१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

मनमा भित्रिइन्, घरमा बाँकी छ

लक्ष्मी बर्देवा र जीवन भट्टराई दुवै रंगमञ्चमा परिचित नाम हुन्। जीवन्त अभिनयका कारण दुवै अहिले फिल्ममा पनि जमिरहेका छन्। रामेछापकी बर्देवासँग तीन महिनाअघि हेटौँडाका भट्टराईले लगनगाँठो कसे। चार वर्षअघि मण्डला थिएटरबाट सुरु भएको उनीहरुको अन्तरजातीय प्रेम बिहेमा परिणत भएको हो। तर दुःखलाग्दो कुरा, जीवनको परिवारले अझै बुहारी लक्ष्मीलाई घर भित्राएको छैन। जीवन र लक्ष्मी दुवैलाई विश्वास भने छ, ‘बाआमाले एकदिन त पक्का स्वीकार्नु हुन्छ।’ काठमाडौंमा डेरा गरेर हाँसीखुसी उनीहरुको जिन्दगी चलिरहेको छ। अभिनय संघर्ष पनि जारी नै छ।

तीन महिनाअघि काठमाडौं, कलंकीको एक पार्टी प्यालेसमा बिहे गरेको यो सुन्दर जोडी कार्यव्यस्तता कारण हनिमुन मनाउन पाइरहेको थिएन। बिहेको भोलिपल्टै लक्ष्मी मण्डला थिएटरमा नाटक महोत्सवको तयारीतिर लागिन्, जीवन फिल्मको सुटिङतिर।

अघिल्लो महिना मात्रै दुवैले फुर्सद पाए, सँगै समय बिताउने। एउटा सर्ट फिल्मको सुटिङका लागि दुवै भारतको हरियाणा पुगे। फर्किनासाथ नागरिक परिवारसँग गफिएको यो जोडीलाई संवाददाताले सुरुमै सोधेको थियो, ‘कस्तो भयो त हनिमुन ?’

मुसुक्क मुस्कुराउँदै लक्ष्मीले जवाफ फर्काइन्, ‘खासमा त कामकै लागि गएको हो तर मौकामा चौकाजस्तै भयो। पैसा खर्च पनि नहुने, फर्कंदा पैसा पनि लिएर आउन पाउने खालको हनिमुन पो मनाइयो !’

थिएटरमा फक्रिएको प्रेम
लक्ष्मी र जीवन कसरी भेटिए ? कथा कम रोचक छैन। देखभेट त उनीहरुको एन्टेना फाउन्डेसनमा रेडियो नाटक गर्दै भएको हो। नाटकमा लक्ष्मी प्रमुख पात्र थिइन्, जीवन आक्कलझुक्कल छाउने सहयोगी पात्र।

दुवैले एकअर्कालाई त्यहाँ देखे पनि बोलचाल भने मण्डला थिएटरबाटै सुरु भयो। लक्ष्मीकै भाषामा भन्ने हो भने यो पृथ्वीमा जीवन भन्ने मान्छे पनि रैछ भन्ने उनले रेडियोमा काम गर्दा थाहा पाए पनि उनीहरु नजिक थिएटरबाटै भएका हुन्। ‘सायद मन्डला थिएटर नभएको भए हामी आज एक हुन्थेनौँ,’ दुवै एकै स्वरमा भन्छन्।

जीवन आउनु एक वर्षअघिदेखि लक्ष्मी मन्डलामा नाटक गरिरहेकी थिइन्। सानैदेखिको अभिनय गर्ने भुतलाई साकार गर्न चार वर्षअघि जीवन लक्ष्मीको जुनियर बनेर यही थिएटरमा आइपुगेका थिए। एन्टेनामा देखभेट भएको बहानामा दुवैको त्यहाँ बोलचाल भयो।

लक्ष्मी र जीवनको सम्बन्ध चर्चित नेपाली गीत ‘एकै नजरमा माया बस्यो है, त्यो आँखाले हेरिदिनाले’ जसरी जोडिएको भने होइन।

‘लभ कसरी प-यो त ?’

