मैले दस वर्षको उमेरमा आमा गुमाएँ। उहाँ बिरामी हुनुहुन्थ्यो। तर, तपाईंहरूजस्ता तालिमप्राप्त चिकित्सकहरू वरपर नभएका कारणले उहाँले उपचार पाउनुभएन। त्यस बेला धुलिखेल पिछडिएको सानो बस्तीजस्तो थियो। धुलिखेलका धेरैजसो बासिन्दा राम्रो अवसर खोजीमा काठमाडौँ र अन्यत्र बसाइँ सर्थे। त्यस्तो परिवेशमा म हुर्कदै गएँ, समाजको अवस्था बुझ्दै गएँ। मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् भन्ने भावना मनमा विकास हुँदै गयो। त्यही भावनाले नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान पु-याउने इच्छा जन्मायोे।
युवा अवस्थाको डेढ दशक मैले चिकित्सा क्षेत्रमा युरोपमा बिताएँ। त्यसपछि नेपालका गरिबको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु-याउने सपना बोकेर नेपाल फर्कें। ती दिनमा मलाई निरन्तर प्रश्न गरिन्थ्यो-
- तिमी साँच्चै अस्पताल बनाउन त सक्छौं ?-
- बनाइहाल्यौ भने पनि नजिकै रहेको राजधानीमा ठूला–ठूला अस्पताल हुँदाहुँदै तिम्रो अस्पतालमा को आउला र ?
अनेकौँ प्रश्नहरूको सामना गर्नुपरेको थियो। तिनीहरूले सायद धुलिखेल जस्तो ठाउँ अविकसित नै रहन्छ भन्ने सोचेका थिए। तर, हामी यही ठाउँमा आजको यस्तो भव्य उत्सव हर्षका साथ मनाइरहेका छौँ।
नेपालमा अहिले सरकारको सबै तहमा नयाँ पुस्ताको प्रतिनिधित्व छ। सर्वत्र उत्साह छाएको छ। आशा गर्ने ठाउँहरू प्रशस्त छन्।
काठमाडौँ विश्वविद्यालयका संस्थापकहरूले चिकित्सा शिक्षामा नयाँ युग सुरुवात गर्नुभयो। त्यस बेला गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने मानव संसाधन र भौतिक पूर्वाधार अभाव थियो। त्यसैले उहाँहरूलाई पनि धेरैजनाले भनेका थिए-
- तपाईंहरू असम्भव काममा हात हाल्दै हुनुहुन्छ।
- आफ्नै भविष्यलाई जोखिममा पार्दै हुनुहुन्छ आदि।
अरूले असम्भव मानेको कामलाई उहाँहरूले सम्भव गराएर देखाइदिनुभयो। आज तपाईं–हामी यो ठाउँमा यसरी भेला हुन सक्नुको कारण पनि असम्भव मानिएको काम सम्भव हुन सकेकैले हो।
लगभग २० वर्षको अवधिमा काठमाडौँ विश्वविद्यालयले स्वास्थ्य सेवा क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ। यहाँबाट उत्पादन भएका स्नातकहरू स्वास्थ्य क्षेत्रका निकायमा प्रवेश गरेर देशका विभिन्न ठाउँमा कार्यरत छन्।
हामीले बुझ्नुपर्छ–
- कुनै पनि सपना साकार हुन नदिने सबैभन्दा ठूलो चुनौती भनेकै गर्न नसकिने हो कि भनेर आफ्नै क्षमतामाथि शंका गर्नु हो। तपाईंका सपनाको सबैभन्दा ठूलो चुनौती शंका हो।
- आफूले कल्पना गरेको भविष्यमा पुग्न त्यही बाटोमा हिँड्न र टिक्न सक्ने क्षमता हामीले बढाउनैपर्छ।
शंका र आलोचना गर्नेहरूले इतिहास रचेका छैनन् र रच्न सक्दैनन् पनि। इतिहास रचेका मानिसहरूले त :
- नभएका चीजहरूलाई पनि अस्तित्वमा ल्याइदिएका हुन्छन्, अनि
- कहिल्यै नगरेको काम गर्ने साहस र आत्मविश्वास देखाएका हुन्छन्।
