मोहनलाल चौधरी
अध्यक्ष, पर्या–पर्यटन विकास मञ्च, बर्दिया
बर्दिया भ्रमण वर्ष किन?
हामीले एउटा नारा स्थापित गरेका छौं, ‘देशको शान, अन्तराष्ट्रिय पहिचान’। सन् २०२२ सम्म संसारमा बाघको संख्या दोब्बर गर्ने अभियान चलाइएको छ। हाम्रो सन्दर्भमा सन् २०१३ देखि सन् २०१८ मा आइपुग्दा बर्दियामा बाघको संख्या दोब्बर भइसक्यो। अहिले बर्दियामा ८७ वटा बयस्क बाघ छन्।
विदेशी पाहुनाबीच बाघ देखिने निकुञ्जका रुपमा बर्दिया चर्चित छ। यही कुरा हाम्रा आन्तरिक पाहुनामाझ पु-याउन ०७६ साललाई बर्दिया भ्रमण वर्षका रुपमा मनाउन लागेका हौं। हामी प्रमुख शहरहरु नेपालगन्ज, धनगढी, काठमाडौं, पोखरा, वुटवल सुर्खेत पुगेर निम्तो बाँड्छौं।
भ्रमण वर्षमा पर्यटकले के कस्ता सुविधा पाउनेछन्?
‘बाघ हेर्न बर्दिया जाऔं’ भन्ने नाराका साथ भ्रमण वर्ष मनाउँछौं। भ्रमण वर्षमा बर्दिया घुम्नेहरुका लागि खाना र बासमा छुट दिन्छौं। अन्य कार्यक्रम पनि सञ्चालन गर्नेछौं।
निकुञ्ज बाहेकका गन्तव्यले पनि भ्रमण वर्षबाट फाइदा लिन सक्छन्?
बर्दिया राष्ट्रिय निकुञ्ज मात्र होइन, सिंगो जिल्लालाई फाइदा पुग्ने छ। निकुञ्जसँग अन्य गन्तव्यहरु केदारेश्वरधाम, सत्खलुवा होमस्टे, डल्ला होमस्टे, कृष्णसार संरक्षित क्षेत्र, बढैया ताल, जनकनगर होमस्टे, राजापुर क्षेत्र लगायतको पनि हामी प्रचार गर्नेछौं। पर्यटकीय संभावना बोकेका अन्य ठाउँ समेत उजागर गर्नेछौं।
‘बाघ हेर्न बर्दिया जाऔं’ भन्ने नाराका साथ हामी बर्दिया भ्रमण वर्ष मनाउँदै छौं।
तयारी कस्तो हुँदैछ?
मुलतः प्रचारात्मक अभियानमा जुट्दै छौं। भ्रमण वर्षको मूल नेतृत्व जिल्ला समन्वय समितिले गर्छ। प्राविधिक सहयोग हामी गर्ने छौं। चाँडै नै हामी प्रमुख सहरहरुमा यहाँको सबै पर्यटन आकर्षण झल्कने गरि कार -याली गर्ने छौं। आइटिवी बर्लिनमा बर्दियाले एशिया प्यासिफिकको पहिलो नम्बरमा इको टुरिजम गन्तव्यको सम्मान पाएको छ। त्यस्तै पर्यटक गाइड बुक लोन्ली प्लानेटले प्राकृतिक रुपमा बाघ हेर्ने उत्कृष्ट गन्तव्यका रुपमा घोषणा गरेको छ। यो सञ्देश पनि बाँड्दै हिँड्ने छौं हामी।
बर्दियामा पर्यटक आवागमनको अबस्था के छ?
बर्दिया अतुलनिय सम्पदा हो तर सोचेजति पर्यटक आएका छैनन्। गत वर्ष करिब ६ हजार विदेशी र ३० हजार भन्दा बढी नेपालीले निकुञ्ज घुमेको देखिन्छ। योसंख्या बढाउनु पर्छ। हाम्रो भ्रमण वर्षले त्यसमा टेवा पु-याउने छ।
निकुञ्जमा केके गतिविधि गर्न सकिन्छ?
निकुञ्जमा जंगल सफारी, जिप सफारी, जंगल वाक, बर्ड वाचिङ, राफ्टिङ, फिसिङ, क्याम्पिङ, गोही प्रजनन केन्द्र भ्रमण, होमस्टेको अनुभव, थारु संग्रहालय घुमफिर लगायतका काम गर्न सकिन्छ।
निकुञ्ज घुम्न कति समय र खर्च चाहिन्छ?
सबै गतिविधि गर्न न्यूनतम रात चार दिनको समय चाहिन्छ। महँगो पनि छैन, १२ हजार रुपैयाँ भयो भने एक जना नेपालीले सबै गतिविधिमा सहभागी हुन सक्छन्। त्यसका लागि एक्लै होइन, ८–१० जनाको समूहमा आउनु पर्छ।
खाना र बासको सुविधा के छ?
पहिला निकुञ्ज छिर्न ठाकुरद्वारा नाका मात्र थियो। त्यसैले यसकै वरपर २६ वटा होटल तथा रिसोर्ट छन्। आधा दर्जन निजि होमस्टे छ। डल्लामा सामुदायिक होमस्ट छ। थप नाका खुलेसँगै भुरीगाउँ र अम्रेनीमा होटल थपिएका छन्। चेपाङ नाकामा पनि होटल खुल्दै छ। बञ्जरिया नाकामा जनकनगर सामुदायिक होमस्टे, र मनाउ गाउँमा निजि होमस्टे सञ्चालनमा छन्। त्यसैगरि रम्भापुर नाका नजिकै सत्खलुवा होमस्टे छ। खैरापुरमा यादव होमस्टे छ भने बाँसगढीमा पनि होमस्टे छन्। आजको दिनमा ठाकुरद्वारामा मात्र पाँच सय पचास बेड छ।
आकर्षक गन्तव्य हुँदाहुँदै पनि किन पर्यटक बढ्न सकेनन्?
जहाँ यसका ग्राहक छन्, त्यो ठाउँमा प्रस्ट सूचनासहित प्रचारको अभाव, आरामदायी सडक यातायात व्यवस्थाको अभाव, ठाकुरद्वारालाई राजमार्गसँग जोड्ने १३ किमि बीचको ओराही खोलामा पुल नहुनु मुख्य समस्या हुन्। त्यस्तै विदेशी पर्यटकसँग महँगो हवाई भाडा लिइने प्रबृत्ती पनि ठूलो समस्या हो।
यहाँ इन्टरनेट सुविधा त छ तर फास्ट छैन। अर्को कुरा पर्यटकीय गन्तव्य पोखरा र नेपालगञ्जबीच पनि हवाई यातायात सञ्चालन हुनु पर्छ। तपाइँको संस्था के गर्दै छ?
बर्दियालाई इको टुरिजम गन्तव्यका रुपमा सधैं चम्काई राख्ने अभियानमा हामी जुटेका छौं। हामी मर्यादित पर्यटनको अभ्यास गरिरहने छौं। दिगो संरक्षण नै हाम्रो लक्ष्य हो। त्यसमै हामी निरन्तर लाग्ने छौं। हामीले पर्यटन सम्बन्धी तालिम, पिडितलाई राहत वितरण आदि काम गरिरहेका छौं।
प्रकाशित: १ वैशाख २०७६ ०७:१२ आइतबार