‘खोइ, कसरी प-यो/प-यो, त्यो थाहै नहुँदो रैछ,’ मुहार हँसिलो पार्दै यत्ति भनेपछि जीवनले छेउमा रहेकी लक्ष्मीलाई अनुरोध गरे, ‘तिमी भन त।’

‘म भन्दिनँ,’ लक्ष्मीले अनुरोध नकारेपछि जीवन आफैँ अघि बढे, ‘हामी दुवैले कसैले कसैलाई आई लभ यु भन्या होइन। भेटघाट बढ्दै गएपछि, सँगै नाटकमा काम गर्न थालेपछि दुवैले एकअर्कालाई बुझ्यौँ। त्यसपछि बिहे गर्ने निचोडसम्म पुगेका हौँ।’

दुवैले ‘यूमा’ र ‘उपियाँको निबन्ध’मा सँगै काम गरेका थिए। लक्ष्मीलाई लाग्छ, उनीहरुको यो सम्बन्ध माथिबाटै लेखिएरै जोडिएको हो। थिएटरमा फक्रिएको उनीहरुको प्रेम कहानी सुन्दा यस्तै लाग्छ।

त्यतिबेला जाडोको मौसम थियो। नाटकको रिहर्सल सकिँदा अँध्यारो भइसकेको थियो, घडीमा कम्तीमा साँझको सात बजेको थियो। लक्ष्मी कालोपुल बस्थिन्, जीवन मैतीदेवी। ‘हाई हेल्लो’मै सीमित उनीहरुको सम्बन्ध त्यही दिनबाट नजिकिएको थियो।  

किनभने जीवनले त्यही दिन लक्ष्मीलाई पहिलोपल्ट मुख फोडेरै सोधेका थिए, ‘तपाई कोसँग जानुहुन्छ घर, एक्लै कि कोही छ ?’

अलि परबाट लक्ष्मीसँग सँगै जाने एकजना साथी त थिइन् तर उनको मुखबाट पनि अर्कै झूटो जवाफ फुत्किएछ, ‘अँ, एक्लै छु।’ लक्ष्मीको त्यस्तो जवाफ सुनेपछि संवाद के टुंगिन्थ्यो होला र ! घर पु¥याइदिने प्रस्ताव गरि त हाले। यसरीः
‘त्यसोभए, म पु-याइदिन्छु नि त !’
‘तिमीसँग बाइक छ र ?’
‘होइन, म पनि हिँडेरै जाने हो।’
‘होस्, तिमीलाई हिँडेर टाढा हुन्छ।’
‘होइन, केही हुँदैन, मलाई हिँड्न रमाइलै लाग्छ।’

दुवैले पहिलोपल्ट बाक्लो संवाद गरेको त्यही दिन थियो। पहिलोपल्ट घरपरिवारबारे जानकारी लिएको दिन पनि त्यही नै थियो। त्यही दिन जीवनले लक्ष्मीलाई दुई–चारवटा विछोडका भावुक कविता सुनाएर प्रभावमा पारेका थिए। प्रभाव यतिसम्म गाढा भइदिएछ कि ‘त्यो दिन’ त्यसपछि त हरेक दिन भइदियो।

‘केटो हेर्दाखेरी एकदमै नबोल्ने, घोसे, कपटी टाइपको लाग्थ्यो,’ लक्ष्मीले भनिन्, ‘त्यो दिनदेखि ठीकै रैछ भन्ने लाग्न थाल्यो। त्यसपछि त उसले मलाई प्रायः सधैँ घर पु-याउन थाल्यो। सम्बन्ध पनि गाढा हुँदै गयो। सायद यसरी एक हुन लेख्या रै’छ।’

कहिलेबाट उनीहरुविच प्रेम पलायो, त्यसको ठ्याक्कै मिति त छैन तर दुवैको जवाफ छ, ‘भेट भएको ६ महिनामा माया बसिसकेको थियो।’

हरेक साँझ जीवन लक्ष्मीलाई घर पु¥याउँथे। बाटोभरि गफ हुन्थ्यो। अनि, रातोपुल पुगेपछि एक–एक कप चिया पिएर मात्रै उनीहरु छुट्टिन्थे।

