आज कथा सुन्ने पालो। कक्षाका सबै विद्यार्थीहरू कथा सुन्न उत्सुक थिए। गुरुआमा पनि कथा सुनाउन तयार हुनुहुन्थ्यो। कुनचाहिँ कथा सुनाउने होला ? गुरुआमा एकछिन् सोचमग्न हुनुभयो। उहाँले मनमनै सोच्नुभयो – कथा सुनेर बाबुनानीले केही ज्ञानगुनका कुरा सिक्नुपर्छ। यस्तै सोचेर गुरुआमाले कथा भन्न थाल्नुभयो।
एउटा ठूलो चउर थियो। त्यहाँ गाउँभरिका बाबुनानीहरू खेल्न आउँथे। आफूलाई मन परेका खेल खेलेर बाबुनानीहरू खुप रमाउँथे। बाबुनानीहरू जस्तै त्यहीँ वरिपरिका झिँगा, माहुरी, घामकिरी र पुतलीहरू पनि खेल्न आउँथे। एकातिर बाबुनानीहरू खेल्थे।
अर्कोतिर झिँगा, माहुरी, घामकीरी र पुतलीहरू खेल्थे। कहिलेकाहीँ बाबुनानीहरूले घामकीरी र पुतलीलाई समाउँथे। अनि फेरि उडाइदिन्थे। घामकीरी र पुतली उडेको देखेर उनीहरू खुप रमाउँथे। उनीहरू घामकीरी र पुतलीको पछिपछि दौडन्थे पनि। तर उनीहरूले घामकीरी र पुतलीलाई भेट्टाउन सक्दैनथे। अनि घामकीरी र पुतली आकाशमा उडेको रमाइलो मानेर हेरिरहन्थे।
सधैं सँगै खेल्दाखेल्दै झिँगा, माहुरी, घामकीरी र पुतली एकआपसमा साथीसाथी भए। तर कसलाई साथी बनाउने र कसलाई साथी नबनाउने उनीहरूलाई थाहा थिएन। सँगै खेल्दाखेल्दै झिँगा र घामकीरी मिल्ने साथी भए। अनि माहुरी र पुतली पनि मिल्ने साथी भए।
एक दिन खेल्दाखेल्दै झिँगाले घामकीरीलाई भन्यो, ‘आज हाम्रो घरमा जाऊँ न साथी।’ त्यसैगरी माहुरीले पुतलीलाई भन्यो, ‘आज हाम्रो घरमा जाऊँ न साथी।’
साथीले जाऊँ भनेपछि नजानु कसरी ? घामकीरी झिँगाको घर गयो। अनि पुतली चाहिँ माहुरीको घर गयो। झिँगाको घर फोहोरको थुप्रोमा थियो। त्यहाँबाट एकदमै नमिठो दुर्गन्ध आइरहेको थियो। झिँगा भने त्यही फोहोरमा रमाइरहेको थियो। घामकीरीलाई त्यो फोहोरको दुर्गन्धले टाउको दुख्न थाल्यो। उसलाई वाकवाकी पनि लाग्न थाल्यो। उसले आफ्नो नाक छोप्यो। उसलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन।
झिँगाको घर फोहोरको थुप्रोमा थियो। त्यहाँबाट एकदमै नमिठो दुर्गन्ध आइरहेको थियो। झिँगा भने त्यही फोहोरमा रमाइरहेको थियो। घामकीरीलाई त्यो फोहोरको दुर्गन्धले टाउको दुख्न थाल्यो।
झिँगा भने साथीलाई खुवाउने खानेकुराको बन्दोबस्त गर्दै थियो। झिँगालाई उसको बुबाआमाले पनि सघाउँदै थिए। उनीहरू पाहुनालाई मिठोमसिनो खुवाउनुपर्छ भन्दै थिए। यता घामकीरीलाई भने फोहोर दुर्गन्धले टाउको बेसरी दुखिरहेको थियो। दुखेको टाउको समाउँदै घामकीरीले भन्यो, ‘साथी, मलाई एक्कासी टाउको दुख्यो। अहिलेलाई म जान्छु। बरु पछि फेरि आउँला।’
‘एकैछिन बसौं न। यहाँसम्म आइसकेपछि केही खाएर जानुपर्छ।’ झिँगाले भन्यो। ‘होइन साथी, एकदमै टाउको दुख्यो। म जान्छु। पछिपछि आउँदा खाउँला नि।’ घामकीरीले भन्यो। ‘लौ त, साथीलाई गाह्रै भएको भए म के भनूँ।’ झिँगाले भन्यो। त्यसपछि घामकीरी त्यहाँबाट आफ्नै घर फक्र्यो। उता पुतली पनि माहुरीको घर पुग्यो। माहुरीको घर एउटा राम्रो बगैँचामा रहेछ। त्यहाँ धेरै थरी फूलहरू फुलेका थिए। फूलको बास्नाले बगैँचा नै मगमगाइरहेको थियो। पुतली फूलको बास्ना सुँघ्दै रमाउन थाल्यो। अनि रमाउँदै फूलको थुँगामा बसेर मिठोमिठो रस खान थाल्यो।
