अकासिन्थे धुँवाका खिरिला धागाहरु।

स्याँठ र शरीरको तातोको राम्रै कुस्ती भएछ। अघि खापेका लुगा अब भारी हुन थाले। मैले ज्याकेट खोलेर कम्मरमा बाँधेँ। बोरा गाउँ पुग्दा उज्यालियो दिन।

बाटाभरि घुम्ती र कुइनेटा कति हो कति ! वरिपरि डाँडैडाँडा देखिन्थे। वन र बाटाहरुको रूप एकनासले सजिएथ्यो। मुसीकोट डाँडामा साथीहरुले चिया नखाई नलम्किने अड्डी कँसे। अनि हामीले चुलो बाल्न लगायौँ छाप्रो पसलकी बूढी आमैलाई।

‘सबै डिग्रेमा छन्। पानी बोक्ने मान्छे नि छैनन्।’ बूढीले चिया उमालिउञ्जेलमा सबै लागिसकेछन् उकालोतिर लुइँलुइँ। मैले सबैको चिया ठूलो जगमा हाली तनतनी पिएँ।

  सय रुपैयाँ थमाएर भनेँ– ‘हिसाब अहिले नगर्नु। पछि डिग्रेबाट फिरेपछि गरौंला।’  उनी हाँसिन्। त्यो हाँसोले शक्ति भर्दै लम्केँ म।

निकै लम्केपछि चापा पुगेथेँ म। साथीहरु पसिनाले लतपतिएर कान, कन्चट र निधार पुछपाछ गर्नमा व्यग्र देखिन्थे। तिनका शरीरमा बाटोले पो पसिना छङ्छङाएछ।
    गफगाफको तालमा हामी शीतलपोखरी पुग्यौँ। डिग्रे मेला जानेहरुको भीडभाड बेपत्तै थियो। बोका बोकेर जानेहरुको दोहोरीलत्ता थियो। त्यस्तै बोकालाई बलि दिएर फर्कनेहरु ताँती नि बेपत्तै थियो।

बाटो–बाटोमा गर्धन गिँडेर रगतपच्छे बोका पछाडि तुर्लुङ्याएर हुइँकिएका भटभटे खुबै भेटिए। भटभटेमा साना केटाकेटीहरु र तिनकी आमा बसेका हुन्थे। मेरा मनमा कुरा फत्किरहेका हुन्थे– ‘यी भुराले कति चाँडै काटमारको संसारसँग गाँसिनु प¥यो नि बरा !’

 वारिपट्टिका थुम्काबाट पारिको मुसीकोट झल्याकझुलुक देखिन्थ्यो। शीतलपोखरीबाट नै खलंगा बजार र रुकुमकोट जाने बाटो छुट्टिने रहेछ। वलीले यही दोबाटोमा उभिएर भनेथे– ‘अब शत्रु र मित्रु हुने दोभान यहीँ हो।’

    ‘किन नि ?’
    मैले खसखस पोखेँ।

रुकुमको पुरानो सदरमुकाम रुकुमकोट रहेछ। त्यो पूरै पूर्वी रुकुमकोटमा पर्दो रहेछ। २०३० सालमा रुकुमकोटको त्यो अधिकार यता ल्याइएछ मुसीकोटमा। त्यै बेलादेखि रुकुममा एक खालको चिसो, उदासी र खल्लो नाता जोडिएछ पूर्वी र पश्चिमी रुकुमबीच।

    पूर्णले हामीलाई फेरि मुसीकोट डाँडातिरै झारे।
    ‘मेरो घुमाउने र डुलाउने काम हो। मेरा डाँडापाखा आफ्नै तालमा हिँडेर हुन्छ त ?’
    उनले खप्की लाए हाम्रो हुललाई।
    तेर्पे उकाली चढेर माथि थाप्लाको टार पुगेपछि अद्भूत रुपमा देखियो– खलंगा। उज्यालो घाममा पारिको सौन्दर्य हाम्रा आँखामा साउती मार्न आएकोआएकै गर्न थाले निरन्तर।

 शहर र गाउँको लुकामारीमा लम्किरहेको देखिन्थ्यो खलंगा। अनेक टावर, भवन, बाटा र पखेराले खलंगाको रुप सम्पन्न लाग्यो।
    ‘त्यो डिग्रे।’
मैले पूर्णसँगै आँखा डो¥याएँ।
    ‘त्यो सल्ले विमानस्थल।’
    वलीसँगै म नि तन्किएँ।
    ‘ऊ रावलवारा।’
    मैले कुर्कुच्चा टेकेर पारि हेरेँ।
    ‘मठ।’
    पूर्णले चिनाए।
    ‘सेरीगाउँ।’

