२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्य

खेतीयोग्य जमिनमा प्लटिङ

तरकारी उत्पादनका हिसावले भक्तपुरको प्रख्यात ठाउँ हो, मध्यपुर थिमिको मनोहरा क्षेत्र। गाँजर, लसुन, हरियो सागपात उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात छ। यहाँका किसान सधैंभरि तरकारीबारीमा व्यस्त रहन्छन्। तर, यही खेतीपाती गर्ने प्रख्यात ठाउँमा सरकारले जग्गा एकीकरण आयोजना संचालन गरिरहेको छ।

खेतीयोग्य जमिनमा जग्गा एकीकरण आयोजनाबाट स्थानीयहरू भने खुसी छैनन्। आयोजना सञ्चालन गर्न सरकारले अनुमति दिइसकेपछि पनि स्थानीयले विरोध गरिरहेका छन्। स्थानीयको विरोधकै कारण आयोजनाको काम रोकिएको छ।

यो मध्यपुर थिमि नगरपालिका वडा नं. २ भक्तपुर र काठमाडौंको सिमाना मनोहरा खोलामा पर्छ। भक्तपुर सानोठिमीका स्थानीय राजमती प्रजापतिले यस जग्गा एकीकरण आयोजनाबाट आफू मात्रै नभई धेरै किसान खुुसी नभएको बताइन्।

गाँजरको बाली गोड्दै गरेकी उनले भनिन्, ‘खेतीयोग्य जमिनमा जग्गा एकीकरण गरेपछि हामीले बाली कहाँ लगाउने ?’ जग्गा एकीकरण भएपछि यहाँ घर बन्न सुरु हुने उनले सुनाइन्। अर्की किसान सुनमाया श्रेष्ठले जग्गा एकीकरण आयोजनाले लालपुर्जा दिन थालेपछि जग्गा किनबेच सुरु भइसकेको सुनाइन्।

जग्गा एकीकरणको काम नसकिँदै घडेरीको लागि जग्गाको किनबेच सुरु भएको उनी सुनाउँछिन्। एकीकरणको काम नसकिँदै घर बन्न सुरु भएको यस्तो ठाउँमा एकीकरण सकेपछि तीव्र घर निर्माणको काम सुरु हुने उनको अनुमान छ। त्यसपछि चाहेर पनि खेती गर्न नसकिने उनले बताइन्। एकीकरण आयोजनाले एकीकरण भएको जग्गा मिलाएर जग्गा धनीलाई लालपुर्जा बनाइरहेको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकृत नरेन्द्र न्यौपानेले नीतिगत समस्याले खेतीयोग्य जमिनमा पनि प्लटिङ भएको बताए। ‘सरकारले पहिला नै त्यस क्षेत्रलाई कृषि क्षेत्र घोषणा गरी प्लटिङ गर्न नपाइने व्यवस्था गरेको भए यस्तो हुँदैनथ्यो,’ उनले भने।

मनोहरा खोलाको अनियन्त्रित कटान र बहावलाई नियन्त्रित र व्यवस्थित गर्ने उद्देश्यले पनि प्लटिङ गरेको उनले बताए। यो प्लानिङ मनोहरा खोलासँगै जोडिएको छ। भक्तपुर र काडमाडौं सिमाना छुुुुटाउने भक्तपुरतिर पर्छ यो प्लटिङ।

२०६२ सालदेखि धोषणा गरी २०७२ सालदेखि दिव्येश्वरी जग्गा एकीकरण आयोजना नाम दिई यहाँ प्लटिङको काम सुुुरु गरिएकोे छ। यस आयोजनाको कुुल क्षेत्रफल ५२५ रोपनी १० आना २ पैसा १ दाम क्षेत्रफलमा प्लटिङ गरिएको छ। प्लटिङका अहिले विद्युतको लागि पोल हाल्ने काम धमाधम भइरहेका छन्। 

प्रकाशित: २७ पुस २०७५ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App