११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

कार्नेसनको बढ्दो आकर्षण

कार्नेसन फूलको आकर्षण बढिरहेको छ । झ्वाट्ट हेर्दा गुलाफको जस्तै आकारमा फूल्ने कार्नेसन सुन्दर पनि देखिन्छ । विशेषगरी सहरी क्षेत्रमा विभिन्न सजावटका लागि कार्नेसन फूलको प्रयोग हुने गरेको छ । गार्डेनमा रोपेर सजाउन पनि कार्नेसनको प्रयोग गरिन्छ भने बुकी बनाएर कसैलाई गिफ्ट दिन होस् वा घडामा राखेर सजाउन नै किन नहोस् कार्नेसनको लोकप्रियता बढी नै रहेको छ । बिहेको सिजनमा कार सजाउनका लागि कार्नेसनको प्रशस्तै प्रयोग हुने गरेको छ । 

कार्नेसनलाई डेन्थस पनि भनिन्छ । ग्रिक बोटानिस्टले डेन्थस नामकरण गरेका हुन् । केही विज्ञले डेन्थसलाई कार्नेसन नामले चिनेकाले यो फूल कार्नेसनको नामबाट चिनिन थालेको मानिन्छ ।  कार्नेसन करिब दुई हजार वर्ष अघिबाट उत्पादन हुन थालेको मानिन्छ । यो फूल करिब ८० सेन्टिमिटर अग्लो हुन्छ । 
तीन प्रकारका कार्नेसन

कार्नेसनका विभिन्न जात हुन्छन् । सामान्यतया कार्नेसन फूलका जातलाई तीन प्रकारमा विभाजन गरिन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोख्रेलका अनुसार कार्नेसनलाई पट भेराइटी, स्ट्यान्डर्ड कार्नेसन र स्प्रे कार्नेसन गरी तीन प्रकारमा विभाजन गरिन्छ ।  

हर्टिकल्चर विशेषज्ञ अनिल आचार्य पनि पट भेराईटी, कट भेराईटी र सेट हाउसमा फुलाउने गरी कार्नेसनलाई तीन प्रकारमा बाँड्न सकिने बताउँछन् । 

पट भेराइटी जातको कार्नेसन गमलामा फुलाउन सकिने पोख्रलले बताउँछन् । पट भेराईटी होचो जातको कार्नेसन हो । होचोजातको कार्नेसन गमलामा आकर्षकरुपमा फुलाएर घर तथा गार्डेन सिंगार्न सकिन्छ । पट भेराइटी जातको कार्नेसन एकपटक रोपिसकेपछि त्यही बोटमा तीन वर्षसम्म फुलाउन सकिने हर्टिकल्चर विशेषज्ञ आचार्य बताउँछन् । हाँगा भाँचेर पनि सर्ने भएकाले कार्नेसनको बिरुवा बढाउनसमेत सकिने पोख्रेलको तर्क छ । पट भेराइटी जातको कार्नेसन हाईब्रिड कार्नेसन हो । यो होचोमा आकर्षक फुलाउन सकिन्छ । 

काभ्रे, धुलिखेलस्थित होरिजन नर्सरीका सञ्चालक वीरेन्द्रबहादुर श्रेष्ठका अनुसार स्ट्यान्डर्ड कार्नेसन एक हाँगामा एक थुँगा मात्रै फुल्छ । यो फूल बुकी बनाउन तथा घडामा राख्न प्रयोग गरिन्छ । ठूलो र आकर्षक थुँगा हुने भएकाले विवाहको कार सजाउनसमेत प्रयोग गरिन्छ । स्ट्यान्डर्ड जातको कार्नेसन व्यावसायिकरुपमा खेती गरिएको हुन्छ ।  लामो बोट हुने भएकाले गमलामा फुलाउँदा भने यो फूल त्यति आकर्षक देखिँदैन । 

स्प्रे जातको कार्नेसनमा एउटा हाँगामा धेरै थुँगा फूल फुलेको हुन्छ । यो जातको कार्नेसन पनि बुकी बनाएर अफिस तथा घर सजाउन प्रयोग गरिन्छ भने विवाहको कार सजाउन तथा घडामा राख्न पनि प्रयोग गरिन्छ।

