१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

जिउँदै वैतरणी तरेर

देवेन्द्र बस्न्यात

पाटन कृष्ण मन्दिरको प्रांगणमा सदाझैं चहलपहल र दृष्य उस्तै छ, मात्र पात्र फरक। पाटन दरवारको पटांगिनिमा बसेर तमासा हेर्दा समय बितेको पत्तै हुँदैन। प्रतीक्षाका पात्र, साइकल यात्राका सोखिन, अझ माउण्टेन बाइकका पारखी दीपक श्रेष्ठ टुप्लुक्क आइपुगे। हामी दुवै उपत्यकाबाट दक्षिणतर्फ देखिने क्षितिज चुम्ने रहरले रोमाञ्चित थियौं। यात्राको लागि इन्धनस्वरूप जेरीस्वारी खायौं कृष्ण मन्दिर पछाडिको पुरानो मिठाइ पसलमा। शरीरमा थोरै इन्धन भरेर यात्रा सुरु भयो। 

कृष्ण मन्दिरबाट महालक्ष्मीस्थान कुसुन्ती नख्खु फाँट, सुनाकोठी, ठेंचो हुँदै चापागाउँ निस्कियौं। केही वर्षअघिसम्म साइकल पारखीको रोजाइमा पर्ने यो रुट आजभोलि भने रुचि खस्कँदो रहेछ। राजकुलो बाटोमा परिणत भएको छ। मौलिक संस्कृति झल्काउने पुराना ढाँचाका घर आधुनिक मानिने महलले विस्थापित भएका छन्। असोज–कात्तिकतिर धान पाकेर सुवर्ण मैदानजस्तो देखिने खेतमा वर्षे च्याउजस्ता झुरुप्प बस्ती बाक्लिएर सुन्दरता खस्किएको छ। अझै पनि मूल बाटोबाट साइक्लिङ गर्नुभन्दा निकै सुरक्षित र कम प्रदूषित छ यो रुट। ठेंचोबाट उत्तर फर्किएर हेर्दा लाखौं सवारी साधनका धुवाँधुलोले वातावरण धमिलिँदै गएको देखियो।  

पौराणिक तथ्यहरू खोज गरी ती तथ्यका आधारमा वैतरणी धाम, कालेश्वर महादेव जस्ता प्रमुख धार्मिक स्थलको प्रचार गर्न सके पर्यटन फस्टाउन सक्छ। स्थानीय निकायले चासो दिने हो भने साहसिक साइकल यात्रा, पर्या–पर्यटनमार्फत् आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक र सामाजिक हैसियत बढाउन सकिन्छ।

दुई साइकलयात्री चापागाउँबाट टीकाभैरवतर्फ सोझियौं। कृष्ण मन्दिरबाट हामी करिव १४ किमि तय गरेर लेले पुग्यौं। सिखर्पा गाउँबाट उकालिएर नल्लु पुग्ने छोटो बाटो खोज्ने क्रममा हामी चुक्यौं। स्थानीयले बाटो नभएको जानकारी दिइरहँदा पनि यात्रा रोकेनौं। पूरै गाउँ घुमियो। मुस्किलले मान्छे हिँड्न मिल्ने गोरेटोबाट कहिले विस्तारै साइकल कुदायौं, कहिले डोर्‍्यायौं। गाउँमा ल्याएको खानेपानीको पाइप छल्न ढिलो भयो। शितले भिजेको पाइपमा साइकलका पांगा अचम्मैसँग चिप्लियो। अगाडिको चक्काले बाटो छोडेसँगै हंसले पनि ठाउँ छाड्यो। धन्न भीरबाट खसिएन। यात्रा अवधिको अशुभ जति यहीँ सकियो। अफ्ठेरो बाटो पहिल्याएकोमा कत्ति पनि पछुतो भएन। चालु ढुंगा खानीको सामनेबाट हिँड्दा नौलो अनुभव बटुल्यौं। भीर कटेपछि ओह्रालो आयो। तलपट्टि सहजै मूल बाटो देखियो। ओह्रालो कटेपछि मूल बाटोबाट नल्लुतर्फ लाग्यौं। दीपक दाईसँग हिँड्दा बाटोको चिन्ता गर्नुपर्दैन। लाग्छ–उनको दिमाग साइक्लिङ रुटका सञ्जालले भरिएको छ।