    वलीसँग टासिएरै चिनेँ मैले खलंगाको त्यो गुजमुजे ठाउँ। उनले पिपलनेटा, वराटाकुरा, ढिकिच्याउँ नि देखाए।
    यो खलंगा– इतिहासको एउटा पराजयको कथाले बाँचेको पहाड हो। यो मुसीकोट– समयको एउटा विजयको उन्मादले थिग्रिएको चुली हो।
    मुसीकोट डाँडाबाट पारिको खलंगा हेरिरहेथेँ म। देशका प्रमुख प्रशासकीय भवन, विद्यालय, क्याम्पस, दूरसंचार, रेडियो, सेवा र प्रहरीका कार्यालयहरु औँलाइरहेछन् वली। उनका आँखामा द्वन्द्वले लछारपछार पारेको उकुसमुकुस छ। उनी केही चिनाउँछन्। केही चिनाउन मन गर्दैनन्। उनले नचिनाएका घर, मानिस र संस्थालाई हाम्रा आँखाले खोतलखातल पार्छन्। पटक–पटक पारिरहन्छन्।
    चोटलाई पूmलले छोपछाप पारे पनि मौकामा त्यो आर्तनाद भएर पोखिन्छ।

  मैले खलंगा हेरिरहँदा चलचित्रका पाना जस्ता आँखामा आएको सम्झिरहेँ...सम्झिरहेँ...। ढुकढुकीसँग सुस्तरी बोलेर ती घाइते समयका पाना पल्टाइरहेँ।
    मुसीकोट डाँडामा पुरानो दरबार रहेछ। सेनाले कुनै बेला संरक्षण गरे पनि पछि–पछि त्यसको हेरविचार गर्ने जिम्मा सरकारले लिएको रहेछ।
    तिलकबहादुर मल्ल डाकिएछन् कतिखेर–कतिखेर। उनी यो पूmलबारी, मन्दिर र डाँडाको हेरविचार गर्न कर्मचारी रैछन्।
    मुसीकोटतिर फर्केर बसेका थियौँ हामी।

मल्लले भट्याए– ‘विक्रम सम्वत् १८४३ मा राजकुमारबहादुर शाहले जाजरकोट र सल्यान जिते। गोर्खाली फौजसँग मुसीकोटका राजा मानबहादुर शाहीको केही दैया चलेन। उनी पनि मारिए। अनि काठमाडौँको राजकाज चल्न थाल्यो मुसीकोटमा नि।’

    ‘मुसीकोटका राजाको पुरानो दरबार कुप्रीकोटमा थियो। राजाको बँदेल ३ पटकसम्म भाग्दै यो माथिल्लो डाँडाको ढुङ्गे ओडारमा आएछ। राजाकी सेविका थिइन्– मुसी भँडारनी। मुसीले खोज्दै आइछन्– बँदेल। तीन पटक नै एउटै ओडारमा देख्दा उनले अनौठो मानिछन्। मुसीले वरपर सबै हेरिछन्। यो डाँडाबाट पर–परसम्मको सानी भेरी देखिछन्। वरपरका राम्रा टार, फाँट र पखेरा उनलाई मन परेछ। अलिक परको जाजरकोटसम्म देखिँदो रहेछ यहीँबाट।’

मल्लले इतिहास बखाने।

‘त्यसपछि मुसीले त्यो ठाउँको चित्त खोलेर बयान गरेपछि राजाले आफ्ना भारदार पठाई ठाउँको अध्ययन गराएछन्। त्यो ठाउँ साँच्चै नै दरबार बसाउन लायक देखियो। अनि कुप्रीकोटबाट यहाँ बस्यो दरबार र राजधानी।’

  मल्लसँग इतिहास सकिएको रहेनछ।

‘दरबार मुसीकोटमा सरिसकेपछि राजा प्रसन्न भए। राजाले मुसीलाई सोधेछन्, तँलाई के बक्सिस दिऊँ ? भन्, के दिऊँ ? के माग्छेस्, माग्। मुसीले पनि आपूmलाई केही नचाहिने बिन्ती निरन्तर गरिछ। तर राजाले आफ्नो अडान पनि त्यागेनछन्।’

    ‘सरकार मलाई धन सम्पत्ति केही चाहिन्न। सरकारबाट दिने हो भने सबैले मेरो नाम हरेक दिन जप्ने इज्जत बक्सियोस्। यो कोटको नाम मेरै नामबाट रहोस्। राजाले पनि खुसी भएर मुसीको माग सुनेछन्। त्यै बेलादेखि यो ठाउँको नाम मुसीकोट रहेको रे।’