तेस्रो स्थानको फूल

नेपालमा विशेषगरी ग्लाडियोलस, गुलाफ र कार्नेसनको फूलको कटफ्लावर खेती गरिन्छ । नेपालमा कटफ्लावर खेती गरिने फूलमध्ये कार्नेसन तेस्रो महत्वपूर्ण फूल मानिन्छ । विभिन्न रंगमा पाइने, उत्पादन गर्न सहज र फूल टिपेर पनि करिब तीन हप्तासम्म राख्न सकिने भएका कारणले पनि कार्नेसन फूलको खेती नेपालमा बढेको बताउँछन्, महासचिव पोख्रेल । पोख्रलका अनुसार नेपाल कार्नेसन फूलमा करिब आत्मनिर्भर भए पनि उन्नत जातका बिरुवा भने विदेशबाट ल्याउनुपर्ने बाध्यता अझै रहेको छ भने जाडो मौसममा कम फुल्ने भएकाले कहिलेकाहीँ आन्तरिक उत्पादनले नपुगेर कार्नेसनको आयातसमेत गर्नुपर्ने बाध्यता रहेको आचार्य बताउँछन् । 

थुँगाको ४० रुपैयाँ

नेपालमा सामन्यतः एउटा आठ इन्चे गमलामा फूलेको हाइब्रिड कार्नेसन एक सय पचास रुपैयाँ पर्छ । बुकी बनाउने, कार सजाउने, घडामा राख्नेजस्ता कटफ्लावर कार्नेसन सामान्यतः प्रतिथुँगा २५ देखि ४० रुपैयाँसम्म पर्ने बताउँछन्, पोख्रेल । होलसेल मूल्य भने प्र्रतिथुँगा करिब १२ रुपैयाँ पर्ने श्रेष्ठको भनाइ छ । बिहेको सिजनमा कार्नेसनको माग अत्यधिक हुने गरेको पोख्रेलको तर्क छ भने घर, होटल, बैंक, अफिसलगायत सजाउन, बुकी बनाउन पनि नेपालमा कार्नेसन लोकप्रिय छ । नेपालमा वार्षिक करिब दुई लाख ५० हजार कार्नेसनका बिरुवा उत्पादन भैरहेको पोख्रेल बताउँछन् ।  पोख्रेलका अनुसार नेपालमा वार्षिक करिब ३० लाख कार्नेसनका थुँगा (स्टिक) खपत हुने गरेको छ । यसरी हेर्दा नेपालमा करिब वार्षिक नौ करोडको कार्नेसन फूलको कारोबार भएको देखिन्छ । जाडो सिजनमा करिब ५० हजार कार्नेसनका थुँगा आयात हुने गरेको फ्यानले जनाएको छ ।  कार्नेसन खपत हुने मुख्य बजार काठमाडौं उपत्यका हो ।
बर्सेनि करिब १५ प्रतिशतका  दरले कार्नेसनको मागमा वृद्धि भइरहेको फ्यानको भनाइ छ । 

विवाहको एउटा कार सजाउनका लागि १५ सयदेखि २० हजारको हाराहारीमा पर्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । कार सजाउन कार्नेसन, गुलाफ, ग्लाडुलस, पानी अमलालगायतका फूलको संयोजन गरिन्छ । जसमध्ये कार सजाउन कार्नेसन, गुलाफ र ग्लाडुलस नै अग्रस्थानमा आउँछन् । 

न्यानो हावापानी

प्रशस्त घामलाग्ने हावापानीमा कार्नेसन उत्पादन गर्न सकिने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । मध्यपहाडी तथा चिसो भागमा प्लास्टिकको सेट हाउस बनाएर पनि कार्नेसनको उत्पादन गर्न सकिन्छ । 

पोख्रेलका अनुसार २५ देखि २७ डिग्री सेल्सियसको तापक्रममा कार्नेसनको उत्पादन राम्रो हुन्छ भने रोपेको करिब चार महिनामा फुल्न थाल्छ । पट भेराईटीको हाइब्रिड कार्नेसनको बिरुवा सामान्यतया भदौदेखि फागुनसम्म रोपिन्छ ।

प्लास्टिक घरमा कार्नेसन खेती 

कटफ्लावर कार्नेसनको खेती गर्नका लागि घाम लाग्ने जग्गाको छनोट गर्नुपर्छ । विशेषज्ञका अनुसार पानी जम्ने ठाउँ हुनु हुँदैन । करिब पाँच मिटर चौडाइ, २५ मिटर लम्बाइ र ३.५ मिटर उचाइ भएको प्लास्टिक घर बनाउनु पर्छ । करिब एक मिटर चौडाइ र १५ सेन्टिमिटर उचाइ भएको ३ वटा ब्याड (ड्याङ बनाएर) बनाउने । ब्याडको बीचमा करिब ६० सेन्टिमिटरको खाल्डो बाटो राख्नु पर्छ । फूल टिप्न सोही बाटोको प्रयोग गर्नुका साथै बढी भएको पानी पनि बाटोमा जम्छ, बिरुवामा जम्न पाउँदैन ।