हरेक दिन हाम्रा लागि एक नयाँ सुरुवात हो। विगतका उपलब्धिहरूले मात्रै भविष्यलाई सुनिश्चित गर्न सक्दैनन्। हिजोको प्रशंसा गरेर मात्रै भोलिका चुनौती सामना गर्न सकिँदैन।
हामीले त :
- निरन्तर आफूलाई सक्षम बनाउँदै लैजानुपर्छ,
- नयाँ दृष्टिकोणहरू स्वीकार्दै जानुपर्छ, र
- आफ्नो कार्यशैलीको समीक्षा पनि गरिरहनुपर्छ।
अब्राहम लिंकनले भनेका थिए, ‘भविश्यबारे अनुमान लगाउने उत्तम उपाय भनेको कुनै एउटा सिर्जना गर्नु हो।’
म तपाईंहरूलाई एउटा प्रश्न गर्न चाहन्छु- तपाईंहरू कस्तो भविष्य निर्माण गर्न चाहनुहुन्छ ? तपाईंहरूको प्राथमिकता केमा छ ? मेरो दृष्टिमा त हाम्रा लागि स्वास्थ्य क्षेत्रका मूल प्राथमिकताहरू तीन छन् :
पहिलो प्राथमिकता हो– स्वास्थ्य सेवालाई समतामूलक सेवाका रूपमा विकसित गर्नु।
यो देशमा प्रतिवर्ष :
- २० बालकमध्ये एक पाँच वर्ष नपुगी मर्ने गर्छ,
- बच्चा जन्माउन नसक्दा ठूलो संख्यामा महिला मर्ने गर्छन्,
- ४० वर्षको हुन नपाउँदै मुटुसम्बन्धी समस्याले थुप्रै युवा मर्ने गर्छन्।
त्यसैले आजसम्मका उपलब्धिमा गर्व गर्न त सकिन्छ। तर, ढुक्क हुन खोज्नुचाहिँ गलत हो।
केही दशकभित्र नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। प्रतिव्यक्ति औसत आयु सबैभन्दा छिटो बढाउन सक्ने देशहरू विश्वमा थोरै मात्र छन्। नेपाल ती थोरै देशहरूमध्ये एक हो। मातृ शिशु स्वास्थ्यमा सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने विश्वका थोरै देशमा नेपाल पनि पर्छ। यो गर्व गर्न सकिने विषय हो। हामी पनि आजसम्मका उपलब्धिमा गर्व गर्दछौँ। किनभने :
- सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने नेपालगन्जको वृद्धले अब काठमाडौँसम्म यात्रा गर्नुपर्दैन।
- विराटनगरमा आकस्मिक शल्यचिकित्सा चाहिएको बालकलाई अब काठमाडौँमै ल्याइराख्नुपर्दैन।
- काभ्रे अथवा सोलुखुम्बुको कुनै बिरामीले आधारभूत स्वास्थ्य सेवाका लागि सदरमुकामसम्म धाउनुपर्ने अवस्था अब छैन।
यी त अस्ति–अस्तिका कुरा भइसके। हामीले अझै धेरै कामहरू गर्न बाँकी छ।
स्वास्थ्यसम्बन्धी सेवा–सुविधामा सबैको सहज पहुँच पुग्नु नै विकासको मूल आधार हो। हाम्रो सफलताको मापन हामीले कति जनामा सेवा पु-यायौँ भनेर होइन, कतिमा सेवा पु-याउन सकिएन भनेर हुन्छ। व्यावसायिक स्वास्थ्यकर्मीहरूले बुझ्नैपर्ने कुरा के हो भने स्वास्थ्य सेवा एक प्रकारको सुविधा मात्र होइन, मानवताको प्रतीक पनि हो, मानवताको हक पनि हो।
- एउटी आमाले आफ्नी बिरामी छोरीलाई डाक्टरकहाँ पु-याउन सकिन्छ कि सकिँदैन भन्ने द्विविधामा पर्नु हुँदैन।
- आफ्ना बुबालाई अस्पताल पु-याउन खर्च पुग्ला कि नपुग्ला भन्ने अवस्था कुनै पनि छोराको हुनु हुँदैन।
समतामूलक स्वास्थ्य सेवा समतामूलक शिक्षा सेवासँग जोडिएको हुन्छ। मलाई निरन्तर पिरोल्ने विषय हो :
