९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’

चित्रबहादुर केसी, नेता

तपाईंको विचारमा सहर भनेको के हो?
सहर भन्नेबित्तिकै जनसंख्या बढी बस्ने ठाउँ हो भन्ने बुझिन्छ। सहर उद्योगधन्दा र व्यापार गर्ने ठाउँ हो। कतै राजधानी पनि पर्छ, कतै कलकारखाना पनि पर्छन्। योसँगै सहरभित्र विभिन्न खाले विकृति र विसंगतीका अखडा पनि हुन्छन्। धेरै खालका विकृति त्यहीँ थुप्रन्छन्। त्यसो हुनाले सहरको परिभाषा दिन गाह्रो पनि छ। अत्यन्त ठूला विद्यान, पढेलेखेका मानिस, सञ्चारमाध्यम र देश चलाउनेहरूको बसाई पनि सहरमै हुन्छ। देशी–विदेशीहरू, जो हाम्रो देशमाथि विभिन्न जालझेल गर्ने, षड्यन्त्र गर्ने र प्रपञ्च रच्नेहरू पनि सहरमै हुन्छन्। यी सबै पक्षलाई समीक्षा गर्दा सबै प्रकारको बसाइँ भएको मिश्रित ठाउँलाई सहर मान्न सकिन्छ।

घुमेकामध्ये सबैभन्दा मनपर्ने सहर?
मेरो लागि नेपालकै काठमाडौं राम्रो ठाउँ हो। यो ठाउँलाई मैले वाल्यावस्थाबाट नै चिन्ने मौका पाएँ। काठमाडौं हाम्रो इतिहास हो। मौलिकता हो। यहाँ नेपाली समाजको खाँटी संस्कृति लुकेको छ। हामीले हाम्रो पहिचान यस्तो–उस्तो भनेर चिनाउन सकिने ठाउँ पनि यहीँ काठमाडौं नै हो। जान त म धेरै देशका सहर पुगेको छु। तर, यही बसियो, यही धेरै कुरा सिकियो, योजना बनाइयो। त्यसकारण काठमाडौं नै मनपर्छ।

विदेशी मुलुकसँग तुलना गर्दा हामी के कुरामा भिन्न रहेछौं?
यहाँका विभिन्न समयका कला कौशल नै हुन्। हामीले विदेशीलाई फरक छौं भनेर चिनाउन सक्ने मुख्य धरोहर यहाँका संस्कृति नै हुन् भन्ने मलाई लाग्छ। यहाँको सांस्कृतिक संरक्षणले हाम्रो सान उचो बनाइरहेका छन्। तर, ती संस्कृति पनि अहिले भत्कने अवस्थामा छन्। सरकारी निकाय तिनको संरक्षणको लागि जिम्मेवार देखिन्न। यसलाई सुरक्षा दिन पनि सरकारले सकेको छैन।

बितेका २०/३० वर्षको अवधिमा काठमाडौंमा कंक्रिटे जंगल भरिए, यहाँका हराभरा खाली ठाउँ खण्डीकरण भए, यसलाई नियाल्दा कस्तो लाग्छ?
काठमाडौं असाध्यै बिग्रिएको छ। देशका विभिन्न ठाउँमा उद्योग र कलकारखाना खुलेनन्। मानिसलाई सुख सुविधा दिने ठाउँ पनि उपत्यकाबाहिर भएनन्। त्यसो हुनाले अधिराज्यभरी अलिकति ‘औकात’ भएका मानिस सहर पसे। चारैतिरबाट यही थुप्रिए सबै मानिस। म आफूलाई पनि के अनुभव छ भने आजभन्दा ३०/४० वर्षपहिले पार्टीले काठमाडौंमा खटाउँदा ‘हाड’ हास्थे। काठमाडौं जान पाएँ भन्ने लाग्थ्यो। यहाँ आएर रायोको साग पकाएर खाँदा अरु तरकारीप्रति त्यति ध्यान जान्नथ्यो।

