काठमाडौं र ललितपुर महानगरपालिकाभित्र सहर सरसफाइ गर्ने कर्मचारी संख्या आठ सय हाराहारीमा छ। फोहर उठाउने, बढार्ने, सडकमा पानी छ्याप्ने, सडक आसपास र बगैंचामा रोपिएका फूल तथा बिरुवामा पानी राख्नेलगायत काम यिनै कर्मचारीको हो। तर, सहरको धुलो–धुवाँ र प्रदूषणको अवस्था हेर्दा सहरवासी जोसुकैलाई लाग्न सक्छ– महानगरका आठ सय कर्मचारीले के गर्छन् होला ? सरकारी तलब खाएर बिहानको दुई घण्टा ड्युटी पनि किन गर्दैनन् होला कर्मचारी ? बिहान सबेरै सर्वसाधारण सडकमा ननिस्कँदै सहर सफा गरिसक्ने जिम्मेवारी महानगरले दिए पनि कर्मचारी हप्ता दिनमा एक पटक पनि सहर राम्ररी सफा गर्दैनन्।
उनीहरू बिहान छिप्पिएपछि आफूखुसी सहर सफा गर्न निस्कन्छन्, त्यो पनि झारा टार्ने किसिमको हुन्छ। ललितपुर महानगरपालिकामा सफा गर्ने कर्मचारीको संख्या १ सय ५९ जना छ। बढी जनसंख्या र धुलो–धुँवा भएको काठमाडौं महानगरमा ललितपुर महानगरमाभन्दा तेब्बर कर्मचारी छ। महानगरपालिकामा फोहरसँग सम्बधित कर्मचारीको संख्या ६ सय ६८ जना छ। तर, यी कर्मचारी नियमित रूपमा सहर सरसफाइमा नजुट्दा सहरवासी धुलो–धुँवाबाट आजित छन्। सहर सफा गर्ने कर्मचारीले तोकिएको समयमा सहर सफा नगर्दा उपत्यकामा नांगो आँखाले हेर्न मिल्ने वातावरण नभएको वातावरणविद् भूषण तुलाधरले बताए। ‘सहरमा फोहर र धुवाँ–धुलोको कुनै सीमा छैन, नयाँ–नयाँ प्रविधि प्रयोग गरेर धुलो सफा हुन्छ भने पनि काठमाडौंको वातावरण मानव स्वास्थ्यको हानिकारक भइसकेको छ,’ उनले सुनाए, ‘यसको बढी जिम्मेवारी महानगर र त्यहाँ काम गर्ने कर्मचारीले लिनुपर्छ।’
ललितपुर महानगरपालिका फोहरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवालले महानगरमा सरसफाइ गर्ने कर्मचारीको संख्या १ सय ५९ जना रहेको बताए। उनले समयतालिका अनुसार यी कर्मचारीको काम गर्ने समय बिहानै ५ बजेदेखिको रहेको जानकारी दिए। ‘सहर सफा राख्ने कर्मचारी बिहानै खटिनुपर्छ, उनीहरूले आम सर्वसाधारणलाई अप्ठेरो नपर्ने गरी छिटो काम सक्नुुपर्छ, हामीले सबै कर्मचारीलाई बिहान र राती सहर सफा गर्न र व्यवस्थित राख्ने जिम्मेवारी दिएका छौं।’
उनका अनुसार महानगरभरी कुचो लगाउने कर्मचारीको संख्या १ सय ३० छ। महानगरभरी रोपिएका फूल हेरचाह गर्ने र पानी हाल्ने कर्मचारी ४ जना छन्। ड्राइभर, हेल्पर, फोहर संकलन गर्ने, धुलो उठाउनेलगायत जिम्मा पाएका कर्मचारीको संख्या २५ छ। काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले काठमाडौं महानगरपालिकामा फोहरसँग सम्बधित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए। उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए। यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाई छ।
‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था हेर्दा यति कर्मचारीले मात्रै सहर सफा राख्न सक्दैनन्, हामीले भएका कर्मचारीलाई बिहान, दिउँसो र बेलुकाको समयमा पनि फरक–फरक जिम्मेवारी दिएर खटाएका छौं। तर, ती कर्मचारीबाट काम भए पनि सहर सफा हुन सकेको छैन,’ उनले भने।
डस्बिन प्रयोग नगर्ने अल्छी सहरवासी
सहर फोहर देख्नेबित्तिकै सरकारी निकाय र तिनमा कार्यरत कर्मचारीमाथि धार्ने हात लगाउने सहरवासीमा स्वअनुशासन पटक्कै देखिन्न। सहर हिँड्दा होस् या यात्रा गर्दा जहाँतहीँ फोहर फाल्ने प्रवृत्ति आम सहरवासीमा छ। सर्वसाधारणले सरकारी निकायले बनाएका सामान्य नियम परिपालना गर्न आनाकानी गरेपछि सहर झन् कुरूप बनेको सरकारी कर्मचारीको भनाई छ।
विभागका प्रमुख श्रेष्ठले सहर सफा राख्न सरकारी निकाय एक्लैले नसक्ने बताए। ‘हामीले चाहेर र काम गरेर मात्रै सहर सफा हुँदैन, सहरमा बस्नेहरू पनि सचेत हुनुपर्छ, उनीहरूले आफ्नो जिम्मेवारीसँगै सरकारी निकायले लागू गरेका नियम मान्नुपर्छ,’ उनले भने, ‘अरु त परकै कुरा सडक छेउमा राखिदिएको डस्बिनमा समेत फोहर राख्न नसक्ने नागरिक सहरमा बस्छन्, यति सामान्य कुरामा सरकारी निकायले घोकाएर साध्य छैन, नागरिक आचरण र अनुशासन भयो भनेमात्रै सहर व्यवस्थित र सफा हुन सक्छ।’
उनका अनुसार बटुवा र सवारीचालक बाटोमा हिँड्दा प्लास्टिक, खानेकुराको बोक्रा, चुरोटका ठुटा, सुर्तीजन्य सामग्रीका कागज पनि सडकमा फाल्ने गर्छन्। यसले गर्दा सहरमा सबैजसो ठाउँमा फोहर देखिन थालेको छ।
खै ब्रुमरको काम ?
सहर अचाक्ली प्रदूषित र धुलाम्य भएपछि काठमाडौं महानगरकै मुख्य पहलमा केही महिनाअघि उपत्यकामा ५ वटा बु्रमर भित्र्याइयो। तर, ती बु्रमर सहरका सडक सफा गर्न निस्किए पनि सहरको फोहर र धुलो जहाँको तहीँ छ। अहिले सञ्चालन भइरहेका बु्रमरमा दैनिक ७५ लिटर डिजेल खपत हुने गरेको छ। पाँच जना चालक, पाँच सहयोगी, पाँच सुरक्षाकर्मी र पाँच अनुगमनकर्ता गरी २० कर्मचारीलाई बु्रमरसँगै खटाइएको छ।
ब्रुमर आएपछि अब त धुलो कम हुने भयो भनेर बसेका सहरवासी रणभुल्लमा छन्। आर्थिक व्ययभार र जनशक्ति खर्च गरेर सञ्चालन गरिएका बु्रमरको प्रभावकारिता मुख्य सहरी इलाकामा देखिएको छैन। महानगरले माइतीघर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, दरमार्ग, कोटेश्वर, चावहिललगायत क्षेत्रको धुलो कम गर्न दमकल प्रयोग गरे पनि यी क्षेत्रमा धुलो–धुँवाको अवस्था पुरानै छ। महानगरकै कर्मचारी बु्रमर सेवा त्यति उपयुक्त नभएको स्वीकार गर्छन्। वातावरण विभागका प्रमुख श्रेष्ठले सहरी सडकको संरचना नमिलेका कारण बु्रमरले त्यति व्यवस्थित र नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको जानकारी दिए।