शरद ऋतुका घमाइलो बिहानी। दुई पहाडलाई चिरेर फेदीबाट बगेको नल्लु खोला। नागबेली खोलासँगै समानान्तर बनेका फराकिला कच्ची बाटा। मौलिक नेपाली संस्कृति झल्काउने घर, खोला किनार र डाँडामा फाट्टफुट्ट छरिएका पातला बस्ती। सफेद नीलो आकाशमुन्तिरका हरिया पाखा, बारीका पाटामा भर्खरै फुल्दै गरेको तोरीका पहेंलपुर रङको संयोजन सुन्दर छ। अझ तोरीको मगमग बासनामा लठ्ठ हुँदै, गाढा हरिया पात घामका किरणले टलक्क टल्किएको जंगल छिचोल्दै साइकल चलाउनुको मज्जा शब्दमा व्यक्त गर्न निकै गाह्रो छ। गाडीको पिरो धुवाँबाट प्रताडित यो ज्यान मधुर घामको स्पर्शले चमक छाएको पहँेलपुर तोरी बारीबाट मगमगाएको सुवासले लठ्ठ हुन्छ। 

उकालो उक्लनुअघि चिया र खाजा खाएर पुनः शरीरमा इन्धन भर्‍यौं। नल्लु (१६८८ मिटर) सम्म आइपुग्दा करिब २१ किमि दूरी पार गरियो। नल्लुबाट उकालो लागेर पाथीभरा दर्शन गर्न भक्तजनको लर्कन लामै थियो। पाथीभरा जाने बाटो छाडेर बायाँतर्फबाट रमाइला दृष्य मनमा कैद गर्दै करिब ३ किमि उकालो कटेर चौघरे पुग्यौं। चौघरे (२,००० मिटर)बाट पश्चिम लागे दलचोकी पुगिन्छ। आजको पहिलो गन्तव्य  गोटीखेल। त्यसैले दक्षिणतर्फको रोमाञ्चक ओह्रालोतर्फ लाग्यौं। धर्सा कोरेजस्ता नागबेली ग्राभेल बाटो, मानव र प्रकृतिको सुन्दर संयोजनबाट बनेका पहाडका भिरालोका सफाचट् बारीमा पहेंलपूर तोरीले साइकलका सौखिनहरूलाई लोभ्याउँछ। पहाडका टाकुराबाट जता हेर्दा पनि मनोरम दृष्य। त्यो दृश्यमा मात्र रमाउने समय छैन। एकै क्षणको ओह्रालो लागेपछि ठोट्ने खोला पुग्यौं। ठोट्ने खोला (१,६२४ मिटर)बाट करिब ३ किमि उकालो लागेपछि शंखुको मगर गाउँ आउँछ। भट्टेडाँडा, दलचोकीबाट देखिने थली परेको शंखु डाँडामा पुग्दा धेरै पहिलेदेखिको कौतुहल मेटियो।  

दसैंको माहोल। घटस्थापनापछिको चौथो दिन थियो त्यो। स्थानीयहरू धमाधम घर लिपपोत गर्दै थिए भने प्रकृतिले ढकमक्क सयपत्री फुलाउँदै। डाँडाको थलि परेको भूभाग (१,९१० मिटर)मा अवस्थित रमाइलो मगर गाउँबाट लाँकुरी भञ्ज्याङ, भकारी डाँडा, छापाक हुँदै बुखेलतर्फ ओह्रालो लाग्यौं। साइक्लिङमार्फत् प्रकृतिको अद्भूत अनुभव सँगाल्दै कृष्ण मन्दिरबाट बुखेलसम्म आइपुग्दा ४० किमि बाटो तय भयो।  

शरद् ऋतुका पारीलो घाम, न्यानो दिन। वरिपरि हरीया पहाड। दुई पहाड चिरेर बीचबाट कञ्चन, कलकलाउँदो पानी बगेको टुंगुन खोला। खोलाका दुवैतर्फ तह मिलेका खेतमा पहेंलपुर झुलेका धान। हेर्दा निकै सुन्दर र आनन्दमय। झोलुङे पुल छेउको एउटा चिया पसलमा बाहेक मान्छे भेटिएन। चिया खाएर हामी पुल तर्‍यौं। करिब ३ किमि पूर्व तर्फको बाटो तय गरेपछि गोटीखेल पुगियो।      