सहरको सबैभन्दा मिठो लागेको खानेकुरा के हो?
सहर पसेपछि मलाई अत्यन्तै रुचिकर लागेको खानेकुरा रायोको साग नै हो। अरु तरकारीमा ध्यानै जान्थ्यो। मैले ४०/५० वर्षपहिले काठमाडौंमा छिरेर खाएको साग अहिले पनि बिर्सन्नँ। पकाएर ताप्केमा राखेपछि पहिले नै बसाउँथ्यो त्यो साग। अहिलेजस्तो विषादी हाल्ने चलन थिएन। यहाँको मलिलो माटोमा उम्रिएको रायो सागलाई मैले सधैँ ‘मिस’ गरिरहन्छु। अहिले त्यो रायो साग भान्छामा पकाएका छन् भने भान्छामा जान मनै लाग्दैन।

बीउ रैथाने र मलिलो माटोले हरेक खेतीपाती अर्गानिक हुन्थ्यो। अहिले जता गयो, विषादी मात्रै पाइन्छ। तरकारीमा विषादी मिसिएजस्तै हरेक कुरामा विकृति मिसिएको छ। सहर विकृतिको अखडा बनिसकेको छ।

तपाईं २०१५/०१६ सालदेखि नै काठमाडौंमा बस्दै आइरहनुभएको छ, हेर्दाहेर्दै काठमाडौं कसरी रूपान्तरण भयो?
नेपालको आफ्नो मौलिकता हरायो। अहिले काठमाडौं मात्रै बिग्रेको छ भन्न मिल्दैन। किनकि पहाड पनि बिग्रिएको छ। लहलह धान झुल्ने खेत बाझिएका छन्। राम्रो मानिने खेती कोदो, मकै, फापर जस्ता अन्नबाली उत्पादन हुने बारीमा झार उम्रिएका छन्।

त्यतिखेरको गाउँले र सहरीया जीवनशैली र खानपान कस्तो किसिमको थियो?
मेरो गाउँमा हरेकले ‘लैना’ भैसी पालेका हुन्थे। त्यहाँ दुधको छेलोखेला हुन्थ्यो। काठमाडौंमा चैत वैशाखमा गए पनि सबै भएर वनभोज खाउँ भनेर कुरा चल्थ्यो। चैतमा खिर खानुपर्छ भनेर सबैले भन्थे। खिर खानको लागि एक दिनमा १० पाथी दुध जम्मा गर्न लगाइन्थ्यो। कतिपयले खिर खाने भए सस्तैमा दुध बेच्छौं भन्थे। त्यतिखेर गाउँमा जाँदा त्यस्तो थियो। त्यसरी खिर खाइन्थ्यो। अहिले काठमाडौँबाट एक–दुई दिनका लागि घर जाँदा चिया पकाउनका लागि पनि दुध छैन। २५ घर डुल्दा मुस्किलले ४ भैसी भेटाएँ। म सक्रिय राजनीतिमा लागेपछि पनि पहिलै गाई–भैँसी पालेको हुन्थे। मेरै पार्टीको महामन्त्री मोहनविक्रम सिंह जाँदा मैले दुध–महि खुवाउथेँ। चार–पाँच दिन उहाँ त्यहीँ बस्नुहुन्थ्यो। त्यतिखेर उहाँले के सोच्नुभएछ भने यत्रो जहान परिवारलाई बिहानै– बेलुकी दही खान कसरी पुगेको होला? खासमा त्यो दही थिएन। त्यो मही थियो। उहाँ जादाखेरी ५ भैँसी ‘लैना’ र दुई ‘बकेर्ना’ थिए। यो कुरा २०२७ सालतिरको हो। २०२८ सालको साउनका ‘खुबिराम’जीकोमा पार्टीको बैठक थियो। मोहनविक्रम पनि मसँगै हुनुहुन्थ्यो। ‘खुबिराम’जीमा पुगेपछि मही खाने होइन भनेर सोध्नुभयो। महामन्त्रीज्यूले कस्तो मही छ र भनेर सोध्नुभयो। आजै पारेको तिख्खर छ भनेर खुबिरामजीको श्रीमतीले सुनाउनुभयो। त्यसपछि मही खायौँ। त्यो मही पातलो थियो। त्यसपछि महामन्त्रीले मेरो घरमा खाएको बाक्लो मोहीको कुरा निकाल्नुभयो। त्यसकारण त्यतिखेरको गाउँले परिकार निकै शुद्ध थियो। ढुक्कले खान सकिन्थ्यो। जता गए पनि लोकल खानेकुरा पाइन्थ्यो।

