९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

चिसोमा किन बढ्छ वायु प्रदूषण ? स्वास्थ्यमा कस्तो असर पर्छ ?

जाडो मौसममा काठमाडाैं उपत्यकामा वायुप्रदूषण ह्वात्तै बढ्ने गर्छ । वातवरणविद् भूषण तुलाधर चिसोमा वायु प्रदूषण बढ्नुका मुख्य दुई कारण औंल्याउँछन् । त्यसमध्ये एउटा प्राकृतिक कारण हो भने अर्काे मानवीय कारण । तुलाधर चिसो मौसममा पानी पर्न बन्द हुने हुँदा प्रदूषणको मात्र बढ्ने बताउँछन् । 

‘पानी पर्दा प्रदूषण नियन्त्रण हुन्छ, पानी पर्न छोडेपछि प्रदूषण बढ्छ । वर्षामा धुलोलगायतको प्रदूषणलाई पानीले पखालेर लैजान्छ,’ तुलाधरले भने । जाडो मौसममा चिसो हावाको लेयर तल बसिरहेको हुन्छ । त्यसको माथि तातो हावा, त्यसमाथि पुनः चिसो हावाको तह हुन्छ । तातो र चिसो हावाको तहले ढकनको काम गर्ने भएकाले दिनभरको प्रदूषण रातभरि कतै जान पाउँदैन । रातभर प्रदूषण जमिनको सतहमै बसिरहेको हुन्छ । अघिल्लो दिनदेखिको प्रदूषण अर्काे दिन बिहानसम्म पुग्दा थुप्रिँदै जाने र प्रदूषणको मात्रा धेरै हुने तुलाधर बताउँछन् । बिहान भएपछि  प्रदूषणको स्रोत पनि बढ्दै जाने भएकाले बिहानको समयमा अत्यधिक प्रदूषण हुने उनी बताउँछन् । 

काठमाडाैंमा बिहान १२ बजेतिर पश्चिमी वायु आउने र त्यसले प्रदूषणलाई बगाएर पूर्व हुँदै साँघा भञ्ज्याङबाट बाहिर निकाल्ने उनी बताउँछन् । प्रदूषणको मात्रा बिहान घाम लागिसकेपछि तातेर अलिकति माथि जाने र दिउँसो १/२ बजेतिर प्रदूषणको मात्रा घटेर न्यूनतम अवस्थामा आउने उनको भनाइ छ । बेलुका ४/५ बजेपछि पुनः प्रदूषण बढ्न सुरु गर्छ । यो प्रदूषणको प्राकृतिक कारण हो । प्राकृतिक कारणमा वर्षा, तापक्रम र वायुको प्रभाव हुन्छ ।  

प्रदूषण बढ्ने अर्काे कारण मानवीय कारण हो भन्छन् तुलाधर । वर्षायाममा बन्द हुने इँटाभट्टा जाडो सुरु भएसँगै सञ्चालन हुन थाल्छन् । जाडो मौसममा कृषिजन्य पदार्थका अवशेष, घरघरमा पात पतिंगर र फोहोर जलाउँदा पनि प्रदूषण बढ्छ । जाडोमा आगोताप्नका लागि पनि आगो बाल्ने गरिन्छ । यसका अलावा सवारी साधनबाट निस्कने प्रदूषण पनि अर्काे कारण हो । 

वातावरणसम्बन्धी विभिन्न तथ्यांकले वर्षामा भन्दा हिउँदमा तीनदेखि चार गुणा बढी प्रदूषण हुने पुष्टि गरेको छ । अहिले जाडो सुरु मात्र भएकाले प्रदूषण पनि बिस्तारै बढिरहेको छ । पुस माघसम्म वायुप्रदूषण निरन्तर बढिरहने उनी बताउँछन् ।  

के हुन्छ वायु प्रदूषणको असर ?

वातावरणविद् तुलाधर वायुप्रदूषणले तत्काल देखिने र दीर्घकालीन असर पार्ने बताउँछन् । तत्कालै देखिने असरमा स्वासप्रश्वास प्रणालीमा समस्या, खोकी लाग्नेजस्ता समस्या हुन्छन् । दमका रोगी, बच्चा र वृद्धलाई पनि यसले तत्कालै असर देखिन्छ, । 

अर्काे भनेको दीर्घकालीन समस्या हो । तुलाधार वायू प्रदूषणमा रहेका विषाक्त प्रदूषणका कारण क्यान्सर हुनसक्ने सम्भावना हुन्छ भन्छन् ।  पहिले फोक्सोको क्यान्सर ५०/६० वर्ष कटेपछि मात्र देखिने गरेकोमा पछिल्लो समय चिकित्सकहरुले ३०/४० वर्षको उमेरमै फोक्सोको क्यान्सर देखिन थालेको बताउने गरेका छन् । यसको प्रमुख कारण वायु प्रदूषणलाई मानिएको छ । चिकित्सकहरु पहिले फोक्सो गुलाबी रङको हुने भए पनि आजभोलि फोक्सोमा कालाकाला थोप्ला देखिन थालेको बताउने गरेका छन् । अहिले चुरोट नखानेलाई पनि फोक्सोको क्यान्सर हुन थालेको छ । 