- तपाईंहरूजस्ता केही युवासँग उत्कृष्ट शिक्षाको अवसर र सुखद भविष्य छ,
- अरू कयौँ युवा दुई छाक जोड्न विदेशी भूमिमा पसिना बगाइरहेका हुन्छन्।
हाम्रो देश युवाहरूलाई दुई खेमामा बाँड्ने देशका रूपमा चिनिनु हुँदैन। नागरिकहरूको अवसरमा विभेद हुने देश अन्याय, सामाजिक असन्तुष्टि र द्वन्द्वको चपेटामा फस्छ।
त्यसैले देशमा समतामूलक र गुणस्तरीय स्वास्थ्य सेवा हुनैपर्छ।
हाम्रो दोस्रो प्राथमिकता हो– स्वास्थ्य सेवाका उत्कृष्ट केन्द्रहरू स्थापना गर्नु।
हाम्रो देशमा विश्वस्तरीय सेवा, तालिम र अनुसन्धानमा गर्व गर्न सक्ने स्वास्थ्य संस्थाहरूको सिर्जना हुनुपर्छ। २० वर्षअगाडि यो काम असम्भव मानिन्थ्यो। हामीले हासिल गरेका उपलब्धिका आधारमा यस्तो सिर्जना सम्भव छ भन्न सकिन्छ। गाउँगाउँमा स्वास्थ्य सेवा पु-याउन हामीले प्रयास ग-यौँ भने विभिन्न ठाउँका नागरिकले स्वास्थ्य सेवाका साथै रोजगारीका थुप्रै अवसरहरू पनि पाउनेछन्।
सुरुका दिनमा हाम्रो संस्थाबाट धुलिखेलमै इन्डोस्कोपी र ल्याप्रोस्कोपीका सुविधा उपलब्ध गराउन खोज्दा :
- सामान महँगो हुन्छ भन्थे,
- प्राविधिकको राम्रो टिम तयार गर्न सजिलो हुँदैन र सम्भव पनि छैन भन्थे।
आज हामी गर्वसाथ भन्न सक्छौ– १० वर्षअगाडि जुन खालका बिरामीको उपचार कठिन शल्यक्रिया गरेर मात्र हुन्थ्यो, अहिले त्यस्ता ८० प्रतिशत बिरामीको उपचार शल्यक्रियाबिना नै सम्भव भएको छ।
हाम्रो समग्र टिमले गर्वसाथ भन्न सक्छ– हामी गरिब बिरामीको उपचार गर्छौं। तर, कमजोर पद्धति अपनाएर गरिब स्वास्थ्य सेवा प्रदान गर्दैनौँ।
यस सम्बन्धमा म सानै उदाहरण दिन चाहन्छु। हाम्रो अस्पताल इन्डोस्कोपी सेवाका लागि राष्ट्रस्तरकै मुख्य हाइ भोल्युम रिफरल सेन्टर बनेको छ। प्रत्येक वर्ष हाम्रो अस्पतालमा डा. राम गुरुङको नेतृत्वमा नेपालमै सबैभन्दा बढी इन्डोस्कोपीका केसहरू सम्पन्न हुने गर्छन्। देश–विदेशका शुभेच्छुकहरूसँग सहकार्य गर्ने र व्यावसायिक विधाहरूको नेतृत्व गर्ने उहाँजस्ता अनुभवी चिकित्सक हामीसँग धेरैजना हुनुहुन्छ। तपाईं स्नातकमा पनि त्यही स्तरको हैसियत, हात र हृदय छ। तसर्थ उत्कृष्ट स्वास्थ्य केन्द्रको स्थापना गर्न हामीलाई केले रोक्छ ? म त यसमा केही पनि अवरोध देख्दिनँ।
हाम्रो तेस्रो प्राथमिकता हो– स्वास्थ्य सेवामा सुधार गर्न नवीन पद्धतिहरूको विकास गर्नु।
स्वास्थ्यसँग सम्बन्धित चुनौतीलाई नयाँ पद्धतिहरूबाट सल्टाउनुपर्छ।
- हामीले पिउने पानी नै प्रदूषित छ भने संक्रमक रोग उपचार गर्ने ठूला–ठूला पूर्वाधार बनाउनुको के अर्थ हुन्छ ?
- वायु प्रदूषणको जोखिममा मानिसहरूलाई छोडेर फोक्सोको औषधि निःशुल्क बाँड्नु कसरी न्यायोचित हुन्छ ?
- सडक र यातायात नै असुरक्षित छ भने ट्रमा केयरका सुविधा खडा गर्नु कति सार्थक होला ?
- पर्याप्त खान नपाउने मानिसलाई स्वस्थ आहारसम्बन्धी तालिम दिनुको के औचित्य होला ?
