हो, सम्झना बिस्तार बिस्तार
बूढो हुँदै जादोँ रहेछ
कसैले थाहा पाएन भने
सम्झना थाहै नपाई
मर्दो पनि रहेछ।
‘बाँस्कोटाजी कहाँ हुनुहुन्छ ? आउनुस् चिया पिउन। म आएको छु।’
माघको पहिलो साता घामलाई कुहिरोले छेक्न खोज्दै गर्दा अमरकुमार नेम्बाङ सरको फोन आयो। म पुग्दा पर्खिरहेका रहेछन्। झन्डै एक घण्टा बात मार्यौं हामीले। ‘आज साहित्यको गफ गरौँ। कति राजनीति, विकासको मात्र बात मार्नु’, उनले प्रस्ताव राखे। दुई कप चिया पिएपछि अचेलको साहित्य लेखनकाबारे उनको विश्लेषण सुनें। विषयमा गहिरिएरभन्दा पनि चर्चा कमाउन युवाहरू लागेकामा उनी चिन्तित थिए।
‘कविताको किताब निकालिहाल्नुस। अनि यात्रा निबन्धतिर तपाईको कलम चल्नु पर्छ’, यो नै उनको अन्तिम सुझाव थियो मेरा लागि।
माघ–२६ गते अत्यधिक चिसो थियो। अमर सरले सृजनामा विम्ब बनाएका पौवाभञ्याङ र सिलौटीलाई हिँउले ढाक्दै थियो। मौसमले रूप बदल्दै गर्दा एउटा दुःखको खबर आयो। ‘फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्वाङ कार्यक्रममै ढले रे !’
तर, खवर सत्य थियो। अवस्था गम्भीर भएको खबर थियो। इलाम अस्पतालमा पुर्याउँदा उनकोे निधन भइसकेको सुनियो।
चिसोले कठ्ग्रिएको मौसममा पनि चिटचिट पसिना आयो। टेकेको जमिन भासिए जस्तो लाग्न थाल्यो। उनीसँगको संगत र तर्कविर्तकका लामा श्रृंखला थिए। अब सामाजिक सञ्जालमा वियोगका स्टाटस र उनका तस्वीर आउन थाले तब विदेशमा समेत शोकधुन बज्यो। मृत्यू निश्चित छ तर यसको समय अनिश्चित छ। अचानकको मृत्युले शोकाकुल मात्र बनाएन एउटा बौद्धिक मान्छे गुमाउनु पर्दाको पीडाबोध पनि भयो।
उनी पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष मात्र थिएनन्। पूर्वीय र पाश्चात्य साहित्यको गहन अध्ययन भएका साहित्यकार, शैक्षिक, समाजिक र राजनीतिका अभियन्ता पनि थिए। सरल र इमानदार थियो उनको व्यक्तित्व।
यो लेखको सुरुको कविताले नै उनको सृजना क्षमतालाई झल्काउँछ। गाँउपालिकाको प्रमुखमा फराकिलो मत अन्तरले विजयी भएका थिए उनी। त्यस अघि साविकको पौवासारताप गाविसको दुई पल्ट अध्यक्ष, तत्कालीन गाउँ पञ्चायतको अध्यक्ष लगायतमा नेतृत्व प्रदान गरिरहेका थिए। यो भन्दा ठूलो साहित्यिक चरित्र थियो उनको। उनका दुई नियात्रासग्रह र एक कविता संग्रह प्रकाशित छन्।
मेरो उनीसँग प्रत्यक्ष परिचय ६० को दशकमा भएको थियो। तिनताका उनको ‘सम्झनाका तरेली’ संस्मरण संग्रह चर्चित थियो जुन ०६४ मा प्रकाशित भएको थियो। यो अंग्रेजीमा अनुवाद भएर प्रकाशनको चरणमा छ। यस कृतिभन्दा अगाडि पनि उनलाई निकै सुनिएको थियो। एमए पढेर पनि गाँउमै सेवा गरेर बसेको व्यक्तिका रूपमा उनको चर्चा थियो।
साहित्य र राजनीतिमार्फत् समाज सुधारमा लागेका अमरकुमार नेम्वाङको योगदान चीरकालसम्म स्मरणीय रहनेछ।
सम्झनाका तरेली प्रकाशनपछि नेपालमा पर्यावरिणय लेखन (इको राईटिङ)ले फड्को मार्यो। स–साना विषयमा गहिरो तर्क, चिन्तन र जीवन गाँसेर उनले संस्मरण लेखेका थिए। ०६० सालमा ‘अमेरिका भ्रमणका केही सम्झना’ प्रकाशित थियो। यात्रा अनुभवलाई विभिन्न विषयमा तुलना गरेर लेखेका थिए उनले।
०७१ सालमा ‘एउटा साँझको अवसान’ कविता संग्रह प्रकाशित भयो। जहाँ ५४ कविता छन्। इको राईटिङसँगै सामाजिक, राजनीति भोगाइका चित्रहरू कवितामा उतारेका छन् उनले। देख्दा सरल लाग्ने जति पढ्यो उति गहिरो लाग्ने कविता लेखेका छन् उनले।
