४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्य

संकटमा घण्टाघरको अस्तित्व

घण्टाघरभित्र मरेको परेवा। तस्बिर :श्याम राई

तलैभरि माकुराले जालो बुनेको छ। कतै भूकम्पले चर्किएको छ। साँघुरो भर्‍याङका पाइलैपिच्छे विभिन्न चराचुरुंगीका गुँड छन्। कुनै बन्दै गरेका नयाँ, कुनै पुराना। केही गुँडमा सेता फूल चम्केका छन्। पर्खालमा कुनै रंगरोगन देखिँदैन। त्रिचन्द्र क्याम्पसको आँगनमा रहेको नेपालकैे ऐतिहासिक सम्पदा घण्टाघरको गत बिहीबार देखिएको दुरावस्थाकोे दृश्य हो यो।

घण्टाघरको पहिलो तल्लाको गेट खोल्नेबित्तिकै माथिसम्म मरेका परेवा, भत्किएका गुँड र परेवाका बिस्टा तीन पत्र लागेको देख्न सकिन्छ। लाग्छ– वर्षौदेखि भुइँले कुचो देखेको छैन। त्यसैले भर्‍याङ उक्लिन र ओर्लनसमेत मुस्किल पर्छ।

‘पहिले घडी नहुँदा यही घडीको आधारमा सहरवासीको जीवन चल्थ्यो। तर, अहिले सबैको हातहातमा घडी छ। अहिले घण्टाघरको घण्टी बज्दा कति बज्यो भनेर सहरवासीले फर्केर पनि हेर्न छाडिसके। अहिलेसम्म यसको संरक्षण नभएकाले घडी संकटमा पर्छ कि भन्ने चिन्ता लागेको छ।


बाहिरदेखि जति घण्टाघर चम्किलो देखे पनि भित्र भने ज्यादै नाजुक देखिन्छ। तर, सरसफाइ र संरक्षणमा कुनै सरोकारवाला निकायको ध्यान जान सकेको छैन।  ३१ वर्षदेखि घण्टाघरको सारथि बन्दै आएका छन् बलम्बुका गणेश सापकोटा। उनी आफू एक्लैले स्याहार गर्न नसक्ने बताउँछन्। ‘मैलै २०४४ सालबाट घण्टाघरको हेरचाह गर्दै आएको छु। कुनै सरकारी निकाय संरक्षण र सरसफाइ गर्दैनन्,’ उनले भने, ‘सरसफाइ गर्नकै लागि कर्मचारी राखिएको छैन। म एक्लैले कसरी स्याहारसुसार गर्न सक्छु। वर्षदिनसम्म कहिले सफा हुँदैन। अब त घण्टाघर नाजुक अवस्थामा आइसकेको छ।’

२०७२ को भूकम्पले घण्टाघरमा सामान्य क्षति पुगेको थियो। उनका अनुसार २०३८ सालमा आगलागी भएपछि घन्टाघरको पेन्डुलम हल्लिन छाड्यो। त्यसअघि घन्टाघरको आवाजमा ब्युँझिन बानी परेको काठमाडौं सुनसान भयो। २०४४ सालमा काठमाडौंमा सार्क सम्मेलन हुने भयो। त्यतिबेला घडी चलाउनुपर्ने बाध्यता आइपर्‍यो। घडी बनाउनको लागि नेपालैभर मेकानिक खोजियो। तर, भेटिएन। ‘त्रिचन्द्र क्याम्पसमै त्यो बेला इलेक्ट्रिसियनको काम गर्थे। बनाउने मान्छे कोही नभएपछि म आफै लागेँ,’ उनले भने, ‘घडी बनाउन त्यति सजिलो काम होइन। तर, पनि दिनरात नभनी १३ दिनसम्म खटेर घडी चलाएर नै छोडे। त्यसदिनदेखि घण्टाघर मर्मत गर्ने मेरो जिम्मामा छ। यो नै मेरो चिनारी हो।’

