१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

मौसम यःमरिको

काठमाडौंका अधिकांश खाजा पसलमा नेवारी परिकार पाइन्छन्। यीमध्ये बारा, समयबजि, नेवारी खाजा सेट, मासुका परिकारहरू अधिकांश ठाउँमा पाइन्छ। चिसो होस् या गर्मी, हरेक मौसममा नेवारी परिकारका पारखीहरूको चहलपहल देख्न सकिन्छ।

नेवारी परिकारहरूमध्ये रुचाइएको अर्काे परिकार हो, यःमरि। यो परिकार मुख्यतया यःमरि पुन्ही (पूर्णिमा)मा बनाए पनि उपत्यकाका विभिन्न खाजा पसल तथा रेस्टुरेन्टमा पाइन्छ। यःमरि पुन्ही आगामी शनिबार मनाइँदैछ।

पाटनस्थित नन्दनी फुड कोर्टकी सञ्चालक भुवनेश्वरी अमात्य यःमरि खान यःमरि पुन्ही पर्खिन आवश्यक नभएको बताउँछिन्। पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पनि यःमरि रुचाउन थालेको उनी बताउँछिन्। ‘हाम्रोमा बाह्रैमास यःमरि बनाइन्छ,’ अमात्य भन्छिन्, ‘त्यसैले टाढाटाढाबाट ग्राहकहरू यःमरि खान आउने गरेका छन्।’

उनका अनुसार यःमरिलाई डेजर्ट तथा खाजाको रूपमा खाने गरिन्छ। यसमा प्रायः खुवा र चाकु राखेर तयार पारिन्छ। साकाहारी परिकारमध्ये यःमरि निकै रुचाइएको उनी बताउँछिन्। यःमरिप्रतिको मोह बढेको उनको अनुभव छ। ‘यःमरि स्वदेशी मात्र होइन, विदेशीहरूको समेत मनपर्ने डिस हो,’ उनले भनिन्।

उनका अनुसार दिउँसोदेखि रातिसम्म यःमरि खान आउनेहरूको भीड लाग्ने गरेको छ। तर, यःमरि पुन्हीमा बेच्न भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ। ‘नेवारी समुदायले घरमा बनाएर खाए पनि अन्य समुदायका मानिसहरू यःमरि खान आउँछन्,’ उनले भनिन्। प्रति गोटा यःमरि ५० रूपैयाँमा पाइने गरेको उनले सुनाइन्।

टाढाटाढाबाट यःमरि खान आउने गरेको पाटन, कृष्ण मन्दिर नजिकैको होनचा नेवारी खाजाघरकी सञ्चालिका सरु जोशी बताउँछिन्। उनले एक वर्षअघि पसल सञ्चालन गरेकी हुन्। ‘यःमरि बनाउन भ्याइनभ्याइ छ। बिहानदेखि बेलुकासम्म एकछिन पनि हात खाली हुँदैन,’ उनी भन्छिन्। चाडको बेला मात्र नभएर सधैंजसो व्यस्त हुने उनले बताइन्।

‘यःमरि पुन्ही नजिकिए पछि झन् ग्राहकहरूको चहलपहल बढेको छ,’ उनले भनिन्। यःमरि पुन्हीका लागि अर्डर आउन सुरु भइसकेको उनले सुनाइन्। पुसलाई यःमरिको पर्वको रूपमा पनि मान्ने चलन छ। उनी भन्छिन्, ‘यःमरि पुन्हीको दिन त मान्छेको निकै चाप हुन्छ, सबैलाई पुर्याउनै सकिँदैन।’

यःमरिको सुरुवात
यःमरि भन्नेबित्तिकै सेतो रंगको कलात्मक ढंगले बनाइएको स्वादिलो खानेकुरा बुझिन्छ। चामलको पिठोबाट तयार पारिएको गुलियो स्वादिलो रोटिको हो, यःमरि। यःमरि पुन्हीको आफ्नै महत्व रहेको बताउँछन्, संस्कृतिविद् विनोदराज शर्मा। यःमरि पुन्हिको बिशेषता नै यःमरिको पुजा गर्नु रहेका उनले बताए।

यःमरिको सुरुवात मल्लकालदेखि भएको उनको भनाइ छ। हरेक पूजामा यःमरिलाई प्रसादको रूपमा चढाइने भएकाले यसको चल्ती सुरु गरिएको उनको भनाइ छ। सुरुमा यःमरिमा चाकु मात्र राखेर तयार गर्ने चलन रहे पनि पछि खुवा राखी तयार पार्ने चलन आएको उनले बताए। ‘विशेष बच्चा जन्मेको जोर वर्षमा यःमरिको पूजा गर्ने, बच्चालाई यःमरिको माला लगइदिने, प्रसादको रूपमा सबै आफन्तजनलाई खुवाउने चलन छ,’ उनले भने। नेवारी समुदायमा यःमरि पुन्हीको दिन सांस्कृतिक आत्मियता छोरीको घर र माइतको मिलन, खानपान, आदर संस्कार साट्ने चलन पनि रहेको उनले बताए।

नयाँ धानलाई भित्र्याएको खुसीमा गुरु, पुरेत, चेलीबेटीलाई यःमरि बनाएर खुवाएर यःमरि पुन्ही मनाउन सुरु गरिएको उनी बताउँछन्। चामलको पिठोबाट गणेश र कुवेर भगवान बनाई दायाँबायाँ राखेर यःमरिको पूजा गरिने उनी बताउँछन्। ‘यःमरि पुन्ही समृद्धिको प्रतिकको रूपमा मनाउन सुरु गरिएको हो,’ उनी भन्छन्, ‘एक वर्षसम्म अन्न भित्र्याएपछि खानको लागि समस्या नहुने भयो भनी खुसीयाली मनाउन सुरु गरिएको हो।’

यःमरि बनाउने बिधि
काठमाडौंमा बसोबास गर्नेमध्ये यःमरिबारे थाहा नहुने सायदै कोही होलान्। यःमरि नेवारी परिकारहरूमध्ये रुचाइएको परिकार हो। यसलाई घरमा नै सजिलोसँग बनाउन सकिन्छ। यो हरेक उमेर समूहको रोजाइमा पर्छ। ताइचिन चामलबाट बनाइएको यःमरि बनाइन्छ।

थ्रिजीकी सञ्चालिका जोशीका अनुसार सुरुमा यःमरिमा मासु, मास, मुरी राखर बनाउने गरिन्थ्यो। ‘त्यसको स्वाद नरुचाएपछि चाकु र खुवा राखेर बनाउन थालिएको हो,’ उनले भनिन्।

यःमरिलाई चामलको पिठोलाई मुछेर बनाइन्छ। हातमा तेल लगाएर मुछिएको पिठोलाई आकार दिँदै खोक्रो पारी रुचि अनुसार चाकु, खुवा, नरिवल राखेर तयार पार्न सकिन्छ। स्वादको लागि ठाउँ अनुसार काजु, पेस्ता, तिल, सुकमेल लगायत प्रयोग गर्न सकिन्छ।

यःमरिको आकारमा रुचि अनुसारका खुवा, चाकु भरिसके पछि स्टिम गरेर तयार पारिन्छ। यःमरि बनाउँदा समय र तापको बिशेष ध्यान दिनुपर्ने व्यापारी सरु जोशी बताउँछिन्। तापक्रम र पिठोको मोटाइले यःमरि फुट्ने सम्भावना भएकाले ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेवारी_परिकार यःमरि खाजा_पसल