सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको जमिन आफ्नो धरातलमा छैन। स्वयम्भूको थुम्को दायाँबायाँ पहिरो जान सक्ने वा भासिन सक्ने खतरा छ।
स्वयम्भूका रुखविरुवा जरा समेत सोरिएर ढल्किनु, घर र पर्खाल चर्किनु जमिनले धरातल छोड्दै गएको प्रमाण हो। तन्किरहेको र बगिरहेको जमिनले स्वयम्भूको थुम्को घेरिएको छ। थुम्कोभित्र चट्टान र माटोको अवस्थाबारे विस्तृत जानकारी लिन जमिनभित्र २० मिटरसम्म प्वाल पारेर तारका माध्यमबाट ५ लाइनमा करेण्ट प्रवाह गरिनुका साथै ठाउँठाउँमा ग्रिलिङ गरेर अध्ययन गर्न लागिएको जानकारी दाहालले दिएका छन्।
अध्ययनबाट स्वयम्भू मूनि कस्तो जमिन छ? पहिरोको अवस्था के छ ? जमिनको क्षमता कति छ ? चट्टानको अवस्थिति कस्तो छ ? अरु निर्माणले हाम्रो धरोहरलाई असर पार्छ कि पार्दैन भन्ने विस्तृत जानकारी प्राप्त हुने विस्वास गरिएको छ।
१२ वैशाखको भुकम्पपछि पूर्ननिर्माण ५ देखि ७ वर्षभित्र गरिसक्नु पर्ने सरकारको नीति अनुसार रफ्तारमा रहेको स्वयम्भू परिसर भने एक्सरे र अप्रेशनको चपेटामा छ। काठमाडौँ उपत्यकामा आफैं उत्पत्ति भएका दुई नाथ पशुपतिनाथ र स्वयम्भूनाथलाई विसं १९९० र ०७२ को भुकम्पले हल्लाउन सकेन। दुबै मन्दिर परिसरमा मानव निर्मित घर तथा पर्खाल भत्किए। हामी यी नाथहरुमा विश्वास गर्ने हो भने अतिक्रमण नगर भनेर दिएको सन्देश हुन सक्छ। पशुपतिनाथ मानव वस्ती अतिक्रमणबाट मुक्त भएर विशुद्द धार्मिक तीर्थस्थलका रुपमा विकास भैरहेको अवस्थामा उपत्यकाको भ्युटावरका रुपमा रहेको विश्व सम्पदा सूचिमा सूचिकृत सबभन्दा पूरानो सम्पदा स्वयम्भू पनि मानव अतिक्रमणबाट मुक्त हुन जरुरी छ।
अहिलेसम्मका अध्ययन प्रतिवेदनलाई आधार बनाएर स्वयम्भूको बाहिरी आवरण संरक्षणमा लाग्दा नै उचित हुने स्थानीयको धारणा छ। उनीहरुले स्वयम्भूलाई फेरि अध्ययन र अनुसन्धानको नाममा खोतलखातल नगरिदिन पनि आग्रह गरेका छन्।
पशुपतिनाथमा पाँच भट्टद्वारा नित्य पूजा गरिन्छ। भट्टहरुलाई मन्दिर परिसरभित्रै क्वाटर, सुरक्षा गार्ड, तलव, भत्ता आदि व्यवस्था सरकारले गरेको छ। साथै भण्डारीहरुलाई मन्दिर परिसर बाहिर रहने व्यवस्था मिलाएको छ।
समय यही हो, सरकारले स्वयम्भूमा पनि त्यही किसिमको व्यवस्था मिलाउन जरुरी छ। स्वयम्भूमा तान्त्रिक विधिद्धारा पूजा गरिन्छ। अहिलेसम्म स्वयम्भूको नित्य पूजा र मन्दिरको संरक्षण पूजारी गुरुज्युहरुद्धारा हुँदै आएको छ। भूकम्पले गुरुज्यूको वासस्थान भत्किएको छ।
भूकम्पले भत्काएको गुरुज्युहरुको घर र ज्ञानमाला भजन खलःको सफाइको काम सकिएर पुननिर्माण प्रक्रियामा रहेकाले यतिबेला स्वयम्भू महाचैत्यको आँगन फराकिलो देखिएको छ। मन्दिर परिक्रमा सहज भएको छ। महाचैत्यको दर्शन उपत्यकाका विभिन्न स्थानबाट खुला रुपमा गर्न सकिएको छ। प्रष्ट देखिने प्रतापपुर र अनन्तपुर मन्दिरले महाचैत्यको शोभा बढाएका छन्। स्वयम्भूकै आँगनमा गुरुज्युहरुको घर पुनः निर्माण शुरु हुँदैछ। गुरुज्युहरुको वासस्थान स्वयम्भूमै हुनु पर्छ। त्यसमा दुइमत छैन। तर सुविधा सम्पन्न क्वाटरका रुपमा आँगनको अलिपर गुरुज्युहरुको वासस्थान निर्माण भैदिए स्वयम्भूनाथ दर्शनमा आउनेहरुलाई सजिलो हुन्थ्यो र स्वयम्भूकै शोभा बढ्ने थियो।
बस्तीका घर र व्यापारस्थल व्यवस्थित गर्ने उचित समय यही हो। यो काम सरकारले सरोकारवाला निकायसँग छलफल गरेर अहिल्यै शुरु गरिदिए अत्यन्त राम्रो हुने देखिन्छ। पुननिर्माण भैसकेपछि उक्त कार्य संभव देखिँदैन।
स्वयम्भू आफैंमा विशेष महत्व बोकेको सम्पदा हो। त्यहाँ आन्तरिक र बाह्य पर्यटक संख्यामा वृद्धि हुँदै गएको छ। वन पातलिएको छ। बाँदरको संख्या बढ्दै छ। स्वयम्भूको बाहिरी भागमा पुननिर्माण र भित्री भागमा अनुसन्धान एकैचोटी गरिदैं छ। मोटर गाडी र मान्छेको चापले स्वयम्भूको थुम्कोलाई असर परेको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण समितिले दैनिक खुवाउँदै आएको ३० किलो चनाले नअघाएर चाउचाउ, विस्कुट, कोकफ्यान्टा आदि पेय पदार्थ सेवनबाट रोगी, घाइते र अस्वस्थ हुँदै गएको बाँदरमा प्रष्टै देखिन्छ। स्वयम्भूको महत्व भनेकै महाचैत्य, वन र बाँदर नै हुन्। यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो।
विगतमा पनि विभिन्न देशका भूगर्भविदले समयसमयमा स्वयम्भूको अध्ययन गरिसकेका छन्। नेपालका विज्ञहरुले पहिलोपटक थुम्कोबारे अध्ययन शुरु गरेका हुन्। यो खुसीको कुरा हो तर अहिलेसम्मका अध्ययन प्रतिवेदनलाई आधार बनाएर स्वयम्भूको बाहिरी आवरण संरक्षणमा लाग्दा नै उचित हुने धारणा स्थानीयको छ। उनीहरुले स्वयम्भूलाई फेरि अध्ययन र अनुसन्धानका नाममा खोतलखातल नगरिदिन पनि आग्रह गरेका छन्।
प्रकाशित: १९ माघ २०७५ ०३:१९ शनिबार