हामीले गाउँमा सञ्चालन गरेका लघुवित्त कार्यक्रम, सामुदायिक विकासका कार्यक्रम र छिमेकी नगरपालिकाहरूसँग सहकार्य गरेर सुरु गरेका परियोजना स्वास्थ्य सेवाको विकासमा हामीले गरेका नयाँ प्रयास हुन्।
आगामी दिनमा हामी अनुसन्धान र जनस्वास्थ्य तालिममा पनि केन्द्रित रहनेछौँ।
यसले :
- जनस्वास्थ्यका विभिन्न विधाहरूमा सहकार्य गर्न प्रोत्साहन गर्नेछ।
- हाम्रा प्रयासहरूले सरोकारवालाहरूको क्षमता विकास गराउनेछन्।
मैले प्रस्तुत गरेका प्राथमिकताहरू आदर्शवादी सपना मात्रै होइनन्, प्राप्त गर्न सकिने लक्ष्यहरू नै हुन्। यी लक्ष्य हासिल गर्न हामीले हाम्रा अगाडि खडा भएका अवसरलाई देख्न सक्नुपर्छ।
नेपालमा अहिले :
- सरकारको सबै तहमा नयाँ पुस्ताको प्रतिनिधित्व छ,
- सर्वत्र उत्साह छाएको छ,
- आशा गर्ने ठाउँहरू प्रशस्त छन्।
यस्तो परिस्थितिमा हामीले :
- निजी, सार्वजनिक र सेवामुखी निकायका बीच समन्वय र सहकार्य गर्नुपर्छ,
- विभिन्न संस्थाहरूबीचको दूरीलाई हटाउनुपर्छ,
- प्राज्ञिक समूह र नीतिनिर्माताहरूका बीचमा गहिरो सम्बन्ध स्थापना गर्नुपर्छ,
- परस्परमा प्रतिस्पर्धा नगरी सहकार्यमा चल्ने परिपाटीलाई प्रोत्साहन दिनुपर्छ।
काठमाडौँ विश्वविद्यालयले सरकार, स्थानीय समुदाय, निजी क्षेत्र र देश–विदेशका प्राज्ञिक संस्थासँग साझेदारी गरी नमुना प्रस्तुत गरिसकेको अवस्था छ।
- तपाईंहरू त्यही नमुनाका उपज हुनुहुन्छ।
- हाम्रो संस्थाको गुणस्तरमा शंका गर्ने र हामी असफल हुन्छौँ भनेर चुनौती दिनेका लागि तपाईंहरू नै गतिलो जवाफ हुनुहुन्छ।
प्रसिद्ध बेलायती लेखक जर्ज बर्नार्ड शाको भनाइ छ, ‘जो मानिस यो गर्न सकिँदैन भन्छन्, तिनले काम गरिरहेकाहरूलाई रोक्नु हुँदैन।’
यो भनाइ ठीक रहेछ भनेर प्रमाणित गरिदिनुभयो भने त्यो नै तपाईंहरूको सफलता हुनेछ।
तपाईंको भविष्यसँग यो संस्थाको भविष्य जोडिएको छ। तपाईं र हाम्रो साझा पहिचान छ। आज यो समारोह छोडेर जाँदा तपाईं यस विश्वविद्यालयको ब्रान्ड एम्बास्डर भएर जानुहुनेछ।
त्यसैले आफ्नो सोचको परिधिलाई फराकिलो बनाएर आत्मविश्वासका साथ आजसम्म नपुगेको ठाउँ र नगरेको काममा प्रवेश गर्न म आग्रह गर्छु।
थोमस जेफर्सनले भनेका थिए—‘म विगतका इतिहासभन्दा भविश्यका सपना मन पराउँछु।’
अन्त्यमा, यही भावना लिएर म हाम्रा शुभचिन्तक, अलुम्नाई, डायस्पोरा, सरकारी निकाय, समुदायका अगुवा तथा हाम्रा सबै सहयोगीलाई हामीसँग हातेमालो गर्न आह्वान गर्छु। साथै :
- जहाँ हरेक व्यक्तिले आफ्नो जीवनको पूर्णता महसुस गर्न पाउनेछ,
- जहाँ आफ्नो क्षमता सम्पूर्ण रूपमा उजागर गर्न सकिनेछ, र
- जहाँ समाजलाई चाहेजति योगदान पु¥याउने अवसर पाइनेछ,
त्यस्तो साझा भविष्य निर्माणमा साथ दिन म सम्पूर्ण स्नातकहरूलाई आह्वान गर्छु।
(काठमाडौं विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहको पहिलो कार्यक्रममा शुक्रबार चौकोट, काभ्रेमा उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले प्रस्तुत गरेको स्वागत मन्तव्यको सम्पादित अंश।)
प्रकाशित: ८ मंसिर २०७५ ०३:१६ शनिबार