७ वैशाख २०८१ शुक्रबार
अन्य

बाँसघारी

कति भइसकेको थियो, यहाँ कुहिरोले आकाश ढाकेको थिएन। फूलमा भँवराहरू भुनभुन गर्न छोडेका थिएनन्। मौरीहरू आफ्नै धुनमा थिए। ऋतु आफ्नै वेगमा हिँडेको थियो। उसलाई न आफू बूढो हुनुको चिन्ता थियो न त निःसन्तान हुनुको पीडा। आकाशभरि कालो बादल छरिएर बसे पनि वसन्त आफ्नै लहरमा चलिरहन्थ्यो। जूनको पीडा आकाशलाई थाहा हुँदैन्थ्यो। आकाशको पीडा सूर्यलाई थाहा हुँदैन्थ्यो। सबै वस्तु राम्रा र मन लोभ्याउने लागे पनि कुनै न कुनै रूपमा सबै वस्तुलाई पीडित देख्थेँ म।

आखिरमा म पनि ऋतु जस्तै किन बन्न सकिनँ। म आफ्नै लहरमा किन हिँड्न सकिनँ। म निराश हुन्थेँ। मैले आफूलाई किन ढकमक फुलाएर राख्न सकिनँ ? म रित्तिँदै थिएँ, दिनदिनै र पलपल। मानिस रितिँदा उसको भरिने दिन कहिल्यै आउँदैन किन ? मेरो भाग्यमा कोरिएका रेखाहरू कुन्नि कहाँ गएर अल्झिरहेका थिए। म ५० वर्षकी पुगिसकेँ। तर, मेरा सन्तान थिएनन्। म आमा बन्न सकेकी थिइनँ। मेरा देवरका दुई छोरा थिए। तापनि म खुसी थिइनँ। किनकि मेरो अन्त्यपछि मेरो अन्त्येष्टि गर्ने मेरो कोखबाट जन्मेका मेरा आफ्ना सन्तान थिएनन्। निःसन्तान हुनुको पीडा मेरो छातीभित्र थियो।

देउरानीले आफ्ना छोराको हेरचाह गर्दा मलाई पनि सन्तान भइदिए छातीभरिको वात्सल्य लुटाउँथेँ जस्तो लाग्थ्यो। देवरको कान्छो छोरो मलाई साह्रै मनपथ्र्यो। म उसलाई प्रायः आफूसँगै राख्न खोज्थेँ। तर, ऊ मभन्दा परपर भाग्थ्यो। आफ्नी आमालाई मभन्दा बढी मन पराउँथ्यो। मलाई ‘तिमी मेरी आमा होइनौ’ भन्थ्यो। 

उसका कुरा सुन्दा छातीभित्र अथाह पीडा हुन्थ्यो। म मातृवात्सल्यले छटपटिन्थेँ। म सन्तानसँग हजारौँ रात आफ्नो ओछ्यानमा बिताउन चाहन्थेँ। ऊसँग तोतेबोलीमा कुरा गर्न मन लाग्थ्यो। मेरा वक्षस्थलमा भएका दुधका धारा सन्तानका लागि बगाउन चाहन्थेँ। सन्तानका गाला निचोर्न चाहन्थेँ। हजारौँ चुम्बनको वर्षात गर्दै भन्न चाहन्थें, ‘मेरो बाबु, मेरो छोरो।’

म ज्यादै हर्षित हुन्थेँ यस्तो सपनामा रमाउन पाउँदा। एक दिन कसैले नदेख्न गरी कोठाको ढोका बन्द गरेँ। पुरानो फरिया च्यातेर टालाटुलीको व्यवस्था गरेँ। सेतो टालोको गोलो डल्लो बनाएँ। त्यो डल्लोलाई टाउको बनाएँ। पहेँलो टालोको हात र खुट्टा बनाएँ। टाउको र हात, खुट्टा जोड्दै एउटा पुतली बनाएँ टालाटुलीको। त्यो पुतलीलाई आफ्नो अगाडि राखेँ र तलदेखि माथिसम्म हेरेँ। उसको अनुहार सेतो र बाटुलो थियो। उसको अनुहार धेरै निर्दोष देखिन्थ्यो। उसको अनुहारले मलाई नै हेरेजस्तो लाग्यो। मनमनै भनेँ– मेरो छोरो। मेरो राजा।  कसैले नदेख्ने गरी म पूर्णरूपमा आमा बनिसकेकी थिएँ। पुतलीलाई मैले छोरो बनाएँ।

