ललितपुरको जगत गुरु आश्रमस्थित शंखमूल पार्कमा पार्क पुस्तकालयको स्थापना गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई पुस्तकमार्फत् ज्ञान दिलाउन पुस्तकालय खोलिएको हो।
पुस्तकालयका अभियनता नवराज आचार्यले पार्कमा घुम्न आएका पर्यटकले पार्कको मनोरञ्जन लिनुको साथै पुस्तकमार्फत् विभिन्न ज्ञान सिकुन् भनी पार्क पुस्तकालको स्थापना गरिएको बताए। ‘इजरायल देशमा बस्दा त्यहाँ पार्कपिच्छे पार्क पुस्तकालय देख्छु। नेपालमा पनि थुप्रै पार्क छन्,’ उनले भने, ‘नेपालको पार्कमा पनि पुस्तकालय खोल्दा बसिरहेको बेला किताब हेरेर मरोरञ्जन र ज्ञान सिकिन्छ भन्ने अवधारणाका साथ पुस्तकालय खोलिएको हो।’
नेपालमा पनि पार्क पुस्तकालयबाट सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपले ज्ञान सिकिन्छ भनेर नेपालमा पहिलो पटक पार्क पुस्तकालयको स्थापना गरिएको उनले बताए। उनका अनुसार बिकु लामा, भुवनसिंह कँुवर र देवकी अभिलाषी मिलेर पार्क पुस्तकालय खोलेका हुन्। देश तथा विदेशीमा बस्ने व्यक्तिहरूको सहयोगमा धार्मिक, साहित्यिक, अंग्रेजी लगायतका पुस्तक राखिएको छ। पुस्तकालयमा निःशुल्क पुस्तक पढ्न पाइनेछ।
पुस्तकालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहनेछ। पुस्तक हेर्नको लागि आइडी कार्ड चाहिने छ। ‘१२ वर्षसम्म इजरायलमा बस्दा नेपाली पुस्तक झिकाएर पुस्तक बेचेको थिएँ,’ उनले भने, ‘त्यहाँबाट उठेको करिब २५ लाख रूपैयाँ अनाथ, असहायहरूलाई दिएको छु। त्यसपछि पार्क पुस्तकालय खोल्ने सोच आयो। सरकारले पनि यस्ता पार्कहरूमा पार्क पुस्तकालय खोल्नुपर्छ।’ काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकामा पनि केही समयपछि पार्क पुस्तकालय खोल्ने उनले बताए। पार्कमा पुस्तकालय खोल्दा घुम्न आएका पर्यटकले धेरै ज्ञान प्राप्त गर्न सक्ने शंखमूल पार्कमा घुम्न आएका अजय थापा बताउँछन्। उक्त पार्क पुस्तकालय गत मंगलबार ललितपुर महानगरपालिका वडा ९ का वडाअध्यक्ष राजु महर्जनले उद्घाटन गरेका थिए।
प्रकाशित: १७ फाल्गुन २०७५ ०६:४५ शुक्रबार