घडी मर्मतका लागि कुनै सरकारी निकायबाट बजेट नआएको उनको दुखेसो छ। ‘पहिले घडीको पाटपूर्जा आफ्नै खर्चले फेर्थे। तर, अहिले त्रिचन्द्र कलेजले सबै पैसा व्याहोर्छ,’ उनले भने, ‘तर, सरकारले अहिलेसम्म घण्टाघर मर्मतको लागि कुनै आर्थिक सहयोग गरेको छैन।’  उनका अनुसार अहिलेसम्म पाटपूर्जा फेर्दा १२ हजार रूपैयाँसम्म खर्च लागेको छ। मुख्य सामानहरू बिग्रेमा धेरै खर्च लाग्छ। यसको संरक्षणको लागि पुरातत्व विभागले हेर्नुपर्ने हो। तर, विभागले कुनै चासो देखाएको छैन।

ऐतिहासिक घण्टाघरको अस्तित्व विस्तारै मासिन लागेको उनी बताउँछन्। ‘पहिले घडी नहुँदा यही घडीको आधारमा सहरवासीको जीवन चल्थ्यो। तर, अहिले सबैको हातहातमा घडी छ,’ उनले भने, ‘अहिले घण्टाघरको घण्टी बज्दा कति बज्यो भनेर सहरवासीले फर्केर पनि हेर्न छाडिसके। अहिलेसम्म यसको संरक्षण नभएकाले घडी संकटमा पर्छ कि भन्ने चिन्ता लागेको छ।’

घण्टाघर कसरी निर्माण भयो भन्नेबारे भने अनविज्ञ रहेको उनी सुनाउँछन्। ‘घन्टाघरको बाहिरी भित्तामा ‘श्री श्री श्री वीरशम्शेर’लेखिएको छ। यसबाट घण्टाघर तत्कालीन समयमा वीरशम्शेरकै पालामा ब्रिटेनबाट ल्याएर घडी बनाएको होलान् ?।’ लख काट्दै उनले भने। 

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले औपचारिकरूपमा समस्याबारे कुनै जानकारी नआएकाले चासो नलिएको बताउँछन्। ‘घण्टाघरको समस्याबारे केही जानकारी आएको छैन,’ उनले भने, ‘बल्ल हामीलाई जानकारी भयो। अब संरक्षणको लागि लाग्नेछौँ।’

घण्टाघरमा १५–१५ मिनेटको अन्तरालमा घन्टी बज्ने गरेको छ। तर, सहरको बढ्दो कोलाहलले यसको आवाजको दायरा विस्तारै साँघुरो बनाउँदै गएको छ। त्रिचन्द्र कलेजका विद्मार्थी दिनहुँ त्यही वरिपरि बस्छन्। तर, यसको सफाईमा उनीहरूको चासो देखिँदैन।

घण्टाघरको संरक्षण र मर्मतको लागि बजेट छुट्याउने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘रानीपोखरीको संरक्षणमा मात्रै लागेका थियौँ। घण्टाघरको संरक्षणमा लागेका थिएनौँ,’ उनले भने, ‘हामीलाई जानकारी भयो। घण्टाघर काठमाडौ“को धरोहर हो। त्यसैले मर्मतसम्भारको लागि बजेट छुट्याउन सकिन्छ। यस विषयमा छलफल गरेर बजेट निकासा गर्नेछौँ।’

एक सय पाँच फिट उचाई रहेको घण्टाघर वीरशम्शेर नेपालका ११ औं प्रधानमन्त्री हुँदा वि.स (१९४७–१९५२) मा निर्माण गरेको इतिहास छ। १९९० सालको महाभूकम्पले घण्टाघर क्षतविक्षत भयो। यद्यपि नेपालका राणा शासनका सातौं प्रधानमन्त्री महाराजा जुद्धशम्शेरको कार्यकालमा फेरि अर्को घण्टाघर निर्माण गरिएको पाइन्छ।

प्रकाशित: ६ फाल्गुन २०७५ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App