  मल्लले खलंगाको चारै कुना औंल्याएर कथा सुनाए।
  ओहो, कति गजबको कथा ! ओहो, मस्तको किंम्वदन्ती !! ओहो, निकै आनन्दको जनश्रुति !!!
  मैले मनमनै मुसीलाई खोजेर मुसीको मिहिनेतलाई हृदय खन्याएँ।
  अर्को कथा पूर्णबहादुर बूढाले सुनाएथे– ‘कुप्रीकोटका राजाको बँदेल भाग्दै–भाग्दै यो कोटमा पुग्दो रहेछ। मुसीले सालका पात टिप्न जाँदा पटक–पटक बँदेल त्यहीँ बसेको देखिछ। यो डाँडामा के रहेछ भनेर मुसीले हेरिछ। उसले यहाँ देवीको बास भएको र दरबार बनाउन योग्य ठाउँ पत्तो पाइछ। त्यो ज्ञान राजालाई बाँडिछ। राजाले खुसी भएर उसकै नामबाट मुसीकोट नाउँ भएको हो नि।’

 बूढा र मल्लको कुरामा ठूलो अन्तर थिएन।
खलंगाको वरपर पाने खोला, मुग्लु खोला, सानी भेरी र घ्यू खोला थिए। यिनै नदी वरपर रुकुमको गहकिलो जीवन संसार फुलिरहेथ्यो, फक्रिरहेथ्यो र फलिरहेथ्यो। त्यसो त रुकुमसँग अनगिन्ती ताल छन्, कुनाकन्दरा छन् र पखेरा छन्।

कोटडाँडामै बँदेल गुफा, मन्दिर र बँदेलका मूर्ति थिए। पूmलैपूmलको मगमगले कोटडाँडा निकै लोभलाग्दो देखिन्थ्यो।
    छाना मुन्तिर ठूलो र ढ्याब्रे अनुहारको मूर्ति थियो। बुलाकी, राती गेडी, ढुङ्ग्री, कम्पनी माला लगाएकी ती ठूलाआँखे रुपसी मुसी थिइन्।
    ‘यी छेत्रिनी होलिन् !’
    ‘यी मगर्नी हुन सक्छिन् !’
    तिलक र मेरो अनुमान कुनै टुङ्गोमा पुग्न सकेन।

    मैले मुसी भँडार्नीसँग कुम जोरेर फोटो खिचेँ। यो फोटोले इतिहास, शासन, नागरिक र सत्ताको पत्रे–कथा बताउने आशा मैले गरेँ। यो तस्वीरमा कला, नारी र प्रतिबद्धताको सूचना भेटिने रहर मैले गरेँ। यो फोटोमा रुकुम, पश्चिम नेपाल र मुसीकोटे सभ्यताको शृंखलाले खोजी गर्ने इच्छा पोखेँ।
    दिनको एकपटक जस्तो हामी खलंगा पुग्थ्यौँ।

    सेरीगाउँ, खलंगा, भीरवादी, पिपलनेटा, बाघखोर, मठ, सल्ले र डिग्रे वरपर पटक–पटक पुग्यौँ। बिहान सेरीगाउँ र दिउँसो बाघखोर, साँझ सल्ले र बिहान स्याँला पुग्थ्यौँ हामी।

    रुकुमसँग लडाइँका थुप्रै आला घाउ र गाडिएका चोट छन्। चालीसजनाले द्वन्द्वको डढेलोमा पिल्सिनु परेछ।
    पूर्ण बूढाले मलाई खुसुक्क भनेथे– ‘यो वादी र त्यो वादी सबै भए। सबैभन्दा बढ्ता त मर्नेवादी भए रुकुममा।’
    घरघरै हतियार बर्सियो। घरघरै मानिसका आँसुले पोखरी भरियो। घरघरै वेदनाले मान्छेसँग नाता गाँस्यो। तिनै आहालमा परेर मुसीकोटका साँझ र बिहानहरु बितेथे। हरेक आँगनमा रुवाबासीले मुन्टो उठाइरहेथ्यो मुसीकोटमा।

    एक दिन हामी घुम्दै सल्ले पुगेथ्यौँ। त्यहाँ द्वन्द्वमा मारिने सूची पढ्न पुग्यौँ। एउटा ठूलै खम्बाका चारै पाटामा ४० जनाका नाम ठेगाना लेखिएथे। ती अक्षरमा देशकै छटपटी, उकुसमुकुस र अकाल मृत्युको कहालीलाग्दो श्रृङ्खला सुन्न पाइन्थ्यो।
    घामको मीठो पहार तापिरहँदा मनलाल वलीले गाएथे–
    ‘क्या चरीले खोरै लायो लेख हुँइती हुँइती
    भेट भए बारमासै होइजा नहो कँइती कँइती।’
    रुकुम छोडिरहँदा मैले यही गीत गुनगुनाइरहेँ बारम्बार।    
    मुसी, बाह्रै मास भेटौँ है अब। हृदयको सेल्फीले मुसीको आँखामा म पौडिरहेको छु... पौडिरहेको छु...।

प्रकाशित: १३ असार २०७६ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App