‘कोही मान्छेसँग तपाईं निरन्तर भेट्न थाल्नुभयो भने त्यो लत भइदिँदो रै’छ क्या !’, जीवनलाई एक टक हेरेपछि लक्ष्मीले भनिन्, ‘एक दिन भेट भएन भने पनि किन भएन भन्ने प्रश्न मनमा उठ्दो रहेछ। हाम्रो पनि त्यही भएको हो। हामीलाई एकअर्काको बानी परेको थियो किनभने मैले सुन्ने मान्छे खोजिरा’थेँ, उसले सुनाउने मान्छे। हाम्रो मिलनले दुुवैको अभाव पूर्ति भइरहेको थियो।’

जीवनलाई लक्ष्मी सुरुमा देख्नेबित्तिकै मनपरेको होइन रे ! लक्ष्मीको जवाफ सुनेपछि उनी भन्दै थिए, ‘संगत गर्दै गएपछि मन पर्न थालेको हो किनभने म इन्ट्रोभर्ट मान्छे। धेरै बोल्दिनँ। त्यसैले मलाई ऊजस्तै सबै मिलाउन सक्ने मान्छेको खाँचो थियो।’  

‘भनेपछि म अनुहारले त्यति नराम्री रै’छु है ?’ जीवनको जवाफले लक्ष्मीको चित्त दुखेछ क्यार ! मुस्कानसहित बोल्दै थिइन्, ‘तर तपाईंचाँही मलाई अनुहार देखेरै मन परेको हो है !’

त्यसपछि त एन्टेना फाउन्डेसनमा देख्दै मनपरेको पोल उनले खोलिहालिन्। एकदिन केटीहरुबीच जिस्काजिस्की भइरहेको रै’छ। लक्ष्मीकी साथीले ठट्टैठट्टामा भनिछन्, ‘ल्याब ४ मा खतराखतरा केटा आ’को छ, पट्याउनुपर्छ है !’

तीमध्ये लक्ष्मीलाई दुईजना ह्यान्डसम लागेको रहेछ। उनले पनि जिस्किएरै भन्दिछिन्, ‘यो दुईजना मेरा हुन् है ! आँखा लाउने हैन नि फेरि !’

दुईमध्ये एक थिए, जीवन जो आज लक्ष्मीकै भए। कसले कसलाई पट्यायो त्यो त थाहा भएन तर दुवै अहिले खुशी छन्। त्यो ठट्टा सम्झँदै लक्ष्मी आज भन्छिन्, ‘जिब्रोमा कहिलेकाहीँ सरस्वतीको बास हुन्छ भन्थे। हो रै’छ।’

संघर्ष जारी छ...
देशमा ठूल्ठूला परिवर्तन त भए तर मानसिकता परिवर्तन हुन अझै बाँकी छ। चेतनामा बदलाव आउन अझै बाँकी छ। अन्तरजातीय प्रेम अझै सहज भइसकेको छैन। जीवन र लक्ष्मी यस्तै एक उदाहरण हुन्।

न उनीहरुलाई बिहे गर्न सहज थियो, न अहिले छ। अझै जीवनको परिवारले लक्ष्मीलाई बुहारी मानिसकेको छैन। जीवनको मनमा त लक्ष्मी भित्रिसकेकी छन् तर उनको मूल घरमा भित्रन अझै बाँकी छ। ‘तत्काल नस्वीकारे पनि एकदिन स्वीकार्ने विश्वास छ,’ जीवन थोरै भावुक सुनिए।

उनी हालै बिहे दर्ता गर्नलाई गाउँ पनि पुगेका थिए तर घर नछिरी राजधानी फर्किए। बाआमासँग लगभग अहिले सम्पर्कविहीन छन्।

