पुराणहरू साहित्यका उपजीव्य ग्रन्थ हुन्। पुराण शब्दको अर्थ पुरानो हो। ‘पुरा अपि नवं’ प्राचीन भएर पनि नयाँका रूपमा पुराणलाई लिइन्छ। त्यसैले पुराणहरूमा प्राचीन संस्कृतिसित सम्बद्ध र सार्वकालिक सन्देश दिने आख्यान–उपाख्यान छन्। वेद परमेश्वरका श्वासप्रश्वास भएकाले र पुराणहरू पनि वेदकै व्याख्यात्मक ग्रन्थ भएकाले पुराणलाई पनि परमेश्वरबाट सृष्ट रचनाका रूपमा लिने गरिन्छ। परमात्माको निश्वास रूप हुन्– ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद पुराण।
पुराणमा सृष्टि प्रक्रिया, लय र पुनः सृष्टि, देवता, तीर्थ, व्रत साहित्यिक र दार्शनिक चिन्तन, भौगोलिक र ऐतिहासिक वर्णन, अवतारवर्णन, स्वर्गनरकको स्थिति, वर्णाश्रम धर्म, याज्ञिक विधिविधानको उल्लेख, ऋषि तथा राजाको वंश वर्णनसित सम्बद्ध विषयवस्तु पुराणमा अन्तर्निहित छन्। प्रारम्भमा वेद एउटै भएजस्तै पुराण पनि एउटै थियो भन्ने किम्बदन्ती पाइन्छ। पछि विभाजन गरिने क्रममा १८ महापुराण र १८ उपपुराणको संख्या निर्धारण गरियो। यहाँ १८ महापुराणको चर्चा गरिएको छ। १८ पुराणका सम्पादक र विभाजक व्यास हुन्। महापुराण र उपपुराण १८÷१८ गरी ३६ पुराणको गणना गरिए पनि हाल महापुराणलाई नै बढी ग्रहण गर्ने गरिएको छ।
मत्स्य पुराण : मत्स्य पुराणमा करिब १४ हजार श्लोक छन्। सृष्टि प्रक्रिया मन्वन्तरवर्णन, मनुमत्स्य कथा, मरुत्को उत्पत्ति, चन्द्र तथा बुधको आख्यान मनु र श्रद्धाको कथा, त्रिपुरासुर र तारकासुरको वध, विभिन्न व्रत उपवास, तीर्थ र द्वीपको विवरण दिइएको छ।
मार्कण्डेय पुराण : यसमा करिब ९ हजार श्लोक छन्। मार्कण्डेय पुराणको विशेष महत्व देवी महात्म्य वर्णन गर्नु रहेको छ। महाकाली, महालक्ष्मी, महासरस्वतीको प्रभाव र सामथ्र्यको विशद वर्णन गरिएको छ। हाल प्रचलित सप्तशती चण्डी मार्कण्डेय पुराणबाट लिइएको हो।
भविष्य पुराण : भविष्य पुराणमा १४ हजार ५ सय श्लोक छन्। यसमा ब्रह्मा, विष्णु, शिव, सूर्य र प्रतिसर्ग नामका पाँच पर्व छन्। सुरुका पाँच पर्वमा तत् तत् देवताको पूजाद्धति र व्रतसम्बन्धी विषयवस्तु समाविष्ट गरी अन्तिम प्रतिसर्ग पर्वमा भारतवर्षको १९ औं शताब्दी सम्मको घटनाक्रमलाई भविष्यवाणीद्वारा निरुपित गरिएको छ।
भागवत पुराण : भागवत पुराणमा १८ हजार श्लोक छन्। यो १२ स्कन्ध र ३३५ अध्यायमा विभक्त छ। चिन्तन शैली र पाण्डित्यको कसैटीका रूपमा भागवतलाई लिइन्छ। यसैले ‘विद्यावतां भागवते परीक्षा’ अर्थात् विद्वान्हरूको परीक्षा भागवतमा हुन्छ भनिएको छ। भागवतमा सृष्टि प्रक्रिया, अवतार वर्णन, वंशवर्णन, दार्शनिक चिन्तन एवं स्तुतिसँग सम्बद्ध विषयवस्तु छन्।
ब्रह्माण्ड पुराण : ब्रहमाण्ड पुराणमा १२ हजार श्लोक छन्। विभिन्न देवताको स्तोत्र, आख्यान–उपाख्यान, देवीदेवताको माहात्म्य निरूपण गरिएको छ। विशेष गरी रामको उपासनापद्धतिको सूक्ष्म निरूपण गरिएको छ। अध्यात्म रामायण यसै पुराणबाट लिइएको हो। ब्रह्मवैवर्त
पुराण : ब्रहमवर्त पुराणमा १८ हजार श्लोक छन्। कृष्णभक्ति र कृष्णोपासनाको विशद विवरण यसमा रहेको छ। यो पुराण ब्रह्म खण्ड, प्रकृति खण्ड, गणेश खण्ड र कृष्ण खण्ड गरी चार खण्डमा विभक्त छ। ब्रह्मखण्डमा सृष्टि प्रक्रिया, प्रकृति खण्डमा आद्यशक्तिको निरूपण, गणेश खण्डमा गणेशको वर्णन, कृष्ण खण्डमा कृष्णका समग्र लीलाको बारेमा वर्णन गरिएको छ।
