१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

व्यक्तिगत प्रयोजनमा दमकल

आगलागीका घटना भइरहने काठमाडौं महानगरअन्र्तगतको जुद्ध वारुणको कार्यालयमा अहिले चार दमकल मात्रै सञ्चालनमा छन्। तिनै दमकल पनि कार्यालय प्रमुखले मोडिफाई (पार्टपूर्जा परिवर्तन) गरेर आफूखुसी चलाउँदै आएको पाइएको छ।

विपद्को बेला प्रयोग गर्न भनेर विदेशीले दिएको अत्याधुनिक अग्नि नियन्त्रण साधनको चरम दुरुपयोग कार्यालयकै कर्मचारीबाट हुने गरेको छ। यसको उदाहरण हो– आठ वर्षपहिले इटलीले अनुदानमा दिएको ‘मिनी दमकल’।

‘हाइ पे्रसर’को यो दमकल अहिले ‘मोडिफाइ’ गरेर जिपजस्तै बनाइएको छ। जुद्ध वारुण कार्यालयका प्रमुख बद्रीमान नगरकोटी सो गाडी चढेर कार्यालय आउजाउ समेत गरेको कर्मचारीको आरोप छ।

‘कार्यालयमा समन्वय छैन, कर्मचारीले नै रिस सँगालेर बस्दा दमकल परिचालनमा समस्या देखिएको छ,’ एक दमकल चालकले भने, ‘हाकिमले जहाँ भन्यो त्यहीँ जानुपर्छ, आफूलाई छिटो सूचना आए पनि हाकिमको स्वीकृति बिना हिँड्न मिल्दैन, त्यसैले दमकल घटना भएको ठाउँमा ढिलो पुगेको गुनासो आउने गरेको हो।’

मिनी दमकलमा प्रयोग भएका पार्टपूजा सबै झिकिएको छ। मुख्य सहरको आगलागी नियन्त्रणको लागि यो दमकल उपयोगी मानिन्छ। यसको पछाडिपट्टि ‘फाइटिङ पाइप’ जडान गरिएको हुन्छ। जसका कारण तुरुन्तै गल्ली तथा साघुँरो ठाउँमा भएको आगलागी नियन्त्रण गर्न सकिन्छ। यसले ठूला दमकलले जस्तै ‘हाइ प्रेसर’मा पानी फ्याक्ने गर्छ। यसको क्षमता सय मिटर टाढासम्मको हुने अग्नि नियन्त्रकको भनाई छ। अरु मेसिन र पाइप जोडेर पनि मिनी दमकल प्रयोग गर्न सकिने हुँदा यो प्रभावकारी मानिन्छ। तर, उक्त उपकरण दुरुपयोग हुँदै आएको छ।

महानगरपालिका दमकल महाखाशाका प्रमुख यादव घिमिरेले विपद्को लागि प्रयोग गर्नुपर्ने साधन यसरी मोडिफाई गर्न नहुने बताए। ‘त्यसरी पार्टपूर्जा निकाल्न त नपाइने हो, यसबारे मैले त्यति बुझेको छैन,’ उनले भने, ‘ व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको रहेछ भने कारबाही थाल्छौं।’

महानगरपालिका विपद् महाशाखाअन्र्तगत तीन वटा युनिट छ। जसमा सशस्त्र प्रहरी बलमा ११ जनाको टोली, जुद्ध बारुणको १० जनाको टोली र तत्कालीन समयमा गृह मन्त्रालयबाट तोकिएका फायर फाइटर, ड्राइभर र केही कर्मचारी छन्। तर, यी तीनवटा युनिटको अहिले मिलाप छैन। मेलमिलाप र समन्वय नभएपछि समयमै आगलागी भएको ठाउँमा दमकल नपुग्ने समस्या देखिएको हो।  

जुद्ध वारुण कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले सजिलो बनाउनका लागि ‘मोडिफाई’ गरेको दाबी गरे। ‘मैले कुनै काम बिगारेको छैन, भएका साधनलाई झन् सहज बनाएको छु,’ उनले भने, ‘कार्यालयका केही साथीहरूको असहयोगका कारण समस्या आउने गरेकाले दकमल परिचालनमा केही समस्या देखिएको हो।’

समयमै पुग्दैन दमकल
मंसीर १० गते राजधानीको बुद्धनगरस्थित गौरीशंकर फर्निचर शोरुममा आगलागी भयो। ३ बजे सल्किएको आगो निभाउन साढे ३ बजेमात्रै दमकल आइपुग्यो। करिब २ किमीको दुरीमा रहेको काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्र कार्यालयले समयमै दमकल पठाउन सकेन। जसका कारण बढी क्षति भएको उद्योगका सञ्चालक राम कार्कीले जानकारी दिए। समयमै खबर गरे तापनि ढिलो दमकल आएको उनको गुनासो छ। ‘समयमै दमकल पुगेको भए क्षति अलि कम हुन्थ्यो होला, हामीले खबर गर्दा पनि समयमै आएन,’ उनले भने।

केही दिनअघि भएको क्षतिको उदारण हो यो। पछिल्लो समय उपत्यकाकाभित्र आगलागीका घट्ना बढ्दै छन्। घटनालाई हेर्दा सरकारी निकायले त्यसको व्यापक तयारी गर्नुपर्ने देखिन्छ। तर, त्यसलाई नियन्त्रण गर्नुपर्ने निकाय भने त्यति सक्रिय देखिन्न। समन्वयको अभावमा सही समयमा आगलागी भएको ठाउँमा दमकल पुग्न नसकेको जुद्ध वारुण यन्त्रकै केही कर्मचारीको भनाई छ।

प्रकाशित: १७ मंसिर २०७५ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App