६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

इन्द्रेणीजस्तो परिवार

पूर्व–पश्चिम राजमार्गको निर्माण क्रममा भारतको पटनाबाट प्राविधिक इन्जिनियरको रुपमा अशोक सिंह नेपाल आएका थिए। ०२६ सालमा नेपाल आएका सिंह लहान हुँदै धनगढीमाई नगरपालिकाको मुसहरनीया गाउँमा सेल्टर बनाएर बसेका थिए।

मुसहरनीयामा बसेका बेला सोही ठाउँकी शशिकला चौहानलाई सिंहले देखे। कसहाको मेलामा सिंह साथीभाइसँग गएको बेला चौहानलाई मनमनै मन पराए।

सिंहले चौहानलाई मन पराएको कुरा साथीभाइलाई सुनाए। सिंहले चौहानलाई मन पराए पनि विवाहको प्रस्ताव राख्न उनलाई पाँच वर्ष लाग्यो। पाँच वर्षपछि ०३० सालमा सिंहले स्थानीय साथीमार्फत चौहान परिवारसमक्ष विवाहको प्रस्ताव राखे। तर, चौहानका पिता रामबहादुर गौतमले सिंहको प्रस्ताव ठाडै अस्वीकार गरे। सिंह हरेस खाएनन्। विवाहको प्रस्ताव पुनः शशिकलाका दाजु अशोक गौतमसँग राखे। अशोकले सिंहको विवाह प्रस्ताव स्वीकार ग¥यो।

त्यति बेला अन्तरजातीय विवाह यहाँको समाजले कल्पना पनि गर्दैनथ्यो। सिंहले साथीमार्फत पठाएको विवाहको प्रस्तावलाई चौहान परिवारले स्वीकार गर्दा सिंह कम्ता खुसी भएनन्। भारतीय मूल निवासी मधेसी समुदायका सिंहसँग रैथाने चौहान (पहाडी) समुदायबीच मागी विवाहले यस क्षेत्रमा त्यो बेला हल्लीखल्ली नै मच्यो।

विगत सम्झँदै सिंहले भने, ‘मैले धाक मानेर पठाएको विवाह प्रस्ताव स्वीकार भएको जवाफ पत्याउन निकै गाह्रो प¥यो। कारण पहिलोपटक शशिकलाका बुवाले ठाढै अस्वीकार गरिसक्नुभएको थियो। त्यो जमानामा पनि मधेसी समाजमा उदार र आधुनिक सोच राख्ने परिवार थिए, उनले सम्झे।’

सिंह र शशिकलाको अन्तर जातीय मात्र नभई अन्तर सामुदायिक विवाह भएको हो। ४६ वर्षअघि यो विवाहले यस भेगमा मात्र नभई पटनासम्मै तरंग उत्पन्न गरेको थियो।

जातपातको कुरा हाम्रो दिमागमै आउँदैन सिंह भन्छन्, ‘०३० सालदेखि गोलबजारमा घर बनाएर बसिरहेको छु।’ यहाँका सबै जातजातिसँग उत्तिकै राम्रो र घनिष्ठ सम्बन्ध छ उनले भने, ‘यो समाजमा जातीय र सामुदायिक विभेद छैन।’

सिंह परिवारका दुई छोरा र एक छोरी छन्। एउटा छोरा तामाङ परिवारमा विवाह गरेका छन्। अर्को क्षेत्री परिवारमा। छोरी माझी परिवारमा विवाह गरेकी छिन्। तिनै छोराछोरीको ससुरालीसँग माईतीको सम्बन्ध राम्रो छ।

सिंह भन्छन्, ‘तिनै सम्धीसँग हाम्रो सम्बन्ध सुमधुर छ।’ उहाँहरुको चाडपर्वमा हामी जान्छौँ हाम्रोमा उहाँहरु आउनुहुन्छ उनले भने,‘जातीय समुदायको हिसाबले मात्र नभई सांस्कृतिक रुपमा पनि हाम्रो सम्बन्ध प्रगाढ छ।’ हाम्रो परिवार इन्द्रेणी जस्तो विभिन्न रंगहरुको संगम हो। हाम्रो परिवार विभिन्न फूलहरुले सजिएको फूलबारी हो उनले खुसी व्यक्त गरे।

सिंह दम्पतीका तीन सन्तान छन्। दुई छोरा एक छोरी। जेठी छोरी शिखा सिंह। माइलो छोरा विकास सिंह र कान्छो विवेक सिंह। विकासको विवाह धनुषा जिल्लाको तल्लो गोदार निवासी सुनिता अधिकारीसँग मागी बिहे भएको हो। विकास र अधिकारीबीच ०६० सालमा मागी बिहे भएको अशोक सिंहले बताए। उनको एक छोरा सिद्धार्थ सिंह १३ वर्षको भयो।

कान्छो विवेक गोलबजार नगरपालिका डोहटियाकी सुशीला लामासँग प्रेम विवाह गरेका हुन्। उनी ०५४ सालमा सुशीलासँग प्रेम विवाहमा बाँधिएको सिंह परिवारले बतायो।

हाम्रो परिवारमा विभिन्न जाति, धर्म, संस्कृति मान्ने सदस्यहरु छन्। जसले यो परिवारलाई फूलबारी, इन्द्रेणीको जस्तो सुन्दर बनाएको छ, अशोकले भने।