उनले भने, ‘हामीले पनि पहिलो पटक नै प्रयोग गरेका हौं, सडकको लेभल नमिलेका कारण धेरै ठाउँमा सही ढंगले काम भएको छैन, यस विषयमा यससँग सम्बन्धित निकायका कर्मचारीसँग मैले कुरा पनि राखिसकेको छु।’ उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको काम अझै नसकिएकाले सहरमा धुलो बढेको हो। मेलम्चीले सडक किनार र पेटी खनेको धुलो सवारीले घसारेर मुख्य सडकमा ल्याउने गरेका छन्, जसका कारण सबैतिर धुलो उडेको छ।
बिहान छिप्पिएपछि बल्ल सरसफाइ
संसारका विकसित मुलुकका सहरवासीलाई आफू बसेको सहर कतिबेला सफा गरिन्छ भन्ने कुराको पत्तै हुँदैन। उनीहरू आ–आफ्नो कामकाजमा निस्कने बेला सहर सफा र सुन्दर देख्छन्। सहर सरसफाइ गर्ने र स्वच्छ राख्ने जिम्मा पाएका कर्मचारी बिहानै सर्वसाधारणले चाल नपाउने गरी सहर सफा गर्न निस्कन्छन्। सहरी जनजीवनलाई व्यवस्थित र अस्तव्यस्ततालाई मध्यनजर गर्दै आम नागरिक सुतिरहेको बेला त्यहाँ सहर सफा गर्ने र अन्य विकासका काम गर्ने नीति अबलम्बन गरिएको हुन्छ। सोही अनुसार जिम्मेवारी पाएका कर्मचारी राती वा बिहानै जाग्छन्।
भोलिपल्ट सहरमा निस्कने नागरिक चकित पर्ने गरी सहरको मुहार चम्काउँछन्। तर, नेपालमा भने सहर विकास गर्ने र सफाई गर्ने तौरतरिका लाजमर्दो किसिमको छ। आम सर्वसाधारण सडकमा ननिस्कँदै सहर सफा गर्नुपर्ने कर्मचारी बिहान छिप्पिएपछि सहर सफा गर्न निस्कन्छन्। आम नागरिक आफ्नो कामकाजमा निस्किएको बेला बल्ल सहर सफाइ गर्न जुटेका कर्मचारीका काम झारा टार्ने किसिमको हुन्छ। जागिर पचाउन कुचो र अन्य सफाइका उपकरण लिएर सडकमा झुल्कने कर्मचारी गैर जिम्मेवारजस्तै देखिन्छन्। कुचो लगाउने, बिरुवामा पानी राख्ने, फोहर उठाउने लगायतका कामले सर्वसाधारणलाई असर पारिरहेको हुन्छ। मनलाग्दी ढंगले सहर सफाइ गर्न अबेर गरी निस्किएका कर्मचारीले उल्टो सडकमा हिँड्नेलाई ‘सफा गर्ने बेला किन आइस्’ भन्दै गाली गर्छन्। थापाथली, माइतीघर, सुन्धारा, तीनकुने, प्रदर्शनीमार्ग, पुलतीसडक, नयाँ बानेश्वर, कोटेश्वर, सातदोबाटो, लगनखेल, जावलाखेल, कुपन्डोललगायत आम नागरिकको बिहानैदेखि चहलपहल बढ्ने क्षेत्रमा समेत ढिलो सरसफाइ गरिन्छ।
‘सहरलाई सफा राख्न धेरै धामा गर्नुपर्ने होइन, सरकारी निकायले राखेका कर्मचारी जिम्मेवार हुने हो भने काठमाडौं हरेक दिन टल्कन सक्छ,’ बुद्धनगरका उमेर आचार्यले भने, ‘एक घण्टामा सकिने कामको लागि पनि कर्मचारीले उपर्युक्त समय दिँदैनन्। उनीहरू ढिलो सरसफाइमा निस्कँदा आम नागरिकलाई सास्ती पुगेको छ।’
बक्स
प्रकाशित: २७ वैशाख २०७६ ०४:१० शुक्रबार