किसानहरू पाकेको धान काट्न व्यस्त थिए त कोही धान चुट्दै। धान झार्दै गरेको घर्रघर्र गर्ने मेसिनको एक तमास रमाइलो आवाज। बाली भिœयाउने समय वर्षभरिकै सुखद् र आनन्दमय क्षण। सुखद् क्षण क्यामरामा कैद गर्न हामी दुवै रोकियौं। दीपक दाइले फटाफट फोटा खिँचे। मैले झोलामा थन्क्याएको क्यामेरा निकालेँ। धान काट्दै गरेकाहरूतिर लेन्स फर्काएँ। दुई साइकल यात्रीले उनीहरूको एकाग्रता भंग गरिदियो। अनौठो लाग्यो– दुई साइकल यात्रीलाई देख्दा। धान काट्दै गरेका बलराम अधिकारी हातका हँसिया छाडेर ‘लगनखेल पनि ललितपुर गोटीखेल पनि ललितपुर’ भन्दै व्यंग्य तथा विविध कौतुहलता मिश्रित हाँसो हाँस्दै हामीतर्फ आए। 

हो त नि ! हामीलाई लगनखेलमा साइकल चढेको जस्तो भएन। न यहाँ दाँत किरकिराउने धुलो,  न त नाकै पोल्ने पीरो। न आँखा बिझाउने सिमेन्टका जंगल, न त कुम ठोक्किने भिड। न कानको जाली फुट्ला जस्तो गरी बज्ने गाडीका हर्न। यहाँ छ त केवल छङछङ गर्ने झरनाको झङ्कार, चिरविर चिरविर चराका गाना। 

उनले वैतरणी धामबारे बताए। हामी सुनिरह्यौं। बिहान मात्र एक हुल तीर्थयात्रीले नल्लुमा सोधेका थिए ‘वैतरणी नदी कता हो’ भनेर। हामीले ठट्टामै जिउँदै वैतरणी कसरी देख्नु भन्याैं। भक्तहरूले नल्लुलाई नै वैतरणी नदी सम्झिएर फूलप्रसाद बगाए। हामीलाई पनि भर्खरै थाहा भयो वैतरणीधाम गोटीखेलमा रहेछ भनेर। उनकै सुझाव सुनेर हामीले जीउँदै वैतरणी तर्‍यौं। फोटो खिच्यौं। लगातार धाराबाट पानीको गाढ बगेको देख्दा मन लोभियो। रित्तो पानीका थैला भर्‍यौं। भोक मार्न फटाफट चिउरा, तरकारी र चिया खायौं। 

दिन घर्कदो छ। गोटीखेल बजार (१,४७५ मिटर)बाट हामी ३ किमि पर चन्दनपुर  बजार, ससिपा हँुदै बतासेडाँडातर्फ लाग्यौं। भञ्ज्याङबाट दायाँतर्फ च्याम्राङ्ग बेशीटम्म हुस्सुले ढाकेको। पूर्वबाट चलेको सिर्सिरे बतासले भित्रैसम्म चिसो बनायो। पहाडमा ठोक्किएको बतासले भञ्ज्याङबाट मुस्लो कुहिरो उदाउँदो दृष्य हेर्दै थकान मेटायौं। अलमल गर्ने समय छैन। एकातर्फ फेदीमा भरेको इन्धन निख्रँदो अर्कातर्फ उकालिनु अझै बाँकी। इन्धन भर्ने मौका दिलाए बाटो छेवैमा तातो खुवा घोट्दै गरेका स्थानीय भाइले। तात्तातो खुवा खाएर अघि बढ्यौं। गोटीखेलबाट करिब १० किमि उकालो काटेर करिब  बतासे डाँडा (२०७५ मिटर) को प्रसिद्ध थेक्चेन ठ्वे ख. उचाइमा अवस्थित तामाङ गुम्बा आइपुग्यो। गुम्बामा जाने इच्छा पछिल्ला दिनलाई थाँती राखियो। बतासेबाट बायाँ लागेर १० किमि दूरी पार गरेपछि कतवन भञ्ज्याङ पुगिन्छ। कतवन भञ्ज्याङबाट भारदेउ, लेले, चापागाउँ फर्कन सकिन्छ। तर, हाम्रो रोजाई पनौती निस्कने। बतासेबाट करिब ३.५ किमि ओह्रालो झरेपछि ललितपुरको महाँकाल गाँउपालिका छिचोलेर काभ्रेको बेथानचोक गाउँपालिका प्रवेश गर्‍्यौं। हल्का तेर्सो उकालो लागेर थला गाउँ कटेपछि उकालो सुरु हुन्छ। शक्ति क्षण भएको बखत करिब ३.५ किमि उकालोको चुनौती सामना गर्न निकै कठिन। बतासेबाट १० किमि दूरी कटेर ग्व भञ्ज्याङ (२,२४० मिटर)चकमन्न साँझमा उक्लिंदा युद्धै जितेजस्तै भयो।   