यस परिवारको जेठो छोरा विकास जागिरे छन्। उनकी पत्नी सुनिता काठमाडौंमै उद्यमी छिन्। कान्छो विवेक भारतमा जागिर गर्छन्। उनकी पत्नी सुशीला गोलबजारमा सासूससुराको बुढेसकालको सहारा बनेकी छिन्।

इन्त्रेणीको जस्तो परिवारमा अशोक खुसी छन्। तर, कहिलेकाहीँ भने विगत सम्झेर उनको आँखा रसाउँछ। कारण हो, भारतीय सहर पटनाको रैथाने जमिनदार परिवारसँग दूर बस्नु पर्दाको दर्द। अशोक पत्नी शशिकला पटनाको ससुराली घर यसरी सम्झिन्छिन्, ‘नोकरचाकर (कामदार) ले भरिएको पटना सहरको आलिसान महलमा प्रवेश गर्दा चकित परेेंँ’ प्रेमका लागि सुखसयल त्यागेका अशोक असल पत्नी र कुशल पिताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको शशिकलाको अनुभूति छ।

भारतीय सहर पटनाका समृद्ध परिवार छोडेर मधेसको सहर गोलबजार बस्नुको पछाडि सिंह यसो भन्छन्, ‘त्यो बेला यहाँको शान्ति सुरक्षा र सामाजिक सद्भावले मलाई यो ठाउँले लोभ्यायो।’ त्यो बेला गाउँको रुपमा रहेको यो ठाउँ सहरीकरणतर्फ पाइला चाल्दै थियो।  

त्यो बेला भारतको विहार राज्यमा शान्ति सुरक्षाको अवस्था नाजुक थियो। सिंह त्यो बेलाको विहार सम्झन्छन्,‘ जे गर्नु मामुली कुरा थियो त्यो बेला।’ अराजकताबाट आक्रान्त सिंह विवाहपछि पाहुना जस्तै घर जान्थे र एक दुई हप्ता परिवारसँग बसेर पुनः गोलबजार फर्की हाल्थे।

उनी यहाँ बसेपछि माओवादी लडाइँ सुरु भयो। ०६३ बाट मधेसमा सशस्त्र गतिविधि तेज भयो। अनि यहाँको शान्ति सुरक्षाको अवस्था खलबलिन थाल्यो। मधेसको सशस्त्र गतिविधि पनि बिस्तारै शान्त भयो।

जहाँ सद्भाव र शान्ति हुन्छ त्यो समाज समृृद्ध हुन बेर लाग्दैन। परिवार पनि समाजजस्तै हो सिंह भन्छन्, ‘जुन परिवारमा सद्भाव र मिलाप हुन्छ त्यो परिवारलाई समृद्ध बन्न बेर लाग्दैन।’ गोलबजार नगर, जहाँ धेरै जातजाति, संस्कृति, धर्मका मानिसको मिश्रित बसोबास मिलेर बसेको छ। अलग–अलग भाषा, धर्म, संस्कृतिका मानिसको संगम गोलबजार सहर सामाजिक सद्भावको हिसाबले बलियो छ। जसकारण यहाँको सामाजिक विकास तीब्र गतिमा अघि बढ्दै छ। सिंहले भने, ‘जहाँ मिश्रित जातजाति, धर्म संस्कृति मिलेर बसेको छ त्यो समाज तुलनात्मक रुपमा समृद्ध छ। परिवार पनि त्यही हो।’ जुन सहरमा सामाजिक सद्भाव र आपसी भाइचारा हुन्छ त्यो सहरले छिट्टै प्रगति गर्छ उनले भने, ‘शान्ति र सद्भावबिना न सहर समृद्ध हुन सक्छ न परिवार।’

हाम्रो परिवारमा एकले अर्काको धर्म संस्कृति संस्कारलाई महत्त्वका साथ सम्मान दिएका छौं सिंहले भने, ‘सांस्कृतिक घुलनले परिवारलाई कसिलो बनाएको छ।’

गोलबजार सहरसँग अशोक परिवारको सद्भाव, संस्कार, बसोबासको मात्र साइनो छैन। यद्यपि स्वरुपको समेत साइनो छ। अर्थात् जसरी इन्त्रेणीको सातै रंग गोलबजारको सामाजिक संरचनामा भेटिन्छ त्यस्तै रंग अशोक परिवारमा। गोलबजारमा मुख्यतः कपडा र सुन चाँदी किन्न धनुषाको ढल्केवरदेखि उदयपुरको कटारी, गाईघाट र लहानसम्मका ग्राहक ओइरिन्छन्। व्यापारी जति मधेसी समुदायका ग्राहक र उपभोक्ता अधिकतम पहाडी समुदायका, यो गोलबजारको व्यापारिक हैसियत हो।

जातीय सद्भावको नमुना बसोबासमा मात्र होइन व्यापारमा पनि उस्तै छ यहाँ। जसका कारण यो सहर समृद्धि उचाइतर्फ बेजोडले अघि बढ्दै छ। यहाँ तामाङ, यादव, साह, महतो, क्षेत्री, बाहुन, लामा, मगर जातिको मिश्रित बसोबास छ। जसरी गोलबजारमा थरीथरी जातीय बसोबासले इन्त्रेणी सहर बनेको छ। त्यसैगरी अशोक परिवार पनि सिंह, चौहान, अधिकारी, लामा जातिको गठजोरले इन्त्रेणीजस्तो परिवार बनेको छ।

 

प्रकाशित: १२ असार २०७६ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App