१६ असार २०८१ आइतबार
image/svg+xml
अन्य

इदको खान्की ‘सेवई’

इदको मुख्य खान्की हो, सेवई। इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान (इद) मा खाइने मुख्य परिकारको रुपमा सेवइलाई मानिन्छ। सेवईलाई दूधमा चिनी राखी पकाएर खाइन्छ। स्वादको लागि सेवईमा ड्राई फुड पनि राख्ने गरिन्छ। अन्य समयमा भन्दा इदमा सेवईलाई अनिवार्य नै मानिन्छ। दिनभरीको वर्तको सुरुवात भन्दा अगाडि सेवई खाने चलन रहेको छ। वर्त राख्ने समयभन्दा अगाडि सेवइ खाए दिन भरी शरिरलाई आवश्यक उर्जा प्राप्त हुने इस्लामी संघ नेपालका अध्यक्ष खुर्सिद आलम बताउँछन्। उनी भन्छन्, ‘सेवई र दुध खादाँ शरिरलाई निकै फाइदा गर्छ, सेवइमा रहेको ड्राईफुडले दिन भरी वर्त बस्दा शरिरलाई आवश्यक शक्ति प्रदान गर्छ, त्यस कारण रमजानमा  सेवई खाने चलन छ।’

महिनाको अन्त्यमा ‘इद’ मनाइने उनी बताउँछन्। मुस्लिम समुदायले एक महिनासम्म रोजा (वर्त) बसेर मनाउने रमजान पर्व निकै हर्षउल्लासका साथ मानाउँने उनी बताउँछन्।

अघिपछिको समयमा भन्दा पनि रमजानको महिनामा सेवइको व्यापार निकै हुने बताउँछन्, मोहम्मद नजिर मियाँ। रौतहटका मोहम्मद नजिर मियाँ ओमबहालमा बस्छन्। बिहान उठेर टोकरीमा सेवई राखी साइकलमा लिएर व्यापार गर्न निस्कनु उनको दैनिकी नै हो। रमजानको यो समयमा सेवई व्यापार गर्न व्यस्त छन्, मोहम्मद। सात वर्षदेखि काठमान्डौमा सेवईको व्यापार गर्दै आएको उनी बताउँछन्। सेवइ व्यापार कै लागि रौतहट देखि तिन भाई आएको उनले बताए। सेवईको व्यपारको सुरुवात गर्दा सेवईको बारेमा मुस्लिम समुदायलाई मात्र थाह भए पनि अहिले सबैले किनेर लैजाने उनी अनुभब सुनाउँछन्। उनी भन्छन, ‘खासमा सेवईको व्यापार सधै नै हुन्छ, अन्य समयमा भन्दा रमजानको बेलामा भने अलिक धेरै व्यापार हुन्छ।’

रमजान सुरु भएको महिनामा भन्दा विशेष रमजानको अन्तिम हप्ता निकै व्यापार हुने मोहम्मद बताउँछन्। रौतहटको गाँउबाट गाउँलेले बनाएको सेवईका थरि–थरिका प्रकार ल्याएर बेच्ने उनी बताउँछन्।

चना र मैदाबाट तयार गरिएको सेवइ धेरैले मनपराउँने बताउँछन् अब्दुल हुसेन खाँ। मोहम्मद नजिर मियाँले जस्तै सेवइको व्यापार गर्छन्, अब्दुल हुसेन खाँ। काठमाण्डौंको क्षेत्रपाटी स्थित सेवइको टोकरीमा राखेर व्यापार गर्न थालेको १५ वर्ष भैसक्यो। टोकरीलाई टाउँकोमा राखि कहिले घण्टाघर त कहिले न्युरोड गरी डुलेर सेवई व्यापार गर्ने उनी बताउँछन्। बजारमा अन्य समयमा भन्दा रमजानको समयमा सेवईको व्यापार राम्रो हुने उनी बताउँछन्। गत वर्ष भन्दा यो वर्ष सेवईको मुल्य बढेको अब्दुलले बताए। ‘अहिले त एक पाउँ सेवईको मुल्य एक सय रुपैँया पर्छ’ उनी भन्छन्, ‘आज सम्म ९ दिन भयो रमजान सुरु भएको, दैनिक जसो राम्रै व्यापार भएको छ।’ दैनिक जसो ३० देखि ४० किलोग्रामसम्म सेवई बिक्री भइरहेको उनी बताउँछन्। रमजान सकिने समयमा अहिलेको भन्दा राम्रो व्यापार हुने उनी अनुभब सुनाउँछन्। रमजानको दिन बित्दै जाँदा सेवइको व्यापारमा पनि बृद्धि हुने उनी बताउँछन्।  