‘बा–आमालाई सम्झाउने प्रयास गर्नुभएन?’ संवाददाताले जीवनलाई प्रश्न सोधेको थियो तर जवाफ लक्ष्मीले दिइन्, ‘केही समय लिनुपर्छ। कराई अलि तातो हुँदा पानी हाल्यो भने आवाज धेरै निस्किन्छ, त्यसैले सेलाउन दिनुपर्छ। हो, केही सम्बन्ध पनि त्यस्तै हुन्छ।’

लक्ष्मीकै भनाइमा सहमति जनाउँदै जीवनले भने, ‘हो, विस्तारै सहज हुँदै जान्छ।’

खासमा यो जोडी अफेयरमा रहेको एक वर्षपछि नै बिहे गर्ने निधोमा पुगेको रहेछ तर परिवारलाई मनाएर बिहे गर्ने सल्लाहका कारण चार वर्ष लागेछ। ‘जति गर्दा ’नि फकाउन सकिएन, त्यसपछि बिहे गर्ने निर्णय गरेका हौ,’ जीवनले भने।

बरु बीचमा झण्डै छुट्नुपर्ने स्थिति आइसकेको थियो। लक्ष्मी भन्छिन्, ‘जति गरे पनि नमानेपछि, छोरालाई फोन गर्न पनि छाडेपछि त मेरै मन मरिसकेको थियो। होस्, छोड्दिउँ भन्ने अवस्थामा पुगिसकेको थिएँ, म आफैँ। उसले स्ट्यान्ड लिए पनि म आफैँ पछि हट्ने स्थितिसम्म आइसकेको थियो। जिन्दगी नै परिवार त्यागेर बस्न त सकिँदैन। त्यसैले तिमी आफ्नो बाटो, म आफ्नो बाटो भन्नेसम्म भइसकेको थियो।’

दुवैको बुझाइमा अन्तरजातीय बिहेले यहाँ परिवारलाईभन्दा बढी समाजलाई टेन्सन हुने रै’छ। ‘परिवारले नअपनाउनुको कारण पनि समाज नै हो,’ लक्ष्मी थोरै भावुक सुनिइन्, ‘किनभने उहाँहरु त यही समाजमै बस्नुपर्छ। परेपछि नै मान्छेलाई थाहा हुन्छ। अहिले पनि पुरानै सोचको मान्छे यहाँ धेरै छन्।’

उनको मनको व्यथा यत्तिमै रोकिएन। थप्दै गइन्, ‘यहाँ त पढेलेखेकै मान्छे जो जातीय विभेदविरुद्ध वकालत गर्छ, उसले पनि कम्तीमा आफ्नो छोराले आफ्नै जातको ल्याइदियोस् भन्ने ठान्छ। परिवर्तन हुनुपर्छ भन्ने तर आफैँ परिवर्तन गर्न नचाहने !’

बोल्दाबोल्दै लक्ष्मीको आँखा एक्कासि रसायो। जोडले रुन थालिन्। माहोल एक्कासि मौन बन्यो। छेउमा रहेका जीवन फकाउन थाले, ‘भयो, भयो अब नरोऊ।’ त्यसपछि पानी पिलाइदिए। पाँच मिनेट लाग्यो माहोल सामान्य बन्न।

‘मान्छे बिहेमा माइती छोडेर बेहुलाको घर जाँदा रुन्छ तर, मचाँही जीवनको घरमा नभित्रिएर डेरामा भित्रिनु पर्दा रोएँ,’ डब्डबाएका आँखा पुछ्ने प्रयास गर्दै उनले भनिन्, ‘बुहारी हुन नपाउँदाको अभाव त कतै न कतै महसुस हुने रै’छ। घरबाट बिदाइ हुँदा ड्याडीहरुसँग आनन्दले हाँसीहाँसी आएकी थिएँ। यता कोठामा भित्रँदा भने निकै गाह्रो भयो। म फेरि परिवारलाई महŒव नदिने मान्छे भएको भए त्यस्तो वास्ता हुन्थेन होला। तर म घरपरिवार भनेपछि एकदमै हुरुक्क हुन्छु। आज नभित्रिए पनि एकदिन त भित्रिन्छु भन्ने आशा छ।’