एउटा सानो टोपी, सुरुवाल र कमिज आफै सिलाएँ। त्यो लुगा टालाटुलीको छोरोलाई लागाइदिएँ। त्यो अति सुन्दर देखियो। त्यसको हात, खुट्टातिर हेरेँ। मानौँ मैले आफ्नो गर्भबाट जन्माएकी थिएँ, उसलाई। उसलाई वक्षस्थलमा राखेर मातृवात्सल्य लुटाएँ। वक्षस्थलको अमृतको प्याला पिलाएँ। हजारौँ रातका शोकाकुल ममतामय प्रेम लुटाएँ । आफ्नो छातीमा टाँसिरहेँ। काखमा सुताएँ। अँगालोमा बेस्करी बाँधेँ। उसलाई बेसरी निचोरेँ। गाला रातो हुने गरी म्वाइ खान मन लाग्यो। मसिना औँला चलाइरहेँ। तर, उसलाई जति चलाए पनि ऊ शान्त र ज्ञानी बनेर कहिले केही बोलेन। कहिले चलमलाएन। उसले मेरो देवरको छोरा जस्तो, तिमी मेरी आमा होइन भनेर कहिले भनेन। त्यसैले मैले उसलाई छोराको रूपमा स्वीकारे।

उसले मेरो वक्षस्थल चुसेको ममतामय आनन्दको अनुभव गर्ने इच्छा जाग्यो। मेरो सारा जिउ काउकुतीले नियन्त्रण गर्न नसक्ने भयो। कागती निचोरे जस्तो उसका गाला निचोरेँ। मेरो कोठाको ढोका बन्द थियो। म देवरका छोराभन्दा टालाटुलीको छोरासँग धेरै खुसी थिएँ। किनकि मैले बनाएको छोराले, ‘तिमी मेरी आमा होइनौ’ भनेर कहिल्यै भनेन। उसले मलाई सन्तान सुख दिइरहेको थियो भने म उसलाई मातृवात्सल्य। मेरो छोरो मप्रति समर्पित थियो भने म ऊप्रति।

म कहिले उसलाई वक्षस्थलमा टाँसेर राख्थेँ। कहिले अँगालोमा बाँधेर म्वाइ खान्थेँ। म मुसुमुसु हाँस्थेँ किनकि म मातृप्रेमको अनुरागमा चुर्लुम्म हुन्थें। उसले मलाई स्वर्गको अनुभूति दिइरहेको हुन्थ्यो। म उसलाई सबैसँग लुकाएर दराजमा राख्थेँ। श्रीमान् अफिस गइसकेपछि म सबैसँग लुकेर छोरोसँग खेल्थेँ। देवरका छोरातिर हेर्नै मन लाग्दैनथ्यो मलाई। किनकि उनीहरू मलाई भन्थे, ‘तिमी मेरी आमा होइनौ।’

म पनि उनीहरूलाई मनमनै भन्थेँ, ‘म पनि आमा हुँ। मेरो पनि छोरो छ। तर, तिमीहरूजस्तो कठोर शब्द मेरो छोरो बोल्दैन। मेरो भावना बुझ्छ, जोसँग म दिनभरि मातृवात्सल्यको धारा बगाउन सक्छु।’ खुसी थिएँ, किनकि मेरो सन्तान दराजभित्र थियो। म जतिखेर पनि उसलाई मातृवात्सल्यको छहारीमा शीतलता दिन सक्थेँ। म जतिखेर पनि उसलाई निचोर्न सक्थेँ। अँगालोभरि बाँधेर राख्न सक्थेँ। उसलाई जसरी पनि अँठ्याउन सक्थेँ।
मलाई निःसन्तान हुनुको पीडा छँदै थियो। त्यसमाथि सारा संसारको आँखामा म बाँझो खेतजस्तै थिएँ। जुन खेतमा कहिल्यै बाली लाग्दैन। एक दिन सासूले मलाई मिलबाट गहुँ पिँधाएर ल्याउनु भनिन्। गहुँ बोकेर मिल गएँ। त्यहाँ बैरीयावाली र कसहावाली काकी मिलमा धान कुटाउन आएका थिए। मलाई देख्नेबित्तिकै बैरीयावाली काकीले सोधिन्, ‘बुहारीको कति जना छोराछोरी भयो ?’

