कोठाको भित्तामा पिर्का लहरै झुन्ड्याइएका छन् । भुइँभरि राखिएका छन्, बिस्कुट र चाउचाउका खोल।
स्वयम्भूमा डेरा गरी बस्ने ७० वर्षीय सुनवती राईको कोठामा यस्तै दृष्य देखिन्छ । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ की राई पिर्का बेचेर जीवननिर्वाह गरिरहेकी छिन्।
उनी बिहान–बेलुका बिस्कुट र चाउचाउका खोल टिप्न कोठाबाट निस्किन्छिन् । र, दिउँसो पिर्का बनाउँछिन् । ‘म केही न केही काम गरिरहन्छु । त्यसै बस्न सक्दिनँ । आजभोलि दिन बितेको पत्तै हुँदैन । पिर्का बन्दाबन्दै दिन बित्छ,’ उनले दिनचर्या सुनाइन्।
आफूले बनाएका पिर्का बस्न मात्र होइन, पानीका भाडा छोप्न समेत उपयोगी हुने उनको भनाइ छ।
उनले आँसु पुछ्दै भनिन्, ‘श्रीमानको मृत्यु भएपछि घरमा एक्लै बस्न मन लागेन । त्यसैले छोरीहरूसित बस्दै आएकी छु।’
दैनिक दुई पिर्का बुन्ने गरेको उनले सुनाइन् । ‘प्रतिगोटा दुई–तीन सयमा पिर्का बिक्री हुन्छ,’ उनले भनिन्, ‘यसैबाट महिनामा १५ हजार जति कमाउँछु।’
काम गर्न लाज मान्ने युवाहरूलाई उनको सुझाव छ– बाम गर्न लाज नमान्नुस् । ‘लाजले न पेट भरिन्छ न त व्यवहार नै चल्छ । काम ठूलो–सानो हुँदैन,’ उनी भन्छिन्, ‘त्यसैले आफूले जानेको सीप प्रयोग गर्ने हो भने बाँच्न गाह्रो छैन।’
प्रकाशित: ३ मंसिर २०७५ ०१:३१ सोमबार