यसै त कम बोल्ने मान्छे, माहोलले जीवनलाई झन् मौन बनाइरहेको थियो। घर भित्रिन नपाएको लक्ष्मीको मन जति दुखेको महसुस हुन्थ्यो, सायद उनलाई भित्राउन नपाएकोमा जीवनको मन त्यो भन्दा कम दुखेको थिएन।

लक्ष्मीलाई एकचोटी जीवनको परिवार भेट्ने मन छ किनभने उनीसँग एकचोटी भेटेर गफ गर्न पाए कन्भिन्स गराउन सक्छु भन्ने आत्मविश्वास छ। ‘एकचोटी भेटेर गफ गर्न पाएँ भने पक्का प्रभावित पार्न सक्छु,’ उनी आत्मविश्वाससाथ भन्दै थिइन्, ‘समाजका कारण म त्यता घरै जान नसकुँला तर कम्तीमा उहाँहरु यता आउँदा मलाई भेट्न आउने बनाउन सक्छु। मायाबाट पर रहेर त को मान्छे बस्न सक्छ र ! मैले माया दिएँ भने न, म पनि पाउँछु !’

जीवनले बाआमालाई कल नगर्दा उनको चित्त खुब दुख्दोरहेछ। भन्दै थिइन्, ‘म जीवनलाई सम्झाइरहेकी हुन्छु, उताबाट बाआमाको फोन आएन भन्दैमा यताबाट तिमीले पनि गर्न छोड्नुहुन्न। तिमी हामी भनेको उहाँहरुभन्दा सानो हो, त्यसैले झुक्नुपर्छ। झुक्दा सानो भइन्न। उहाँहरुले फोन गर्नुहुन्छ भनेर कुरेर बस्नुपर्छ भन्ने मलाई लाग्दैन किनभने उहाँहरुको नजरमा त गल्ती हाम्रो छ नि !’

बिहे अघि र पछि
बिहेपछि पनि यो जोडीलाई कुनै बदलाव महसुस भएको छैन। बिहेअघिभन्दा केही फरक छैन त ? लक्ष्मी भन्दै थिइन्, ‘उसले लुगा लाउनमा अहिले अलि किचकिच गर्न थालेको छ, त्यति मात्रै हो। ’
त्यसपछि लक्ष्मीतिर हेर्दै जीवन बोले, ‘छैन, के ग¥या छु र ?’

दुवै एकअर्कालाई हेरेर मुस्कुराए। त्यसपछि फेरि जीवनले स्पष्ट पारे, ‘म उसलाई बेलाबेलामा ह्या बिहे गरिसक्यौ त अब, के लाइरा यस्तो लुगा भनेर जिस्काइरा हुन्छु। नलाऊ भनेर भन्दा पनि त्यत्तिकै रमाइलोका लागि जिस्काइदिरा हुन्छु। उसले त्यही कुरा गरिराको होला।’

रमाइलो त के भने लक्ष्मी र जीवन दुवैले बिहेअघि बिहेपछि ‘यसो गर्न पाइने, यसो गर्न नपाइने’ भन्ने सम्झौता गरेका रहेछन्। लक्ष्मीले त्यतिबेलै सर्तहरु राखेकी रैछिन्, ‘म मेरो हिसाबले लुगा लगाउँछु। म थिएटर र फिल्म कहिल्यै छोड्दिनँ।’

सम्झौताहरु तोडिएका छन् त ? ‘तोडिएको त छैन, तोडिनेवाला पनि छैन,’ लक्ष्मीले भनिन्, ‘उसले मलाई रामै सुझाव दिइरहेको हुन्छ। लुगामा पनि लामो÷छोटो भयो भन्दा पनि सुहायो÷सुहाएन भन्ने हिसाबले दिने हो।

जीवनलाई बिहेपछि पनि बिहेअघि भन्दा केही फरक महसुस भएको रहेनछ तर लक्ष्मीलाई अर्को एउटा फरक पनि महसुस हुन थालेको रहेछ। भन्दै थिइन्, ‘बिहेअघिभन्दा अलि बढी केयर गर्न थालेजस्तो लाग्छ।’

