आजका बालबालिका बाहिरी खेलकुदमा भन्दा घरभित्रै बढी रमाउँछन् । घन्टौं टिभी, मोबाइल, ल्यापटप, कम्प्यूटर आदिमा खेल खेल्छन् । आधुनिक उपकरण प्रयोग गरी घन्टौं निहुरिएर, सुतेर वा एउटै पोजिसनमा बसेर खेल्छन् । यसबाट उनीहरूमा सानैदेखि टाउको दुख्ने, आँखा कमजोर हुनेदेखि मेरुदण्डसम्बन्धी समस्या आएको देखिन्छ ।
घन्टौंसम्म एउटै पोजिसनमा बस्दा, शिर झुकाएर बस्दा मेरुदण्डमा असर परी शरीरका विभिन्न भागमा समस्या आउँछ । जस्तै टाउको दुख्नु, गर्धनदेखि पाखुराहातसम्म दुख्नु, ढाड दुख्नु, कम्मरको लचकतामा कमी आउनु, कम्मरदेखि खुट्टासम्म दुख्नु आदि ।
मेरुदण्डको बनोट
हाम्रो मेरुदण्ड ३३ टुक्रे हाड मिलेर बनेको हुन्छ । गर्धनदेखि नितम्बसम्मको भागलाई मेरुदण्ड भनिन्छ । मेरुदण्डका हाडहरूलाई भर्टेब्रा भनिन्छ । दुई भर्टेब्रा बीचमा कुरकुरे हाड हुन्छ जसलाई डिस्क भनिन्छ । डिस्कले हड्डीलाई घर्षण हुन दिँदैन ।
मेरुदण्डलाई बाङ्गो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब परी नशा च्यापिने र दुख्ने हुन्छ । जुन भागमा बढी दबाब प¥यो त्यही ठाउँको नशा च्यापिने हुन्छ ।
मेरुदण्डको बीचबाट हाम्रो टाउकोदेखि खुट्टासम्म नशा, रेशा, स्नायुहरू गएका हुन्छन् । स्नायुहरूले नै समवेदना दिमागसम्म आदानप्रदान गर्छन् ।
मेरुदण्ड शरीरको खम्बा हो । मेरुदण्डले शरीरलाई ठाडो र सिधा राख्ने काम गर्छ । मेरुदण्ड सामान्यतः लचिलो र चलायमान हुन्छ । यसको लचकता अगाडि झुक्ने, पछाडि झुक्ने, दायाँबायाँ हेर्न सक्ने क्षमताको हुन्छ । तर हाम्रो गलत क्रियाकलाप, गलत विहार, मेरुदण्डलाई बाङ्गो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्ड र स्नायुमा दबाब परी नशा च्यापिने र दुख्ने हुन्छ । जुन भागमा बढी दबाब प¥यो त्यही ठाउँको नशा च्यापिने र दुख्ने हुन्छ । दुखेपछि शरीरको अंगस्थितिलाई मिलाएर चाँडै ठिक गर्नुपर्छ । ठिक गर्ने काम भएन भने समस्या झन बढ्छ र पछि हातखुट्टा चलाउन गह्रो हुने, हिँड्न, बस्नसम्म गाह्रो हुने हुन्छ ।
त्यसैले स्वस्थ रहन जसरी आहार ठिक हुनपर्छ, त्यसैगरी विहार पनि ठिक हुनुपर्छ । विहारमा शरीर हल्लाएर गर्ने सबै गतिविधि पर्छन् । आहारबाट आएका समस्या आहार मिलाएर निको हुन्छ भने विहार नमिलेर आएका समस्या विहार ठिक गरे मात्र ठिक हुन्छ ।
शरीरका वेगहरूलाई रोक्दा पनि समस्या हुन्छ । हाच्छियूँ खोकी, दिसा, पिसाब, निद्रा, प्यास, हाई, डकार आदि वेग हुन् । यी वेगहरूलाई रोक्नु हुँदैन । भोकको वेगलाई पनि रोक्न मिल्दैन ।
त्यसैले विहार सँधै उचित हुनुपर्छ । विहार धेरै किसिमका हुन्छन् । केहीको यहाँ चर्चा गरिएको छ:
