आज लघुकथा लेखन चुनौतीपूर्ण बन्दै गइरहेको छ। लघुकथाको सिद्धान्त निर्माणका साथै यसमै केन्द्रित भएर लेख्नेहरुको दरिलो उपस्थिति, नयाँनयाँ स्रष्टाको उदय, कृति प्रकाशनमा बृद्धि र प्रयोगशील आग्रहका साथको लेखनले पनि यो विधा स्तरीय र चुनौतीपूर्ण बन्दै गएको हो।
अब लेखिने लघुकथामा निश्चित मापदण्ड, पाठकीय अपेक्षा र समालोचकीय आग्रह रहने भएकाले पनि चुनौतीपूर्ण छ। यसले स्रष्टालाई नयाँ ढंगले लेख्नुपर्ने, स्तरीयतातर्फ सोच्नुपर्ने बाध्यता आइपरेको छ। अन्यथा लघुकथा सामान्य रचनाका रुपमा हराउन बेर छैन।
कुनै एउटा दृश्य, घटना, क्षण वा अनुभूतिको सेरोफेरोलाई कम भन्दा कम दुई वा तीन प्रसंगभित्र सीमित रहेर विना कुनै भूमिका र पृष्ठभूमिमा सिधा प्रस्तुत गरिने कथात्मक रचना नै लघुकथा हो। लेखनको परम्परा र त्यसअनुरुप सैद्धान्तिक अवधारणा निर्माणले नेपाली साहित्यमा यस प्रकारका लघुकथा लेखनमा तिब्रता आएको छ।
यसै क्रममा देखापरेका छन्–गणेश श्रमण। कविता लेखनपछि उनले लघुकथामा सम्भावनायुक्त कथाकारको छवि बनाएका छन्। उनको कृति ‘गुलियो काठमाडौं’ एउटा उपलब्धि हो।
पुस्तकमा ५६ लघुकथा छन्। समाजका यौनधन्दा, राजनीतिक क्षेत्रमा व्याप्त विसंगति, बैदेशिक रोजगारमा जानेका पीडा, साहित्यमा समेत विकृति मौलाएको, प्रेमको स्वरुप फेरिएको, पुस्तान्तरमा आएको फरक सोच, शान्तिको चाहना, बालमनोविज्ञान तथा मानवीय मूल्यको क्षयिकरण आदि विषयका रचना मार्फत उनले समयको चिरपरिचित रुपलाई नै अलि फरक ढंगले पस्केका छन्।
सङ्ग्रहको पहिलो रचना ‘दुई शब्द’मा अनावश्यक रुपले कार्यक्रममा पट्याइलाग्दो भाषण गर्ने तर भन्ने बेलामा दुई शब्द भन्ने प्रवृत्तिमाथि कटाक्ष गरिएको छ। अचेल मानिसमा सहयोगको भावना नभएको र मानवियता संकटमा परेको विषय ‘दुर्घटना’मा प्रभावकारी रुपले उठाएको छ। यस्तै मानविय अवमूल्यनको विषय लिएर श्रमणले बोझ, तपस्वी, परम्परा, मुख, दाजुभाइ, मानसिकता आदि रचनामा फरकफरक ढंगले प्रस्तुत गरेका छन्।
समानता, स्वार्थ, वार्ता, सत्ता, सेतोकालो, सिफारिस, एकादेशमा, कू, विघटन, रातोघर, वडा नं उनाइस, घोषणापत्र, हरियो उखु आदि रचना राजनीतिक विषयमाथि केन्द्रित छन्। उखुको माध्यमबाट नेताको प्रवृत्ति चित्रण गरिएको हरियो उखु राम्रो लघुकथा बनेको छ। मकैको ढोड जस्ता नेता चुनावताका उखुजस्ता रसिला हुने गरेको भनेर गरिएको व्यंग्य सार्थक छ। राजनीतिमा कति हदसम्म विकृति बढ्यो भन्ने विषयलाई ‘समानता’मा देखाइएको छ। सत्तामा पुग्न जे पनि गरिने चरित्रको चित्रण स्वार्थमा छ। राजनीतिमा असान्दर्भिक विवाद र बाह्य हस्तक्षेप स्विकार्ने दास मनोवृत्तिको सशक्त चित्रण गरिएको छ ‘सेतोकालो’मा। संग्रहको एउटा महत्वपूर्ण लघुकथा हो यो।