हल्का माटो उपयुक्त

बिरुवा लगाउनुपूर्व जग्गाको तयारी गर्नुपर्छ । माटोमा हुने रोग र कीराबाट बचाउन ब्याडलाई राम्रोसँग खनजोत गर्नुपर्छ । पानी हालेर सेता प्लास्टिकले तीन हप्तासम्म ब्याड छोपेर राख्नुपर्ने हर्टिकल्चर विशेषज्ञको सल्लाह छ । माटो अम्लिए किसिमको छ भने बिरुवा लगाउनुभन्दा करिब २५ दिन अगाडि नै कृषि चुन हाल्नु पर्छ । एक सय वर्ग मिटरमा करिब आधा किलो कृषि चुन लगाउनु पर्छ । कार्नेसनका लागि दोमट बलौटे र प्रशस्त प्राङ्गारिक पदार्थ मिसिएको हल्का माटो उपयुक्त हुन्छ । त्यसैले चार बोरा माटोमा एक बोरा धानको खरानी मिसाउँदा राम्रो हुन्छ । जग्गाको खनजोत पछि एउटा प्लास्टिक घर (सेटहाउस) मा करिब दुई सय किलो गोबर, डेढ किलो फसफोरस, पाँच किलो पोटास, ५० किलो तोरीको पिना र १० किलो हड्डीको धुलो माटोमा मिसाएर राम्रोसँग खन्नुपर्ने बताउँछन्, श्रेष्ठ ।

बिरुवा सार्ने र रोप्ने तरिका

श्रेष्ठका अनुसार सामान्यतया कात्तिकदेखि फागुनमहिनासम्म कार्नेसनको बिरुवा बनाउन सकिन्छ । स्वस्थ माउ बोटबाट ४/५ जोर पात भएको कार्नेसनको हाँगालाई चुँडेर बालुवा र मधुमास मिक्स गरेर गाड्ने । जरा पलाएपछि सिधै ब्याडमा बिरुवा सार्न सकिन्छ । बिरुवा सार्नु दुई दिनअगाडि रोप्ने ठाउँमा पानी हाल्नु पर्छ । पानी हालेर माटो चिस्यान भएपछि बिरुवा सर्न सजिलो हुन्छ । करिब १५ सेन्टिमिटरको फरकमा रोप्नुपर्छ । कार्नेसनको बिरुवा रोप्दा राम्रोसँग जरा छोपिने गरी रोप्नुपर्ने हर्टिकल्चर विशेषज्ञ बताउँछन् । बिरुवा रोप्दा जरालाई असर हुनेगरी धेरै खाँद्न भने हुँदैन । 

बिरुवा लगाएको करिब तीन हप्तासम्म बिरुवा सुख्खा हुन नदिइकन पानी हाल्नु पर्ने बताउँछन्, पोख्रेल । तर पानी जम्न भने हुँदैन । झार पात पनि आउन दिन हुँदैन । गोडमेल आदि गर्नुपर्छ । बेला–बेलाम मलजल पनि गर्नुपर्छ । बोट तीन वर्षसम्म टिक्छ । 

बाँधजेल र आकर्षक उत्पादनको तरिका

होरिजन नर्सरीका श्रेष्ठका अनुसार कटफ्लावरको कार्नेसनमा टेको नदिँदा बोट ढल्ने, हाँगा भाँचिने लगायतका समस्या हुन्छन् । करिब २० सेन्टिमिटरको उचाइमा ३÷४ तहको नाइलन धागोको जालि बुनेर आल्मुनियम तार वा काठको फ्रेममा बाँधेर बिरुवालाई सिधा बनाई गुणस्तरीय उत्पादन लिन सकिने कार्नेसन व्यवसायी बताउँछन् । बिरुवा रोपेको करिब दुई महिनामा दुईपटक बिरुवाको मुख्य हाँगाको टुप्पा ५/६ आँख्ला बाँकी राखेर चुँड्नु पर्छ । जसका कारणले बोटमा धेरै हाँगा आएर फूल धेरै फुल्ने श्रेष्ठ बताउँछन्।

कार्नेसनको टुप्पामा फूल लाग्ने मुख्य कोपिला बाहेक सैगसँगै छेउछाउमा पलाएका मसिना अन्य कोपिलालाई हटाउनाले ठूलो र गुणस्तरीय फूल फुल्छ । 

विशेषगरी गर्मी सिजनमा कार्नेसनमा डढुवा, ढुसी, डाँठ कुहिने जस्ता रोगको प्रकोप हुने श्रेष्ठ बताउँछन् । वर्षादको सिजनमा जरा कुहिने समस्या पनि हुन्छ । निमको झोल लगायतका कीटनाशक विषादीको प्रयोग गर्नुपर्ने बताउँछन्, पोख्रेल ।