तपाईंको विचारमा कसरी बदलियो पुरानो जीवनशैली?
पहिले अन्न फल्ने खेतबारीमा अहिले सिस्नोघारी छ। खेतबारी धेरैजसो बाझो भइसकेका छन्। अब हिमालमा पहाडमा जहाँ पनि तीन महिना खुर्सानी हुन्छ। अहिलेको स्थितिमा हेर्दा हामी एउटा खुर्सानीको ढेडीमा पनि आत्मनिर्भर हुन सकेका छैनौं। अरु तिउन तरकारी र फलफूलका कुरा त छाडौं। म सानो हुँदा ६०/६५ वटा बाख्रा खेदेर वन जान्थेँ। हामीले घरै पालेका खसीबोका काटेर ताउलोमा पकाएर खान्थ्यौं। अहिले ती सबै पुराना कुरा सम्झनामा मात्रै सीमित भए। समय फेरिँदै जाँदा र त्यसमा हामीले चासो नदिँदा राजधानी मात्रै बिग्रिएर गाउँ–गाउँ पनि बिग्रिएका छन्। नयाँ पिढीभरी विदेशतिर भाग्यो। गाउँघर सुनसान छ। महिला मलामी जाने चलन थिएन। अहिले गाउँमा मान्छे नभएपछि महिला मलामी जाने गरेको देखिन्छ। मेरा समकालीन पनि गाउँमा छैनन्। बोल्ने मान्छे छैनन्। युवा विदेश जाने प्रचलनले देशै उजाड भएको महसुस मैले गरेको छु। अघिकांश गाउँले र सहरीयाका छोरा–नाति कोही बेलायत छन्, कोही अमेरिका छन्। पहिले त्यस्तो भोगेको मान्छेलाई अहिलेको यस्तो अवस्थासँग जुध्दा निकै विरक्त लागिरहेको छ, जहाँ जान्छु मैले राम्रो देख्दिनँ। सानोमा जस्तो काठमाडौं सहर भोग गरेको थिएँ, अहिले त्यो काठमाडौं सम्झने मात्रै गर्छु।

तपाई २०२७/२८ सालअघि नै केन्द्रीय राजनीतिसँग घुलमिल हुनुभयो, त्यतिखेर सहरलाई बनाउन योजना त पक्कै थिए होलान्, यत्तिको भद्रगोल र अव्यवस्थित सहर हुँदा पनि तपाईहरुले किन नियन्त्रण गर्न सक्नु भएन?
यहाँको उर्वर खेतीपाती हुने ठाउँ अहिले सिमेन्टले भरिएको छ। म अहिले बस्दै आएको घरमा २० वर्षअघि डेरा सरेको थिएँ। त्यतिखेर म हाल बसिरहेको घरको वरिपरि कुनै पनि घर थिएनन्। खेतको आलीबाट आउनीजानी गर्थेँ। अहिले पूरै खानी ठाउँ भनवले ढाकेको छ। म राजनीतिमा लागेपछि पनि यो सहरलाई बिग्रन दिनु हुन्न भनेर बेलाबेला वकालत गरिहेको हुन्थेँ। म सुरुसुरुमा काठमाडौं बस्दा बुद्धनगर पूरै फाँट थियो। यति राम्रो धान र अन्य अन्नवाली हुने ठाउँमा घरैघर बने। अहिले घट्टेकुलो भनिने ठाउँमा पहिले पानीघट्ट थिए। त्यही पानीले यस क्षेत्रमा खेतीपाती गरिन्थ्यो।

यही गतिले अघि बढिरहने हो भने काठमाडौंको भविष्य कस्तो होला?
भविष्य धराप छ। प्रदूषण र धुलोले पूरै सहर बिगारेको छ। मानव स्वास्थ्यमा ठूलै असर पारेको छ। यसलाई नियन्त्रण गर्न थालिएन भने भयावह हुन सक्छ। यद्यपि उपत्यका बाहिर भने केही व्यवस्थित लाग्छ। अहिले हामीले छोराछोरी बेचेर संघीयता चलाइरहेका छौं। युवाशक्ति विदेशीलाई दिने। उनीहरूले पैसा पठाउँछन्। यहाँ कार चढेर हिँड्छन्। राजनीति गर्छन्। अहिले स्थानीय तहमा झन् विकृति छ। आफ्ना सुविधा खोजी खोजी उपभोग गर्ने जनप्रतिनिधिले सिन्को पनि भाचेका छैनन्।

