४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

धनी मानिस र गरिब मानिस

अस्मिता चौहान, कक्षा– ४
श्री मावि हर्रेचिन्डे, मन्थली नगरपालिका–१३, रामेछाप

एउटा गाउँमा धनी मानिस र गरिब मानिस बस्थे । धनी मानिस आफ्नी आमालाई हेला गथ्र्यो । तर गरिब मानिस आमालाई माया गथ्र्यो । एक दिन धनी मानिसले आमालाई धेरै गाली गर्‍यो । खान खान पनि दिएन । यो कुरा गरिब किसानले देख्यो । उसले धनी मानिसलाई भन्यो, ‘ए दाइ, आफूलाई जन्म दिने आमालाई किन यसरी हेला गर्नुभएको ? आमाले नै तपाईंलाई हुर्काउनुभयो, बढाउनुभयो र ठूलो मानिस बनाउनुभयो । यसरी आमालाई हेला गर्दा तपाईंलाई धेरै पाप लाग्छ ।’
धनी मानिसले भन्यो, ‘मैले जे गरे पनि तिमीलाई के मतलव ? खुरुक्क घरभित्र गएर बस ।’ गरिब मानिस केही नभनी घरभित्र पस्यो । गरिब किसान आमालाई गाह्रो काम गर्न दिँदैनथ्यो । गरिब भए पनि छोराले धेरै माया गरेकोले आमा एकदमै खुसी थिइन् ।
धनीले आमालाई नुहाउन पनि दिँदैनथ्यो । त्यसैले आमा फोहोरी थिइन् । रोगी थिइन् । सकीनसकी उनी घरायसी काम गर्थिन् । तर छोराले आमालाई काम गरेको जस दिँदैनथ्यो । आमा फोहोरी र रोगी भइन् भनेर धनी मानिसले उनलाई झुक्याएर वृद्ध आश्रममा लग्यो । हिँड्ने बेलामा आमालाई भन्यो, ‘आमा, तपाई यहाँ बस्दै गर्नुस् । म तपाईंलाई मिठामिठा खानेकुरा लिएर आउँछु ।’ छोराले मिठामिठा खानेकुरा ल्याउला भनेर आमा बाटो हेरेर बसिन् तर छोरा आउँदै आएन । ऊ घरमा गैसकेको थियो ।
आमालाई वृद्ध आश्रममा लगेर राखेपछि ऊ त्यहाँ भेट्न गएन । भातभान्साको धेरै काम गर्न गाह्रो भएपछि धनी मानिसकी श्रीमतीले घर छाडेर हिँडी । धनी मानिस एक्लै भयो । उसलाई निकै गाह्रो भयो । यतिबेला उसले आमालाई सम्झियो । ऊ वृद्ध आश्रममा गयो । आमालाई अँगालो मादै भन्यो, ‘आमा, हिँड्नुस् घर । म तपाईंलाई लिन आएको छु । मलाई माफ गर्नुस् है आमा !’
धनी मानिसले आमालाई घर लिएर आयो । एक दिन गरिब मानिस धनी मानिसको घर गएको थियो । धनी मानिसकी आमालाई घरमै देखेर उसले भन्यो, ‘आमालाई किन ल्याएको तिमीले ? आमा नहुँदा तिमीलाई आनन्द भएको थियो, हैन ?’ धनी मानिसले भन्यो, ‘हैन भाइ, अब म आमालाई कहिल्यै हेला गर्दिनँ । तिमीले जस्तै माया गरेर राख्छु ।’ धनी मानिसको बुद्धि फर्केको देखेर गरिब मानिस पनि खुसी भयो ।

प्रकाशित: ३० चैत्र २०७५ ०४:३७ शनिबार

धनी_मानिस_र_गरिब_मानिस आमा