पुतली रमाएको देखेर माहुरीले भन्यो, ‘साथीलाई कस्तो लाग्यो हाम्रो घर ?’ पुतलीले रमाउँदै भन्यो, ‘आफ्नै घरमा आएजस्तो रमाइलो लाग्यो। हाम्रो घरमा पनि यस्तै मिठामिठा फूलहरू फुलेका छन्।’ ‘अब साथीले हाम्रो घरको खाना पनि चाख्नुपर्छ।’ यस्तो भन्दै माहुरीले एउटा फूलको पातमा अलिकति मह ल्याएर दियो। पुतलीले त्यो मह खायो। ‘आहा, कस्तो मिठो खाना।’ पुतलीले खुसी हुँदै भन्यो। उसलाई त्यो मह असाध्यै मिठो लाग्यो। मह खाएर पुतली एकदम खुसी भयो।
माहुरीले त्यति मिठो फूलको रस र त्यति मिठो मह खान दियो। त्यसैले पुतली आफ्नो साथी माहुरीसँग एकदमै खुसी भयो। अनि उसले पनि माहुरीलाई आफ्नो घरमा आउन अनुरोध ग-यो। माहुरीले अरू कुनै दिन आउँछु भन्यो। फूलको मिठो रस र मिठो मह खाएर पुतली आफ्नो घर फक्र्यो। उसले साथीको घरमा फूलको मिठो रस खाएको कुरा बुबाआमालाई सुनायो। अनि मिठो मह खाएको कुरा पनि सुनायो।
अर्को दिन। सधैंजस्तो झिँगा, माहुरी, घामकीरी र पुतली चउरमा खेल्न आए। माहुरी र पुतली भेट्नासाथ रमाउँदै खेल्न थाले। तर झिँगा र घामकीरी भने नबोलीकन परपर बसिरहेका थिए। घामकीरीलाई झिँगासँग बोल्नै मन लागिरहेको थिएन। झिँगालाई पनि घामकीरी किन नबोली बसेको होला भनेर पीर परिरहेको थियो। हिजो साथीलाई केही खुवाउन पाइएन भनेर झिँगालाई पछुतो पनि लागिरहेको थियो।
झिँगाले बिस्तारै घामकीरीको अगाडि गएर भन्यो, ‘के भयो साथी ? आज मसँग नखेल्ने ?’ घामकीरीले अलिकति ठुस्किएर भन्यो, ‘खेल्दिनँ म त तिमीसँग। तिमी त कस्तो फोहोरी रहेछौ। कस्तो फोहोरको डंगुरमा पो बस्दारहेछौ तिमी। हिजो तिम्रो घरमा आएर मलाई बिसन्चो भयो।’
घामकीरीको कुरा सुनेर झिँगालाई साह्रै नरमाइलो लाग्यो। त्यसपछि ऊ नखेलीकन आफ्नै घर फक्र्यो।घामकीरी नखेलीकन एक्लै बसिरह्यो। ऊ नखेलेको देखेर पुतलीले सोध्यो, ‘घामकीरी, किन नखेली बसेको ?’ घामकीरीले दुखी हुँदै भन्यो, ‘पुतली, हिजो तिमी माहुरीसँग उसको घर गयौ। मचाहिँ झिँगासँग उसको घर गएँ। झिँगाको घर त फोहोरको डुंगुरमा पो रहेछ। त्यहाँ गएर आएपछि मलाई बिसन्चो भयो। आज खेल्नै मन छैन। तिमीहरूलाई भेट्न मात्रै आएको।’
घामकीरीको कुरा सुनेर माहुरी र पुतलीले पनि दुःख माने। पुतलीले घामकीरीलाई सम्झाउँदै भन्यो, ‘साथी भनेर जो पायो त्योसँग जानु हुँदैन। जो पायो त्यससँग संगत पनि गर्नु हुँदैन। म हिजो माहुरीसँग गएँ। उसको घर पनि हाम्रोजस्तै रहेछ। मैले त कत्ति मिठो फूलको रस खाएँ। साथीले दिएको मिठो मह पनि खाएँ। कस्तो मजा आयो। अबदेखि तिमी पनि हामीसँग मात्रै खेल है।’
‘हो हो, अबदेखि तिमी हामीसँग मात्रै खेल है। त्यस्तो फोहोरी झिँगासँग खेल्नु हुँदैन। रोग लाग्छ। बिरामी परिन्छ।’ माहुरीले भन्यो। पुतली र माहुरीको कुरा सुनेर घामकीरी खुसी भयो। त्यसपछि ऊ पनि माहुरी र पुतलीसँग मात्रै खेल्न थाल्यो। त्यो फोहोरी झिँगाचाहिँ एक्लै प-यो।
प्रकाशित: ७ पुस २०७५ ०३:५९ शनिबार