आजसम्म नराम्रो त केही गरिएको छैन
र पनि कसैको राम्रो हुन सकिएको छैन
आफ्नै रितमा एकनाशले गैरहेको छ
कसैलाई पनि समयले पर्खिएको छैन
बाँच्दैन कोहि बाँच्दैबाँच्दैन अर्काको लागि
पलभर कसैको नाममा कोहि जिएको छैन
माया, मुटु, धड्कन् खै कस्लाइ दिउँ र म पनि
मलाई पनि त कसैले केही दिएको छैन
जेनतेन दुःख सुख गुजारौंला जिन्दगानी
यि हत्केला अनि पौरख त्यसै खिएको छैन
बादल बर्षा बनेर आउँछ पक्का भनेरै
पर्खिरहेछु बगेको खोला फर्किएको छैन
‘सुन न ए प्यारी’ भन्ने होलान् नि त कोही
अझै पनि आशा भरोसा रित्तिएको छैन ।
...
जिन्दगी खै कस्तो कस्तो उपहार लाग्छ
आफन्त सम्झेर रुनु पनि बेकार लाग्छ
कस्तो खेल खेल्दैछ बुझ्दिन समयले
उदास छ मन बाँच्नु नै दिग्दार लाग्छ
जसोतसो दिनहरु बितिरहेकै छन्
घाँस यो जिन्दगी नकामको झार लाग्छ
जिन्दगीको गोरेटो रोकियो कि खै कुन्नी
आफैं पुग्न नसकिने अनकन्टार लाग्छ
देव–देवी छुट्टिएर कति दिन चल्ला
एक्लै यो जिन्दगी कसरी पो पार लाग्छ?
...
पाखुरा र राजनितिक दल मात्रै भए पुग्छ
जमाना नि अचम्मैको बल मात्रै भए पुग्छ
मनपरी बोल्दै आश्वासन बाँड्नु बाँडेका छन्
यिन्का कुरा एक चौथाई सफल मात्रै भए पुग्छ
संसारकै सब्बै थोक पाएकै छु भन्ने ठान्छु,
मेरै नाम त्यो मुटुमा हलचल मात्रै भए पुग्छ
अनलिमिटेड नेटबाटै भिडियो च्याट गरौंला नि
नेट नचल्दा मोबाइलमा मिसकल मात्रै भए पुग्छ
पेटको लागि चर्दै गर्दा जो जो जहाँ पुगेपनि
यै देशको माटो चुम्ने तलतल मात्रै भए पुग्छ!!
...
उहीँ भाँडा नै माझ्ने हो रे अष्ट्रेलियामा पनि
चर्को घाममा गैंची हान्नुछ मलेशियामा पनि
जहाँ जाउ, आफ्नै नङ्ग्रा खियाउनैपर्छ पक्कै
रुखमै पैसो फल्दैन जापान र कोरियामा पनि
सबैको खेतबारी बाँझै छ, गाउँमा बृद्ध मात्रै छन्
खाँदैन कोही कसैको जमिन अधियाँमा पनि
घरमा सधैं नबन्ने होइन र पनि के छ खास त्यस्तो
चोकमै धाउँछन् जाबो कफी र चियामा पनि
कमसेकम फलामसँग यत्ति भएनी सिक्नुपर्छ
अलिकति त अस्तित्व छोड्छ नै खियामा पनि ।
...
यो शहरका सबैभन्दा नामी हुनुपर्छ
हट्टाकट्टा छाँटकाँटको दामी हुनुपर्छ
नरोपौं न आफुआफैले झगडाको बीउ
ज्युँदा जन्ती अनि मर्दा मलामी हुनुपर्छ
जस्ले मलाई आज जूनसँग तुलना गर्यो
लाग्छ ऊ पक्कै आँखाको बिरामी हुनुपर्छ
दुसादले बेस्सरी गलाएछ भन्दैथ्यो
चेहेरैले बताउथ्योँ ऊ धामी हुनुपर्छ
दाह्रीकपाल कस्सैलाई सुहाउन्न रे भन्थ्यो
ऊ पनि शहरकै धुरन्धर हजामी हुनुपर्छ ।
...
प्रकाशित: १ मंसिर २०७५ ०४:०९ शनिबार