उठ्ने र बस्ने: उठ्दा र बस्दा जहिले पनि ढाड सोझो खुकुलो हुनुपर्छ । सिधा राख्ने भन्नाले अररो राख्ने होइन । शिर झुकाएर, ढाड बांगो पारेर उठ्ने तथा बस्ने गर्नाले रक्तसंचार राम्रोसँग हुन पाउँदैन । टाउको झुकाएर बस्ने बानीले नकारात्मक, निराशा हुने खालका विचार आउने गर्छ । त्यसैले टाउको जहिले पनि सिधा राख्ने । बसेर उठ्दा झट्का दिएर हतारहतार नउठ्ने । बस्दा पनि शिरदेखि गर्धन र मेरुदण्ड सिधा खुकुलो हुनुपर्छ । मेचमा बस्दा उपरखुट्टी लगाएर बस्दा नशामा समस्या आउँछ । मेचमा बस्दा दुवै खुट्टा भुइँमा ढ्याप्प टेकाएर सिधा बस्नु पर्छ जसले रक्तसंचार राम्रोसँग हुन्छ । यसरी सधै मेरुदण्ड, गर्धन, टाउको सिधा खुकुलो राखेमा शरीरका सम्पूर्ण भागमा रक्तसंचार राम्रोसँग हुन्छ । मनमा आत्मबल बढाउँछ । बस्दा बज्रासन उपयुक्त छ । बज्रासनमा बस्दा ढाड, कम्मर, गर्धन सबै सिधा हुन्छ । त्यसैगरी पद्यमासन र सुखासनमा पनि बस्न सकिन्छ ।
हिँड्नेः प्रायः हिँड्दा, मोटरबाइक, गाडी चलाउँदा शिर झुकाएर, दायाँबायाँ ढल्किएर हिँड्ने चलाउने गरिन्छ । यसरी हिँड्दा, गाडी चलाउँदा मेरुदण्डमा दबाब परी नशा च्यापिने समस्या आउँछ । त्यसैले हिँड्दा, बाइक वा गाडी चलाउदा जहिले पनि टाउको, गर्धन, ढाड सिधा खुकुलो राखेर चलाउने ।
खाने र पिउने: हामीले खाने खानेकुरालाई आहार भनिन्छ भने खाने तरिकालाई विहार । हामीले खाना सही समय र सही तरिकाले खानु पर्छ । एक पटक खाएपछि अर्को खाना करिब ४–५ घन्टा अन्तरमा लिनुपर्छ । पानी प्रतिघन्टा एकएक गिलासका दरले पिउने । खाना जहिले पनि चपाएर खानु पर्छ । हाम्रो पाचन क्रियाको पहिलो विन्दु मुख र मुखमा रहेका दाँतको प्रयोजन खाना चपाउनु हो । जति खाना चपाईचपाई खान्छौ त्यतिकै ¥याल निस्कन्छ र पचाउन सजिलो हुन्छ ।
सुत्ने र उठ्ने: राम्रो सुताइले शरीरमा ऊर्जा मिल्छ । सामान्यतया मानिसलाई ८ घन्टा निद्रा जरुरी पर्छ । सुत्दा जहिले पनि ढाड सिधा राखेर सुत्नु पर्छ । कुचुक्क परेर बाङ्गो सुतेमा रक्तसंचारमा समस्या हुन्छ । त्यसैगरी सुत्दा ठूलो सिरानी राख्ने र लचकदार बिछयाउनामा सुत्ने गर्नु हुँदैन । यसले शरीरको संतुलन नमिलेर नशा च्यापिने समस्या आउँछ ।
पढ्ने र लेख्ने ः बालबालिका र विद्यार्थीले पढाइलेखाइ धेरै गर्नु पर्छ । पढ्दा र लेख्दा धेरै निहुरिएर, सुतेर पढ्ने गर्नु हुँदैन । सुतेर, निहुरिएर पढ्दा आँखामा बढी दबाब पर्ने हुन्छ । निहुरिँदा गर्धन र ढाडमा समस्या आउँछ । त्यसैले पढ्दा र लेख्दा ढाड तथा गर्धन सिधा खुकुलो हुनुपर्छ । किताब धेरै नजिक राखेर पढ्दा आँखालाई असर पर्छ । ठिक्क लेबलमा राखेर झुक्नु नपर्ने गरी टेबलमा राखेर पढ्ने ।
काम र आराम: हामीलाई हातखुट्टा काम गर्नलाई दिइएको हो । तर धेरै काम गरेर आराम काम भयो भने शरीरमा आलश्य आउँछ । धेरै आराम गरेर काम कम गरेमा पनि शरीरमा समस्या आउँछ । त्यसैले काम र आरामको अन्तर मिल्नु पर्छ ।
व्यायाम: व्यायामले शरिरलाई बलियो र लचिलो बनाउँछ । त्यसैले हरेक बिहान शरीरका सम्पूर्ण जोर्नीलाई लचिलो बनाउने व्यायाम गर्नुपर्छ । बालबालिकाले पनि मेरुदण्ड र शरीरलाई बलियो र लचिलो बनाउन योग व्यायाम अथवा मर्निङ वाक गर्नु पर्छ ।
व्यायाम बिहान खाली पेटमा गर्नु बेस । समय नमिलेमा बेलुकी गरे पनि हुन्छ । बेलुकीतिर गर्दा खाना वा खाजा खाएको ४ घन्टा, फलफूल खाएको २ देखि ३ घन्टा र पानी पिएको केही समयपछि व्यायाम गर्न सकिन्छ ।
