७ वैशाख २०८१ शुक्रबार
अन्य

लामकुन्ड मुहानको पानी मिलोमतोमा बिक्री

लामकुण्ड मुहानबाट पानी निकासा गर्न पोखरीबाहिर लगिएको पाइप ।तस्बिर : श्याम राई

गोदावरी नगरपालिका वडा २ स्थित लामकुन्ड मुहानको पानी देवपानी सप्लाएर्सले अबैध रूपमा पानी विक्रीवितरण गरेको पाइएको छ। सरकारी निकायका उच्च पदाधिकारी र पहुँचवालाको मिलेमतोमा लामकुण्ड मुहानको पानी बिक्री वितरण गरेको हो। 

सरकारी निकायका उच्च पदाधिकारीको मिलेमतोमा अबैध रूपले पानी ओसारपसार भइरहेको एक स्थानीयले बताए। ‘पानी मात्रै अर्डर गर्नु, सरकारी पहुँचवालासँग कुरा मिलाएर भए पनि भनेको ठाउँमा पानी पु-याउँछ,’ उनले भने, ‘अहिले दैनिक करिब २० ट्यांकर पानी ओसारपसार हुन्छ। अबैध पानी निकासालाई रोक्नमा सरोकारवाला निकाय आँखा चिम्लेर बसेका छन्।’ उनका अनुसार पानी अर्डर गरे लगनखेल, सातदोबाटो, ग्वार्को, इमाडोल लगायत ठाउँमा पानी पुग्छ। लामकुण्डको मुहानमा सिधै पाइप हालेर पोखरी बाहिरबाट पाइप निकाली ट्यांकरमा पानी भरिन्छ। त्यसपछि पानी ओसारपसार हुन्छ। स्वच्छ पानी भन्दै फिल्टर नगरी धमिलो पानी वितरण गर्छन्। बाहिर पानी निकासा गर्दा सोचेजस्तो पानी उपयोग गर्न नपाएको स्थानीय बताउँछन्। 

गत मंगलबार नागरिककर्मी उक्त ठाउँमा पुग्दा ट्यांकर ओहोरदोहोर गरिरहेको देखिन्थ्यो। देवपानी सप्लार्एसका प्रबन्धक देवेन्द्र सिलवालले लामकुण्डको नभई गौरीकुण्डको पानी विक्रीवितरण गरेको भनी ढाटे। ‘लामकुण्डको पानी चिशंखु, किटिनी ठाउँमा लगेको छ। मैले गौरी कुण्डको पानी विक्रीवितरण गर्छु,’ उनले भने। भिजिटिङ कार्डमा देव खानेपानी सेवा लेखिएको छ। तर, सिलवालले देवपानी सप्लाएर्स नाम भने ‘लामकुण्ड गोदावरी मुहानको शुद्ध पानी आफ्नै गाडीबाट ढुवानी तथा विक्री वितरण गरिन्छ’  कार्डमा उल्लेख छ। 

वडा २ का अध्यक्ष देवकुमार बस्नेतले वडामा स्वीकृति नलिई अबैध रूपले लामकुण्डकै पानी ओसारपोसार भइरहेको बताए। ‘हाम्रो वडामा कुनै स्वीकृति लिएको छैन नगरपालिकाले कर उठाएको मात्रै हो,’ उनले नागरिकसँग भने, ‘बैधानिक रूपमा पानी बिक्री गर्न दिएका छैनौँ। मुहानबाट पाइप हाली पानी बिक्री गर्नु अबैध हो। सिलवालले गौरीकुण्डको पानी भनेर ढाट्योे त्यो पानी लामकुण्डकै पानी ओसारपसार गरेको हो।’ उनका अनुसार पानीको मुहानबाट सिधै पाइप हालेर बिक्री गर्न पाइँदैन। तर, उनले त्यसरी नै बिक्री गरिरहेका छन्। त्यहाँ कुण्ड पोखरी छ। त्यहाँबाट पनि अरु ठाउँमा पानी वितरण गरिएको छ।  पानी वितरण रोक्न पहल गर्दे आएको उनले बताए। ‘पानी बिक्री वितरण रोक्न कुरा उठाएको छु,’ उनले भने, ‘यसमा तपाईंहरूले पनि सहयोग गर्नु पर्छ।’ उनका अनुसार अबैध रूपले त्यहाँबाट पानी निकासा गर्दा त्यहाँका करिब ११ सय घरपरिवारलाई सिचाई खेती गर्नमा खडेरीको समयमा अवरोध भएको छ।  

