५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

महानगरवासीले फोहोर नछुट्टाउँदा व्यवस्थापनमा समस्या

महानगरवासीले घरबाट निस्कने फोहोरमैला कुहिने र नकुहिने नछुट्याउँदा फोहोरमैला व्यवस्थापनमा जटिल समस्या निम्ताएको छ। महानगरपालिकाले फोहोरमैला घरबाटै व्यवस्थित गराउने नीति अघि सार्ने भएको छ। महानगरवासीले कुहिने र नकुहिने फोहोरमैला जभाभावी ढंगले मिसाउँदा फोहोरमैला व्यवस्थापनमा समस्या भएको निष्कर्ष निकालेको छ। 

काठमाडौंका नगरले स्रोतमा फोहोर वर्गीकरण गर्ने साझा योजना अघि बढाउने भएको छ । महानगर वातावरण व्यवस्थापन विभागले उपत्यकाका नगरपालिकामा वातावरण हेर्ने निकायका प्रमुखलाई डाकेर फोहोरमैला व्यवस्थापनमा आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञवालीले घरमा फोहोर छुट््याएर राखेपछि बटुल्न आउनेलाई पैसा दिएर होइन, उनीहरूबाट पैसा लिएर फोहोर पठाउन सकिने व्यवस्थाको सुरुवात गर्नुपर्ने बताए । ‘अब फोहोरलाई मोहोरमा बदल्नुपर्ने बेला आइसक्यो,’ उनले भने, ‘कुहिने र नकुहिने फोहोरमैलाको छुट्टाछुट्टै ढंगले व्यवस्थापन गरेर नगरवासीले मुनाफा आर्जन गर्ने वातावरण बनाउन जरुरत भइसक्यो।’ 

उनका अनुसार फोहोरमैला व्यवस्थापनमा पुरानै ढर्राबाट परिर्वतन हुन जरुरी देखिन्छ । त्यसैले त्यसतर्फ योजना बनाउन जरुरी देखिन्छ। 

महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउन जरुरी भएको बताए । ‘उपत्यकाभित्र नगरका सम्पूर्ण नगर मिलेर फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘एउटा निकायले चाहेर मात्रै फोहोरमैला व्यवस्थापन गर्न सकिँदैन । त्यसैले सम्पूर्ण नगर मिलेर साझा योजना बनाएर फोहोरमैला व्यवस्थापन गर्नुपर्ने तर्फ अगाडि बढ्न जरुरी भइसक्यो।’ उनका अनुसार उपत्यकावासीको फोहोरमैलाले नुवाकोट र धादिङका स्थानीय प्रभावित भएकाले त्यसतर्फ पनि गम्भीर भएर अघि बढ्नुपर्ने देखिन्छ । 

विभाग प्रमुख श्रेष्ठले फोहोरमैला व्यवस्थापनको अगुवाई काठमाडौं महानगरपालिकाले गर्ने र त्यसमा सम्पूर्ण नगरवासीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । ‘फोहोर व्यवस्थापन महानगरको एक्लो समस्या होइन, यो सम्पूर्णको साझा समस्या हो,’ उनले भने, ‘त्यसैले सबै एकजुट भएर उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला भइसक्यो ।’ उनका अनुसार बञ्चरे डाँडालाई स्यानिटरी ल्याण्डफिल्ड साइटका रूपमा विकास गर्न लाग्ने समयका लागि समस्या आउन नदिन उपाय खोज्नुपर्ने अहिलेको आवश्यकता छ। 

फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले नगरपालिकासँग भएका उपकरणको उच्चतम उपयोग हुनुपर्ने धारणा व्यक्त गरे । ‘यस काममा प्रशासनिक साझेदारिता पनि खाँचो छ,’ वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेल भन्नुहुन्छ, ‘भोलिको समस्या आज देखेर समाधानको बाटो खोज्नुपर्छ।’  फोहोरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउनुपर्ने फोहोरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ। 

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App