संस्कृति जोगाउन र मनोकांक्षा पूरा होस् भन्ने कामनासहित भक्तपुरका एक युवाले आइतबार शरीरमाथि १०८ दियो बालेका छन्। बिस्काः जात्राको अवसरमा सूर्यविनायक नगरपालिका–१ पकाण्डोलका रोहित श्रेष्ठको शरीरमाथि डेढ घन्टासम्म दियो बालिएको हो।
त्यसअघि उनले घरदेखि तीर्थस्थलसम्म घस्रिँदै बाटो नापेका थिए। यसरी बाटो नापेर दियो जलाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। घरबाट बिहान २ः१५ बजे सहयोगीसँगै बाटो नाप्न निस्केका थिए उनी। सेतो वस्त्रमा सजिएर घस्रिँदैघसिँ्रदै बाटो नापे उनले।
त्यसक्रममा उनका फुपूले ठाउँठाउँमा दियो बाले। ती दियोलाई ढोग्दैढोग्दै घस्रेर चरखण्डी पुग्न साढे दुई घन्टा लाग्यो उनलाई। जबकी फटाफट हिँड्दा उनको घरबाट ७ मिनेटमा त्यहाँ पुगिन्छ। चरखण्डीमा पुगेपछि सुकुलमाथि उत्तानो परेर सुते उनी। सिरक ओढे। त्यसमाथि प्लास्टिक राखियो। प्लास्टिकमाथि बाक्लो पारेर गाईको गोबर राखियो। र, त्यही गोबरमाथि फुपूहरूले दियो बालिदिए।
नचलमलाई लगातार डेढ घन्टासम्म उत्तानो परिरहे उनी। ‘करिब चार वर्षअघिदेखि जिउमा बत्ती बाल्ने धोको थियो। बल्ल आज पूरा भयो,’ दियो बाल्ने काम सकेर घरमा आराम गरिरहेका रोहितले भने, ‘इच्छाशक्ति भएपछि खासै गाह्रो हुँदो रहेनछ।’
ग्राभेल सडकमा बाटो नाप्दा दुःख त भयो नै। त्यसमाथि सहयोगीबिना खुट्किलामा ओर्लन मिल्दैन। बाटो नाप्न सुरु गरेसँगै हावाहुरी र पानी परेकाले पनि धेरै समय लागेको उनले बताए। रोहित १९ वर्षका भए। उनी श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्स, ठिमीमा फार्मेसी विषय पढिरहेका छन्। विगतमा उनका पिता हरिलालले पनि २०६० सालमा यसैगरी बाटो नापेर दियो जलाएका थिए। त्यसको प्रभाव उनमा परेको थियो।
पकाण्डोलका १९ वर्षीय रोहित श्रेष्ठले डेढ घन्टासम्म आफ्नो शरीरमा १०८ दियो जलाएका छन्।
सजिलो छैन यो काम। मध्य रात साढे १२ बजे उठेर चरखण्डी गई नुहाएर घर फर्केपछि पूजा गरेर बाटो नाप्ने काम सुरु हुन्छ। बोल्न पाइँदैन, इशारा गर्नु पर्छ। बाटो नापेर, शरीरमा बत्ती बाली सकेपछि मात्रै बोल्न पाइन्छ। रोहित पनि नुहाएर र गणेशको पूजा पछि बोलेका थिए। त्यसपछि गुठियारलाई समयबजि खुवाइएको थियो।
यसरी दधिकोट क्षेत्रमा बिस्काः जात्राको रौनक सुरु भएको छ। यहाँ जात्रा मनाउन थालेको एक सय पन्ध्र वर्ष भयो। नेवार समुदायले मनाउने बिस्काः मा अरु समुदाय पनि सहभागी हुन्छन्।
घरदेखि चरखण्डीसम्म बाटो नापेर आफ्नो जिउमा दियो बाल्ने हाम्रो संस्कृति हो। बुढापाकाका अनुसार यस्तो काम गरेमा मनोकामना पूरा हुने तथा अर्को जुनीमा गड्यौला भएर जन्मनु नपर्ने विश्वास छ। त्यसैले नेवारी संस्कृति जोगाउन र इच्छा पूरा होस् भनेर दियो बालेको हुँ। यसबाट आत्मसन्तुष्टि मिलेको छ।
-रोहित श्रेष्ठ
आइतबार बिहानैदेखि चरखण्डीमा मानन्धर र श्रेष्ठ समुदायका दुइटा रथ राखिएको छ। दुवै रथमा कुमारी, गणेश र भैरवका मूर्ति छन्। तीर्थालु त्यहाँ नुहाएर देवदेवीको दर्शन गरिरहेका छन्। वैशाख २ गते दुवै रथ गाउँमा डुलाइन्छ। दधिकोटमा बिस्काः जात्रा १९६१ वैशाख १ देखि मनाउन थालिएको इतिहास छ। थिमीबाट आएका नेवारले पकाण्डोलमा स्थायी रूपमा बसोबास थालेपछि जात्रा मनाउन सुरु भएको थियो।
प्रकाशित: २ वैशाख २०७६ ०६:१९ सोमबार