मैले केही नबोल्दै कसहावाली काकीले भनिन्, ‘छोराछोरी हुँदैन। निःसन्तान छे। बाँझी छे।’  
उनका कुरा सुनेर बैरीयावाली काकीले भनिन्, ‘पटवारनी बूढीकी जेठी बुहारी यिनी नै हुन् ?’
‘हो यिनी नै हुन्,’ भन्दै बैरीयावाली काकीले मलाई सोधिन्, ‘गहुँ पिँधाउन आएकी बुहारी ?’ उनीहरूका कुरा सुनेर मलाई केही बोल्न मन लागेन। म भावविह्वल भएँ। टाउको हल्लाउँदै  ‘हो’ को इसारा मात्र गरेँ। यस्तो कुरा मैले कति सुनेकी थिएँ। यही कुरा अझ कति सुन्न बाँकी थियो। मेरा किन सन्तान भएनन् ? म सोचिरहेँ। फगत सोचिरहेँ। मेरा गह भरिएर आएँ। छाती पोल्यो। मेरो मन छटपटायो। सन्तानको छहारीमा सुस्ताउन नसक्ने अनुभव भयो। मेरो वक्षस्थलको दुध जमेर ढिको बनिसकेको अनुभव गरेँ। निःसन्तान हुनुको पीडा एउटी आमालाई मात्र अनुभव हुँदो हो। आफैंलाई हेरेँ। चियाएँ। के म साँच्चै आमा बन्न सक्दिनँ र ? सधैँ निःसन्तान नै रहन्छु ? मेरा वक्षस्थलमा भएको मातृवात्सल्य कसैको कामको थिएन र ? मभित्र पीडा थियो र पीडाभित्र म थिएँ। ममतामय मनको पिँधभरि अटाएर राखिएको माया सबै बाँकी  थियो। कहिले रित्तिने थाहा थिएन।

टालाटुली सन्तानलाई सम्झें। जसलाई म मातृवात्सल्यले रात–दिन नुहाइरहेकी थिएँ। जसलाई म ढोकाबन्द गरेर वक्षस्थलको चुसाउँथेँ  र ऊ घोप्टो परेर मेरो वक्षस्थलमा टाँसिरहन्थ्यो। उसलाई मैले जसरी पनि ममतामय धारामा नुहाइदिन सक्थेँ। ऊ धेरै शान्त र ज्ञानी थियो। म मेरो हातले उसलाई लछारपछार गर्थेँ र पाउँथेँ छोरो र आमाको ममतामय सम्बन्धको परिचय।

गहुँ पिँधिसकियो। पिठो बोकेर घर गएँ। भण्डार कक्षमा पिठो राखेँ। आफ्नो कक्षमा गएँ। कोठाभरि सामान छताछुल्ल थियो। दराज खुला थियो। दराजभित्र हेरेँ। त्यहाँ टालाटुलीको छोरो थिएन। कतै मेरो छोरो सामानको छेउछाउमा लुकेर बसेको छ कि भनेर कोठाभरि छरिएका सामान पल्टाइपल्टाइ हेरेँ। तर, उसलाई देखिनँ। म अतालिएँ। सासूलाई सोध्न गएँ, ‘आमा मेरो कोठामा सामान किन छरपस्ट ?’

मेरा कुरा सुनेर सासूले भनिन्, ‘दराजमा पुराना लुगाहरू र टालाटुली धेरै थुप्रिएका थिए। ती पुराना लुगा र टालाटुलीलाई बाबुले बाँसघारीमा भर्खरै मिल्काउन लग्यो।’

म हतास भएँ। डराएँ। मेरो छोरो कहाँ होला ? कस्तो अवस्थामा होला ? उनी मेरो छोरोलाई लिएर कहाँ गए होलान् ? छोरोलाई के गरे होलान् ? हतारिँदै आँगनबाट बाहिर गएँ। म हतारिँएको देखेर सासू मेरो पछिपछि आइरहेकी थिइन्। तोरीबारी हुँदै उनी पुरानो लुगा र टालाटुली मिल्काउन गएको बाँसघारीतिर दौडेँ। टालाटुली र मेरो झुटो छोरोलाई मिल्काउनबाट बचाउन दौडेँ।

सासूले भनिन्, ‘बुहारी कहाँ जान लागेकी ? के भयो ? किन दौडेकी ?’ सासू पनि मेरो पछिपछि दौडिन्। उनी कराउँदै थिइन्, ‘ए, बुहारी पख्...पख्...।  के भयो तँलाई...?’

प्रकाशित: ८ मंसिर २०७५ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App