एकअर्काका ‘माया’
लक्ष्मी र जीवन दुवै एकअर्कालाई नामले बोलाउँदैनन्। दुवैले एकअर्कालाई सम्बोधन गर्ने नाम अर्कै छ तर एउटै छ, ‘माया’।

दुवै कलाकार हुँदा घरमा उनीहरुलाई फाइदै पुगेको छ। उनीहरुको अनुभवमा बेफाइदा केही छैन। ‘एकअर्काको काममा छलफल हुन्छ,’ जीवनले भने, ‘क्यारेक्टर मेकिङमा सहयोग हुन्छ। एकअर्काले नबुझेको कुरा आइरहेको हुन्छ।’

जीवन र लक्ष्मीलाई हेर्दा लाग्छ, उनीहरु श्रीमान्–श्रीमती कम, साथीसाथी ज्यादा हुन्। दुवैले यो कुरा स्वीकारे। लक्ष्मीलाई सोधियो जीवन तपाईंका लागि कस्तो श्रीमान् ? उनले जवाफ दिइन्, ‘ऊजस्तो त संसारमै छैन होला। एकदमै बुझ्ने। बिहेलाई मान्छेहरु बन्धनका रुपमा लिन्छन् तर म अझै स्वतन्त्र चरी भएर आकाशमा उड्न पाइरहेजस्तो लाग्छ। मेरो हरेक आवश्यक कुरामा उसले असहमति जनाउँदैन।’

सम्बन्ध बलियो कसरी ?
विश्वमा धेरै कलाकार जोडीको सम्बन्ध टुटेको छ। त्यसमा समय, शंका आदि कारणले पनि काम गरेको छ। यस विषयमा यो जोडी एकदमै सचेत छ।

पेशाका कारण दुवै एकअर्कालाई पर्याप्त समय दिन पाउँदैनन् तैपनि यसमा गुनासो छैन। ‘समय दिन नपाउने पनि कामकै कारण हो,’ लक्ष्मीले भनिन्, ‘काम गर्ने भनेकै एकअर्काको खुशीका लागि हो, सुखद् भविष्यका लागि हो।’
सम्बन्ध बलियो बनाउनुपर्छ भन्नेमा दुवै प्रतिबद्ध छन्। एकअर्काप्रति विश्वास हुनुपर्छ भन्नेमा दुविधा छैन। जीवन भन्दै थिए, ‘दुवै एउटै क्षेत्रमा हुँदा इगो प्रोब्लम आउन सक्छ। ऊ हिट हुँदै गयो, मेरो केही प्रगति भएन र त्यही कुरालाई इगोको रुपमा लियो भने समस्या आउन सक्छ। तर त्यसरी लिएन, सकारात्मक रुपमा लियो, एकअर्काको कामलाई तारिफ गर्न सक्यो भने राम्रो हुन्छ भन्ने लाग्छ। एक अर्काको सफलता र खुशीलाई आफ्नो ठान्न सक्नुपर्छ।’

काजोल र अजयजस्तो जोडी
तपाईंहरुको नजरमा तपाईहरु कस्तो जोडी हो ? कुराकानीको अन्त्यमा दुवैलाई जिज्ञासा राखियो। यसपल्ट जवाफ दिन जीवन लक्ष्मीभन्दा अगाडि लम्किए, ‘काजोल र अजय देवगनको जस्तो ! किनभने उसको र काजोलको नेचर मिल्छ, मेरो र अजयको।’ सायद उनी काजोलको धेरै बोल्ने र अजयको कम बोल्ने नेचरको कुरा गरिरहेका थिए !

त्यसपछि लक्ष्मीले झन् प्रस्ट पार्न खोजिन्, ‘उसले धेरैजसो अजय र काजोलको इन्टरभ्यु मलाई पठाइराको हुन्छ। हामीहरुको धेरै कुरा उनीहरुसँग मिल्छ। हामी दुवै दुवैको फ्यान हौँ। उनीहरु हाम्रो आइडियल कपल पनि हुन्।’

प्रकाशित: २२ जेष्ठ २०७६ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App