१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

सूर्यविनायक नगरपालिका– ७ गुण्डु मन्थलीमा यस्ता छन् समस्या

‘जनप्रतिनिधि आएपछि सुख होइन, दुःख पायौं’


विशाल कार्की 
मन्थली, गुण्डु

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु कार्की गाउँमा हामी २९ घरधुरी छौं। हामी सूर्यविनायक जंगल फेदको छेउमा पुस्तौपुस्तादेखि बस्दै आएका छौं। २०२१ सालको नापी नक्सा अगाडि नै हामी यहाँ घर बनाएर बसेका हौं। त्यो बेला हामी १० घरधुरीमा थियौं। २०३५ सालमा जंगलबाट छुटाएर हामीलाई सरकारले नै बस्ती बसाल्न अनुमति दियो। त्यही अनुसार हाम्रा पुर्खाले घर बनाए। सरकारले दिएको अधिकारकै आधारमा हामीले घर बनाएर सबै घरमा बिजुली, धारा पनि जडान गर्‍यौं। तर, अहिले जनप्रतिनिधि आएपछि प्राणी उद्यान बनाउने नाममा हामीलाई विस्थापित गर्ने षडयन्त्र भइरहेको छ। सरकार आफैंले दिएको अधिकारविरुद्ध हामीलाई प्राणी उद्यान बनाउने नाममा विस्थापित गर्न खोजिरहेको छ। बस्तीलाई बन्दोबस्त गर्ने अहिलेसम्म केही सूचना पनि दिइएको छैन। सूचनाको युगमा पनि हामी बेखबर भएका छौं। जनप्रतिनिधि आएपछि हामीमाथि अन्यायको सुरुवात भएको छ। 

हामीलाई पानी नखुवाउने षडयन्त्र रचियो  
विल्जेश कार्की 
मन्थली, गुण्डु

हामीले अहिले गाउँकै पानीको मुहानबाट मज्जाले पानी खाइरहेका छौं। हाम्रो बस्तीबाट तीन सय मिटर पर २०१८ सालमा रिजरभ्वायर तयार गरी पानी खुवाएको थियो र अहिलेसम्म पनि त्यही पानी खाइरहेका छौं। रिजरभ्वायरको पानी पाइपबाट घरघरमा धारा जडान गरी हामीले मज्जाले खाइरहेका छौं। रिजरभ्वायर नजिकै दुई सय मिटरमा प्राणी उद्यानले डिप बोरिङ गर्‍यो, प्राणी उद्यान बनाएपछि आवश्यक पानीका लागि भनी अहिले डिप बोरिङ गाडिसकिएको छ। तर, पानी प्रयोग गरिएको छैन। जब त्यो डिप बोरिङ प्रयोगमा आउँछ, हाम्रो पानीको मुहान सुकेर काकाकुल हुने निश्चित छ। हामीलाई किन पानी नखाई मार्न खोजेका होलान् ? जनतालाई पानी खुवाउने जिम्मेवारी लिएकाले आफै हामीमाथि यस्तो अन्याय थोपर्न खोज्नु कहाँसम्म न्यायसंगत हो ? 

के का लागि निर्वाचित ?

विनोद विष्ट
मन्थली, गुण्डु

निर्वाचनअगाडि हामीलाई अनेक आश्वासन दिइयो। यो आश्वासन संविधानसभाको निर्वाचन र स्थानीय निकायको निर्वाचन दुवैमा उतिकै भयो। रातारात आफ्नै खर्चमा डोजर ल्याएर गाउँ–ठाउँ सबैतिर बाटो खोलिदियो। कतिलाई नोटको बिटा बाँडियो होला, के–के गरियो होला। तर, हामी सचेत जनता भने त्यसमा बिकेनौं। तथापि आश्वासनको पोको देखेर हामी लोभियौं। रातारात आफनै खर्चमा डोजर ल्याएर बाटो खोलिदिएको देखेर साँच्चै नेपाल यो पार्टीले गर्छ भन्ने भ्रममा पर्‍यौं। त्यही भ्रमले सबैको अगाडि नै उसै पार्टीलाई भोट हाल्यौं। हाम्रो भोटले जिते पनि। तर, जितेपछि अहिलेसम्म हाम्रो ठाउँमा आएको हामीलाई थाहा छैन। २ नम्बर क्षेत्रका सांसद आए न त वडा अध्यक्ष नै। तर, चुनावपछि नाकमुख देखेनौं। समस्याको समाधान त टाढाको कुरो। हामी जनतासँग लुटे मात्रै। हामी जनप्रतिनिधिहरूलाई खुला चुनौती दिन्छौं– अर्काे चुनाव फेस गर्न तयार रहनुहोला।  

विकास निर्माणमा विशेष ध्यान छ 
रविन्द्र सापकोटा
वडा अध्यक्ष 

सूर्यविनायक नगरपालिका ७, गुण्डु
पहिला गुण्डु गाउँ विकास समिति रहेको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु अहिले नगरपालिकाको वडामा परिणत भएको छ। त्यसकारण अहिले यहाँको मुख्य काम विकास निर्माणको गतिलाई अगाडि बढाउनु नै हो। यही कारण हाम्रो मुख्य ध्यान वडाको विकास निर्माण अगाडि बढाइरहेका छौं। यो क्रममा धेरै ठाउँमा बाटो बनाउने, विस्तार गर्ने काम गरेका छौं। साथसाथै भूकम्पपीडितको पक्षमा काम गरिरहेका छौं। यस क्रममा दुई सय ९६ जना भूकम्पपीडितका गुनासोलाई फछ्र्याेट गरेका छौं। 

प्रस्तुति :  रेणु त्वानाबासु

प्रकाशित: ७ फाल्गुन २०७५ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App