भञ्ज्याङबाट ४ किमि ओर्लिएर ढुंखर्क (१,९२० मिटर) आइपुग्दा न्यानो महसुुस भयो। ढुंखर्क आइपुग्दा आधा बजार अर्ध निद्रामा परिसकेको थियो। ढुंखर्कबाट गेलुङ बजार, चलाल गणेश हुँदै खोपासीसम्म ओह्रालो बाटो। खासै परिश्रम नपर्ने, थोरै समयमै आइपुग्यौं पनौंती बजार (१,४३० मिटर)। कूल ९५ किमि दूरी यात्रा गरिसकेका थियौं। हामी भोक, प्यास र थकानले चूर थियौं। बजार सुनसान थियो। तातो खानेकुराको खोजीमा बजार एक चक्कर लायौं। बन्द गर्नै लागेको मःम पसलको बाँकी अन्तिम दुई प्लेट हाम्रै पेटको अग्नि ज्वाला शान्त बनाउनलाई रहेछ। हाँसले हिलो निलेकै रफ्तारमा एक एक प्लेट सक्कायौं। घरसम्म पुर्‍्याउने अन्तिम ऊर्जा यो नै थियो। तातो मःमःले शरीरको रोमसम्म शक्ति पुर्‍्यायो। हामी जोडतोड पाउदान घुमाउँदै दिनभरका क्षण स्मरण गर्दै बनेपा, साँगा भञ्ज्याङ, सल्लाघारी, कोटेश्वर हुँदै घर फर्कियौं। यसरी बिहानदेखि पाउदान घुमाउँदै १३० किमिको एक फन्को मारेर जिउँदै वैतरणी तरेर आयौं।  

अन्तमा
ईपू २५० वर्षअघि सम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भ, १७ औं शताब्दिमा शिखर शैलीमा निर्मित कृष्ण मन्दिर, विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर ललितपुर जिल्लामै छ। गोटीखेलका स्थानीय बलराम अधिकारीले भनेजस्तै लगनखेल मात्र ललितपुर होइन। जिल्लाको कूल क्षेत्रफल करिब ३९२.८४ वर्ग किमि मध्य महाभारत पर्वतको  अग्लो फूलचोकी (२८३१ मिटर) देखि ४५७ मिटरसम्म चुरे पहाडसम्मै फैलिएको करिब ८० प्रतिशत पहाडी भूभाग पनि ललितपुर हो। जिल्लाको पहाडी भेग भौगालिक विविधताका साथै धार्मिक, सांस्कृतिक तथा जैविक विविधताले पनि धनी छ। पहाडी क्षेत्रका कृषक ट्राउट माछा पालन, तरकारी खेती र दुग्ध पदार्थ उत्पादनमा निकै अगाडि देखिन्छन्। समृद्धिको आधार पनि यही हुन सक्छ। 

पौराणिक तथ्य खोजेर तिनका आधारमा वैतरणीधाम, कालेश्वर महादेवजस्ता प्रमुख तीर्थको प्रचार गर्न सके पर्यटन फस्टाउन सक्छ। सम्बन्धित निकायले पर्यटनतर्फ चासो दिने हो भने साहसिक साइकल यात्रा, पर्या–पर्यटनमार्फत् पर्यटक भिœयाएर  आर्थिक र सामाजिक हैसियत बढाउन सकिन्छ।

 

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App