‘गुलियो काठमाडौं’ शीर्षक कथा बालमनोविज्ञानको चित्रण गरिएको सुन्दर रचना हो। यसमा शहरबाट बालबच्चालाई जस्तो स्वादको वस्तु ल्याइदियो त्यस्तै सोच्ने मानसिकताको चित्रण गरिएको छ।
यसैगरी वडा नं उनाइस, सिफारिस, रुनु न हाँस्नु, वार्ता आदि लघुकथाका माध्यमबाट राजनीतिमा निरर्थकता, कुर्सीमोह शक्तिको दुरुपयोग गरिने प्रवृत्तिमाथि व्यंग्य गरिएको छ।
आधुनिक जीवनशैली र शहरी वातावरणको एउटा विसंगत पक्ष भनेको अव्यवस्था हो। भावनाको शोषण, यौनधन्दा, मूल्यहिनता, अमानवीय पक्ष यसका कमजोरी हुन्। तस्बिर, शान्ति शान्ति, बलबहादुर, भोक, राम्रो मान्छे, संवाद, प्रिपेड गल, बोझ, तुलसीको मठ आदि रचनाका माध्यमबाट उनले शहरी जीवनको रतिराग, यौनधन्दा र प्रेमको रुप प्रस्तुत गरेका छन्।
‘राम्रो मान्छे’को प्रस्तुति आकर्षक छ। यसमा कुनै बेला मागेर जीविका चलाउने केटी अलि ठूली हुँदा रुप बेचेर जीविकोपार्जन गरिएको विषय छ भने संवाद लघुकथामा आधुनिक समयका युवायुवतीको यौन चाहनाको कथा उतारिएको छ। भोक, छोराको चिठी र बलबहादुरमा पनि यौनकै विषय छ। यी कथामा उठाइएका प्रसंग राम्रो भइकन पनि प्रस्तुति लामो र संरचनालाई शिल्पयुक्त बनाउन नसक्दा प्रभावकारी हुन सकेन।
संग्रहको शीर्षक समेत रहेको ‘गुलियो काठमाडौ’ बालमनोविज्ञानको चित्रण गरिएको सुन्दर रचना हो। शहरबाट बालबच्चालाई जेजस्तो वा जस्तो स्वादको वस्तु ल्याइदियो त्यस्तै सोच्ने मानसिकताको चित्रण रमाइलो विषय हो। यसबाहेक संग्रहमा द्धन्द्धकालको विषयमा लेखिएको स्वदेश, साहित्यिक विसंगतिका बारेमा लेखिएका स्तरियता, कवि सम्मान, पुरस्कार आदि कथा पनि पठनीय छन्।
श्रमणको एउटा उलेख्य लघुकथा हो–‘सुन्तलाको बोट’। गाउँमा आमा नभएको विषयलाई उनले फरक ढंगले प्रस्तुत गरेका छन्। प्रस्तुत संग्रह श्रमणको औसत रुपमा राम्रै कृति हो। यद्यपि उनले केही कथालाई हतारमा विना शिल्प र संयोजनमा लेखेका छन्। लामा, अनावश्यक गन्थन र प्रभावकारीताको अभावले रचनाको संप्रेषणलाई क्षति पुर्याउँछ। केही रचनामा क्षमता देखाएका छन् भने केहीमा विषय मोहका कारण आकार लम्याएका छन्। र, संरचनापक्षमा पनि कम ध्यान दिएका छन्।
प्रगतिशीलता, कटाक्ष, खुसी, मजाक आदि लघुकथामा उनले कम ध्यान दिएका छन्। तथापि कविताबाट लघुकथामा आएर पहिलो संकलनमै सम्भावनाको आकार देखाउनुलाई भने सकारात्मक रुपमा लिनु पर्दछ। ‘गुलियो काठमाडौं’ कृतिलाई लघुकथा लेखनका लागि आगामी दिन उज्यालो हुने संकेतका रुपमा लिनुपर्छ।
प्रकाशित: १९ माघ २०७५ ०२:५१ शनिबार