फूल टिप्ने र भण्डारणको तरिका

बिहानको समयमा कार्नेसनको फूल टिप्नु राम्रो हुन्छ । करिब आधा फुलेको अवस्थामा टिप्दा बिस्तारै फक्रिन्छ । धारिलो चक्कुले वा आँख्लामा भाँचेर फूल टिप्न सकिन्छ । आँख्लाको बीचमा काटेर पानीमा फूलको डाँठ डुबाउँदा करिब तीन हप्तासम्म फूल टिक्ने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ अनिल आचार्य । गर्मीको समयमा भने करिब दस दिन टिक्छ । ५ देखि १२ इन्चसम्म डाँठ राखेर फूल टिपिन्छ । फूलको बनोट, लम्बाइ, आकारअनुसार ग्रेडिङ गरिन्छ । करिब २० वटा फूलको एउटा गुच्छा बनाएर कागजमा रोल गरेर प्याक गरी बजारमा पु-याउन सकिने बताउँछन्, पोख्रेल । एक वर्षमा एक बोट कार्नेसनको बिरुवाले करिब १५ थुँगा फूल दिने बताउँछन्, श्रेष्ठ । कार्नेसन खेतीबाट एक रोपनीमा वार्षिक करिब एक लाख ५० हजारभन्दा धेरै कमाइ हुने बताउँछन्, श्रेष्ठ । डेढ वर्षमा कार्नेसन खेतीको लगानी उठ्ने बताउँछन्, पोख्रेल । 

रातो कार्नेसनको अत्यधिक माग

रंगको पनि विशेष अर्थ र महत्व हुन्छ । नेपालमा करिब १२ रंगका कार्नेसन पाइने बताउँछन्,श्रेष्ठ । नेपालमा रातो रंगको कार्नेसन अत्यधिक प्रयोग हुनेमध्येको रंग हो । रातो रंगलाई युद्ध, क्रोधको प्रतीकको रुपमा लिइन्छ । सफलताको प्रतिकको रुपमा पनि लिइन्छ । नेपालमा सबैभन्दा धेरै रातो रंगको कार्नेसन बिक्री हुने गरेको बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । नेपालमा जम्मा फूलको ५० प्रतिशत रातो फूलको माग हुने गरेको बताउँछन्, पोख्रेल  पनि । रातो पछि पिङ्क, रानीकलर, सेतो, पहेँलो रंगको कार्नेसनको माग बढी हुने गरेको पोख्रेलको अनुभव छ । 

सेतो रंगलाई सात्विक स्वरुपका रुपमा लिइन्छ । त्यसैले पनि सेतो रंगको कार्नेसनको पनि नेपालमा विशेष महत्व रहेको छ ।

पहेँलो रंगको कार्नेसनको प्रयोग कम छैन । पहेँलो रंगलाई प्रेमभावको प्रतीकको रुपमा लिइन्छ । सात्विक आहारविहार, स्वच्छन्दताका रुपमा पहेँलो रंगको फूललाई लिइन्छ ।

कालो रंगको कार्नेसन भने नेपालमा देखिँदैन । कालो रंगलाई तमोगुण अर्थात् अज्ञान अन्धकारका रुपमा लिइन्छ । अराजक तथा असफलताका रुपमा कालो रंगले संकेत गर्छ । 

नेपालमा निलो रंगको फूलको पनि प्रयोग देखिन्छ । निलो रंग विशालता, गाम्भीर्यता, स्निग्धताको प्रतीकका रुपमा लिइन्छ । निलो रंगलाई समन्वय र शान्तिको प्रतीकको रुपमा लिइन्छ । निलो रंगको कार्नेसन भने कमै पाइन्छ र प्रयोग पनि कम हुन्छ ।

हरियो रंगलाई प्राकृतिक रंग मानिन्छ । हरियो रंगलाई शान्त, निर्मल, सहनशील रंगकारुपमा लिइन्छ । हरियो रंगको कार्नेसनको प्रयोग पनि नेपालमा खास देखिँदैन । 

खैरो रंगलाई पनि शान्त रंगका रुपमा लिइन्छ ।

नेपाल कार्नेसन खेतीमा आत्मनिर्भर भैरहेको छ । तर उचित प्रविधि, बजार व्यवस्थापन लगायतको कारणले यो खेतीको व्यावसायिक विस्तार भने मन्द गतिमा भइरहेको छ । सम्बन्धित निकायले कार्नेसन खेतीको विकास र बजार व्यवस्थापनमा ध्यान दिन जरुरी छ । 

प्रकाशित: १ पुस २०७५ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App