कल्पना चिलुवाल
मालिकले लगाएपछि नै
सबैभन्दा मूल्यवान् पोसाक
नोकरले पनि पाउने हो लगाउन
पुरानो नै सही
एक जोर राम्रो जडौरी कपडा।
मालिकले खाएपछि नै
चौरासी व्यञ्जन
नोकरले पनि पाउने हो खान
जुठो नै सही
बचेखुचेका केही गाँस खानेकुरा।
समृद्धिले
मालिकको खल्तीमा विकास गरेपछि नै
मालिकको खल्तीबाट हराउने हो
पाँचदसका खुद्रा
र भिखारीले पनि भेट्ने हो
कहिलेकाहीँ
सय वा हजारका रुपैयाँ।
सबैलाई थाहा छ
समृद्धिका मालिकको इतिहास
कसरी राणाजीहरू खुसी हुँदा
आफ्ना प्रिय नोकरहरू सामु
चाँदीका असर्फी फ्याँकिदिने गर्थे।
कसरी शाहजीहरूका
दिल खुस हुँदा
आफ्ना गलाका सुवर्ण हार नै थुतेर
नोकरहरूलाई बक्सिस दिने गर्थे।
कसरी प्रजातन्त्रवादीहरू
पिए आफ्नै भाइभतिजाहरूलाई बनाए पनि
पानी चल्ने छ भने
दयावश पिउनको जागिर अरूलाई दिने गर्थे।
समृद्धिमा
नोकरको नोकरीका पनि
निकै निम्न वर्गीय फाइदाहरू छन्,
जस्तो कि
बनेपछि चिल्लो र फराकिलो धुलाम्य सडक
समृद्घिका मालिकका गाडीले मात्र
सुविधा भोग्दैनन्।
सडकछेउ बस्ने मगन्ते पनि
धुलोबाट हुन्छ मुक्त,
जस्तो कि
फेरिएपछि ठूलो कम्प्लेक्समा सुकुमबासी बस्ती
फुस्रा जिन्दगीहरूले पनि
चिल्ला मार्वलमा झाडुपोछा लगाउँदालगाउँदै
मालिकका अनगिन्ती सुखभोगका दर्शनबाट
आफूले कहिल्यै नभोगेको सुखको
गर्ने छन् आनन्दानुभूति।
जब समृद्घि फुल्छफल्छ लटरम्म
मालिकले खाएर फालेको आँपको कोया चुसेर
समृद्घिको रसानुभूति गर्न पाउँने छन्
तन्नम कङ्गालहरूले पनि।
प्रकाशित: २ असार २०७६ ०८:१३ सोमबार