विकास गर्दैगर्दा वा राजनीतिक परिवर्तनको लागि लड्दैगर्दा हामी कहाँनेर चुक्यौं?
शक्तिको विकेन्द्रीकरण भएन। राज्यका सबै शासन केन्द्रमै सीमित रहे। सबै अधिकार सिंहदरबारमै रह्यो। लोकतन्त्र आइसकेपछि पनि त्यो अधिकार बाँडिएन। औषधी उपचार गर्न वा अन्य अत्यावश्यक काम गर्नका लागि अहिले पनि काठमाडौंमै आउनुपर्ने बाध्यता छ। अहिले पनि अवस्था उस्तै छ। तीन तहको सरकार बने पनि तल्लो तहमा विकास भएन।

काठमाडौंभन्दा बाहिरलाई कसैले पनि विकास हुनुपर्छ भनेर आवाज उठाएनन्। पैसा छुट्याएनन्। सन्तुलित विकास भएको हुन्थ्यो भने मानिस काठमाडौंमा थुप्रने थिएन। सबैतिरबाट मानिस यही ओइरिएपछि काठमाडौंले थेग्नै नसक्ने भयो। अर्को कुरा, विदेशी पनि यही आएर जमेर बसे। वन साङ्लोले घर साङ्लो खाने डर भइसकेको छ। त्यसकारण त्यति स्वर्ग जस्तो काठमाडौं उराठलाग्दो भयो।

तपाईं कति सालमा पहिलोपटक काठमाडौं छिर्नुभएको थियो?
म २०१४ सालमा काठमाडौं छिरेको थिएँ। त्यतिखेर काठमाडौंका छिर्दाको माहोल बेग्लै थियो। हरेक कुरा सस्तो थियो। पाँच रूपैयाँमा फ्ल्याट भाडामा लिएर बसेका घरबेटीसँग अहिले पनि भेट हुन्छ। अहिलेजस्तो हजारौं गाडीको लाइन हुन्नथ्यो। धुलोधुवाँ केही थिएन। त्यतिखेर बाटोमा कार देख्दा उभिएर हेर्थेँ। मालवहाक ट्रक र कार गुडेका हुन्थे। बाटो पूरै रित्तै हुन्थ्यो। म नक्साल बस्थे डेरामा। दक्षिणकाली र भक्तपुर सुर्यविनायकसम्म हिँडेर घुम्न गइन्थ्यो। अहिले काठमाडौंमा चाहिलेभन्दा बढी गाडी भित्रिए। मानिसको चाप पनि उत्तिकै मात्रामा बढ्यो।

काठमाडौं सपना के थियो ?
त्यस्तो कुनै सपना बोकेर आएको थिइनँ। घरबाट बाग्लुङ सदरमुकाम नुन बोक्न आएको थिएँ। त्यहाँबाट पोखरा आउने एउटा काम परेको थियो, भारतीय लाहुरेमा भर्तीका लागि शरीर नाप्न। त्यहाँबाट नापजाँच गरेर सबै फिट भयो। मेरो १७ वर्षको सपना पनि त्यही लाहुरे थियो। म एक नम्बरमा थिएँ, भाई दुई नम्बरमा थियो। तर, जिन्दगी अर्कैतिर मोडियो। त्यहाँबाट फर्केर जानभन्दा काठमाडोैं आएर तुरुन्त फर्केर जाउँ भन्ने लाग्यो। काठमाडौं आएपछि भर्ती हुने कुरा हरायो। म यही बसेर पढ्न थालेँ। सुरुमा दुई–चार महिना काठमाडौंमा भाडा पनि माझेँ।

काठमाडौंको राम्रो लाग्ने पक्ष के हो?
यस्तो गर्मी दिनमा त यति शितल हुन्छ। फागुनदेखि असोजसम्म यहाँको मौसम निकै आनन्द लाग्छ।
 

प्रकाशित: १३ वैशाख २०७६ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App