२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

महानगरले २४ औं स्थापना दिवस मनाउने

काठमाडौं महानगरपालिकाले विविध कार्यक्रम गरेर २४ औं स्थापना दिवस मनाउने भएको छ। महानगरपालिकाले मंसिर २९ गते विविध कार्यक्रम गरेर महानगर दिवस मनाउन लागेको हो। काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले विभिन्न सिर्जनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको बताए।  ‘महानगर दिवस भनेको हरेक महानगरबासीको गौरवसँग जोडिएको छ। त्यसैले नागरिक सहभागितालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्न लागेका छौं,’ उनले भने, ‘स्थानीयले आफ्नै हो भनेर दायित्व बोध गर्न सकेनन् भने महानगर दिवस खल्लो हुन्छ। त्यसैले यस वर्ष भव्य र सभ्य कार्यक्रम गरेर महानगर दिवस मनाउन लागेका छौं।’ 

महानगरपालिकाले स्थापना दिवसको अवसरमा करदातालाई विशेष सम्मान गर्ने भएको छ। सुशासन पत्रकारिताबाट १० जना पत्रकारलाई सम्मान गर्नेछ। त्यस्तै परम्परागत बाजा संरक्षणमा योगदान पु-याउने १ सय २० जना गुरुलाई जनही २५ हजार रूपैयाँ राशीले सम्मान गरिनेछ।

नागरिकलाई कार्यक्रममा सहभागी गराउन तीन दिने काठमाडौं (खुला संग्रहालय) महोत्सव हुनेछ। महानगरका भित्री सहरी क्षेत्र वडा नं. १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ लाई समावेश गरेर मंसिर २८ गतेदेखि ३ दिनसम्म बसन्तपुरलाई केन्द्रमा राखेर सञ्चालन हुनेछ। 

सांस्कृतिक तथा सम्पदा संरक्षण र प्रवर्धन तथा धरोहरहरूको प्रचारप्रसार गर्ने लक्ष्य राखेर महोत्सवको आयोजना गर्न लागिएको हो। ‘स्थानीय जीवनशैली, अनुपम मौलिक कला र संस्कृति पर्यटकलाई प्रदर्शनयोग्य छन्। तिनलाई व्यवस्थित प्रदर्शन गरेर आयमा रूपान्तरण गर्न यो काम संस्थागत थालनी हो। यसबाट आन्तरिक र बाह्य दुवै पर्यटकको संख्यामा वृद्धि गराउनेछ,’ उनले भने, ‘महोत्सवबाट पर्यटक आगमन वृद्धि भई विदेशी मुद्रा आर्जन हुने, स्थानीय कला, संस्कृति, खाद्य र अन्य वस्तुको बिक्री वृद्धि हुने, स्थानीय उद्यमी व्यापारीको आय आर्जन बढ्ने, स्थानीय भाषा, कला, साहित्य र सृजनाको बजारीकरणमा सहयोग पुग्नेछ।

महोत्सव काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्रमा सञ्चालन हुनेछ। त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, वसन्तपुर,  ओम बहाल, लगन, ब्रम्हटोल, न्हय्मून्हय्त्वाः, ओन्दे, ह्यूमतः, तुकंवहाः, जैशी देवल, कोहिटी, भीमसेनस्थान लगायतका स्थानमा महोत्सव सञ्चालन हुनेछन्।

महोत्सवमा काठमाडौंभित्र रहेका सबै वहाःबही, चोक, मठ मन्दिरहरूलाई सफा स्वच्छ गरी सम्बन्धित गुठी संघ संस्थाहरूले सञ्चालन गर्ने सांस्कृतिक चालचलन र मौलिक खानपान प्रदर्शन गरिनेछ। त्यस्तै लाखे, महाकाली, पुलुकिसी जस्ता नाच प्रदर्शन हुनेछन् भने पौभा चित्र, मूर्तिलगायत प्रदर्शन र बिक्रीमा राखिनेछन्। निश्चित क्षेत्रभित्र कार्यक्रम गर्ने दिनमा फुटपाथ पसलहरू र चारपांग्रे यातायातहरू पूर्णरूपमा रोक लगाएर सञ्चालन गरिने महोत्सवको आकर्षण नेपालीपन झल्कने विविध कला संस्कृतिको संयोजन हुनेछ। यसमा स्वागतद्वार निर्माण, झिलिमिलि र दीपावलीले उत्सावलाई महोत्सव बनाउने महानगरको अपेक्षा छ। यस वर्ष महानगरभित्र भएका सबै बाजा समूहका गुरुहरूलाई सम्मान गर्ने पनि कार्यक्रम छ।

प्रकाशित: २८ मंसिर २०७५ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App