१२ औँ र १३ औँ सताब्दीमा इस्लामीक शासकहरुले सेवईलाई रमजानमा खाने चलन बसालेको खुर्सिद आलमले बताए। इस्लामीक धर्मावलम्बी र सेवइको बारेमा धार्मिक रुपमा कुरानमा उल्लेख भने नभएको उनी बताउँछन्। उनी भन्छन्, ‘त्यो समयमा खानाको रुपमा सेवई नै पाएको भएर सेवई खाने गरिन्थ्यो पछि त्यहि नै संस्कृतीको रुपमा स्थापित भयो।’ मीठो परिकारका रूपमा पहिल्यैदेखि नै सेवई खाने चलन रेहको उनले बताए। सेवईलाई वर्तको सुरुवात भन्दा पहिला खाइने उनले बताए। उनले भने, ‘सेवई खाने चलन को सुरुवात भारत र पाकिस्तानबाट भएको मानिन्छ, बसाइसराइले नै सेवई नेपालसम्म आएको मानिन्छ।’

रमजानको वर्त तोड्नको लागि भने खजुर खाने प्रचलन रहेको छ। २, ३ वटा खजुर खाएपछि पानी खाएर मात्र अन्य खानाका परिकार खाने नियम रहेको उनी बताउँछन्। नेपालमा सेवईलाई मुस्लिम समुदायले मात्र खाने चलन परिवर्तन भएको उनी बताउँछन्। उनी भन्छन्, ‘पहिला त हाम्रो खानाको रुपमा मात्र परिचित थियो तर अहिले भने अन्य समुदायले पनि खाने प्रचलन बढेको छ।’ मुस्लिम समुदायले सेवइलाई इदमा अनिवार्य खाने चलन रहेको उनी बताउँछन्।

अन्य समयमा भन्दा रमजानको समयमा बिशेष गरी मस्जिदको छेउछाउमा सेवई व्यापार गर्नेको हुल देख्न सकिन्छ। घन्टाघर नजिकै त सेवइको व्यापार निकै हुन्छ, मानौ सेवईको मेला नै लागेको छ। इद मनाउँनको लागि पहिल्यै दिनदेखि किनमेल गर्ने चलन छ। वर्तको लागि मुस्लिम समुदायहरु सफा लुगा, फलफुल र खानेकुराको परिकार लगायतको किनमेल गरी तयारीमा जुट्ने गर्छन्। रमजानको किनमेलमा सेवई भने अनिवार्य नै पर्छ।’ 

सेवई खान रुचाउँनेहरुको जमातका पनि कमी भने छैन्। मुस्लिम होस् या गैर मुस्लिम, इदको बेला होस् या अन्य समयमा सेवई खानेहरुको जमात बढेको व्यापारी बताउँछन्। बागबजारकी मोमिना बानुँ भर्खरै प्लस टुको परिक्षा सकेर बसेकी छिन्। रमजानको वर्त बसेकी उनी सेवई खान निकै मन पर्ने बताउँछिन्। कक्षा दशमा पढ्दा इदमा स्कुलको शिक्षकहरुलाई सेवई उपहारको रुपमा दिने गरेको उनले बताइन्। मुस्लिम समुदायको साथीहरु मात्र नभएर गैरमुस्लिम साथीरुले पनि सेवइ खान रुचाउँने उनी बताउँछिन्। ‘मिल्ने साथीहरुलाई घरमा नै ल्याएर पनि सेवई खुहाउँछु’ उनले भनिन्।

महाबौद्ध स्थित साइकलमा सेवई व्यापारीसँग सेवइ किन्नमा व्यस्त थिए, सुविधानगरका रोमहर्ष वली। गुलीयो खान रुचाउने उनलाई सेवई खान मनपर्ने बताए। प्रायः सेवई देखेका बेलामा किन्ने गरेका उनी बताउँछन्। ‘सेवईलाई खाजाको रुपमा खान रुचाउँछु’ उनले भने। कहिलेकाहि सेवई खाँदा फरक स्वाद पाउँने उनी बताउँछन्। सेवई किन्न कुनै बिशेष चाड आउँन नपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘म अरु बेला पनि सेवई किन्छु, सेवई बनाउँन पनि सजिलो अनी खान पनि मिठो भएकाले म प्रायः किन्ने गर्छु।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App