अहिले यसले हृदय रोग र मस्तिष्कघातको समस्या पनि देखाउन थालेको छ । डिजेलको धुवाँले पनि असर गर्छ । यसको असर गर्भमा रहेको बच्चादेखि वृद्धसम्मलाई गर्ने गर्छ । 

चिसो समयमा बिहान मर्निङ वाक गर्नु पनि जोखिमपूर्ण मानिन्छ । प्रदूषण जमिनको सतहमा थुप्रिएर बसेको हुनाले मर्निङ वाकका बेला त्यो सिधै स्वासप्रश्वासको माध्यमबाट शरीरभित्र जाने विज्ञहरु बताउँछन् । तुलाधर भने मर्निङ वाक गर्नै नहुने भन्ने नरहेको बताउँछन् । ‘बिहानमा मर्निङ वाक गर्नै हुँदैन भन्ने होइन, तर प्रदूषण कम भएका ठाउँमा गर्नुपर्छ,’ उनले भने । उनी घरमै बस्दा पनि प्रदूषणको असर देखिने बताउँछन् । बिहान मर्निङ वाक जाँदा कडा व्यायाम गर्दा भने ख्याल गर्नुपर्ने उनी बताउँछन् । ‘कडा व्यायाम गर्दा बढी हावा लिनुपर्ने भएकाले यसको असर देखिन सक्छ । प्रदूषण कम भएको ठाउँमा जाने वा मर्निङ वाक गर्दा माक्स प्रयोग गर्न सकिन्छ,’ उनले भने । मर्निङ वाकका फाइदा धेरै भएकाले समय र स्थान छनोट गर्दा ध्यान दिन आवश्यक पर्छ । सवारी साधनको चाप बढी भएका स्थानमा जाँदा ख्याल राख्नुपर्ने उनी बताउँछन् । 

वातावरणसम्बन्धी अध्येता एवं वायु प्रदूषणको अवस्थाबारे जानकारी दिने मञ्च दृष्टि लाइभका सदस्य अजय श्रेष्ठ चिसो समयमा हावामा पिएम (पार्टीकुलेट म्याटर)  २.५ को मात्रा निकै बढ्ने बताउँछन् । स्वास्थ्यका लागि निकै घातक मानिने यो कणलाई नाक र थुकले समेत छेक्न नसक्ने र यसले स्वास्थ्यमा गम्भीर असर पार्ने उनको तर्क छ ।  

‘सामान्यतः धुलोको कणलाई पिएम १० मा मापन गरिन्छ, जसलाई नाकको रौँ र थुकले एक तहसम्म फोक्सोसम्म जान रोक लगाउँछ । तर पिएम २.५ आँखाले देख्नेभन्दा पनि सानो हुन्छ । यो फोक्सो हुँदै रगतमा जान्छ । र हाम्रो शरीरलाई नोक्सानी पु-याउँछ,’ उनले भने । 

पीएम २.५ कार्बनजन्य पदार्थ बाल्दा निस्कने गर्छ । दाउरा बाल्दा, पेट्रोेल र डिजेलयुक्त पदार्थका कारण हुने धुवाँले गर्दा पिएम २.५ बढाउने गर्छ । काठमाडाैं उपत्यकाको आकारका कारण जाडो महिनामा उक्त कण बाहिर निस्कन नसक्ने उनको भनाइ छ । ‘मनसुनको समयमा खासै समस्या हुँदैन किन भने पानीले उक्त कणलाई भूइँमा ल्याइदिन्छ, भूइमा झरेपछि अरु धुलोसँग मिसिएर ठूलो हुन्छ र हाम्रो नाक र थुकले फिल्टर गर्नसक्ने अवस्थामा हुन्छ,’ उनले भने । घामले यसलाई आकाशतिर लैजाने र हावाले यसलाई बाहिर लैजाने उनको भनाइ छ । बिहान र बेलुकामा गाडीबाट निस्कने प्रदूषण चिसोका कारण बाहिर निस्कन नसक्ने भएकाले बढी जम्मा हुने उनको भनाइ छ ।  

एक अध्ययनले पिएम २.५ को मात्रा २२ पुग्दा त्यसको असर एउटा चुरोट खाए बराबर हुने जनाएको छ । काठमाडांै उपत्यकामा चिसो समयमा बिहान एक सय वा त्यसभन्दा बढी पिएम २.५ को मात्रा हुने गरेको श्रेष्ठ बताउँछन् । यो घातक कणको मात्रा एक सयको आसपासमा हुनु भनेको करिब पाँच वटा चुरोट खाए बराबर हो । तर यसको मात्रा हरेक घण्टा फरक हुने श्रेष्ठ बताउँछन् । दिउँसोको समयमा यसको मात्रा निकै कम हुनेगर्छ । 

विश्वस्वास्थ्य संगठनका अनुसार पिएम २.५ को मात्रा १० युनिटसम्मको अवस्थालाई सामान्य मानिन्छ । नेपालको हकमा ४० सम्मलाई औसत भनेको छ । वातावरण नखुल्दा पिएम २.५ को मात्रा धेरै हुन्छ भने आकाश खुल्दा यो बिस्तारै कम भएर जाने श्रेष्ठ बताउँछन् । 

प्रकाशित: २ माघ २०७५ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App