शरीरका वेगहरूलाई रोक्दा पनि समस्या हुन्छ । हाच्छियूँ खोकी, दिसा, पिसाब, निद्रा, प्यास, हाई, डकार आदि वेग हुन् । यी वेगहरूलाई रोक्नु हुँदैन । भोकको वेगलाई पनि रोक्न मिल्दैन । तर अचेल शरीरको भोकभन्दा मनको भोकले खाने गर्छन्, खाना मिलाएर खाने ।
मेरुदण्डमा समस्या आउने कारण: कहिले अगाडि धेरै झुक्नु र कहिले पछाडि धेरै झुक्नु । हिँड्दा शिर झुकाएर हिँड्नु, बस्दा उपरखुट्टी लगाएर दायाँबायाँ झुकेर बस्नु, धेरैबेर एउटै पोजिसनमा बस्नु, ल्यापटप र मोबाइल चलाउँदा शिर निहुराएर चलाउनु, भारी सामान एक्कासी उठाउनु, भारी व्यायाम सकी नसकी गर्नु, बढी झुकेर काम गर्नु आदि ।
मेरुदण्ड शरीरको महत्वपूर्ण अंग हो । यसको लचकताले शरीरलाई बलियो बनाउँछ । त्यसैले मेरुदण्डको लचकता कायम राख्न, यसलाई बलियो राख्न हामीले निम्न कुरा ख्याल गर्नु पर्छ:
१. राति ठिक समयमा करिब १० बजे सुत्ने ।
२. बिहान सूर्य उदाउनुअघि करिब ५ बजे भित्र उठिसक्ने ।
३. उठ्नेबित्तिकै ३ देखि ४ गिलास मनतातो पानी पिउने । अनि मात्र शौचालय जाने ।
४. दिशा वा पिसाब रोक्ने बानी नगर्ने । दिसा/पिसाब लाग्नेबित्तिकै गर्ने ।
५. शरीरलाई बलियो र लचकदार बनाउन बिहान व्यायाम अथवा मर्निङ वाक गर्ने । बालबालिकाले गाह्रो र भारी खालका व्यायाम नगर्ने । शरीरका सबै जोर्नीलाई लचकदार बनाउन योगव्यायाम गर्ने ।
६. बिहान नुहाइधुवाइ तथा सरसफाइ गर्ने ।
७. ठिक समयमा खाने । खानामा हरिया सागसब्जी र मौसमअनुसारका फलफूल खाने ।
८. दिनभर प्रतिघन्टा १–१ गिलासका दरले पानी पिउने ।
९. धेरै नबोल्ने, सुन्ने काम धेरै गर्ने । जति बढी सुन्ने काम गर्छौ त्यति ज्ञान लिन सकिन्छ । अनुशासित भएर बोल्ने ।
१०.हिँड्दा, बस्दा, पढ्दा, सुत्दा सिधा खुकुलो बस्ने । धेरैबेर निहुरिएर नबस्ने । टेबुलवर्क गर्दा बीचबीचमा ५–१० मिनेट आराम गरेर ढाड सिधा राख्ने ।
११.हिल भएका जुत्ता नलगाउने । हिलले नशा, ढाड, गर्धन दुख्ने नशा च्यापिने हुन्छ । महिलामा पाठेघर र महिनावारीको समस्या हुने गर्छ ।
१२.हलुका लुगा लगाउने । कसिएको लुगाले रक्तसंचारमा समस्या आउँछ ।
१३.दिनमा सुत्ने बानी नगर्ने ।
१४ धेरै लचिलो बिछयाउना प्रयोग नगर्ने । सकेसम्म कडा र कम लचिलोमा सुत्ने । सिरानी कम राख्ने ।
१५. बढी चिन्ता, रिस, खुशी, दुख, तनाब हुँदा नखाने ।
१६. तातोबाट चिसोमा र चिसोबाट तातोमा झ्वाट्ट नगर्ने ।
भाइबहिनी हो ! जसरी हामीले खाएको खाना मिले नमिलेको शरीरमा देखिन्छ त्यस्तै गरी हामीले गरेको विहार ठिक, बेठिक देखिने पनि शरीरमै हो । हाम्रो शरीर नै सबैभन्दा ठूलो प्रयोगशाला हो । आफूलाई मन लागेर बढी गर्ने र मन नलागेर कम गर्ने गर्नु हुँदैन । मन लागेर एउटै विहार धेरै गरेमा समस्या आउँछ भने गर्नुपर्ने विहार मन नलागेर नगरेमा अप्ठेरो हुन्छ ।
त्यसैले हामीले शरीर हल्लाएर गर्ने सबै काम गर्दा टाउको, गर्धन नझुकाई मेरुदण्डलाई सिधा खुकुलो राखेर गरेमा ढाड तथा नशा सम्बन्धी समस्याबाट मुक्त हुन सकिन्छ । हरेक काम गर्दा अनुशासित र सचेत भएर गरौं । शरीरलाई मापदण्ड बनाएर सबै काम गरौं । निरोगी बनौं ।
(महर्जन प्रकृतिप्रेमि समूहसँग आबद्ध छिन् ।)
प्रकाशित: १४ वैशाख २०७६ ०२:५० शनिबार