ब्रह्म पुराण : यस पुराणमा १० हजार श्लोक छन्। तीर्थको ऐतिहासिक विवरण, शिव–पार्वतीको विवाह प्रसंग, विष्णुपूजा पद्धति एवं विष्णु अवतार वर्णन तथा शिव उपासना तथा सूर्य–उपासनाको निरूपण गरिएको छ।
वामन पुराण: यसमा १० हजार श्लोक छन्। १०० अध्यायमा विभक्त यस पुराणमा वामन अवतारको वर्णन मुख्यरूपमा आएको छ भने शिव पार्वतीको विवाह र लिंग पूजाको विवरण पनि प्रस्तुत गरिएको छ।
वराह पुराण : वराह पुराणमा २४ हजार श्लोक छन्। यसमा मुख्यतः वराह अवतारको वर्णन गरिएको छ। साथै शिव तथा दुर्गासँग सम्बद्ध आख्यान पनि रहेका छन्। यस्तै नचिकेतोपाख्यानको निरूपणका साथै श्राद्धसम्बन्धी विधिविधानको उल्लेख पनि गरिएको छ।
विष्णु पुराण : विष्णु पुराणमा २४ हजार श्लोक संख्या रहेको मानिए पनि हाल उपलब्ध संस्करणमा ६ हजार श्लोकमात्र छन्। यसमा मुख्यरूपमा विष्णुको अवतारवर्णन एवं उपासना पद्धतिको निरूपण गरिएको छ। यो ६ अंश वा खण्डमा विभक्त छ।
वायु पुराण : वायु पुराणमा करिब २४ हजार श्लोक छन्। यसमा शिवस्तुति, गुप्त राजाहरूको वंश वर्णन, विष्णु चरित्र, तीर्थ तथा तीर्थमा गरिने श्राद्धसम्बन्धी विधिविधानको उल्लेख गरिएको छ।
अग्नि पुराण : अग्नि पुराणको श्लोक सङ्ख्या १५ हजार रहेको उल्लेख पाइए पनि हाल यसमा ११ हजार ५ सय श्लोक मात्र रहेका छन्। यसमा शास्त्र र कलाको विस्तृत विवेचना पाइन्छ। काव्यशास्त्र, नाट्यशास्त्र, अर्थशास्त्र, ज्योतिष, व्याकरण आदि शास्त्रीय विषयको निरूपण गरिएको छ। रामायण र महाभारतको संक्षिप्त सार पनि प्रस्तुत गरिएको छ।
नारद पुराण ः नारद पुराणमा २५ हजार श्लोक छन्। यसलाई नारदीय पुराण पनि भनिन्छ। विष्णु उपासनाको महŒव र विधि, तथा धर्मशास्त्र सम्बद्ध विषयवस्तु यसमा रहेका छन्। यसमा सम्पूर्ण पुराणको विषयसूची पनि दिइएको छ।
पद्म पुराण : पद्म पुराणमा ५५ हजार श्लोक छन्। यसमा सृष्टि प्रक्रिया, सूर्यवंशी तथा चन्द्रवंशी राजाको वंशवर्णन, देवासुर युद्ध, रामायण कथा, कार्तिकेय चरित्र, तीर्थव्रत, स्वर्गनरकसम्बन्धी वर्णन गरिएको छ।
लिंग पुराण : लिंग पुराणमा ११ हजार श्लोक छन्। यस पुराणमा शिवको पूजा र उपासना विधि एवं शैव तन्त्र र शैव दर्शनसम्बन्धी विस्तृत विवेचना गरिएको छ।
गरुड पुराण : गरुड पुराणमा १८ हजार श्लोक छन्। यसमा स्वर्गलोक तथा नरकलोकको विस्तृत विवेचना पाइन्छ। कुन किसिमको पाप गर्नाले मानिसले कुन नरकमा जानुपर्छ भन्ने कुरा विशद रूपमा बताइएको छ। यस्तै प्राणीको सृष्टि एवं विकास प्रक्रियाका बारेमा पनि सबिस्तार निरूपण गरिएको छ।
कूर्म पुराण : कूर्म पुराणमा १७ हजार श्लोक छन्। तर पूर्ण श्लोक सङ्ख्या भएको पुराण उपलब्ध छैन। यसमा विष्णुका अवतार तथा विशेष गरी कूर्मावतारको निरूपण गरिएको छ। ईश्वर गीता, व्यास गीता पनि कूर्म पुराणमा नै रहेका छन्।
स्कन्द पुराण : स्कन्द पुराणमा ८१ हजार श्लोक छन्। यो बृहत्तम पुराण हो। यसमा प्राचीन भारतको भूगोल तथा सम्पूर्ण तीर्थको सविस्तार निरूपण गरिएको छ।
प्रकाशित: ५ माघ २०७५ ०६:१८ शनिबार