 वडा ३ का अध्यक्ष बालमुकुन्द घिमिरेका अनुसार यो लामकुण्ड वडा ३ र २ को सिमामा पर्छ। देवेन्द्र सिलवालले अबैध रूपले पानी विक्रीवितरण गरेपछि गत भदौमा डोजर समेत लगाएको थियो। तर, अहिलेसम्म रोकिएको छैन। त्यतिबेला सिलवालले ‘तिम्रो वडा अन्तर्गतपर्दैन त्यसैले अवरोध नगर्नु’ भनेको घिमिरेले बताए। 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भने सबै पानी वितरण बन्द गरेको जानकारी दिए। ‘अहिले हामीले पानी वितरण गर्न दिएका  छैनौँ,’ उनले भने, ‘कर तिरेकै छ। पानी लगे पनि मुहानको २५ मिटर टाढाबाट लानुपर्छ।’ महर्जनको कुरामा स्वीकृति लिएको भनी स्थानीय लगायतले विश्वास गरेका छैनन्। महानगरीय प्रहरी प्रभाग गोदावरीका एक प्रहरीका अनुसार जनप्रतिनिधिकै मातहतमा रहेर दैनिक जसो पानी उपत्यकाभित्र ओसारपसार हुन्छ। तीन वर्षदेखि पानी यसरी विक्रीवितरण भएको छ। मापदण्ड विपरीत कार्य रहेको भनेर एक चोटी विवाद पनि भएको थियो। ‘देवेन्द्र सिलवाल राम्रो मान्छे नै होइन। पहुँचवाला मान्छे भन्ने सुनेको छु,’ उनले भने, ‘त्यसैले जनप्रतिनिधिकै मिलेमतोमा काम भएको छ। यो कुरा माथिल्लो निकायमा पनि सुनाएको छु।’ नगरपालिकाले रोक्नको लागि पत्र पठाए तत्काल अबैध रूपले पानीको वितरण रोक्न सकिने उनले बताए।

अझै रोकिएन गोदावरी खोलाको पानी तान्ने काम 
ललितपुरको गोदावरी खोला किनारबाट अवैध तरिकाले पानी तानी बिक्री वितरण अझै रोकिएको छैन। शुद्ध खानेपानी भन्दै सिद्धि खानेपानीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र ८ को सीमामा रहेको पुलमुनि गोदावरी खोलाबाट अवैध तरिकाले खोलाको पानी निकालेर बेचिरहेका छन्।नियम अनुसार खोलाको किनारबाट १० मिटर छाडेर मात्र पानी निकाल्न पाइन्छ। तर, सिद्धि खानेपानीले खोलाको किनारबाट नै पानी तानेर विक्रीवितरण गर्दै आइरहेको छ। 

खोलाको अवैध रूपले पानीको निकास कार्य अहिलेसम्म नरोकिएको एक स्थानीयले बताए। ‘खोेलाको पानी तानेर विक्री वितरणको काम रोकिएको छैन,’ उनले भने, ‘पानी तानिरहँदा सडक हिलाम्मे भएकाले हामीले सास्ती भोग्नुपरेको छ। सरकारी निकायले रोक्नमा चासो नै देखाएको छैन।’ उनका अनुसार पानीको ट्यांकरबाट पानी लिंक भई सिद्धिपुर–बिष्णुडोल पुल छेउको उकालो सडक हिलाम्मे हुँदा सवारी साधन दुर्घटना हुन्छ। मोटरसाइकल दुर्घटना हुँदा हातसमेत भाँचिएको छ। कुनै बेला चिप्लोले गर्दा ठूलो दुर्घटना हुने सम्भावना उच्च छ। दैनिक ७० भन्दाबढी ट्यांकरको ओहोरदोहोरले बाटो जीर्ण भइसक्दा पनि कुनै निकायले चासो नदिनुमा राजनीतिक पहुँचवालाको मिलेमतो रहेको उनको भनाई छ। खानेपानी व्यवसायमा उजुरी गर्दा उल्टै धम्की दिएको उनले दुखेसो पोखे। ‘खोलाको पानी तानेर स्वच्छ खानेपानी भन्दै उपत्यकाभर धमिलो पानी वितरण गरेर सहरवासीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ,’ उनले भने, ‘तीन वर्षसम्म अवैध रूपले पानी ओसारपोसार गर्दा पनि जनप्रतिनिधि कारबाही गर्नमा आँखा चिम्लेर बसिरहेका छन्। खानेपानी चालकसँग गुनासो गर्दा हामीलाई उल्टै धम्की दिन्छन्।’ 

यस विषयमा नागरिक काष्ठमण्डपमा गत फागुन १० गते समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि जानकारी पाएकाले सिद्धी खानेपानीलाई पत्रमार्फत ध्यानाकर्षण गरेको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ बताउँछन्। ‘पत्रिकामा समाचार छापिएपछि हामीले ७ दिनको म्याद दिएर नगरपालिकामा सम्पर्क गर्न पत्राचार गरेका छौँ,’ उनले भने, ‘अझै काम नरोकिए अनुगमन खटाउने छु।’ पानीको कामलाई रोक्न स्थानीयले जानकारी पूर्व नगरपालिकामा कुनै उजुरी नआएको समेत उनले बताए । 

अवैध रूपले पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्नको लागि पत्राचार गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी बताउँछन्। ‘प्रकाशित समाचारलाई आधार बनाएर कारबाही गर्नको लागि स्थानीय तहलाई पत्राचार गरेका छौँ। सम्पूर्ण काम स्थानीयले गर्नु पर्छ। यसमा थप फलोअपमा रहने छौँ,’ उनले भने।  
 

 

प्रकाशित: ११ चैत्र २०७५ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App