डा. प्रभा कैनी
नियात्राकार गीता रेग्मीको नियात्रासंग्रह ‘पत्थरैपत्थर’ पाठकमाझ आइपुगेको छ। यसमा नियात्राकारले बर्मा, थाइल्यान्ड र मलेसिया घुमघामका घटना, संस्कृति र ती ठाउँका रोचक सन्दर्भलाई २४ शीर्षकमा प्रस्तुत गरेकी छन्। नियात्रा र निबन्धका सीमा र तत्वमा खास भिन्नता नभएकाले यी नियात्राका सन्दर्भ आफैंमा राम्रा निबन्ध पनि हुनसक्छन्। यद्यपि नियात्रामा भ्रमणको परिपाक हालिएकाले ‘पत्थरैपत्थर’ खिरिलो बनेको छ।
‘रुबील्यान्डको यात्रा’ नियात्रामा नेपाली मजदुरहरूले बर्माका पत्थर खानीमा बहुमूल्य पत्थर निकाल्न गरेको ज्यादै जोखिमपूर्ण श्रम र यसबाट पर्ने जिन्दगीका अप्ठ्यारा र क्षतिको मार्मिक वर्णनका आधारमा पुस्तकको नाम पत्थरैपत्थर राखिएको हुन सक्छ। शीर्षकको सार्थकतामा कुनै सन्देह छैन।
नियात्रा ‘चञ्चलमन’बाट सुरु भई ‘खापुन्खा’ मा पुगेर सकिन्छ। यी यात्राका दौरान पाठक बर्माका खेत, खलियान, पहाड, मैदान, खानपिन, चैत्य र गुम्बाका प्यागोडासँग मितेरी गाँस्न पुग्छन्। नियात्राकारको वर्णनात्मक शैलीले हामीलाई उनीसँगै यात्रामा सामेल हुन र यात्राको मस्तीमा डुब्न बाध्य गराउँछ। बर्मेली नेपालीको परोपकारी मन, पुर्खाहरूको मर्यादा रक्षार्थ मेरिमेटिने भाव र धर्मप्रतिको भक्तिभाव देख्दा हामी तिनका मायाले भुतुक्क हुन्छौं। यसै बहानामा हाम्रो छाती गर्वले चौंडा हुन्छ। यद्यपि बर्माको कठोर शासन व्यवस्था र त्यहाँका नेपालीको कठोर दैनिकीले जीवनको टर्राेपना र वेदनाको कथा भन्छ।
‘सफारी वल्र्ड’ र ‘बैंकक’ शीर्षकका नियात्राले पाठक रोमाञ्चक थप्ने योग्यता राखेका छन्। समग्रमा नियात्रा सङ्ग्रह छरितो आकार बोकेको सर्सती पढ्न सकिने र पढेपछि मधुरो मिठास लिन सकिने खालको छ।
बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीप्रतिको नियात्राकारको श्रद्धा र सम्मान बर्मा यात्राभर दोहोरिइरहन्छ। धेरैजसो ठाउँमा नियात्रा आत्मपरक निबन्धको पारामा हिँडेको छ। लेखकको यो शैलीमा पनि मिठास पाउन सकिन्छ। कतिपय ठाउँका वर्णन सुन्दा नेपालकै कुनै ठाउँको वर्णन जस्तो प्रतीत हुन्छ। बर्माको राष्ट्रिय पोशाक लुंगीको बयान गर्दा पाठक घटनाको सन्दर्भमा मज्जा मान्दै यात्रामै हराइरहन चाहन्छ। त्यहाँका बौद्धमार्गीहरूको बुद्ध प्रेम र आराधना स्वाभाविक लाग्दालाग्दै पनि कताकता अनौठो पनि लाग्छ।
राजधानी सारिरहने बर्मेली सरकारले हाललाई रंगुनभन्दा ३५० किलोमीटर पर नेपिटो भन्ने ठाउँलाई राजधानी बनाएको र त्यहाँको सरकारले विशेष जनकल्याणकारी काम खास केही नगरेकामा नियात्राकारले चित्त दुखाएकी छन्। श्वडागोन प्यागोडाको वर्णन पढ्दा पाठक औधि आनन्दित हुन सक्छन्। यसबाट पाठकले बर्मालाई ‘सुनौला प्यागोडाको भूमि’ भन्नुको कारण राम्रैसँग बुझ्न सक्छन्।
साहित्यकार ठाकुरप्रसाद गुरागाई बारेको प्रसंगले उनको जीवन संघर्षबाट प्रेरणा लिन र जीवनोपयोगी काम गर्न हौसला मिल्छ। मान्डले सहरको झिलिमिली र चकाचक एरावती नदीको सलल प्रवाह, बर्माको भूमि माथि अंग्रेज र जापानीहरूको आक्रमण र युरोपेली इतिहासका प्रसंग रोचक र रमाइला लाग्छन्। बुद्ध भगवानप्रतिको आस्था र भक्तिलाई बर्मेली र थाईले राम्रैसँग कायम राखेका रहेछन्। तर, कर्मकाण्डी र परम्परागत पारामा मात्र !
जापानले बर्मालाई दिएको प्रताडनाले त्यहाँका नेपालीलाई एकजुट हुन, एकाअर्कालाई सहयोग गर्न र विभिन्न संघसंगठन खोल्न प्रेरित गरेको रहेछ। नियात्राहरूमा ‘प्यागोडाको दर्शन’ र ‘बिन्दास हाँसो’ बिछट्टका राम्रा लाग्छन्। ‘मान्छेको बिस्कुन’मा मलेसियामा नेपाली दाजुभाइको जीवन संघर्ष र जिन्दगीका पीडा देखाइएको छ। ‘सफारी वल्र्ड’ र ‘बैंकक’ शीर्षकका नियात्राले पाठक रोमाञ्चक थप्ने योग्यता राखेका छन्। समग्रमा नियात्रासंग्रह छरितो आकार बोकेको सर्सती पढ्न सकिने र पढेपछि मधुरो मिठास लिन सकिने खालको छ।
नियात्रा लेखनको भाव र प्रवृत्तिमा पाइएको भावनात्मकताले सम्बन्धित स्थानको वस्तुपरकतामा सामान्य प्रभाव परेको मान्न सकिन्छ। वर्णित विषय अतिशय भावनामय हुँदा लेखनको प्रभाव र प्रामाणिककतामा असर पर्न सक्छ। नियात्राका शब्द चयन र वाक्य गठनमा अझ परिष्कार र परिमार्जन हुनसके नियात्राको सर्वाेत्कृष्टतामा दुविधा रहने छैन। कतिपय प्रसंगमा व्याकर्णिक कालगत विचलन पनि पाइएको छ। यी सीमाका व्यवधान नगन्य छन्।
प्रकाशित: २१ पुस २०७५ ०५:०० शनिबार