गाँउपालिका प्रमुखका रुपमा निर्वाचित भएको एक महिनापछि अमरसरसँग लामो कुरा गर्ने मौका मिल्यो। साँझलाई अँध्यारोले निल्दै गरेको समयमा लामो कुराकानी भएको थियो। यही बेला अमर सरले पाँच वटा किताबको पाण्डुलिपि तयार भएको सुनाएका थिए। संघीयताको सफलताका लागि उनका विभिन्न तर्क थिए। लगत्तै मैले नागरिक दैनिकमै लेखेको थिए ‘अविराम अमर’। आज अमरसरको शरीर त हामीसँग छैन तर अनगिन्ती संस्मरण छन्। ‘पत्रकारले जहिले पनि आलोचनात्मक टिप्पणी गर्नु पर्यो, सहित्यकारले इमानदारीताका साथ सृजनालाई न्याय गर्नु पर्छ’ पटक पटक उनको सुझाव थियो। उमेर ढल्किँदै जाँदा पनि जोश, जाँगर उत्तिकै थियो।
वैरागी काइँला, इश्वरवल्लभ र इन्द्रबहादुर राईको ‘तेस्रो आयाम’को प्रकाशक अमर नै थिए।
विस ०२७ मा उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एमए गरे। उनीसँग प्रसस्त अवसर थियो। पारिवारीक पृष्ठभूमि पनि अनुकुल थियो। तर उनले गाँउकै सेवा रोजे। राजनीतिमा पनि ठूलो नेता हुनतिर लागेनन्। गाउँमै रमाए। काँग्रेसकाले पनि राजनीतिक अवसर दिन सक्थ्यो। तर उनले ठूलो पद चाहेनन। ‘गाँउकै उकाली–ओरालीमा भौतिक दुःख भए पनि खुसी चेहेराले मलाई यही सेवा गर्न प्रेरित गर्छ’, यसै भन्थे उनी।
उच्च राजनीतिक इमान्दारी भएका उनले पञ्चायतकाल, प्रजातन्त्र पुनः स्थापना र गणतन्त्र आएपछि पनि नेतृत्व गरे। फररर कम्प्यूटर चलाउँथे। विश्व राजनीति, साहित्य र दर्शनको ज्ञान राख्थे। उनी ०४३ पछि पौवासारताको गाउँ पंचायत, ०४६ पछि दुई पल्ट गाविस अध्यक्षमा निर्वाचित भए। साविक पौवासारताप, नवमीडाँडा, चिलिङदिन, फाक्तेप, इम्बुङ र आङसराङ गाविस मिसिएर बनेको गाँउपालिकाको नेतृत्व लिने अवसर पाए। ०४३ साल पूर्व चिलिङदिन गाँउ पञ्चायतको पनि निर्वाचित नेतृत्व लिए।
उनका पालामा बनेको सिंचाइ कुलोलाई स्थानीयले ‘अमर कुलो’को नाम दिए। यो अझै चर्चित छ। प्रजातान्त्रिक व्यवस्थाका लागि निरन्तर लागि परेका उनले युवा अवस्थामै राजनीतिक तथा समाजिक नेतृत्व बहन गरे। ०३६ सालको जनमत संग्रहपछि सुधारिएको पञ्चायती व्यवस्थामा तत्कालिन गाउँ पञ्चायतको नेतृत्व गरको पाइन्छ।
स्वतन्त्रता र लोकतन्त्रका लागि उनको कलम र शरीर चल्यो सधैं।
उनले दार्जिलिङमा पढे। उनले वेष्ट बङ्गाल युनिभर्सिटिबाट ग्य्राजुएसन गरे। त्रिभुवन विश्वविद्यालयबाट एमए सकेपछि गाउँ सेवामा लागे। आर्थिक उन्नतिका लागि उनले ३० को दशकमा उन्नत जातको बीउ गोरु वितरण गरेर चर्चा कमाएका थिए।
उनका विकासका लागि केही योजना थिए भने साहित्य सृजनामा केही काम गर्ने अठोट थियो। गाँउपालिका प्रमुख भएपछि बजेट छुट्याएर साहित्यकारको भेला गराए। इको राइटिङसहितको लेखको बहस तथा मेची अञ्चल स्तरीय कविता प्रतियोगिता गरे। इभिलेज, ग्रिन भिलेज, रिङ रोड, पर्यटन प्रवद्र्धन जस्ता एजेण्डा उनले अघि सारेका थिए।
वहुआयामिक व्याक्तित्वका धनी उनको तर्क थियो, ‘जीवनलाई गतिशील र अर्थपूर्ण बनाउनु पर्छ।’ श्रद्धान्जली अमर सर। अन्तिममा उनकै कविता :
धेरै टाढा डाँडामा पुगिसकेका
सूर्यका असङ्ख्यका पहेला रश्मिहरू
फर्केर पस्दै छन् मेरो झ्यालढोकाभित्र
अटेसमटेस गर्दै
कागहरूका आवजसँगै
बास बस्न ओर्लिएको
गरुङ्गो रातको समाचार लिएर
घोर एकाङ्कीपनले लपेटेको
यो उदासिलो साँझमा
टुक्राटुक्रा भएर विलीन भएको
पाउँदै छु म आफैलाई महाशून्यतामा।
प्रकाशित: १८ फाल्गुन २०७५ ०२:५४ शनिबार